अचानक हरायो मेरो एउटा लुम्रे कविता
हराएकैमा खुसी लाग्ने एउटा झुम्रे कविता
हराएको त्यो कुकवितामा मैले
वीर गोर्खालीका सन्तानहरूले
कम्प्युटरले हिर्काएर जमिन चर्काएको कथा
एक हरफमा पनि गाएकै थिइन
लाभा ओकल्ने ज्वालामुखी युवाहरूले
मस्जिद मर्काएको कथा
कतै पनि चर्चा गरेकै थिइन
हराएको त्यो डरछेरुवा कवितामा
रगतको खोलामाथि
मान्छेका हाडकरङको पुल हाल्ने
क्रान्तिका सपना पनि थिएनन्
रत्नपार्कमा रिले अनशनको ओथारो बसेर
गणतन्त्रको फूल पार्ने
भ्रान्तिका जपान पनि थिएनन्
त्यस्तो,
वीर नेपाली जातिको अदम्य वीरता झल्किने
कुनै झलकसम्म नभएको झल्लु कविता हरायो
राम्रै भयो,
आफ्नो हातले डढेलो लाउन नसकेको
एउटा जडौरी कविता हरायो ।
धरोधर्म
हराएको त्यो नामर्द कवितामा मैले
तस्करस“ग इनाम लिएर इमान बेच्न सक्ने
महान्यायालयका कुनै न्यायमर्ूर्तिको
व्यापारका बारेमा लेखेकै थिइन
टाउकामा सत्य सेवा सुरक्षाको छाता
र छातीभरि राजाले दिएका तक्मा ओडेर
ढल निकासको नालीमा
वारपार पौडी खेल्न सक्ने
कुनै महानिरीक्षकहरूका योगदानलाई
मैले कवितामा देखैकै थिइन
त्यस्तो,
देशको शिर झन् माथि उठाउने
महामानवहरूको नामै नलेखेको नपुङ्सक कविता हरायो
राम्रै भयो,
पुतला बनाएर चौबाटोमा
आगो सल्काउनु नपर्दै
एउटा हुतिहारा कविता हरायो ।
त्यो का“तर कविता लेखिरह“दा मैले
कालो धनले गुप्ताङ्ग छोपेर
र्सार्वजनिक सभाहरूमा
निर्लज्ज भाषण गरिरहन सक्ने महापुरुषहरूलाई
चिरञ्जीवी हुने आशिष दिनसकेकै थिइन
दसैका बोकाजस्तै
बेरोजगार नेपालीलाई
खाडीमा बलि दिएर
बाली भित्र्याउन सफल
सम्बन्धित सबै युगपुरुषहरूलाई
अलिकति पनि ठाउ दिनसकेकै थिइन
नेपालीले नेपालीलाई
कीला ठोकेर छाला काड्ने
मौलिक नेपाली क्रान्तिकारी काइदालाई
मैले एक अनुच्छेद स्वागत मन्तव्य पनि
व्यक्त गर्ने सकेको थिइन
त्यस्तो,
नेपाललाई विश्वको हाराहारीमा पुर्याउने विषयमा
चू पनि नबोलेको अराष्ट्रिय कविता हरायो
राम्रै भयो,
शब्दहरूको सत्यनाश भएको
एउटा मर्ुर्कुट्टो कविता हरायो ।
हराएको त्यो लाछी कवितामा मैले
देश विकासमा युवाहरूको बलिदानको
कदर गरेकै थिइन
कागले कान लग्यो भन्ने सुन्नासाथ
काधमा टायर भिरेर
आफ“ैलाई आगो सल्काउन सक्ने
बहादुर तन्नेरीहरूको उत्साहमा
थप हौसला भरेकै थिइन
देशमा दनदनी डढेलो दन्किरहदा
बासुरी बजाएर सुतिरहेका
वा सुरालमा मुतिरहेका
कुनै मन्त्री पुलिस वा सेनाको
कहालीलाग्दो निन्द्रालाई
अभिनन्दन गरेकै थिइन
सहर खरानी भइसकेपछि
सुराल पनि नफेरी
भक्कानो परेको छाती र आ“सु भरिएका आखाले
क्षतिको निरीक्षण गरिरह“दा
मैलै, ती पुतलाहरूको स्वागत गर्न
कलममा एक थोपो मसी पनि भरेकै थिइन
त्यस्तो,
जिउदै मरिसकेको एउटा पानीआन्द्रे कविता हरायो
राम्रै भयो,
र्सार्वजनिक गर्नु नपर्दै
त्यस्तो एउटा लोमूते कविता हरायो ।
नेपाल साप्ताहिक
अंक ११४
