Skip to content


ओ ! शब्दको आकाश !
ओ ! समयको आवाज !!

ओ ! जीवनका गीतहरू
छेकेर बन्दुकको मृत्यु हुंकार
टियर ग्याँस र लाठीका लाभाहरू
छिचोल्दै कर्फ्युका काला रातहरू
चुडाउँदै
कालो सिक्रीले बाँधिएको समय
भत्काउँदै
अजङ्ग दाशताका सगरमाथाहरू
काला अँध्यारा समय पर्खालहरू छन् ।
यतिखेर
शब्दहरू मुक्तियोद्धा भएका छन् ।

निरकुंशताका बुटमुनि
पिल्सिएका सडक र शब्दहरू
यतिखेर निर्बन्ध भएका छन् ।

कुज्याइएका स्वतन्त्रताका पखेटा
घाइते अस्मिता उठाएर
चेतना र उज्यालो समयको दियो बाल्दै
यसबेला
शब्दहरू उज्यालोका बाटो भएका छन्
ओ ! नदीको लहर !
ओ ! जीवनका यात्री !!
अझै यात्रा टुङ्गएिको छैन
अझै तिमीले घाउको मलम बन्नुछ
अझै अधिकारको बाटो कोर्नुछ
अझै च्यातिएका भोटाहरू फेर्नुछ
भोका बस्तीहरू
र रोगले थलिएका अनुहारहरूको सेवा स्याहार गर्नुछ
कालो चुक रातझैँ अन्धकार फैलिएका गाउँमा
चेतनाको आगो पुर्याउनुछ ।

अँध्यारा कालो खोपीका षडयन्त्र र
खिया परेका पुरातन आस्था फ्याँकेर
जनअधिकारका चार किल्लाहरू आफैँ कोरेर
नयाँ नेपालको इतिहास लेख्नुछ
नयाँ नेपालको चित्र कोर्नुछ ।

-साब्ला, तेह्रथुम, हालः काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *