Skip to content


पहाडले आफ्नो छातीमा खोपेर
मोटर गुडाएछ
पहराले आफ्नो कोखामा कपेर
गाडी चलाएछ
ठूलाठूला गिद्धे पहराहरू अब
निरर्थक छैनन् पहाडमा
तारेभीर पनि आफ्नो काखमा
मिनीबस कुदाउने भएछ,

धेरै वर्षपछि यसपटक पहाड पुगेँ म
पहाडले मेरो सञ्चो-विसञ्चो खोजयो
उन्नति/अवनति सोध्यो,

छकक परेँ म,
प्रतयेक घरले आफूलाई बिजुलीको
उज्यालोमा नुहाएको देखिन्छ पहाडमा
मिलमा धान कुटेर फर्किएकी कान्छी
ढिकी कुट्न नपरेकामा खुसी त पक्कै छिन
तर, गाडी पल्टिएर
स्वजनहरूको मृत्युको खबर दिनदिनै सुन्नुपर्दा
झन पिरलो थपिएको छ पहाडमा,

डाँडामा बसेर दिउँसै बिजुलीपानी चढाएर
छोराको रेमिट्यानसमा खुट्टा बटार्दै
हिँडेका आफन्तहरू देख्दा
मन त्यति खुसी हुन सकेन पहाडमा,

पहाडको दुःख पहाडसँगै छ
एउटा भएको छोरो साउदी गएको छ
ज्वाइँले छोडेकी छोरी इजरायल गएकी छे
सनतानले छोडेका नाति-नातिनाहरूको भरमा
वृद्ध शरीरले कतिञ्जेल धान्ने हो पहाडमा ?
सबै झुपडीहरूले कहिले पाउने हो उज्यालो ?

खोई  झट्ट हेर्दा त पहाड अब पहाडजस्तो रहेन
तर, गहिरएिर बुझ्दा
झन दुःख पो थपिएछ पहाडमा ।

नेपाल साप्ताहिक ३८२

Leave a Reply

Your email address will not be published. Required fields are marked *