मेरो छातीमा कान्लाकान्ला बनाउछौ । कहिले तिमी गरागरा बनाएर भटमास र फापर बुक्र्याउँछौ । अदुवा र अलैचीहरू ख्रोस्रन्छौ, कोतछौँ । बेहिसाव, बेलगाम ख्रोसी रहनेछौ, कोपरीरहन्छ्यौ मेरा पिठ्यूँहरू । तिमीलाई मिठो सपना बाँडिरहन्छु, अर्थात् तिमी बेचिन्ता निदाइरहन्छ्यौ ।
मलाई दिउँसो निदाउने फुर्सदै हुँदैन । तिमी मलाई झस्काइरहन्छ्यौ । म त रातभर जागै रहन्छु । तिमीले दिनभर कोपरेका र चिथोरेका घाउहरूमा म रातभर मलम पट्टी गरिरहन्छु । गोडैबाट बगेको खहरे मलाई गिज्याइरहन्छ, थर्काइरहन्छ, त्यही रातभर । मेरो अस्तित्वबारे सोधी रहन्छ, सर्मिन्दा बनाइरहन्छ । म बेशब्द बनिरहन्छु । चुपचाप रहन्छु । सुनिरहन्छु, गडगडाइ हुँहुङ्कार तर बोल्दिन म किनकि म उजस्तो पानी होइन । जिस्काउँदै, भाग्दै, भाग्दै जिस्काउदै गर्ने कातर र लाचार । किनकि म त पहाड हुँ । बूढो पहाड अर्थात् थोतो पहाड । ऊ त एकछिनमा तल पुगेर अर्को खोलोमा लुक्छ, आफ्नो अस्तित्व मेटाउदै । अनि त्यो खोलो सुलित्त समुद्रमा मिसिन्छ, दूधमा बिष जसरी, बिषमा दूध जसरी ।
म उजस्तो क्षणिक हुन सक्दिनँ र चहान्न पनि ।
म युगौँयुग बाँच्नु छ । त्यो पनि अटल र अचल बनेर । ऊ जस्तो बषर्ाका दुई महिना बौलिने र दश महिना लुम्रुक्क पर्ने अस्तित्व मेरालागि अस्वीकार्य छ । म चैतको तूफानमा पनि उही रहन्छु, जस्तो पुसको तुसारोमा पनि । साउनको झरीमा उस्तै सदाबहार । त्यो त खहरे हो । उसलाई त्यसैले थाहा छैन, उसको अस्तित्व मसँगै छ । मेरो काखबाटै उ पिलपिलाउँछ र मलाई नै जिस्काउँदै ऊ ओरालो लाग्छ । उसले उकालो लाग्न जानेकै छैन, अर्थात् ऊ सक्दै सक्दैन । बेलाबेला त मलाई पनि उसको सेखी झार्न रौँ तातेर आउँछ । उसको जोरी सेलाइदिउँ जस्तै लाग्छ तर मलाई दिदैन त्यो गर्न तिम्रो मायाले । मेरो काखैमा तिम्रो सानो झुपडी छ । दिनभरी तिमी र तिम्री अर्धाङ्गिनी धपेडी गरिरहन्छौ । पूरानो पछ्यौरामा बाधिएर उसकी आमाको पिँठ्यूमा सानी गौथली खित्काइरहेकी हुन्छे, मैतिर फर्केर । सानी धोबेनी माउ बाख्री मेरै एक कुनामा काखमा जुम्लीया छोरीलाई घाँस खान सिकाइरहेकी हुन्छे । झुपडीमा छानाबाट जुन हेर्दे र तारा गन्दै तिम्रो रात शुरु हुँदा मेरो बिहान जन्मदै हुन्छ । सानो सलेदो छिरेको टुकीको मधूरो रातो लालिमाले तिम्रो झुपडी मुस्काइरहेको हुन्छ ।
दिनभर तिमीले चिथोरेका घाउहरूमा चर्र्याइरहेका मीठा दुखाइहरू त्यतिखेर खहरेमा मिसिदै हुन्छन, जतिखेर तिम्री गौथली थोते दाँतमा खित्काइरहेकी हुन्छे । अनि कसरी त्यो खहरेसँग जोरी खोजौ । भोलि मेरो अस्तित्व त्यो खहरे समुद्रमा लुके झै भयो भने तिम्रो के हाल होला । ती काफलका कापहरूमा बचेरा कोरल्दै गरेका न्याउलीहरू कहाँ जादाँ हुन् । फेरि ती गाभिना मृगहरूको छटपटी कसले सुनिदेला ।
म अचेल खुसी हुन थालेको छु, हास्न मन लाग्छ तर हाँस्दिन किनकि म त थोतो छु । ती रक्ताम्मे फकि्रएका गुराँस, चाँप, अनि आकाशै छेडौलाजस्तै गरी उगि्रएका सल्लाहरू अचेल धुरन्धर क्रान्तिकारी भएका छन् । शोषण, दमन र उत्पीडनका बिरुद्ध रातभर घन्किने उनीहरूका आजादी गीतहरू मलाई रातभर नचाइरहन्छन् । उनीहरू थाक्दा नथाक्दै सुत्केरी हरीण र मृगहरू, काखमा नानी च्यापेका लोखर्केहरू अनि भर्खरै आँखा उघारेका लोखर्केहरू बुर्कुसी मारेर नाचीरहेको बेला तिमी आनन्दीको श्वास फेर्दै सहवासमा व्यस्त होलाऊ । तर मेरो रतिरागबाट पराग उडेको बर्षौ भइसक्यो । किनकि मलाई बैस नै आएन । मेरो यौवनताको बेलामा मुखमा बुझो कोचिएको थियो, छातीमा गोली ठोकिएको थियो । त्यस बेलाका घाउहरू अहिले मेरालागि इतिहास पढ्ने विश्वविद्यालय बनेका छन् । तिनैमा सोध गर्दागर्दै मेरा मधुमासका मादकताहरू बिलाउँदै गएका छन् । तिनका डामहरू अचेल तिमीलाई स्वाधिनताका गीतहरूमा नचाउन मलाई ऊर्जा दिइरहेका छन् । तिम्रा पुर्खाहरूका औँलाहरू ल्याप्चे हान्दाहान्दै खिइसकेका थिए,जतिखेर स्वतन्त्रताको मसाल उठाउने बेला भएको थियो ।
आज तिम्रा चक्रहरू माटोमा बिलाइरहँदा खै कसरी भनौ तिमीलाई भैगो नख्याऊ अब हातका शङ्ख र चक्रहरू । पूर्वमा घाम जन्माउन आकाश छटपटाइरहेका बेला खोरमा थुनिएको भाले प्रसवता छाम्दै कुर्लिरहँदो हो । त्यही बेला तिम्रा गोठका लाले र मालेहरूलाई कुँडो पकाउन तिमी जुरुक्क उठ्दा हौ तर तिमीले त्यही बेला बिडीँ झोस्न सल्काएको दियालो तिम्रो दिनभरको जाउलो छड्काउन ऊर्जा बन्छ भन्ने तिमीले कहिले सोच्न सक्यौ ? तिमीले त्यही दियालो बन्ने बेला आएको छ ।
दियालो खहरेमा बल्दैन । न त खहरे आफैँ बल्छ, न त अरूलाई नै बल्न दिन्छ । पहाड आफैँ बल्दैन तर बल्न चाहनेहरूलाई रोक्दैन । एउटा फिलिङ्गो बल्ने रहरले आफैँतिर र्फकदा पनि भस्म होउन्जेल ऊ सहिरहन्छ । तिमी त्यसरी नै बल तर भस्म कहिल्यै नहुनु र खहरेजस्तो अरूलाई बल्न नदिने पनि नहुनु । बल, तिमी निरन्तर बल । मैनबत्तीजस्तो आफैँ निखि्रनेगरी होइन सूर्यजस्तै अरूलाई बाल्ने गरी बल । बल्नु भनेको प्रकाश दिनु हो ।
म पहाड पनि प्रकाश चाहन्छु, जहाँ असंख्य जीवनहरू अभिशप्त सपनाहरूको बगैँचामा आशाको त्राण खोजी रहेका हुन्ोछन् । त्यो खहरे कयौँ रङ्गनि वर्तमानहरूलाई भेल बनाएर समुद्रको पिँधमा बन्धकी राख्न सधैँ उद्यत हुन्छ । फरक यही त हो , बग्ने पानीको खहरे हुनु र निष्ठाको निख्खरा पहाड हुनुबीच ।
लखनपुर-४ झापा
