मानापाथी मुरी गन्छे अन्न मेरी आमा
बाँडीचुँडी खाउँ भन्छे धन्न मेरी आमा
वर्षभरि भकारीको अन्न रित्तै देख्छु
पेटभरि खान दिने टन्न मेरी आमा
चारैतिर हरियाली देख्दा खुसी लाग्छ
लागेकी छे खेतबारी खन्न मेरी आमा
पसिनाको गीत मीठो मिलिजुली गाऊँ
लागी सबैलाई आज भन्न मेरी आमा
सन्तानका लागि यति गर्दागर्दै पनि
कहाँ सकिन् सुखी अझैँ बन्न मेरी आमा ?
३/१७६ पुलचोक, ललितपुर
