हो,
मैले तिमीलाई नै भोट दिएँ
तिमीलाई खुवाउँदा खुवाउँदै
घरमा अन्नको गेडो बाँकी थिएन
ऋण नतिरे साहुले घर छोड्न भन्यो,
छोराले पठाएको पैसा नदिए
तिमीले घर छोड्न भन्यौ,
मर्न काल आएन
जन्मेको माटो छोड्न सकिन
यसपल्ट मेरो अहो भाग्य
अब कहिलै केहि नमाग्ने सर्तमा
तिमीले जावो एउटा भोट माग्यौ
हो,
मैले तिमीलाई नै भोट दिएँ
मेरो बास जोगाउनका लागि
मसँग तिमीलाई दिन बाँकि
अरू केहि थिएन
●●●
मेरो लुरेका बाबुलाई तिमीले लगेका हौ
मैले मेरा खसमको हाल खबर मागिन
मैले मेरा देवताको लाश वा श्वास मागिन
तिमीले बैकवाटै लुटेको
मेरो मंगलसूत्र सम्म पनि मागिन
तिमीले टाट्नाको खसी माग्यौ
तिमीले कुखुराको भाले माग्यौ
मेरो बस्ने झुप्रो पनि माग्यौ
मसँग भएका यावत चीज माग्यौ
हामीले नाईनास्ति गर्न कहिले पो पायौ र
भए पनि नभए पनि टक्रयायौ
यसपल्ट मेरो अहो भाग्य
अब कहिलै केहि नमाग्ने सर्तमा
तिमीले जावो एउटा पैसै नपर्ने भोट माग्यौ
हो,
मैले तिमीलाई नै भोट दिएँ
मेरो गास जोगाउनका लागि
मसँग तिमीलाई दिन
अरू केहि बाँकि थिएन
●●●
बृद्धभत्ता ल्याई दिने डाँडाघरेको पनि
कसले खुट्टा भाँचिदियो रे
भोट माग्न यसपल्ट कोहि गाँऊ छिरेन
यो चैतेदशैंको लागि अक्षताका लागि
चामल पनि थिएन
धन्य टिका थापिमाग्न आएनछौ
मलाई त आशिर्वाद र श्रापमा भेद थिएन
यसपल्ट मेरो अहोभाग्य
अब कहिलै केहि मागेर नपिरोल्ने सर्तमा
तिमीले जावो पैसै नपर्ने एउटा भोट माग्यौ
हो,
मैले तिमीलाई नै भोट दिएँ
ज्यान जोगाउनका लागि
मसँग तिमीलाई दिन
अरू केहि बाँकि थिएन
●●●

thanks kabi ju yati ramro
thanks kabi ju yati ramro kabita online bata study garna paiyo dhary khusi lago kabita dhary ramro chha jun dhary marmik pani chha malai dhary khusi lago tapaiko kabita study garara aba ka din haru ma pani yasti kabita study garna paiyos
kishwor jwala