नेपाल घर हो साझा, नेपाली घर मालिक ।
प्रतीक देशको झण्डा जो सदा फर्फाउछ ।।
चिनिन्छौ देशले हामी यो हाम्रो पहिचान हो ।
प्राण भन्दा छ प्यारो यो समस्त देशवासिको ।।
भाषामा जातमा देश टुक्रिन्न छ अखण्डित ।
बाँडिन्न अंशमा देश अटूट अविभाज्य छ ।।
त्यो लोकतन्त्र झन चाडै भीडतन्त्र बनीसक्यो ।
बन्दको रोग लागेर देश आक्रान्त भैसक्यो ।।
निस्केका छन त्यहा आज सशस्त्र दर्जनौ गुट ।
चोरी हत्या डकैती वा निर्धक्क चल्दछन् लुट ।।
द्धन्दले आपसी प्रेम शान्ति सारा विथोलियो ।
परस्पर अविस्वास शङ्का सन्त्रास रोपियो ।।
हिजोको एकता प्रेम बन्धुत्व उच्च गौरव ।
भुलेर युद्ध गर्दैछन् बनी पाण्डव कौरव ।।
युवा वेरोजगारीले विदेश लाग्न बाध्य छन् ।
जनता दुःखका ठूला दहमा डुब्न वाध्य छन् ।।
छन् ठूला दलका नेता सत्ताको दाउपेंचमा ।
साम्राज्यवादका आँखा गड्दैछन् आज देशमा ।।
ऋणको भारले देश थिचिदो छ निरन्तर ।
उद्योग टाट पर्दैछन् गरीवी विकराल छ ।।
रोपेर फूटको विऊ लर्डाई जात – जातमा ।
बाइसे चौविसे बाटो बढ्दैछन् कुन स्वार्थमा ।।
जन-सर्वोच्चता भन्ने नीहू निस्क्यो नयाँ अव ।
त्यसले देश त्यो फेरी द्धन्दमा फस्न सक्दछ ।।
सुधार्न देशको हाल हामीले सोच्नु पर्दछ ।
एकतावद्ध भै यौटा बाटो क्यै खोज्नु पर्दछ ।।
लाखौ विदेशका हामी एक ढिक्का भयौं भने ।
बोकी सद्भाव सद्ध्येय देश भित्र पस्यौं भने ।।
सक्दैनौ गर्न के हामी त्यो छिटै र्स्वर्ग वन्दछ ।
कमी छैन त्यहा केही लक्ष्य आँट-अभाव छ ।।
अहिले देशवासीको, देशको यो गुहार छ ।
हाम्रो मायाँ भए चाँडो आऊ लाख पुकार छ ।।
बुझेर देशको पीडा सुनेर तीव्र क्रन्दन ।
जुटौ तत्काल नै हामी त्यागेर स्वार्थ भावना ।।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।
जपेर मन्त्र फर्कौ के काम देश गुमे पछि ।।
