Skip to content

कर्णाली प्रदेशका अभिलेखमा बौद्ध संस्कृति


कर्णाली प्रदेश वर्तमान नेपालको एकीकरण हुनुभन्दा धेरै अगाडिदेखि नै बुद्धधर्म संस्कृतिबाट अनुप्राणित थियो । यसको ज्वलन्त दृष्टान्तमा त्यस क्षेत्रका खस राजा रिपु मल्लले पश्चिम तराईको कनकमुनि बुद्ध जन्मस्थल निग्लिहवा तथा शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आदि पवित्र बौद्ध तीर्थस्थल दर्शन गर्दै राजनीतिक कारणले नेपाल उपत्यका अर्था्त काठमाडौँ उपत्यका प्रवेश गरेको कुरा इतिहासमा उल्लेख छ । अहिले यो विषयले समयसापेक्षरूपमा देशको क्षेत्रीय आधारमा बुद्धधर्म संस्कृतिको पुनः जागरणलाई बल दिएको अनुभव हुँदैछ । पश्चिमाञ्चल क्षेत्रको तराई भू-भागमा पर्ने लुम्बिनी बुद्धजन्मस्थलको महानता सबैमा जग-जाहेर छ । त्यस्तै पहाडी भू-भाग पनि तत्कालीन सुगत शासन उपासक राजाहरूका कारण इतिहासमा उल्लेखनीय छन् । पुर्खाको गौरवगाथालाई ऐतिहासिक धरोहरका आधारमा पुनःउत्थान गर्न सकिएमा त्यसको समुचित लाभ आजका पुस्ताले पनि उठाउनसक्ने देखिन्छ ।

केही वर्ग र जातिगत आधारमा भए पनि बुद्ध धर्म संस्कृतिलाई अगाडि बढाउने कार्यमा त्यसबेलाका मानिसहरू र राज्य शासनका सञ्चालकहरू सचेत रहेको देखिन्छ । त्यस कार्यमा गुरुवर्गबाट महत्वपूर्ण योगदान भएको कुरालाई कदापि बिर्सन सकिँदैन । वर्तमानमा ऐतिहासिक सन्दर्भलाई केलाएर विश्लेषण गर्दै त्यसबाट आजका पुस्ताले पनि आफ्नो मौलिक धर्म संस्कृतिप्रतिको आस्था र विश्वासलाई पहिचान गर्दै पुर्खाको नासोको रूपमा ग्रहण गर्दै जीवनलाई सही मार्गमा लैजान सकिन्छ भन्ने विश्वास पुनः जागृत गर्नुपर्ने अवस्था आएको छ । यस सम्बन्धमा केही ऐतिहासिक प्रसङ्गहरूलाई प्रस्तुत गरिएको छ ।

‘हिद बुधे जात शाक्यमुनि’ यहाँ शाक्यमुनि बुद्धको जन्म भएको थियो भन्ने वाक्यांशका साथ बुद्ध जन्मस्थल चिनाउनेे ऐतिहासिक अशोक शिलास्तम्भको माथिल्लो भागमा कर्णाली प्रदेशका राजा रिपु मल्लले एक वाक्य अङ्कति गरेका छन्ः “श्री रिपु मल्ल श्चिरञ्जयतुः सङ्ग्राम मल्ल महाराज जयः ।” यस्तै प्रकारले निग्लिहवाको शिलास्तम्भमा पनि एक वाक्य उत्कृर्ण गरिएको छः ‘श्री रिपु मल्ल जयस्तु संवत् १२३४’ यस प्रकारले तीर्थस्थलहरू भ्रमण गर्दै काठमाडौँ उपत्यका प्रवेश गरी यहाँका परम्परागत बुद्ध धर्मप्रति श्रद्धा राखी आएकोमा आफूले पनि उत्तिकै शुद्ध मनले श्रीस्वयम्भू महाचैत्यलाई यथाश्रद्धाअनुसार वन्दना र दर्शन पूजन गर्दै स्थानीय बासिन्दालाई भोजसमेत खुवाएको कुरा इतिहास संशोधन (क्रमागत सङ्ख्या ६२) पृष्ठ १९ पाद टिप्पणीमा उल्लेख गरी पं. हेमराज शाक्यले आफ्नो ग्रन्थ श्रीस्वयम्भू महाचैत्यमा लेखेका छन् । माथिको उद्ध्रणले पश्चिम नेपालको कर्णाली प्रदेश आजभन्दा ८३१ वर्ष अगाडि अझ त्योभन्दा पनि अघिदेखि नै बुद्धधर्म संस्कृतिबाट अनुप्राणित रहेको पुष्टि हुन्छ । शाक्यमुनि बुद्धले वोधिज्ञान लाभ गर्नुभएको बुद्धगया वर्तमान भारतको उत्तर प्रदेशमा पर्दछ । श्रीस्वयम्भू महाचैत्य ग्रन्थमा उल्लेख भएअनुसार त्यस पवित्र बौद्ध तीर्थस्थलमा तत्कालीन कर्णाली प्रदेशका यिनै मल्ल राजाहरूका जिजुबाजे महाराज क्राचल्लका छोरा अशोक चल्लले दर्शन पुजन गरी अभिलेख समर्पित गरिराखेका छन् । अशोक चल्लले त्यसमा हेवज्रोपासक भनी गौरव गरिराखेका छन् । रिपु मल्लका पनाति पृथ्वी मल्लको दुल्लुको शिलालेखको शीर्ष भागमा बौद्धहरूको प्रसिद्ध मन्त्र ‘ॐ मणिपद्मे हुँ’ अङ्कति गरेका छन् । त्यस्तै जुम्लामा संवत् १२७८ मा राखिएको सुवर्ण पत्रमा साक्षीहरूको नाम उल्लेख गर्दा त्रिरत्न (बुद्ध, धर्म र सङ्घ) उल्लेख गरिएको छ । क्राचल्ल राजाले बालेश्वर कुमाउको अभिलेखमा आफूलाई ‘परमसौगतोपासक’ भनी जनाएका छन् ।

श्रीस्वयम्भू महाचैत्यलाई आधार मान्दा पनि पश्चिम नेपालमा त्यसबेलादेखि बुद्ध धर्म प्रचारप्रसार राम्रोसँग भएको देखिन्छ । यस्तै, अर्काे पक्षलाई आधार मान्दा अतिश दीपङ्कर नेपालबाट पाल्पाको बाटो हुँदै ल्हासा जाने इच्छा गरेको अवस्थामा पश्चिम नेपालका बौद्धहरूसँग प्रत्यक्ष सम्पर्कमा आएको हुनाले मानसरोवर दर्शन गर्न जाने कार्य सहज भएको अनुमान विद्वान्हरूले गरेका छन् । यिनै कतिपय कारणले गर्दा पश्चिम नेपालमा बौद्ध जागरण पहिले नै आइसकेको देखिन्छ तर कालान्तरमा परिवर्तन आएको भए पनि प्राचीन शिलालेखहरूबाट पश्चिम नेपालको कर्णाली प्रदेशमा बौद्ध सांस्कृतिक जागरण रहेको स्पष्ट हुन्छ ।

यसको ऐतिहासिक पुष्टि गर्नुपर्दा तत्कालीन शासकहरूको व्यवहार कार्यशैली र विभिन्न स्थानमा निर्मित विहारहरूको प्राचीन अवशेषलाई ध्यानमा राख्न सकिन्छ । यसमा सुर्खेतको काँक्रे विहारको प्रसङ्ग आउनु स्वाभाविक हुन्छ तर केही वर्षयता त्यस स्थलमा पुरातत्व विभागले गरेको अनुसन्धान र पुरातत्वविद्हरूको भनाइलाई हेर्दा यथेष्ट अध्ययनविना नै थरीथरीका बयानहरू सार्वजनिकरूपमा आउने गरेको छ । काँक्रे विहारको अनुसन्धानलाई हेर्दा त्यस स्थलमा विहारको प्राचीन अवशेषलाई गौणरूपमा देखाइ अन्य देवीदेवताका मूर्ति अवशेषहरूलाई बढाईचढाई गरेर सार्वजनिक सञ्चारमाध्यमहरूमा प्रस्तुत गरेको देखिन्छ । यद्यपि कुनै एक धर्मको मन्दिरमा अन्य धर्मका देवीदेवताहरू तत्कालीन समाजको चाहना र विश्वासअनुसार आ-आफ्ना आराध्य देवदेवीको मूर्ति राख्ने गरेको हुनसक्छ । यो चलन त्यस क्षेत्रमा मात्र होइन । काठमाडौँ उपत्यकामा पनि यत्रतत्र देख्न सकिन्छ ।

उदाहरणका लागि काठमाडौँ महानगरपालिकाको पुरानो भवन अगाडि न्हुसाल चौबाटोमा एउटा सानो शिलाचैत्यलाई लिन सकिन्छ । त्यो चैत्य शिवलिङ्गमाथि निर्मित छ । त्यसबारे विद्वान्हरूकोे मतअनुसार कुनै एक परिवारमा बौद्ध मत र शैव मत मान्ने पति-पत्नी थिए । दुवैले आ-आफ्नो धार्मिक आस्था र विश्वासका आधारमा चैत्य र शिवलिङ्गलाई एकाकार बनाएर स्थापना गरेका थिए । यसबाट पति पत्नी दुवैले सन्तोष मानेर परिवारमा वैमनस्य हुन दिएका थिएनन् भन्ने विश्लेषण गरिएको छ । यसलाई धेरै हदसम्म सही मान्न सकिन्छ । अर्कोतिर नेपालमा त्यसबेला धार्मिक सहिष्णुता कायम थियो भन्ने पनि देखिन्छ । यो यौटा परिवारको उदाहरण मात्र भए पनि त्यसबेलाको समाज आपसी सद्भावमा विश्वास राख्दथे भन्ने पनि बुझिन्छ । त्यसैगरी सुर्खेतको काँक्रे विहारको उत्खनन् र त्यहाँ पाइएका अवशेषले पनि त्यही सामाजिक सद्भाव र सहिष्णुताको आभाष दिएको छ ।

काठमाडौँ उपत्यकामा पनि अहिले केही नयाँ आवास क्षेत्रहरूमा निर्मित मन्दिर र देवालयहरूमा सर्वेश्वर भनेर सबै देवदेवीहरूको मूर्ति राख्ने क्रममा बुद्धमूर्ति पनि राखिएको पाइन्छ तर बुद्ध अन्य देवदेवीहरू जस्तो कदापि होइनन् । बुद्धकहाँ शक्रदेवेन्द्र र अन्य देवताहरू बुद्धज्ञान सुन्न आएका थिए भन्ने कुराहरू त्रिपिटकमा छ । यसबाट के बुझ्न सकिन्छ भने बुद्ध ती अन्य देवदेवीहरू भन्दा माथि छन् । जसलाई तिनीहरूको सरह मूर्तिमा सजाएर पूजा गर्न उचित छैन । जसले बुद्धलाई शिल समाधि र प्रज्ञाको आधारमा चिनेका छन् उसले बुद्धलाई त्यस रूपमा राखेको मन पराउने छैन । यो प्रसङ्ग यहाँ उप्काउनुको मतलव बुद्धलाई सहीरूपमा चिनौं र अन्य देवदेवीलाई जस्तो नठानौं भन्ने आग्रह हो ।

कर्णाली प्रदेशका अर्का तत्कालीन राजा जितारी मल्लले नेपाल संवत् ४०९ मा काठमाडौँ उपत्यकामा आक्रमण गरेको कुरा पनि इतिहासमा उल्लेख छ । जितारी मल्लले दोस्रोपटक यस उपत्यकामा आक्रमण गरी गाउँगाउँमा आगो लगाइदिएका थिए । त्यसबेला जितारी मल्लले नेपालको प्रसिद्ध बौद्ध कला संस्कृतिको उद्गमस्थल स्वयम्भू महाचैत्य दर्शन पूजन गरिसकेपछि बुङ्मतीको बुंगमलोकेश्वर एवं पशुपतिनाथलाई पनि दर्शन पूजन गरिसकेपछि आनन्दपूर्वक आफ्नो देश फर्किएका थिए । उनी नेपाल संवत् ४१० फागुनकृष्ण प्रतिपदाका दिन फर्किएका थिए । यो ऐतिहासक घटना प्रसङ्गमा विद्वान्हरूबीच केही सकारात्मक व्याख्या पनि भएको छ । जस्तो कि जितारी मल्लको एक मात्र उद्देश्य स्वयम्भू महाचैत्यमा दर्शन पूजन गर्नु थियो । उनी बुद्धउपासक राजा थिए तथापि उनले यहाँ प्रसिद्ध भई जनविश्वास आर्जन गरिरहेका पशुपतिनाथमा पनि दर्शन पूजन गरे । वास्तवमा भन्ने हो भने उनी त्यसबेला नै धर्मनिरपेक्ष राज्यका शासक थिए । उनले जनविश्वासलाई आधार मानेर दुवै प्रसिद्ध धार्मिकस्थलको दर्शन पूजन गरेका थिए । कर्णाली प्रदेशका शासक वर्ग राजाहरूमा त्यतिबेला नै धर्मनिरपेक्ष राज्य सम्बन्धमा भावनात्मकरूपमा राजनीतिक दूरदर्शी चेतना आइसकेको थियो । त्यही कारणले त्यस क्षेत्रमा निर्मित धार्मिक स्थलहरूमा तत्कालीन जनमानसमा प्रचलित धर्म-संस्कृतिअनुसारका मन्दिरहरूमा सबैलाई ठाउँ दिएको हुनसक्तछ । जितारी मल्लले काठमाडौँ उपत्यका आएर गाउँ गाउँमा आगो लगाउनुको मुख्य कारण ती धार्मिकस्थलमा दर्शन पूजनमा कुनै बिघ्नबाधा नआवास् भन्ने रहेको हुनसक्छ । यदि उनलाई राज्य विस्तार नै गर्ने मनसाय रहेको भए उनले अर्कै व्यवस्था पनि गर्न सक्तथे ।

नेपालमा प्राचीनकालको ऐतिहासिक जातिगत भावनालाई विचार गर्दा एक निश्चित जाति विशेष वा वर्गमा नै बुद्ध धर्म संस्कृति अनुप्राणित रहँदैआएको देखिन्छ । कुशीनगरमा बुद्धको महापरिनिर्वाणपछि तत्कालीन कपिलवस्तुका शाक्यहरू, वैशालीका लिच्छविहरू, पावा र कुशीनगरका मल्लहरू इत्यादिका बीच अस्थिधातु सम्बन्धमा विवाद उत्पन्न भएपछि द्रोण ब्राहृमणको मध्यस्थतामा अस्थिधातु आठ भाग लगाइएको थियो । त्यसपछि बुद्ध धर्मको विस्तारमा र उपासनामा पनि तिनै आस्था र विश्वासले धेरै काम गरेको छ तर बुद्धधर्म कुनै एक जाति वर्ग विशेषका लागि मात्र होइन । यो सम्पूर्ण मानव जातिको हितका लागि हो भनी बुद्ध उपदेशलाई सबैभन्दा पहिले बुझ्नु जरुरी छ । त्यसैले पश्चिम नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजाति सबै जातजातिका मानिसहरूका लागि बुद्ध उपदेश समान छ भन्ने कुरालाई कदापि बिर्सनु हुन्न । जनगणना गर्दा जाति विशेषलाई आधार मानेर धर्म निर्धारण गर्ने चलन छ । यसलाई कुनै ठूलो अर्घेलो नमाने पनि पुर्खाले अपनाउँदै आएको आफ्नो मौलिक धर्म संस्कृतिलाई चिनेर नयाँ पुस्ताले अगाडि बढ्नुपर्दछ भन्ने आग्रह हो । सबै जातजातिका नेपालीहरूले बुद्धको महानतालाई ध्यानमा राखेर बुद्ध उपदेशलाई पालना गर्न सकिएमा नै सबैको हित सम्बर्धन हुन्छ ।

आज नेपाललाई बुद्ध जन्मभूमिको विश्व गौरव प्राप्त छ । हालै श्रीलङ्काका राष्ट्रपति महिन्द राजपाक्षले सन् २००९ अक्टोबर ३० मा लुम्बिनी पुगेर मायादेवी मन्दिरमा पूजा-अर्चना र विश्वशान्तिका लागि कामनासहित अशोकस्तम्भमा दीप प्रज्वलनपछि बाल्यकालदेखिको इच्छा पूरा भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । नेपाल र श्रीलङ्कालगायत संसारका अन्य मुलुकहरूसितको मैत्री सम्बन्धलाई सुदृढ पार्ने कुरामा यो थप कोसेढुङ्गा हो । लुम्बिनीलाई स्वाभिमानी नेपाली जनताले आफ्नो पहिचान बनाएका छन् । बुद्ध महान् नहुँदा हुन् त छिमेकीले बुद्ध जन्मस्थलको कथित पगरी गुथ्ने धृष्टता गर्ने थिएन । नेपालको कर्णाली प्रदेशका जनतामा यो आत्मगौरव, चेतना र स्वाभिमान तेह्रौँ शताब्दीमा नै आइसकेको थियो । 

1 thought on “कर्णाली प्रदेशका अभिलेखमा बौद्ध संस्कृति”

  1. budhha ra budhwatta samanya
    budhha ra budhwatta samanya boudhik bujhai ra bylhay le matra bujhna sakine bisaya hoina, yo abhyas ra anubhab le matra bujhine kura ho, budhdha dharma anusar kathit trinity ra swarga deuta harulai dharma ko care taker ko rupama puja garne chalan chha, tara sampurna mukti ko lagi enlighten hunu jaruri chha, jo deuta haru ko marga bat nabhai budhha ko marga bat matra sambhav chha,
    bastavama hamro deshko sanskriti mul jada nai boudha sankriti ho, yadhappi hamro bisesta dharmik sahisnuta nihit chha. SANKRACHARYA JASTA dharma ko namma kalank bokne bidwan harule ra kehi muslim sashak harule kakre bihar jasto pabitra shtal lai dwasta banaye. nepalko boudha dhrama ra sanskriti lai bikrit garaune SANKARACHARYA ra tiniharuko sishya haru nai ho, jasko parinam swarup aja hami sansarko manchitra sabaibhanada pachhi pareka chhou.
    nepali ko sampati bhanekai budhha, dharma ra sangha hun.

Leave a Reply

Your email address will not be published. Required fields are marked *