Skip to content

धेरैपटक तिम्रो भाषण सुनेको छु मैले
ताली बजाएको छु
र, टाउको हल्लाउँदै समर्थन गरेको छु ।

चुपचाप
तिम्रा सपनाहरूसँग
मैले मेरो सपना साटेको छु
तिम्रो यात्रासँग
मेरो यात्रा साटेको छु
हुनसक्छ
सपनाहरूको साटफेर तिमीलाई थाहा नहोस्
यात्राहरूको साटफेर तिमीलाई थाहा नहोस्
तर, मैले
आफैँलाई तिम्रा आदर्शसँग साटेको छु ।

मैले मेरो सत्यलाई असत्य ठानेँ हुँला
तर, तिम्रो सत्यलाई सधैँ सत्य ठानेको हुँ
सोच्छु,
अहिलेसम्म मैले जे गरेँ
इमानदारीका साथ भन्छु
ठीकै गरेको हुँ ।

तिम्रै यात्रा रोजेर
म जुन विन्दुमा आइपुगेँ
तिम्रै विचार बोकेर
मैले जुन परिचय बनाएँ
तिम्रा आदर्श बोकेर
मैले जे-जति प्राप्ति गरेँ
सम्झन्छु
मैले ठूलै उपलब्धि हासिल गरेकै हुँ ।

तर, यतिबेला
थाहै नहुने गरी
एउटा सानो गुनासो पनि उब्जिएको छ-
तिमीले ठहर्‍याएको सत्य
तिमी आफैँले असत्य भनिदिँदा
तिमीले बोकेको आदर्श
तिमी आफैँले बिर्संदा
हिजोआज
म आफैँ आफैँसँग विश्वस्त हुन सकिरहेको छैन ।

आफैँप्रतिको अविश्वास
यति घातक हुँदोरहेछ कि
दिनदिनै मभित्र झन्झन् गुनासो बढ्न थालेको छ ।

समय छादै
यति गुनासो सुनिदिए
यति गुनासो मनन गरिदिए… ।

नेपाल साप्ताहिक
अंक २६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *