वर्णको परिचय
वर्ण भनेको भाषाको लघुतम एकाइ हो । यो अविभाज्य हुन्छ । भाषाको सबैभन्दा सानो अर्थ विभेदक ध्वनिलाई वर्ण भनिन्छ । वर्णहरू अर्थ विभेदक हुन्छन् । अर्थ विभेदकताका आधारमा वर्णहरूको निर्धारण हुन्छ । जस्तै:
लघुतम शब्द युग्म उच्चारण अर्थ भेदक एकाइ परिवेश अर्थ
काल काल् क् आल् समय
चाल चाल् च् आल् चालढाल, तरिका
चाल ताल् त् आल् पोखरी, दह, चाल
माल माल् म् आत् माल सामान
साल साल् स् आल् वर्ष
दाल दाल् द् आल् मास, रहर, आदिबाट दलेर बनाइएको बस्तु
उपर्युक्त शब्द युग्ममा परिवेश ः आल् एउटै छ तर सबै शब्दको अर्थ फरक फरक छ । एउटै परिवेश भएर पनि भिन्न भिन्न अर्थ दिन सक्ने ध्वनिहरू नै वर्ण हुन् । काल, चाल, ताल, माल, साल र दाल शब्द युग्ममा क्रमशः क्, च्, त्, म्, स्, द् ले गर्दा अर्थमा भिन्नता आएको हो । त्यसैले क्, च्, त्, म्, स्, द् वर्ण हुन् ।
कुनै भाषामा यस्ता अर्थ भेदक ध्वनि जति हुन्छन् त्यति नै त्यस भाषाका वर्ण निर्धारित हुन्छन् । यस दृष्टिले नेपाली भाषाका स्वर वर्ण ६ ओटा र व्यञ्जन वर्ण २९ ओटा छन् ।
लेख्य नेपालीमा यी सबै वर्णहरूको प्रयोग गरिन्छ । तर यी सबैले उच्चारणमा भिन्नता दर्साउन सक्दैनन् । यीमध्ये ई, ऊ, ऋ, ऐ, औ, अं, अः स्वरहरू र ञ, ण,श,ष, त्र, ज्ञ व्यञ्जनहरूको उच्चारणमा छुट्टै पहिचान देखिँदैन । स्वरमा ई Ö इ (नानीÖ नानि) ऊ Ö उ (जाऊÖ जाउ), ऋ Ö रि (ऋतु Ö रितु) ऐÖ अइ, औ Ö अउ, अं Ö अम्, अः Ö अह् र व्यञ्जनमा ञ Ö यँ (व्यञ्जन Ö व्यन्जन्), ण Ö डँ/अँडँ (गणेश, कण्ठÖ कन्ठ), श, ष Ö स (शान्ति Ö सान्ति, सन्तोष Ö सन्तोस), क्ष Ö छ्य/छे (क्षय Ö छ्यय, क्षेत्री Ö छेत्त्रि), त्र Ö त्र, ज्ञ Ö ग्यँ ध्वनि नै उच्चारण हुने हुँदा उच्चारणबाट अर्थमा भिन्नता आउँदैन । त्यसैले नेपाली भाषामा ६ ओटा स्वर र २९ ओटा व्यञ्जन गरी जम्मा ३५ ओटा वर्णहरू रहेका छन् ।
वर्ण विन्यासको परिचय
लेख्यरूपमा वर्णहरूको रखाइ क्रमलाई वर्ण विन्यास भनिन्छ । यसलाई हिज्जे पनि भनिन्छ । वर्ण विन्यासलाई लिपि विन्यास पनि भन्न सकिन्छ । यो लेख्य भाषासँग सम्बन्धित प्रक्रिया हो । कुनै भाव वा विचार वा कुनै कुरा लेख्य भाषामा व्यक्त गर्दा वर्ण विन्यास मिलाउनुपर्छ । वर्णको सम्बन्ध अर्थसँग हुने भएकाले वर्ण विन्यासमा त्रुटि भएमा कुनै अभिव्यक्ति सही र स्पष्टरूपमा प्रकट हुन सक्दैन । लिखित अभिव्यक्तिमा लेख्य चिन्हहरूको शुद्ध, स्पष्ट र स्तरीय प्रयोगको आवश्यकता पर्दछ । यसका लागि नेपाली भाषाको वर्ण विन्याससम्बन्धी नियम, मान्यता र प्रचलनहरू बुझ्नुपर्ने हुन्छ ।
तत्सम्, तद्भव र आगन्तुक गरी तीन किसिमका स्रोतबाट नेपाली भाषाको शब्दभण्डार बनेको हुँदा नेपाली वर्ण विन्यासमा यी तीनै किसिमका प्रयोगहरू छन् ।
तत्सम
संस्कृत भाषाबाट रूप र अर्थमा कुनै परिवर्तन नभई जस्ताको तस्तै (तत् समान) नेपालीमा प्रयोग गरिनु तत्सम हो । जस्तै: प्रज्ञा, ऋषि, अञ्जलि, कीर्ति, दर्शन, विद्वान् । नेपाली भाषाको जननी संस्कृत भाषा भएकाले संस्कृत भाषाको नेपाली भाषामा निकै ठूलो प्रभाव छ । नेपाली प्रयोगमा तत्सम नियमलाई पछ्याउँदै आइएको छ ।
तद्भव
संस्कृत भाषाबाट पहिलेको स्वरूपमा परिवर्तन (तद्भवः त्यसबाट बनेको) भई नेपालीमा प्रयोग गरिनु तद्भव हो । यसमा स्तरीय नेपाली उच्चारणअनुसार वर्ण विन्यासको प्रयोग गरिन्छ । जस्तै: आश्विन – असोज, मिष्ठ – मीठो, दुग्ध – दूध, आषाढ – असार, काष्ठ – काठ ।
आगन्तुक
संस्कृत भाषाबाहेक अन्य भाषाबाट नेपाली भाषामा प्रयोग गरिनु आगन्तुक हो । आगन्तुक शब्दहरू नेपाली वर्ण विन्यासका नियमअनुसार लेखिन्छन् । आगन्तुक प्रयोगमा नेपालीमूलक नियमको पछ्याइ बढ्दो छ । जस्तै: स्कुल, महसुस, सहिद, बक्खु, तुम्बा, क्वाँटी, कच्चा आदि ।
यसरी नेपाली भाषामा मुख्य गरी तत्सममूलक नियम र नेपालीमूलक नियम प्रचलनमा भएको देखिन्छ । नेपाली भाषामा कतिपय अवस्थामा जस्तो बोलिन्छ त्यस्तो लेखिँदैन र जस्तो लेखिन्छ त्यस्तो पढिँदैन । कतिपय कथ्य नेपाली र लेख्य नेपालीमा भिन्नता पाइन्छ । यी विभिन्न कारणले गर्दा नेपाली प्रयोक्तालाई वर्ण विन्यासमा कठिनाइ परेको छ । वर्ण विन्यासमा खास गरी इकार-उकार -इ/ई ( उ/ऊ), य-ए, यि/यी-इ, ऋ-रि, क्ष-छ्य-छे, पञ्चम वर्ण ः ङ, ञ, न, म, शिरबिन्दु ( ं ), चन्द्रबिन्दु ( ँ ), ब-व, श-ष-स, ज्ञ-ग्यँ, अजन्त-हलन्त, पदयोग-पदवियोगको प्रयोगसम्बन्धी समस्या निकै देखिन्छ । यी विविध पक्षलाई दृष्टिगत गरी यहाँ पदयोग र पदवियोगको बारेमा चर्चा गरिन्छ ।
पदयोग र पदवियोग
एक पदमा अर्काे पद जोडिने प्रक्रियालाई पदयोग र एक पदमा अर्काे पद नजोडिने प्रक्रियालाई पदवियोग भनिन्छ । पदयोगमा शब्दहरू जोडेर लेखिन्छ भने पदवियोगमा शब्दहरू छुट्याएर लेखिन्छ । सामान्यतः पदयोगमा एउटै डिकोमा र पदवियोगमा भिन्न डिकोमा लेख्ने गरिन्छ तर डिको नै पदयोग र पदवियोगको विभाजक होइन । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयजस्ता शब्दहरू समस्त शब्द हुन् तर यी शब्दहरू छुट्टाछुट्टै लेखिन्छन् ।
नेपाली भाषाका प्रयोक्तालाई वर्ण विन्यासको प्रयोगमा समस्या छ । त्यसमा पनि पदयोग र पदवियोगमा अझ बढी समस्या देखिन्छ । कस्ता कस्ता र कति कति शब्दहरू जोडेर लेख्ने र नजोडी लेख्ने भन्ने कुरामा निकै द्विविधा छ । पदयोग र पदवियोगका सम्बन्धमा विज्ञहरूमा त एकरूपता पाइँदैन भने सामान्य प्रयोक्तामा समस्या पर्नु स्वाभाविकै हो । तसर्थ यिनै पक्षहरूलाई ध्यानमा राखी केही पदयोग र पदवियोगसम्बन्धी मान्यता र प्रचलनहरू तल उल्लेख गरिएको छः
पदयोग
निम्न शब्दहरूमा पदयोग हुन्छः
१. सर्गमा (उपसर्ग र परसर्ग)ः उपयोग, अभियोग, नियोग, गैरजिम्मेवार, नेपाली, गोर्खाली, दुधालु, रसिलो…
२. विभक्तिमा ः उसलाई, उनको, उसले, घरमा, चम्चाले..
३.बहुवचनमा ः साथीहरू, फूलहरू, दिदीहरू…
४. छोटा नामयोगीमा ःघरमाथि, त्यसपछि, उमेशसँग, उतातिर, भाइभन्दा, बाटामुनि ।
५. समस्त शब्दमा ः लोकतन्त्र, ऋणमुक्त, दोबाटो, चरीनङ्ग्रे, मृगनयनी, अघिपछि, छोराछोरी, राज्यमन्त्री ।
६. द्वित्व शब्दमा ः भातसात, सरसल्लाह, झैझगडा, कर्यामकुरुम ।
७. केही अव्यय शब्दमा ः किनभने, त्यसकारण, हुनत ।
८. शब्दको पछाडि प्रत्यवत् भई आएका शब्दहरूमाः साहित्यकार, वस्तुपरक, शिक्षाविद्, कल्याणकारी, कष्टकार, वस्तुपरक, शिक्षाविद्, कल्याणकारी, कष्टप्रद, लाभदायक, गतिशील, तागाधारी ।
९. सन्धि हुँदा पूर्वापर शब्दमा विकार भई आएका शब्दमा ः चन्द्रोदय, मतैकता सान्नानी, वृद्धाश्रम ।
१०. अकरण जनाउने ‘न’ चिन्हमा ः नजाऊ, नखेल, नजानी, नराम्रो ।
पद वियोग
निम्न शब्दहरूमा पद वियोग हुन्छ ः
१. हरेक शब्दहरूमा ः म चिया खान्छु ।
२. विभक्तिपछिको विभक्तिमाः उसका लागि, रामका निम्ति, आफ्ना लागि ।
३. विभक्तिपछिको नामयोगीमा ः घरदेखि बाहिर, ऊभन्दा बाहेक, छानाको माथि, छोरालाई भन्दा ।
४. द्वयक्षरी वा सोभन्दा भनाइ बढी व्यञ्जनान्त अक्षरका नामयोगीमाः भनाइ अनुसार, विकास सम्बन्धी, विकास लगायत, भाषण अनुरुप, योजना बमोजिम, तिमी बाहेक, खेल अन्तर्गत, राम लगायत ।
५. निपातमा ः आफू त, तिमी पो, घर नै, म मात्र ।
६. संयोजकमा ः राम र सीता, तिमी जे गर्छौ म त्यही गर्छु, तिमी पनि म पनि ।
७. विशेषण र विशेष्य भई आउने शब्दमाः ठूलो छोरो, भित्ते पात्रो, शुभ यात्रा, उच्च शिक्षा, निम्न वर्ग, पढेको केटो ।
८. केही संयुक्त क्रियामा/पक्षबोधक क्रियामा/कृदन्तीय क्रियाको अंशमा ः बसेको छ, गएको थियो, खाँदै छ, जानु छ, सुत्ने छ, उठ्न सक्यो, फरफराइ रहेको छ, गइ दिनु हुनेछ, पढे हुन्छ, गर्नु थियो, बोलि दिनु होला, गर्न सक्छ ।
९. जाति, वर्ग आदि जनाउँदा सो भन्दा पहिले आउने नाममा ः गुरु वर्ग, शरद ऋतु, वर्षा याम, थारु जाति ।
१०. दुईभन्दा बढी शब्दबाट बनेका समस्त शब्दमाः नुन चिनी पानी, शिक्षा सेवा आयोग, तन मन धन ।
११. जतिसुकै अक्षर भएका शब्दसँग व्यञ्जनान्त द्वयक्षरी वा सोभन्दा बढीका अनेकाक्षरी शब्दहरु समास भएमाः घर पालुवा, वायु प्रदुषण, स्वास्थ्य सेवा, वन कार्यालय, संविधान सभा, ऊर्जा विभाग ।
१२. व्यक्ति वाचक नामसँग आउने पदमाः लमजुङ जिल्ला, जुम्ला जिल्ला, हरिहर भवन, दशरथ चोक ।
१३. दुई अक्षरबाट बनेका व्यञ्जनान्त शब्दमाः समाज सुधार, नाटक मञ्चन, नेपाल सरकार ।
१४. कोटिकरमा ः दुई जना, तीन ओटा, आठ कोसा ।
१५. सार्थक पकृतिका द्वित्व शब्दमा ः जो जो, जे जे, ठीक ठीक, बीच बीच ।
१६. बीचमा अवधार- णाबोधक शब्द आएमा मिश्रति क्रिया तथा संयुक्त क्रियामा ः खानु नै पर्छ, जाने नै छ ।
१७. विभाजन जनाउने ‘न’ माः न आफू पढ्छ न अरूलाई पढ्न दिन्छ, न पढ्छ न लेख्छ, न छोरो न छोरी ।
सारांश
वर्ण विन्यास लेख्य भाषासँग सम्बन्धित विषय हो । लेख्य भाषाका आफ्नै विशेषताले गर्दा लेखाइमा अनेक त्रुटि हुनु, प्रयोक्तालाई कठिनाइ पर्नु स्वाभाविक हो । यी कुराहरूप्रति सचेत हुनु सम्बद्ध पक्षको जिम्मेवारी हो । भाषाको आधुनिकीकरण र मानकीकरणको प्रयास सँगसँगै हुनु वाञ्छनीय छ । भाषालाई सबल र गतिशील बनाउन यस्ता प्रयास निरन्तर हुनुपर्छ । नेपाली वर्ण विन्याससम्बन्धी मान्यता सबैका लागि स्वीकार्य र सरल हुनुपर्छ ।
पदयोग तथा पद वियोगका सम्बन्धमा मत मतान्तर पाइएला तर हामीले ‘भाषा सरलतिर’ भन्ने आशयलाई बिर्सनु हुँदैन । आखिर कतिसम्मका शब्दहरूको पदयोग गर्ने त ? मुक्त प्रकृतिका शब्दहरूको पनि पदयोग गर्दै जाने ? पक्कै पनि यी सवालहरूप्रति गम्भीर बन्नुपर्छ भन्ने लाग्छ । भाषिक प्रयोगमा सरलता होस् नकि जटिलता । प्रयोक्ताहरूलाई अलमलमा पार्नुहुँदैन । उनीहरूमा अनावश्यक बोझ थुपार्नु पनि हुँदैन । यी मान्यताहरूको प्रयोगबाट अवश्यमेव छापामा सजिलो हुनेछ, लेखनमा सहज हुनेछ र लेख्य अभिव्यक्ति सुन्दर पनि देखिनेछ ।
सन्दर्भग्रन्थ सूची
-अनिवार्य नेपाली शिक्षण निर्देशिका, त्रि.वि., पाठ्यक्रम विकास केन्द्र, अनिवार्य विषय स्थायी समिति, साझा प्रकाशन, २०६६ ।
-अधिकारी, हेमाङ्गराज (२०६३), प्रयोगात्मक सरल नेपाली व्याकरण (दो.सं.), काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
-बन्धु चूडामणि (सातौँ सं. २०५३), भाषाविज्ञान, काठमाडौँ ः साझा प्रकाशन ।
-शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (२०६०), आधुनिक भाषाविज्ञान, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
-सुवेदी, लालानाथ र हरिप्रसाद शर्मा (२०५१), नेपाली वर्ण विन्यास, काठमाडौँ ः साझा प्रकाशन ।
शिक्षाशास्त्र केन्द्रीय विभाग
त्रि.वि., कीर्तिपुर
