Skip to content


कविता र गीत विधाका हस्ताक्षर भावेश भुमरीद्वारा लिखित नवीनतम् गीतसङ्ग्रह हो भित्र छ फूलो साँध । प्रस्तुत सङ्ग्रहमा भोगिराखेको जीवनलाई सोचाइ र अनुभूतिका रङले रङ्गाएर गीतका माध्यमद्वारा चित्रण गरेका छन् भावेशले । मर्यादित र शालीन शब्दमा प्रस्तुत ६४ वटा गीत रचना रहेका छन् सङ्ग्रहमा । भाव, यात्रा, लय र हार्दिकताको राम्रो समन्वय भएका गीतहरू पढ्दै जाँदा पाठकलाई आनन्द लाग्छ । हरेक गीतहरू विभिन्न भावले अभिव्यक्त भएका छन् ।

भावेशका गीतहरू मानवजीवनले भोगेका खरा अभिव्यक्ति हुन् । जीवनयात्रामा आइरहने उकाली र ओरालीका उच्छवास हुन् । प्रकृतिप्रदत्त विषय भएकाले गीतमा माया पिरतीको चर्चा हुनु अस्वाभाविक पनि भएन । तर पनि अधिकांश गीत रचनाले जीवनवादी पक्षलाई नै स्पर्श गरेका छन् । आत्मसन्तुष्टि मात्र नभएर मानवमूल्यको संरक्षण र सम्बर्द्धन भावेश भुमरीको गीत लेखनको अभीष्ट रहेको छ । सरलता, लोकात्मकता र भावुकताले भरिएको सिर्जनात्मक अभिव्यक्तिका कारण गीतहरू रसपूर्ण बनेका छन् । मनमा खेल्ने भावनाका तरङ्गहरूलाई प्रस्टसँग शब्दचित्रण गर्न सक्षम गीतकार भावेश कलाको बान्कीलाई उठाउँदै सिर्जना फैलाउँदै आजको मानवीय जगत्लाई समृद्ध पार्न उद्यत छन् । सरल भाषा, विम्ब, प्रतीक र शैली प्रयोग गर्नु अभ्यस्त गीतकार जीवनको प्रणयभावभित्र मर्मका गीत गाउँछन् । सहज प्रस्तुति र लय चेतनाका कारण गीतरचना सहज र सम्प्रेषणीय बनेका छन् ।

विषयगत वैविध्यता र तिनीहरूलाई अभिव्यक्त गर्ने सामथ्र्यको प्रचुरता पनि भावेशमा विद्यमान छ । करिब एक दर्जन राष्ट्रप्रेमका अभिव्यक्तिले राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, मौलिकता र स्वतन्त्रतालाई मार्मिक ढंगले उतारेका छन् । मन छुने र भाका फुर्ने खालका यी गीतहरूलाई नियाल्दा गीतकारको गीतिशिल्प क्रमशः प्रभावकारी, भाषाशैली परिष्कृत र परिमार्जित हुँदै गएको पाइन्छ । जीवनमा क्षण विशेषको तीव्रता पकड्न खोजिएका उनका गीतहरू सूक्ष्म दृष्टि र नयाँ जीवनदृष्टिले महत्त्वपूर्ण र सार्थक बनेका छन् । पठनीय र विचारणीय गीतहरू मार्फत मान्छेको जटिल जिन्दगीलाई पनि सहज शैलीमा सम्प्रेषण गर्छन् भावेश ।

हरेक विषयलाई हेर्ने गहिरो दृष्टिकोण भएका गीतकार भावेशले अनुभव र अनुभूतिलाई अरूसँग बाँड्ने र बिसाउने माध्यम बनाएका छन् । सारगर्भित र कलापूर्ण सिर्जनाशैली उनको विशेषता हो । शक्ति, प्रेरणा, उत्साह र दार्शनिक दृष्टिकोण कलात्मक अभिव्यक्तिका साथ उनको गीत लेखनमा आउनसके अझ अर्थपूर्ण हुनेछ ।

कृतिः भित्र छ फूलको साँध (गीतसङ्ग्रह)
गीतकारः भावेश भुमरी
प्रकाशकः प्रणिता चामलिङ
प्रकाशनः पहिलो, २०६६ असोज
पृष्ठः ८०
मूल्यः रु. १००।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *