Skip to content


‘हलो…. हलो…. हलो………..मामा ! म बोलेको, नेपालबाट….. !’
शेखरको मनमा चिसो पस्यो । अमृतको स्वर स्वाभाविक थिएन । हतास र अत्यासपूर्ण थियो । नेपालमा दैनिकरूपमा भइरहेको हत्या, हिंसा, आतङ्क, लुटपाट, अपहरण आदिको खबरले शेखरजस्ता परदेशमा बस्ने धेरै नेपाली चैनले सुत्न सक्दैनन्, जसका परिवार नेपालमा छन् । उसले यस्तै सम्झियो पक्कै केही दुर्घटना भो कि क्या हो !
‘के भो भन…. भन…. छिटो भन ……..’ शेखरले अत्तालिँदै सोध्यो ।
‘मामा….! मामा…..! सीमा दिदीलाई घर लान सकिएन !’
किन, के भो र सकिएन …… ? के भन्न खोजेको छिटो भन !
‘हामी उहाँलाई आर्यघाट लाँदैछौँ, मैले बाटोबाट फोन गरेको ।’
अमृतको आवाज अवरुद्ध थियो । रोदन मिश्रति शब्दहरू उसका मुखबाट फुट्न सकिरहेका थिएनन् ।
शेखर चिच्यायो – ‘यो हुन सक्दैन । कसरी भो यो सबै यति चाँडै…… ? हे परमेश्वर …..के गरिस् तैँले ….? कति निर्दयी छस् तँ !’
‘हो मामा यथार्थ यही हो । हामीले बचाउन सकेनौँ । आज उहाँलाई हामी अन्तिम बिदाई गर्न बाध्य भयौँ ।’ बडो कष्ठसाथ त्यति भनेर अमृतले फोन राखिदियो ।
जीवनमा धेरै उतारचढाव र दुःखका खेलहरू झेलेर आठ/नौ वर्षदेखि दूर परदेशमा रहेको शेखरले सीमा दिदीको त्यो अपत्यारिलो मृत्युलाई सहजरूपमा लिन सकेन । जीवनमा पहिलोपटक सपना साँचो भएको महसुस उसले गर्‍यो । गए राति नराम्रो सपना देखेको कुरा त्यतिबेला सम्झियो जतिबेला सीमा दिदीको मृत्युको खबर उसले भाञ्जाबाट पहिलोपटक पायो ।
आफ्नै बाबुलाई वर्षौँ देख्नै नपाई दुई वर्षअघि परदेशमै बाबुको काजकिरिया गर्न बाध्य भएको शेखरले बाबुभन्दा केही महिनाअघि मात्र आफ्नै सासूलाई उसले गुमाएको थियो । यो बीचमा उसले काका, ठूलाबा तथा नातेदारहरू गरेर धरै गुमाइसकेको थियो । परदेशमा रहनु पर्दाको यो पीडाबाट छट्पटिरहेको शेखरका लागि सीमा दिदीको मृत्यु सबैभन्दा भयानक लाग्यो । बुबा र सासू धेरै वर्षदेखि बिरामी हुनुहुन्थ्यो । उमेर पनि पचहत्तर नाघिसकेका भए पनि पाँच/सात वर्ष देख्नै नपाई आफ्ना पि्रयजनलाई बिदाई गर्नु पर्दाको पीडा कति दुःखदायक हुन्छ ? त्यो पनि ऊ सहन बाध्य थियो ।
तर सीमा दिदी त भरखरै बाउन्न/त्रिपन्न वर्षकी मान्छे ! पढेलेखेकी मान्छे ! आजभन्दा करिब पच्चीस वर्षअघि एम.कम पास गरेकी ! त्यो जमानामा नेपालका पढेलेखेका नारीहरूमध्ये औँलामा गनिने ! नेपालको ठूलो बैङ्कमध्येमा पर्ने कृषि विकास बैङ्कको प्रथम श्रेणीको अधिकृतसम्म भएर भरखरै रिटायर्ड भएकी मान्छे ! छ बैनी छोरीहरूमध्ये सबैभन्दा साहसिली छोरी । दुष्ट मानसिकता भएका आफन्तहरूबाट घरमा छोरा तथा भाइ नहुँदाको पीडा भोग्न बाध्य भए तापनि एउटा सुसंस्कृत परिवारकी छोरी ! अल्पायुमा भएको आफ्ना बाबुको निधन र छोरीछोरी मात्र हँुदाको अवस्थाले आफन्तहरूबाट सताइए पनि अत्यन्त साहस लिएर अघि बढेकी छोरी, सीमा दिदी !
शेखर यस्तैयस्तै कुराहरू सोचिरहन्छ सीमा दिदीका बारेमा । सीमा दिदीको मृत्युलाई उसले स्वाभाविक मान्न सकिरहेको छैन । ऊ पत्याइरहेको छैन ।
दुई घण्टापछि जोस्नाको फोन आयो – ‘हाकिम के गर्ने सीमा दिदीलाई बचाउन धेरै प्रयत्न गरियो तर सकिएन ।’ जोस्नाको बोली स्पष्ट थिएन । बोलीमा बोलीभन्दा पनि वेदना थियो । घुक्कघुक्क र सुक्कसुक्कको आवाज बढी थियो ।
‘म पछि फोन गर्छु, अहिले घरमा फोन नगर्नु दिदीहरू झन् रुनुहुन्छ ।’ जोस्नाले धेरै कुरा गर्न सकिनन् ।
जोस्नालाई पनि केही वर्षअघिदेखि आमाको अभाव खड्किएको । त्यसमाथि आफ्नो सबैभन्दा नजिकको साथी श्रीमान् परदेशमा ! त्यसमाथि अचानक माहिली दिदीको मृत्यु ! जोस्नालाई जीवनमा कताकता आँधीतूफान आएर सबै भताभुङ्ग बनाउन खोजिरहेछ जस्तो लागिरहेको छ । उसले फोनमा भनेकी थिई- ‘अब दिदीहरू के गर्ने होला ! सीमा दिदी ठूलो साहस हुनुहुन्थ्यो घरको !’
सीमा दिदी अरू दिदीहरूभन्दा अलि झोक्की र रिसाहा भए पनि उसको सोझोपनलाई साह्रै माया गर्थी र बेलाबेलामा शेखरलाई भन्थी – ‘के गर्नु सीमा दिदी, साह्रै सोझा छ, एकहोरो छ, भनेको मान्दैन र त साखुल्ले पल्टेर भए, नभएका उल्टापाल्टा कुरा सुनाएर एकहोर्‍याएर आफ्नो दुनो सोझो गरिरहेका छन् ।’ शेखरले पनि सोच्यो- ‘यस्तो अपराध सायद यो दुनियाँमा कसैले गर्दैनन् होला !’ शेखर अझ अवरुद्ध भयो । राजनलाई फोन गरेर काममा बोलायो र कामबाट बिदा लियो ।
बग्दाबग्दैको नदी रोकिए जस्तो ! उड्दाउड्दैको चरा आकाशबाट खसेजस्तो ! हेर्दाहेर्दैको एउटा रमणीय हिमाल सम्पूर्ण ढलेजस्तो ! आफू उभिएको धरातल भासिएजस्तो ! आकाशगङ्गा आगो लागेर खरानी भएजस्तो ! कस्तोकस्तो लाग्यो शेखरलाई ! हो, बाबुको मृत्युको खबरले ऊ ज्यादै दुःखी भएको थियो र त्यति असहज भएको थिएन, जति सीमा दिदीको मृत्युको खबरले ऊ भयो ।
सीमा दिदीले अर्को ज्वाइँको तुलनामा शेखरलाई त्यति नजिकको नठाने पनि उसले सीमा दिदीलाई कहिल्यै टाढाको व्यवहार गरेन । उसलाई विश्वास थियो सीमा दिदीका आँखा एकदिन खुल्छन् । जोस्ना पनि शेखरलाई यसै भन्थिन्- ‘हेरिराख्नु हाकिम मान्छे हो एकदिन त आँखा खुलिहाल्छ नि । मान्छेको छाला ओढेको मान्छेजस्तो देखिने मान्छे र मान्छेमा फरक त मान्छेले पत्ता लाउन सकिहाल्छ नि । सीमा दिदी पनि त मान्छे हो ।’ शेखरले सोच्यो – वास्तवमा जसले अरूलाई विश्वास गर्छ त्यो नै मान्छे हो र विश्वासघात गर्ने कुमान्छे हो । मान्छे र कुमान्छेबीचको पहिलो फरक पनि विश्वास र विश्वासघात नै हो । मान्छेले यो संसारमा लुकाउने नै के छ र ! कुनै न कुनैरूपमा कहीँ न कहीँ मान्छेको नाङ्गो र सक्कली रूप मान्छेले देख्छ नै । कसैले नदेखे पनि लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेको नाङ्गो रूप त देख्छ नै । अरूले नचिने पनि लोग्नेले स्वास्नी र स्वास्नीले लोग्ने त चिन्छ नै ।
तर जतिखेर सीमा दिदीका आँखा खुले त्यतिखेरसम्म ढिला भइसकेको थियो । सीमा दिदीलाई मानसिक र शारीरिक रोगले निकै च्यापिसकेको थियो । मानसिक सन्ताप सबैभन्दा ठूलो रोगको रूपमा सीमा दिदीभित्र गाँजिइरहेको थियो । धेरै वर्षपछि पोहरसाल शेखरलाई भेट्दा दिदीले कोठामा एक्लै पारेर टिलपिल आँसुले भरिएका आँखा मिच्दै भनेको कुराले अहिले उसलाई केही मान्छेसँग यति घृणा हुन थालेको छ, त्यतिको घृणित मान्छे अरू कसैको कोही छैन र हुँदैन पनि होला संसारमा !
ज्वाइँ मैले मान्छे चिन्न सकिँनछु, शकुनीहरू त आफ्नो मान्छे भएर घरमै आउँदारहेछन् । चोर र फटाहा चिन्न गाह्रो हुँदोरहेछ । अब म यो घरबाट कहिल्यै बाहिर जान्न ।’ यस्तो भन्ने सीमा दिदी अन्तत सदाका लागि जानु भो । शेखरले कहिल्यै सोचेको थिएन, सीमा दिदीले कुनै दिन यस्तो कुरा मसँग गर्नुहुन्छ भनेर । सधैँ उनीहरूले शेखरका बारेमा नभएका नकारात्मक कुरा मात्र कथुरी रहन्थे । मन्थरा र शकुनीले जस्तो उसका विरुद्ध षड्यन्त्र मात्र गरिरहन्थे तर त्यो षड्यन्त्र शेखर हैन सीमाका विरुद्ध भइरहेको थियो । सीमा दिदीले त्यो कहिल्यै बुझ्नुभएन ।
अहिले शेखरको कानमा सीमा दिदीको मलिन आवाज गुञ्जिरहेको छ । आँखामा दिदीको त्यो पश्चातापपूर्ण अनुहार झलझली आइरहेको छ । मस्तिष्कमा सीमा दिदीको निस्कपट अनि नारीसुलभ सोझोपन खेलिरहेको छ । शेखर भित्रभित्रै मुरमुरिन्छ, दाह्रा किट्छ, मुठ्ठी बटार्छ र भन्छ- “पापीहरू तिमीहरूले सीमा दिदीको हत्या गर्‍यौ ! तिमीहरू नै दिदीका हत्यारा हौ । तिमीहरूले गरेको अपमान, अपहेलना र धोकाले दिदीको साहस टुटायौ । निर्बल बनायौ, लाचार बनायौ र मृत्युको मुखमा हाल्यौ । उपचार गर्न पनि विमुख गरायौ ।
सीमा दिदी साह्रै साहासी हुनुहुन्थ्यो, आँटी हुनुहुन्थ्यो । नाजायज कुरामा कसैसँग कहिल्यै झुक्नुहुन्नथ्यो । अरू दिदीबहिनी र आमा पनि सीमा दिदीसँग डराउनु हुन्थ्यो तर जालीको जालमा फसेपछि दिदीको आँत कमजोर भइसकेको रहेछ । चङ्गुलमा फसेको माछोजस्तो भित्रभित्रै छट्पटिइरहनुभएको रहेछ । भनाँै- कसलाई घरको पीडा । नभनौ कति सहुँ एउटा स्वाभिमानी मान्छेमाथि भएको मानसिक यातना । यो कुरा सबै शेखरले त्यही दिन मात्र खुलस्त थाहा पायो । अरू पनि धेरै कुराहरू भन्ने इच्छा दिदीलाई थियो होला तर अनुकूलता परेन । धेरै कुराहरू बाँकी र थाँती राखेर जानु भो !
शेखरले यो कुरा जोस्नालाई पनि भनेको थिएन । शेखर सीमा दिदीको सङ्घर्ष र त्यागलाई सम्झन्छ । दाजुभाइ नभएको घरमा दिदीबहिनीहरूजस्तै दिदीबहिनीका लागि दुःख गरेर पढेको र अविवाहित बसेको । एम. कम. पढ्न वसन्तपुरदेखि कीर्तिपुरसम्म पुस-माघ, असार-साउन नभनी पैदलै हिँडेर जाने-आउने गरेको । जागिर खाँदै पढ्दै त्यहाँसम्म गरेर तीसौँ वर्षको लामो जागिरे जीवनपछि सुख गर्छु भन्ने बेलामा भएको उहाँको असहज, अप्रत्यासित, अस्वाभाविक र असामयिक मृत्युको जिम्मेवार अरू कोही हैन, सीमा दिदीले भनेका, शकुनीहरू नै हुन् । हरेक शब्दमा हाँहाँ र जालमा ताल मिलाउने मन्थरा चरित्रहरू नै हुन् । जुत्ता लाउनेलाई थाहा हुन्छ- जुत्ताले खुट्टा कहाँनिर खान्छ भनेर, पढेलेखेर अलिकति ज्ञान आर्जन गर्नेलाई मात्र थाह हुन्छ कि पढ्न लेख्न कति गाह्रो छ भनेर तर ती शकुनीजस्ता पात्रलाई के थाहा यी सब कुरा ! शकुनी चरित्र अर्कालाई पीडा दिनु र अरूको दुःखमा रमाउनु हो । यस्तैयस्तै कुराले शेखरको मनमा अहिले डेरा जमाएको छ ।
सम्पत्ति खानु थियो, खाएको भए हुन्थ्यो तर सीमा दिदीको अवला सोझो र एकहोरोपनको भरमार फाइदा उठाएर बहक्याउनु कतिसम्म नीचता हो ? हुन त घरमा सबैले उसको चालामाला बुझिसकेका थिए तर छोरीको मायाले आमा पनि चुप लाग्नु हुन्थ्यो र बहिनीले दुःख पाउँछे भनेर दिदीहरू पनि । उसले उनीहरूको संयमतालाई आफ्नो स्वास्नीमार्फत उपयोग गरिरहर्‍यो । शेखर यी कुराहरू जति सम्झन्छ, त्यति मुरमुरिन्छ ।
शेखरले आफू परदेशिनुअघि नै भनेको थियो – ‘सीमा दिदी तपाईं अलि दुब्लाउँदै गएजस्तो छ एकपटक डाक्टरलाई जचाउनु’ तर त्यसको प्रतिवादमा दिदीलाई उल्टो बहकाए । सायद शेखरलाई समेत दोषी बनाए, नजर लायो भनेर । डाक्टरकहाँ गएर केही हुँदैन दिदी, बोक्सीको आँखा लागेको हो । फलानी बोक्सी हो, चिलानी यस्ती हो । फलानो बोक्सो हो, त्यसको नजरमा हेर्नु हुँदैन, त्योसँग बोल्नु हुँदैन । धामीझाँक्री, झारफुक, भाकल, तन्त्रमन्त्र आदिमा दिदीलाई घुमाउने बहकाउने काम वर्षैवर्ष गरिरहे । आमा, दिदीहरूले कतिभन्दा पनि सीमा दिदी मान्नुभएन, सपेराको मोहनीमा फसेको नागजस्तो दिदी उनीहरूले भनेको हरेक कुरामा टाउको हल्लाइरहनु भो । यस्तो पढेलेखेको भएर पनि के भएको होला, दिदीलाई सबैले यसै भन्थे ।
सीमा दिदी रिटायर्ड हँुदा आएको एकमुष्ठ पैँतीस लाख ! त्यो पैसाले सँगसँगै दुइटा घर बने । एउटा भाडामा लाग्यो । अर्कोमा सीमा दिदी, आमा र आफ्ना अरू दिदीबहिनी छोडेर उतै सर्नु भो । बूढी भएकी आमालाई त्यो कुराले गहिरो असर पार्‍यो र आमा थलिनु भो । त्यो कुरा अरू दिदीबहिनीले बुझेका थिए तर बुझ्नुपर्नेले नबुझेपछि के नै लाग्दोरहेछ र ! दिदी अन्धी हुनु भो ।
नयाँ घरमा आज, भोलि, पर्सी गर्दै दिन बित्दै गए । सीमा दिदी अब उसलाई बोझ हुन थाल्यो । ऊ दिदीका अगाडि नाङ्गिदै गयो । दिनभर रत्नपार्कतिर चाहार्ने र पीपलबोटमा टुक्रुक्क बसेर सित्तैमा पत्रिका हेरेर त्यसैको भरमा घर आएर पिङ हाक्ने गरेको भेद पनि सीमा दिदीको ज्ञानचक्षुमा खुल्दै गयो । सडकमा ढुङ्गा हान्न गएर आज यस्तो भो, आज उस्तो भो भन्दै कहिले दरबारको मान्छे त कहिले सिआइडी विभागको हँु भन्ने मान्छे जब दिनभर विनाकाम न काज घरमा कुचो लाएर बसेको देखेपछि मात्र दिदीलाई थाहा भो- म कस्तो मान्छेको फेला परेँछु भनेर ! आफैँलाई हप्काइदप्काइ गर्दा पनि लोग्नेलाई संसारको अलेक्जेन्डर द ग्रेटजस्तो देखाउन सधैँ हो मा हो भन्ने बहिनीप्रति पनि सीमा दिदीको आँखा अलि उघ्रियो ।
आज अलिकति ! भोलि अलिकति ! पर्सि अलिकति गर्दैगर्दै जब उसले आफ्नो असली चरित्र पूरै देखायो, सीमा दिदी उसँग बस्न नसकेर फर्किने निधो गर्नु भो । त्यतिबेलासम्म आमा बितिसक्नुभएको थियो र दिदी आफैँका लागि पनि ढिलो भइसकेको थियो । आमा बित्दा पनि उसले खासै वास्ता गरेन । उसबाट कुनै सहानुभूति वा समवेदना चुहिएन । गोहीको जति पनि आँसु चुहाउन नसक्ने त्यो मान्छेजस्तो देखिने मान्छे । सायद ऊ दिदीको पनि कामना गरिरहेको हुनसक्छ, जति छिटो सीमा दिदी बित्छिन् त्यति चाँडो यो घर आफ्नो हुन्छ !
उसलाई साइनो, मानवीयता र कर्तव्यपरायणताभन्दा पनि घरसँगको साइनो दह्रो बनाउनु थियो । ऊ त्यो घरमा भित्रिएपछि मान्छेसँगको अरू साइनोलाई उसले तोडिदियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *