ऊ अहिले घुम्ने कुर्सीमा बसेको छ । अगाडि एक्जिक्युटिभ टेबुल छ । टेबुलमाथि कागज र पत्रिकाहरू असरल्ल छरिएका छन् । विभिन्न रङका फोनका तीन रिसिभरहरूमध्ये धेरैजसो कुनै न कुनैमा ऊ व्यस्त पाइन्छ । अफिसको त्यही कोठामा एउटी केटी उसको दायाँपट्टकिो सोफामा बसेकी छ । अविवाहित लाग्छे उमेर र पहिरनले । छिनछिनमा एकअर्कोलाई हेर्छन्, सायद केटीले आफ्नो कुरा भनिसकेकी छ । उसले पीएलाई भित्र कोही नपठाउन भनेको छ । यतिबेला उसको मनमा विभिन्न तरङ्गहरू खेलिरहेका छन्, केटीका बारेमा, घरका बारेमा, कामका बारेमा ।
केटी राम्री छ तर राम्री भएर के गर्न हुन्छ र ! अर्कै भावले ऊ केटीतिर हेर्छ, यतिखेर घरकी श्रीमती सम्झन्छ, डराउँछ । ड्युटी सम्झन्छ, प्रधानमन्त्री -पीएम) ले हिजो भनेका कुरा सम्झन्छ, “छिमेकी देशहरूसँग नेपालको सम्बन्ध तलमाथि परिरहन्छ, कृत्रिम वा यथार्थ कारणले । सानो र ठूलो देश छिमेकी हुँदा स-सानो मुद्दामा पनि किचकिच पर्छ । ठूलोका क्रियाकलापबाट सानोले हस्तक्षेपको गन्ध पाउँछ, हेपिएको ठान्छ र स्वाभिमानमा आँच पुगेको मान्छ ।”
उसलाई, पीएमको भनाइ ठीकै लाग्छ । अन्तर्राष्ट्रिय सम्बन्धको किताब पढ्दादेखिको कुरा ऊ सम्झन्छ, अन्य मुलुकहरूमा पनि यस्तै हो । यस्ता देशहरूको सम्बन्ध संवेदनशील हुन्छ । वैदेशिक मामलामा अनुभव नभए पनि उसले केही किताबहरू पढेको छ, डिप्लोम्याटहरूसँग उसको उठबस पनि छ । ऊ ठान्छ, पीएम पनि उसबाट इन्पुटको अपेक्षा गर्छन् । अहिलेको स्थिति गम्भीर भएकाले पीएमले केही गर्नैपर्ने ऊ देख्छ । तर, शान्तिसुरक्षाको अवस्थाले अन्त ध्यानै जाँदैन । सधँै मान्छे मरेको खबर आउँछ । देशको ‘इन्टेलिजेन्स’ नाम मात्रको छ, घटना हुनुअघि सूचनै पाइँदैन । सिपाहीको मनोबलै छैन, पुलिसमा हीनताबोध छ । सरकारी मेसिनरी पङ्गू छ । त्यसैले हरेक सरकार असक्षम हुन्छ । पीएमको सल्लाहकारका हैसियतले ऊ चिन्तित हुन्छ । “हो कि होइन, भन त ?” अगाडि बसिरहेकी केटीलाई सोध्छ । केटीले बुझ्दिन, उसको मनको कुरा कसरी केटीले बुझ्ने ?
सोधी, “के सर ?”
“तिमीले के पढेकी हौ, भन त ?” आफूले सोचेका प्रसङ्गहरू ऊ बताउँदैन, बरु आफूलाई मोड्छ ।
“डिग्री त राम्रै छ सर तर काम पाइँदोरहेनछ ।”
“धैर्य चाहिन्छ,” सल्लाहकारले केटीको डिग्री सोध्दैन, बरु आश्वासन दिन्छ, “म छु नि, पीर नगर ।” ऊ कुर्सीबाट उठेर केटी बसेको सोफातिर बढ्छ र केटीको ठीकअगाडि न्यूनतम दूरीमा उभिन्छ ।
“ठीकै छ तर बाहिरचाहिँ जान्न सर, सुरक्षा अवस्थाका कारणले ।”
ऊ त्यहीँ उभिरहन्छ, मनमा लोग्नेमान्छेपन दौडिन्छ तर सम्हालिन्छ । “तिमीले भनेको गलत हैन, अस्ति मामुली कुराले कस्ता घटनाहरू भए देशमा, देखिहाल्यौ ।”
“त्यही त, हल्लैहल्लाले…, के भन्नु ?” केटीले यसो भन्दा उसले त्यस दुर्भाग्यपूर्ण घटनाको लगत्तै उक्त देशका राजदूतले पीएमसँग भेट्ने भनेका कुरा सम्भिmन्छ । प्रधानमन्त्री-राजदूत अनौपचारिक भेटमा ऊ पनि छेवैमा बसेको थियो ।
राजदूतले भने, “नेपालमा एउटा तत्त्व दुई देशबीच राम्रो सम्बन्ध देख्न चाहँदैन । हाम्रा आफ्नै समस्याहरूले गर्दा नेपाललाई दुःख दिने बारेमा हामी सोच्नै भ्याउँदैनौँ । तर, नेपाललाई यो बुझाउन गाह्रो छ । यहाँ हाम्रो देशमा विरोधी भावना बढ्नुको कारण हामी देख्दैनौँ । तर, यस समस्यालाई नेपालले गौण मान्छ, यसबाट अन्ततोगत्वा नेपालीहरूलाई नै घाटा हुन्छ ।” पीएमले आफ्ना समस्याचाँहि बताएनन् । खालि भने, “हामीलाई तपाईंको आशीर्वाद चाहिन्छ ।” करिब १० मिनेट भित्री कोठाको सोफामा बसेर पनि दुई जनाले अन्तरङ्ग कुरा गरे । राजदूतको कुराले उसलाई अहिलेसम्म चिमोटिरहेको छ ।
उसको विचारमा अहिलेको अवस्थामा पीएमले छिमेकी देशहरूसँगको सम्बन्ध सुधारमा ध्यान दिनुपर्छ । यसबारेमा उसले पीएमलाई सल्लाह दिइसकेको छ । यसमा उसलाई गर्व पनि लाग्या छ ।
ऊ आफूलाई पीएमको अन्य सल्लाहकार भन्दा जान्ने मात्र होइन, पहिलेका पीएमहरूका सल्लाहकारहरूभन्दा पनि बेग्लै र सिपालु ठान्छ । पहिलेका सल्लाहकारहरूको महिनौँसम्म पीएमसँग भेट नहुने कुरा उसले सुनेको थियो । उनीहरूले कहिल्यै सल्लाह दिएनन्, प्रधानमन्त्रीले पनि सल्लाह मागेनन् । यही चर्चा थियो । चर्चा त अहिले पनि त्यस्तै छ तर यो चर्चा उसलाई थाहा छैन । चिया खाने, गफ गर्ने, साथीभाइहरू भेट्ने र कर्मचारीहरूको सरुवा, बढुवा र नियुक्तिका लागि फोन गर्ने काम पीएमको अफिसबाट हुन्थ्यो । केहीले यस पदलाई पछि राजनीतिमा सफल हुने, आफ्नो जिल्लामा भोट बढाउने मौकाको रूपमा लिएका थिए ।
उसकै नियुक्ति पनि विवादमा नफसेको होइन तर उसको विचारमा ऊ ती सल्लाहकारहरूको भीडमा पर्दैन, ऊ त बुद्धिजीवी हो । यसलाई लाग्छ, पीएमलाई उसको सल्लाह नभई हँुदैन, सल्लाह दिन ऊ सक्षम छ । जति समय अफिसमा बस्छ, सकभर ऊ पीएमसँगै बसिरहन चाहन्छ । तर, पीएम त्यस्तो चाहन्नन् । कतिपटक पीएमले आफ्नो च्याम्बरबाट उसलाई बाहिर जान भनेका छन् । तर, ऊ बोलिरहन्छ, सल्लाह दिइरहन्छ । यस्तो आँट अरूले गरेको देखिन्न । उसको सल्लाह पीएमले सुनेको या नसुनेको हेक्का भने उसले राखेको छैन । यसका अतिरिक्त आफ्नो कामका लागि ऊ आफैँ पीएमको आज्ञा भएको बताई विभिन्न अधिकारीहरूलाई फोन गरिरहन्छ । सल्लाहकार भएपछि उसले निजी सम्पत्ति पनि जोडेको छ । ऊ पीएमप्रति कृतज्ञ नै छ ।
ऊ केटीका अगाडि उभिइरहेकै थियो, पीएले बाहिर धेरै मान्छे भइसके भन्छे । ऊ एकपटक केटीको अनुहार हेर्छ र पठाइदेऊ न त सबैलाई एकैपटक भनेर कुर्सीमा बस्छ । महिलासहित एक हुल आगन्तुकहरू कोठाभित्र छिर्छन् । बसिरहेकी केटी जुरुक्क उठ्छे, नमस्कार गर्छे, पर्सि आउँछु भनेर बिदा हुन्छे ।
यता कोठामा छिरेका सबै जना एकछिन नबोलीकन बस्छन् । मौनता तोड्दै एउटा बोल्छ, “तपाईंको प्रधानमन्त्रीलाई त भारतले बनाएको भन्छन् नि ?” सबैले उसलाई हेरे । यस्तो ‘ब्लन्ट’ बोली एक्कासि सुनेर उसको दिमाग तात्छ ।
“कसले भन्यो ? के भारतसँग राम्रो सम्बन्ध हुनु खराब हो ?” सल्लाहकारको अनुहार गम्भीर हुन्छ ।
“मैले कहाँ त्यसो भनेको हो र ?”
“अनि के भनेको त ? नेपालमा पार्लियामेन्ट छैन ? पार्टीहरू छैनन् ? राजा छैनन् ?” सल्लाहकार कड्किन्छ ।
“कुनै कुरा हामीलाई पनि थाहा हुन्छ । नझाँेक्किनुस् ।”
“यो सिंहदरबार हो, प्रधानमन्त्रीको अफिस हो, थाहा छैन तपाइर्ंलाई ?”
“अनि यति कुरा गर्न घरमै आउ“m त ?”
“यहाँ के काम पर्यो ? तपाईं पत्रकार हो ?” सल्लाहकार अलि नरम हुन्छ ।
“तपाईं मलाई चिन्नुहुन्न, म पत्रकार होइन । तपाईं कहिलेदेखि हाम्रो पार्टीमा लाग्नुभएको ?”
“पहिले काम भन्नुस् ।”
त्यस आगन्तुकले फेरि बोल्नुअघि अरूको अनुहारहरूतिर आँखा दौडाउँछ, बोल्न खोज्छ, रोक्छ । यत्तिकैमा सल्लाहकार कुर्लिन्छ, उहाँहरू आफ्नै मान्छे हुनुहुन्छ ।
“ठीकै छ,” बसेको ठाउँबाट उठेर सल्लाहकारतिर जान्छ र कानैमा भन्न खाज्छ । सल्लाहकार र्झकन्छ, कसैले सुनेर केही हुँदैन ।
“मलाई आयल निगमको जीएम चाहियो, पीएमलाई राम्ररी भनिदिनु पर्यो तपाइर्ंले,” उसले आफू आउनुको कारण बताइहाल्छ । त्यहाँ सबैले ऊतिर हेर्छन् ।
“खाली छ र ?” सल्लाहकारले सोध्छ ।
“हटाए खाली भइहाल्छ नि ! त्यो हाम्रो मान्छे हैन । नहटाए हामी जुलुस निकाल्छौँ । पैसा खान्छ, तपाईंलाई थाहा छैन, हामीलाई थाहा हुन्छ ।”
“तपाईंले बायोडाटा ल्याउनुभा’छ ?” सल्लाहकारले सोध्छ ।
“केको बायोडाटा ? तपाईंले मलाई चिन्नु भा’छैन । म जेल पर्दा तपाईं कहाँ हुुनुहुन्थ्यो ? तपाईं जेलै पर्नुर्भएको छैन, जेलमा पिटाइ खानु भा’छैन । त्यसैले तपाईंलाई हाम्रो व्यथा थाहै छैन ।”
“बायोडाटा नदिईकन जीएम हुने ?”
“होइन, तपाईं तुरुन्त मेरो नाम पीएमलाई बताउनुस् र मैले आयल निगमको जीएम खोजेको छु, ठूलो पद खोजेको छैन । मसँगैकाहरू कोही मन्त्री भए, कोही एमपी छन् ।” यति भनेर ऊ ढोकातिर लाग्छ र निस्कनुअघि फेरि एकपटक कड्किन्छ, “ल है, फरक नपरोस्, हैन भने…। प्रधानमन्त्रीलाई मैले बचाएको, म नभएको भए बर्दियाको जङ्गलमै सिद्धिसक्नु हुन्थ्यो । तपाईं सक्नुहुन्न भने मलाई पीएमसँग भेटाउनुस् ।”
“नाम पनि नदिने ?” सबै जना गलल हाँस्छन् ।
“नाम त दिन्छु,” उसले लेखेर सल्लाहकारलाई दिन्छ र अन्त्यमा भन्छ, “म फेरि आउँछु ।”
त्यहाँ बसिरहेकी महिला बोल्छे, “के यसरी कराउनुपर्छ ? थर्काए मात्र काम हुने हो कि ?”
“हो हो, मलाई खुब थर्काउनुस् ।”
यत्तिकैमा फोनको घण्टी बज्छ, ऊ जुरुक्क उठ्छ । र, ‘मलाई बोलाउनुभो’ भनेर ढोकाबाट बाहिर निस्कन्छ ।
सबै उठ्छन् । ऊ तुरुन्त र्फकन्छ । अझै मान्छेहरू छन्, दुई जना अघिकै, अरू नयाँ । यसपटक ऊ ‘रिल्याक्स’ देखिन्छ, चिया मगाउँछ । अनि अरूको सुन्नुभन्दा ऊ आफैँ सुनाउन लाग्छ ।
“हेर्नुस्, म परराष्ट्र मामिलाको सल्लाहकार । यहाँ जीएम बन्ने, पैसा माग्ने, जागिर चाहिने आउँछन् । म भने भारतसँग सम्बन्ध सुधार गर्ने उपायहरू सोच्दैछु” उसले बोल्दाबोल्दै एउटाले बीचैमा थप्छ, “त्यसो भए यहाँ त राजदूत माग्न पो आउनुपर्ने रहेछ ।” सबै हाँस्छन् । ऊ पनि मुसुक्क हाँस्छ, “हो त, मान्छेहरू कुरा बुझ्दैनन् । जे पनि म गर्न सक्छु, राजदूत नियुक्तिमा गडबड भएको छ, परराष्ट्र मन्त्रालय कुरै बुझ्दैन । संसार गतिशील छ, ऊ परम्परागत कूटनीति गर्छ ।” यति भनेर उसले पीएलाई बोलाउने घण्टी दबाउँछ र भन्छ, “ए, चिया खै ?”
चिया पनि आइपुग्छ ।
“हतार छ, पार्टीको भेला छ, म नगई हँुदैन ।” महिलाले आफ्नो ब्यागबाट चिट झिकेर दिन्छे र भन्छे, “नगरी हुँदैन है !” चिट हेर्दै सल्लाहकार बोल्छ, “भन्सारको सरुवा ?
ओहो !”
“के ओहो ? त्यति नभए कुर्सीमा बसेको हेरौँला,” महिला च्याँट्ठिएर बाहिर निस्कन्छे । सल्लाहकार टाउकोमा हात लगाउँछ । फेरि सम्हालिन्छ, “ल तपाईंहरू नै भन्नुस्, भारतको प्रधानमन्त्रीले नेपालको भ्रमण नगरेको कति भयो ? म यसैमा लाग्या छु । यस्तो बेलामा म अरू कुरा सुन्न सक्छु ? जसरी भए पनि हिन्दुस्तानको प्रधानमन्त्रीलाई नेपालको औपचारिक यात्रा गराउनु छ, जुन विगत २० वर्षदेखि भएको छैन । पहिलेकाहरूको कूटनीतिक दिवालियापन हो यो । कर्मचारीहरू गलत र उल्टो काम गर्छन् । नेताहरूले राजनीति त गरे, कूटनीति गर्न जानेनन् । राम्राे मान्छेको सल्लाह लिएनन् । देशलाई बेफाइदा भयो । अब देशलाई फाइदा हुने सल्लाह दिँदैछु ?”
कोठाको ढोका अचानक खुल्छ । अघि ‘पर्सि आउँछु’ भनेर गएकी केटी पो फेरि भित्र छिर्छे पीएको मद्धतबिना । उसको अनुहारमा परिवर्तन आउँछ, कुर्सीबाट जुरुक्क उठ्छ र केटीलाई ‘आऊ आऊ’ भन्दै कोठामा बसिरहेकाहरूलाई बाहिर जान निर्देशन दिन्छ ।
नेपाल साप्ताहिक
अंक १४७
