चैत्र ३ गतेका बारेमा नेपाली जनस्थानमा खासै प्रस्ट परिचय छैन । चैत्र ३ गते किन मनाइन्छ, त्यसबारेमा सीमित कवि-लेखकलाई मात्र ज्ञान छ । यसबारे धेरै कुरा प्रकाशमा आउन बाँकी नै छ ।
नेपाली साहित्यका पाठकले यस दिनलाई एक स्मृतिका रूपमा सम्झन चाहे पनि कुनै माध्यम, मिडिया, वेभ वा तरङ्गले यसको झाँकी दिँदैन तर हो, यो एक अविस्मरणीय दिन ।
२०६३ को जनआन्दोलनको समय हामी जति कवि-स्रष्टा-साधकहरू बानेश्वर चोकमा भेला भएर तानाशाही सरकारको विरुद्धमा आन्दोलित भयौँ, तीमध्ये धेरैलाई चैत्र ३ गतेका बारेमा थाहा नै रहेछन् । गुरुकुल थिएटरबाट बानेश्वर चोकसम्म पुग्दाका बीचमा नारा लाउँदै अघि बढ्दै गर्दा एकाएक चैत्र ३ गते २०४६ साललाई पुनः स्मरण गरेँ ।
फ्ल्यासब्याक चैत्र ३ गते
चैत्र ३ गते २०४६ सालमा बहुदलीय व्यवस्थाको माग गर्दै सारा राष्ट्र क्रान्तिमा उर्लेको बेला कवि, स्रष्टा, कलाकारले पनि सहमति जनाउँदै तत्कालीन पञ्चायती सरकारको विरुद्धमा त्रि-चन्द्र कलेजको आँगनमा मुखमा कालोपट्टी बाँधेर गिरफ्तारी दिएका थिए । त्यस आन्दोलनमा करिब डेढ सय कवि-लेखक सामेल थिए, प्रमुखरूपमा त्यस आन्दोलनमा वासु शशी, पारिजात, युद्धप्रसाद मिश्र, दुर्गालाल श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, कमल दीक्षित, मोहन कोइराला, आनन्ददेव भट्ट आदि सहभागी थिए ।
सरस्वती सदनमा कालोपट्टी बाँधेर धर्ना दिन उपस्थित भएका कवि-कलाकारलाई प्रहरीले ट्रकमा कोचेर पहिले महेन्द्र पुलिस क्लब र त्यसपछि बग्गी खाना पुर्याएको थियो ।
बग्गीखानामा थुनिएका कवि-लेखकका माझ जब कुनै अर्को नयाँ पाहुना कवि वा कलाकार प्रवेश गर्थे- हामी ताली बजाएर स्वागत गर्थ्यौं । स्वागतमा हामी एउटा नयाँ नारा पनि लाउँथ्यौँ – नाराको लिडिङ मै गर्थें । थुनिने ठाउँ उपत्यकामा कतै नभएपछि हामी सबैलाई बग्गीखानाको एउटा चिसो कोठामा थन्क्याइएको थियो ।
वयोवृद्ध कवि युद्धप्रसाद मिश्रले प्रवेश गरेको ताका फेरि हामीले ताली र नाराले स्वागत गथ्यौँ । गिरफ्तारी दिएको उन्मादमा आक्रोशित आवाज कैदखानाबाट शिखरारोहण भएपछि त्यहाँका प्रहरी प्रमुख उत्तेजित मुद्रामा भित्र आए ।
सरकारी पोसाकमा सजिएका ती भुँडे प्रहरी प्रमुख अचानक कड्किए- ‘तपाईंहरू कवि लेखक हो कि कुकुर ? किन यसरी कराएको ? चूप लागेर बस्नोस् नभए … ।’ उनको र कवि-लेखकका बीच सामान्य भनाभन सुरु भयो । उनको बोलीलाई सहन सकेनन्- शिव अधिकारीले । कवि, गीतकार, उपन्यासकार शिव अधिकारी त्यतिबेला ‘देशान्तर’ साप्ताहिकका सम्पादक थिए ।
प्रहरी प्रमुख र शिव अधिकारीको वाक्युद्धका बीचमा अचानक नम्र भावमा पाश्र्वभूमिबाट उपन्यासकार डा. ध्रुवचन्द्र गौतम बोले ।
डा. गौतमको तराईको बोली सुनेर ती भुँडे पुलिस पग्लिए- ‘अरे डाक्टर साब ! आप भी यहाँ ? अम्मा यार, आप भी कमाल … ।’
उनी के के भन्दै गर्दा डाक्टरसाहेब अगाडि आइपुगे । दुवै पुराना यार रहेछन् । एक जना सरकारको विरुद्धमा, एक जना सरकारको सेवामा । दुवै मित्रवत् कुरा गर्दै कुना लागे । त्यसपछि द्वन्द्वको अवसान भएर कोठाको भूगोल बदलियो । मैले शिव अधिकारीलाई फर्केर हेरेँ, उनी आफ्नो पारिलो चश्मामाझ झ्यालमा बसेर गार्ड दिइरहेका प्रहरीतिर हेर्दै थिए । म उनको नजिक पुगेँ र भनेँ- ‘दाइ के सोच्दै हुनुहुन्छ ?
‘एउटा उपाय ।’ त्यस पुलिसतिर हेर्दै फेरि भने- ”यो बुङ्गो कामको मान्छे हुनसक्छ ।”
थुनिएपछिको उकुसमुकुसमा कुनै भाग्ने उपाय सोचिरहेका हुन् कि शिव अधिकारी जस्तो मलाई लाग्यो तर होइन रहेछ- ‘धत् ! किन भाग्नु ? भोक लाग्यो के, यसलाई हामी सबैले पैसा उठाएर दियौँ भनेँ यसले कतैबाट खाजाको व्यवस्था गरिदिन्छ कि भनेर ।’
कुराकानी गर्दा फरक नपर्लाजस्तो लागेर म झ्यालतिर अगि बढेँ- ती प्रहरी एकछिनमै तयार भए । उनी पनि दुई दिनदेखि भोकै रहेछन् । पैसा उठाउने क्रम कमलमणि दीक्षित र अञ्जु दीक्षितबाट सुरु भयो । पैसा सङ्कलन गर्ने काममा सबभन्दा सानी बहिनीहरू सुम्निमा तुलाधर र उनकी साथी मुक्ता ढकालले सहयोग गरे ।
भनिए जति पैसा जम्मा भएपछि ती प्रहरी खाजा लिन पुगे तर उनले चिया र समोसाबाहेक अर्थोक केही ल्याउन सकेनन् ।
एक कुनामा मौन भएर बसेका मोहन कोइरालाले चियालाई छोएनन् पनि । उनमा प्रशस्त रिस र उदासीपन देखिन्थ्यो । कमलमणिजीले आफू चिया नखाए पनि लगानीमा सहयोग गर्नुभयो ।
शारदा शर्मा, राजभाइ जकमी, आनन्ददेव भट्ट आदिले चिया बाँड्न थाल्नुभयो । बेलाबेलामा ढोका छेउसम्म पुगेर वासु शशी खबर ल्याउनुहुन्थ्यो- ‘अब हामीलाई छोड्दैन ।’
‘हामीलाई आजै राति नख्खु लाने रे ।’
‘ल हरिवंशलाई त लामै बयान लिएछ । छोड्दैन कि क्या हो ।’ प्रहरीको घेरामा बयान दिएर आएपछि हामी बसेको कोठामा ल्याएर थुनिन्थ्यो । अनि हामी हल्लाखल्लाका बीच स्वागत गर्थ्यौं । पुलिस आएर हामीलाई फेरि सम्झाउँथ्यो ।
पुलिस र हामीबीच यो ठाकठुक गिरफ्तारीको समयदेखि चलेकोथ्यो । जब सबै कालोपट्टी बाँध्नेहरूलाई पक्डेर ट्रकमा चढाइयो, अन्त्यमा पारिजातलाई पक्डन जाँदा उहाँले इन्कार गर्नुभयो । ”मलाई पुरुषले समात्ने होइन, तेरो महिला प्रहरी बोला ।” पारिजातको कुरा सुनेर प्रहरीवृत्त अप्ठेरो परिस्थितिमा अल्झियो । त्यहाँ तत्काल महिला प्रहरी उपस्थिति थिएनन् । पारिजातले अडान लिएर बस्नुभयो, ट्रक गुड्न तयार छ । प्रहरीको असमञ्जसलाई बुझेर केही प्रगतिशील खेमाका साथीहरू पड्किनु भो- ‘समात्न आउने अनि खाली हात आउने ?’
यसबीच पारिजातले सबै साथीहरूको मर्का बुझेर मलाई बोलाउनुभयो- मलगायत केही साथी अगि बढेर दिदीलाई बोकेर ट्रकमा हाल्यौँ । मलाई अनौठो र अचम्म लाग्यो । दिदीलाई त्यो कुरा पछि मैले कैद मुक्त भएपछि भनेँ पनि ।
प्रहरीसँगको यो तनाव त्रि-चन्द्र कलेज, प्रज्ञा भवन, नक्साल, पुलिस क्लब भएर बग्गीखानासम्म आइपुग्दा कायमै रहृयो । ट्रकमा हामी सबै कोचिएर यो यात्रा गर्दैगर्दा कमलमणिजीले रमाइलो पारामा भन्नुभयो- ”हामीमध्ये सबैभन्दा अग्लो को छ ? ट्रक बाहिर हेरेर कमेन्टरी भन्ने ।”
हामीमध्ये एक जना अग्ला कलाकार थिए- शैलेश । उनले आफ्ना साथीसित मिलेर ट्रकबाट प्रत्यक्ष प्रसारण गरे । यसबेला पनि प्रहरी खुब रिसाए ।
बयान जारी छ
बग्गीखानामा ट्रकबाट ओरालिएपछि हामीलाई पालैपालो बयान लिइयो । बयानमा प्रहरीले केही कुरा सोध्थे- जस्तो, घर कहाँ ? पेसा के ? र सबैलाई एउटा प्रश्न चै सोधेकै हुन्थे- ‘यो आतङ्ककारी गतिविधिमा किन लागेको ?’
यी सबै प्रश्न प्रहरीले लेखेर सोधेका थिए । हामी सबैले एउटै कुरा तयार गरेका थियौँ- ‘यो आतङ्ककारी गतिविधि होइन । यो हाम्रो साङ्केतिक विरोध हो ।’
‘यो आन्दोलन सफल हुन्छ त ? ‘यो प्रश्न पनि सोधी हाल्थे । तयारी जे जस्तो भए पनि प्रहरीका अगाडि पुग्दा र क्यामेराले हामीले भनेको सबै कुरा खिचेको देख्दा प्रायः साथीहरू तर्सन्थे । प्रसिद्ध हाँस्य कलाकार हरिवंश आचार्यले बयान दिएर आएपछि उनले एउटा गोप्यता भङ्ग गर्दै भने- ”क्यामरामा रिल नै छैन । जे बोले पनि डराउनुपर्दैन ।” त्यसपछि सबै हाँसे । हाँसोमा सबैको आश्वस्ती झल्कियो । हरिवंश आचार्य मसित बस्नुभएकोथ्यो, मैले सोधेँ- ”तपाईंले क्यामराको रेक्मा राम्रोसित हेर्नुभएको हो ? त्यहाँ बत्ती थिएन ।”
उहाँले कन्फर्म गर्नुभयो ।
सबैको बयान लिए पनि सुनिल पोखरेल र मलाई बोलाएनन् । केदार शर्माले खबर ल्याउनुभयो- ‘ल अरू सबैलाई छोडिने भयो सुनिलजी र प्रकाशजीलाई नछोडिने भयो ।’
त्यसपछि हामीबीचमा तनाव फैलियो- हामीलाई कति दिन थुन्ने हो । कहाँ लगेर मार्ने हो ? पञ्चायतकालको त्यो कालरात्रिमा ।
यसबीचमा मैले सुनिललाई पुलुक्क हेरेँ, ऊ मौन थियो । ऊ र म नै किन ? प्रश्नाकुल भएँ म । सुनिल र मेरो मौनतामा एउटा रहस्य थियो । त्यो रहस्य थियो- कालोपट्टी । विरोधस्वरूप बाँधिने कालोपट्टीको कपडा वा भनौँ पर्दा सुनिलले व्यवस्था गरेका थिए, त्यसलाई दुई सय टुक्रा पारेर मैले काटेको थिएँ र त्यो कपडाको टुक्रा बोक्नुपर्ने भएर मैले ओभरकोट लगाएर आएको थिएँ तर यो रहस्य कसरी खुल्यो भन्ने सुनिल र मलाई मनमा लाग्यो । मनमा लागेको कुरा होइन होला भन्ने मनमै आएन ।
यो तनावका बीच मैले आफूलाई व्यस्त बनाएँ, पक्राउ परेका सबै कवि-लेखकलाई यतिबेला कस्तो महसुस भइरहेको छ भनेर अटोग्राफ भराएँ । सबैले लेख्ने क्रममा एकएक पङ्क्ति लेखे- अन्त्यमा आनन्ददेव भट्टलाई आग्रह गरेँ, उहाँले लेख्नु भो- ‘हामी आफ्नो विवेकको आदेश पालन गरौँ ।’
म यो पङ्क्ति लिएर ढोकातिर आउँदै गर्दा छुट्नेहरूको नामावाली घोषणा भयो- पहिलोमै कमल दीक्षित र देवीजी, त्यसपछि युद्धप्रसाद मिश्र र उनका छोरा अरूणप्रकाश ।
शारदा शर्मा पनि कराउँदै आउनु भो, मैले उहाँलाई आग्रह गरेँ- ‘तपाईं छुटेपछि मेरो घरको नम्बरमा फोन गरेर म गिरफ्तारीमा परेँ भनिदिनुस्न, प्लिज् ।’ मैले घरमा खबर दिएको थिइनँ । सुनिलले अभिनेत्री सूर्यमाला शर्मा र निशा शर्मालाई खबर पुर्याई दिइसकेको थियो ।
”अब म यहाँबाट छुटे पनि डेरामा बस्दिनँ । म त बालाजु जान्छु ।” सुनिलले मलाई कानमा सुटुक्क भन्यो । सुनिलको त्यतिबेलाको डेरा बग्गीखानाबाट सिधै माथि पुतलीसडक-बागबजारको चोकमा खनालजीको घरमा थियो र बालाजु उसको हुनेवाला ससुराली थियो ।
सबै पालैपालो छुट्दै गए । ठट्टा पनि चल्यो- ‘ल घरमा गएर खाना खान भ्याइने रहेछ । सायमीजी र सुनिलजीलाई कलाकार श्रेणीको खाना यहीँ मिल्ने भयो ।’
ठट्टा मजाक् जे सुकै गरिए पनि ढिलो गरी रातितिर सुनिल र म छुट्यौँ । बीबीसी नेपाली सेवामा केदारमान सिंहको आवाजमा रिपोर्ट गुञ्जिंदै थियो- ‘हिमाली शान्ति राज्यमा कवि-लेखकको क्रन्दन ।’
चैत्र ३ को पूर्वाभ्यास
कालोपट्टी बाँध्ने आन्दोलनको तयारी बैठक होलीको दिन चाबहिलस्थित मुरारी शर्माको घरमा सम्पन्न भएको थियो । त्यस भूमिगत बैठकमै कपडा काटेर ल्याउने जिम्मा सुनिल र मलाई परेको थियो । सुनिलले लिएको जिम्मा सूर्यमाला र नीशासित बाँडेका थिए । मैले कलाकार हेमन्त बुढाथोकी र कमल अधिकारीसित मिलेर गरेको थिएँ ।
कालोपट्टी बोकेर म प्रज्ञा-प्रतिष्ठान पुग्दा स्नेह सायमी र हरिगोविन्द लुइँटेलजीले लोकेसन बदलिएको जानकारी दिनुभयो । प्रज्ञा-प्रतिष्ठानभित्र धर्ना दिने कार्यक्रम तय भएको भए पनि अचानक त्यहाँको प्रशासन र कलाकार पक्षले हामीलाई पस्न नदिएपछि स्थान बदलिनु पर्यो । हामी तत्कालै सरस्वती सदन पुग्यौँ । हामीमध्ये एक जना साथीले नारायणगोपाल पनि आउँदैछन् भनेपछि म आश्चर्यचकित भएँ ।
धेरैबेर पर्खेपछि पनि नारायणगोपाल आएनन्- बैंकेटको नाटक वैटिङ फर गाडोजस्तै भयो । नारायणगोपाल नआए पनि खबर आइपुग्यो- उहाँले भन्नु भो रे, ‘पुलिसले मार्छ होला ।’
त्यो समय पुलिसको दमन चरमोत्कर्षमा थियो ।
तोकिएको भन्दा बीस मिनेटपछि कार्यक्रम थालियो-सबभन्दा पहिले मैले ओभरकोटबाट कालोपट्टी झिकें अनि सिधै गएर पारिजात दिदीको आँखामा बाँधिदिएँ । कसैले पछाडिबाट चिच्यायो ‘आँखामा होइन, मुखमा ।’
त्यसपछि भाइ शैलेश र मैले सबैलाई कालोपट्टी बाँडिदियौँ । मुखमा कालोपट्टी बाँधेर हरियो चउरमा बस्यौँ । एएफपीका फोटो पत्रकारले र नरेश श्रेष्ठले पालैपालो फोटो खिच्न थाल्नुभयो ।
प्रहरीले विस्तारै हामीलाई चारैतिरबाट घेरे । घन्टाघर अगाडिको ट्रकलाई घुमाएर ढोका छेउमा ल्याइयो । हामी सबैले मुखमा पट्टी बाँधेर गिरफ्तारी दियौँ ।
सबै राजनीतिक विचार, विश्वास र आस्था बोकेका स्रष्टा-साधकले पञ्चायतकालको त्यो कालरात्रिमा स्मरणीय बनाएको दिन थियो-चैत्र ३ ।
