Skip to content


बिहान भएर के भो
हुस्सु हटेको छैन ।
कुहिरोले ढाक्न छोडेको होइन ।
अझै चीसो छ आज
घाम लागेको छैन ।
सिरेटो चलिरहेछ ।
मुटु लुगलुग काँपिरहेछ ।
तुषारो मन लिएर
कठाङ्ग्रिएको जीवन बाँच्नेहरू
अझै पिल्सिएका छन् ।
नीरस आँखाहरूमा सपना उब्जाएर
विद्रोहको आगो रोप्ने
क्रान्ति नायकहरू
यतिबेला रूपान्तरण भएका छन्
सत्ता नायकहरूमा ।
सहर कोलाहल बोकेर
नयाँ नेपालको सपनासँगै
शान्ति खोज्ने बहानामा
एक झमट व्यूँझेजस्तो गर्छ ।
सेमिनार र गोष्टीहरूमा
गाउँघरको आँसु पोखेर
कणर्ालीको पीडा बोलेजस्तो गर्छ ।
र, कमण्डलु बोकेर झोली थाप्छन् ।
अनि मोटाउँछन् उनै सत्ता नायकहरू
आधा अङ्ग नाङ्गिएका
पूरा पेट भोकाएका
सिङ्गो जनीवन रोगाएका
आँसुका पोखरीमा चुर्लुम्म डुबेर पनि
मनका भक्काना
फुटाउन नसकेकाहरू
निरन्तर ठगिएका छन्
सपनाका व्यापार गरेर
आस्थालाई बेच्ने
सत्ता नायकहरूबाट
र, हरेक चोटिको आँधीपछि
प्रत्येक पटकको हुरीपछि
स्थापित क्रान्ति नायकहरू
रूपान्तरण भइरहेछन्
सत्ता नायकहरूमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *