अ.ने.सा.स.को नामबाट ७० वटा शाखा विस्तार गरेर आप्रवासमा नेपाली साहित्यको विकासमा उल्लेखनीय काम गर्दै आएको वास्तविकतालाई कसैले नकार्न सक्दैन । तर वर्तमान अवस्थामा साहित्यलाई बुझेकोभन्दा बुझ्न थालेको र बुझ्ने अवस्थामा रहेकाहरूको भीडमा रुमल्लिरहेको भन्ने समाचारले बिस्तारै जरा गाड्दै गएको छ । पुरानाहरूले निरन्तरता दिदैजानुको साटो छोड्दै जानुले पनि यो कुरा प्रमाणित गर्दै गएको छ । संस्थालाई हिङ बाधेको टालोको रुपमा कहिलेसम्म देखाउने ?
न्यु योर्कबाट २००९ देखि शुरुभएको भनिएको अ.ने.सा.स.को अन्तर्राष्ट्रिय साहित्य सम्मेलन २०११मा बेलायतको लण्डनमा र भर्खर अमेरिकाको डि.सी.मा सम्पन्न भएको छ । २००९मा भएको सम्मेलनपछि अ.ने.सा.स.सँग आवद्ध एउटा खेमा अलग्गिएको थियो भने २०११मा भएको लण्डन सम्मेलनपछि त एउटा समूहनै अलग्गिएर अर्को संस्था दर्ता गरेर आप्रवासमा नेपाली साहित्यको विकासमा तिब्र गतिमा अगाडि बढ्दै गएको छ । अब रह्यो यो भर्खर सम्पन्न भएको तेस्रो सम्मेलनको कथा व्यथाको विवरण बिस्तारै मुखारित हुँदै जाला । यसरी आफ्नो संस्थाबाट रिसाएर अर्को संस्था खोल्ने प्रवृति नेपालमा एउटा दलबाट रिसाएर अर्को दल खोलेझै गरी बढ्दै जानाले आप्रवासमा नेपाली साहित्यले सही तरीकाबाट विकास हुने मौका पाएको छैनभन्दा अतिशयोक्ती नहोला ।
साहित्यको विकासमा साहित्यलाई बुझ्ने र साहित्यप्रति आस्था राख्ने सबै साहित्यकारहरूको सहभागिता अनिवार्य रहनु पर्दछ । देश विदेशबाट साहित्यकारहरूको उपस्थितिरहेको ठाउँमा त्यही क्षेत्र वरिपरिका साहित्यकारहरूको उपस्थिथि नहुनु । अँझ संयुक्त रुपमा कोठे गोष्ठी परम्पराको बिडो थामेरसँगै साहित्यसाधना गर्नेहरू नै अनुपस्थित रहनुबाट पनि आयोजनामा कमि कमजोरिरहेको आभाष सबैले गरेको हुनु पर्दछ ।
यस्तो किन भएको त ? यो प्रश्न आयोजकहरूले किहल्यै बुझ्न चाहेनन् र बुझेर पनि बुझपचाएको हुनु पर्दछ । नत्र भने प्रत्येक सम्मेलनमा ईतिवृति देहरिरहनु नै नपर्ने हो क्यारे । यो लेखकले २००९ र २०१३मा सहभागी बन्ने मौका पाएको थियो । २००९मा पनि निम्त्याइएको थियो भने २०१३मा त झन कार्यपत्र प्रस्तोताका रुपमा विशेष अतिथि भनिएको थियो । त्यैसले देखेको कुरा त्यबेला पनि लेखेको थिए र अहिले पनि लेख्दै छु । त्यसबेला अन्तर्राष्ट्रिय जलप लगाएपनि त्यो सम्मेलन अमेरिका र नेपालका साहित्यकारहरूको मात्र रहेको थियो भने यसपटक अन्तर्राष्ट्रिय भनिएको छ र त्यसै अनुसार विभिन्न देशमा अ.ने.सा.स.का लागि कार्यरत शाखाका प्रतिनिधिहरू र विभिन्न दाताहरूको नामबाट अ.ने.सा.स.ले वितरण गर्ने पुरस्कारहरू बाडिएकोले कता कता अन्तर्राष्ट्रिय भएको थियो । २००९मा क्यानाडाबाट प्रतिनिधित्व भए पनि मञ्चलाई छुने मौका आयोजकले दिएको थिएन भने यसपटक त्यो (दुर्) सौभाग्य पोर्चुगलबाट कार्यपत्र सहित सहभागिताका लागि आउनु भएको सुनिल संगमले पनि मञ्च नै नछोइकन् फर्किनु परेको गुनासो सुनाएर जानु भयो ।
यस्तो हुनुमा आयोजकहरूको मञ्च मोह पनि एउटा कारण रहेको बारे उपस्थित सय–डेडसयको भीडले ओकलिरहेको थियो । हामी नेपालीलाई तीनवटा मले सधै पिरोल्ने गर्दछ – मञ्च, माला र माईक । आयोजकहरू मञ्चमा माला लगाएर माईकको मोहले गर्दा पनि समय पुग्न सकेन । कार्यक्रमको पूर्व सन्ध्यामा लोकमान तिवारीको सौजन्यबाट रात्री भोजसहितको अनौपचारिक भेटघाट र परिचय कार्यक्रममा अनावश्यक रुपमा औपचारिक रुप दिएर मञ्च र माईकप्रतिको आस्थालाई निरन्तरता दिएको देखिएको थियो । कार्यक्रमको पूर्व सन्ध्या भनेको भोलिदेखि हुने कार्यक्रमको रुपरेखा र कार्यतालिकाका बारेमा जानकारी गराउने र बाहिरबाट आएका पाहुनाहरूका बीच परिचयात्मक कार्यक्रम रहनु पर्ने थियो । त्यसबेला कार्यक्रमको तालिका बाडिनु पर्ने हो । त्यहाँ परिचय त भयो तर बिना पूर्व सूचना कवि गोष्ठीको कार्यक्रम भन्दै कविता पढ्न लगाएर आआफ्ना विचारहरू थोपर्नु भनिएको थियो ।
विडम्बना कस्तो भने यसरी रात्रीभोजसहितको कार्यक्रम गर्न दिने प्रायोजकको नाम अन्तिम दिन अन्य प्रायोजक तथा सहयोगी सबैलाई धन्यवाद दिदा एकपटक पनि लिइएन । कार्यतालिकालाई एकातिर पन्छ्याएर सञ्चालन भएको यसपटक दुई दिने अन्तर्राष्ट्रिय पुरस्कार वितरण तथा कवि गोष्ठी सम्पन्न भएको छ ।
यो साहित्य सम्मेलन भने होइन । अर्को कुरा बाँडिएका प्रमाणपत्रमा पनि मुख्य अतिथि र प्रमुख अतिथिका हस्ताक्षर रहनु पर्नेमा आयोजक तीनजनाका मात्र राखिएको देखियो । विशेषतः प्रमुख अतिथिले नै प्रमाणपत्रमा हस्ताक्षर गरेर शोभा बढाउने काम गरिन्छ त्यसैले विशिष्ठ व्यक्तिहरूलाई प्रमुख अतिथि बनाउने परम्परा विश्वभरिनै चल्दै आएको छ र अ.ने.सा.स.ले पनि वरिष्ठ साहित्यकार तथा भूतपूर्व शिक्षामन्त्र श्री मोदनाथ प्रश्रितलाई प्रमुख अतिथि बनाएर नेपालबाट निम्त्याईएको थियो । तर उनको हस्ताक्षरबाट प्रमाणपत्रको शोभा बढाउनु जरुरी आयोजक कसैले पनि ठानेनन् र दनादन आफ्नै हस्ताक्षर प्रमाणपत्र बाड्दै गए ।
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको कार्यक्रम गरेर सफलताको कोसे ढुङ्गा भन्दै गलत समाचार पनि प्रेषित गरेको देख्दा आफैलाई लाज लाग्यो । ढाट कुराहरू धेरै छन् । जस्तै पञ्चकन्याको व्यवस्था गर्न नसकेर उपस्थित सबैले नेपालको राष्ट्रिय गीत गाएका थिए । अर्को, नेपाली भाषाको प्रतिष्ठालाई विश्वभर पुर्याउन योगदान दिने व्यक्तिहरूको चयन राजा घलेको संयोजकत्वमा गठित समितिले गरेको भनिएपछि ती मध्ये उपस्थित भएकाहरू व्यक्तिहरूलाई दोसल्लाद्वारा सम्मान गरिएको भन्दै डा. खगेन्द्र लुईटेल, डा. कुशमाकर न्योपाने, उपन्यासकार अमर न्योपाने, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमलाई अ.ने.सा.स.का हिरोको संज्ञा दिएको थियो । तर वास्तविकतामा यी सबै महानुभाव विद्वानहरू लगायत अन्य साहित्यकारहरू विभिन्न व्यक्तिबाट प्रयोजित अ.ने.सा.स. पुरस्कारबाट सम्मानित भएका थिए भने वहाँहरूलाई खादा ओढाइएको थियो । दोसल्ला र खादामा त आयोजकहरूले फरक नदेख्ने भनेपछि अरु के भन्ने । अ.ने.सो.स. को हिरो भनिएकाहरूमा नेपालको खेलकूद समितिका सदस्य सचिव युवराज लामा, एन.आर.एन.का नवनिर्वाचित अध्यक्ष शेष घले र अँझ भनौं यसै विरादरीमा अमेरिकाका लागि नेपाली राजदूतलाई समेत एकै थलोमा सम्मान गरेर कतै अवमूल्यन त गरिएको हैन ? राजदूतको स्थान सर्वोपरी हुन्छ र उनी विदेशमा नेपालीहरूका अविभावक जस्तै भएर बसेका हुन्छन् । उनको कार्यकालमा भएको सफलताका लागि उनलाई त सर्वोत्तम तरीकाबाट नागरिक अभिनन्दन गरिनु पर्ने । अर्कोतिर गैरआवासीय नेपाली संघका भूतपूर्व अध्यक्षको कार्यकालमा संघले दर्ता हुने मौका पायो भने प्रजातान्त्रिक तरिकाबाट चुनाव भएर नयाँ नेतृत्वको चयन भएकोले हिरो त उनी हुनु पर्ने शेष घले त भर्खर चुनिएका छन् । उनको कामहरू हेर्न बाकी नै छ । कतै यसअघिका दुईजना एनआरएनका भूतपूर्व अध्यक्षहरूले अ.ने.सा.स.लाई पुरस्कारको लागि आर्थिक सहयोग गर्दै आएको र पछि अपारदर्शिता देखिएकोले झिकिएको थियो । कतै त्यही द्रव्यका लागि त हैन भन्ने गाईगुईहरू नसुनिएका पनि हैनन् । त्यस्तै युवराज लामालाई किन रोजियो शायद उनी पनि तीन छक्क परे होलान । खेलकूद हिरो बनाउनु थियो भने नेपाली क्रिकेट टिमलाई बनाउन सकिन्थ्यो जसले नेपाललाई विश्व कपको लागि प्रतिष्पर्धा गर्न सक्ने लायक बनाइदिएको छ । यसमा रोज्नेहरूको कमीकमजोरीलाई अरुले सबकको रुपमा लिनु पर्दछ । वास्तवमा भन्ने हो भने अ.ने.सा.स. विशुद्ध साहित्यिक संस्था हो र यसको काम कर्तव्यका बारेमा यसको बिधानमा नै लेखिएको छ । ए.एन.ए.ले एएनए हिरो दियो भन्दैमा जोरी खोज्दै त्यसैको बराबरी गर्न थाल्यो भने भोलिका दिनमा सबै साहित्यिक संस्थाहरूले देखासिकी नगर्ला भन्न सकिदैन । आखिर अ.ने.सा.स.ले पनि देखासिकी गरेकै हो क्यारे ।
अब रह्यो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भनेर प्रचार प्रसार गरिएको तर पुरस्कार वितरण तथा कवि गोष्ठीमा मात्र समितिरहेको गाठी कुरा । सर्वप्रथम त आयोजकले के गर्न थालेको भन्ने कुरा पहिल्यै बुझ्न जरुरी छ । कार्यपत्र भनेको के हो र गोष्ठी भनेको के हो तथा यी दुईबीचका भिन्नता पहिल्याउन सक्ने क्षमता भएकाहरूको आवश्यकता देखियो । गोष्ठीपत्र भए पनि कार्यपत्र भए पनि त्यसलाई तयार पार्न धेरै माथापच्चिसा गर्नु पर्छ भन्ने वास्तविकता आयोजकले नबुझेको जस्तै देखियो । दुईचार मिनटमा कार्यपत्रबारे भन्नु र पछि त्यो छापिन्छ भन्नु कार्यपत्र तथा गोष्ठीपत्र तयार गर्नेहरूको नै अपमान हो । कार्यपत्र तथा गोष्ठीपत्रको प्रस्तुति बिनानै प्रचारप्रसारका लागि हतारमा घोषणापत्र जारी गरेर (१) डायस्पोरा र अनेक डायस्पोराको सिद्धान्त र प्रयोगबारे अध्ययन र अनुसन्धान गर्ने गराउने (२) विश्वका धेरै स्थानमा डायस्पोरा अध्ययन केन्द्र स्थापनातर्फ क्रियाशिल रहने (३) नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्न स्तरीय नेपाली कृतिहरू चयन गरी अनुवाद गर्ने गराउने भनेर घोषणा गरेको सुनेपछि आयोजकप्रति मायानै लागेर आयो । यत्रो ठूलो संस्था त्यसमा पनि ७० वटा शाखाहरू भएको र विश्वमा नै नाम भएको भनिएका संस्थाको आयोजकहरूलाई यति पनि थाहा थिएन त । कतै विना छलफल र निष्कर्षको कुनै निचोड निस्कन्छ ? बिना छलफल र निष्कर्ष घोषणापत्र जारी गर्ने भनेको अल्पज्ञानको परिणाम मात्र हो भन्ठान्छु । फेरि अनेक डायस्पोरा भनेको के ? धेरैको अर्थमा हो भने डायस्पोरा (Daispora) को बहुवाचक डायस्पोराज (Diasporas) हुन्छ । यसरी बिना प्रस्तुति र बिना छलफलको घोषणापत्रलाई के भन्ने ? आयोजकको कमजोरी ? अल्पज्ञानको उपज ? विश्व साहित्यप्रतिको अज्ञानता ? वा खाए खा नखाए घिचको मनस्थिति ? डायस्पोराका बारेमा आफ्नो कार्यपत्रलाई थाती राखी अलिकितमात्र बोल्न पाएका यसका एक विद्वान प्रा. डा. खगेन्द्र लुईटेलले डायस्पोरा शब्दमाथि विवाद रहदै आएको छ त्यसैले मेरो गोरुको बाह् टका भनेर आफै लालमोहर लगाएको र बिगारेकोले यसबारे एउटा समितिनै बनाएर व्यापक छलफल हुनु पर्ने कुरामा जोड दिएका थिए । एउटा डायस्पोरा नपच्दै अर्को अनेक डायस्पोरा भनेर नेपालबाहिरको नेपाली साहित्यलाई अवहेलित हुने काम कसैले गर्न हुँदैन ।
के हो यो डायस्पोरा
एक त डायस्पोरा भन्ने शब्दले कतै पनि इज्जतसाथ आफ्नो देश छोडेर अन्य देशमा गएर बस्ने कुनै पनि मुलुकका बासिन्दालाई जनाउदैन भने यो इजराइलीहरूका लागि यहुदीहरूले भगुवाको अर्थमा प्रयोग भएको शब्द हो । डायस्पोराबाट डायस्पिोरिक शब्द रुपान्तरण भएको अंग्रेजी शब्दकोषले नै देखाउदैन । Diaspora को diasporas भएको पाइन्छ तर diasporic शब्द आयोजकले अनेक डायस्पोरा बनाएझै गरी आफैले बनाएको देखिन्छ । अनि अरुहरू पनि कागले कान लग्यो भन्दै कानै नछामी कागको पछि दौडे झै पछि पछि दौडिरहेका छन् । पहिला यो शब्दको पहिचान गर्नु पर्यो र त्यसको नेपाली शब्द भएमा विदेशी शब्द बहिष्कार गरेर स्वदेशी शब्दलाई अंगिकार गर्नु पर्यो । हामी नेपाली विदेशमा बस्ने भन्दैमा हरीलाई ह्यारी, मदनलाई माईक, कृष्णलाई कृष भनेझै आप्रवासीलाई डायस्पोरा भनिरहनु पर्दैन होला । जसरी बसाइँ–सराइ (Migration) र आप्रवासन (Immigration) जस्ता शब्दसँग डायस्पोरा शब्दले दिने अर्थको चर्चा गर्दा डायस्पोरालाई भिन्न ढङ्गले हेर्नु आवश्यक छ किनभने यी शब्दहरूको अर्थमा पर्याप्त अन्तर छ । बसाइँ–सराइ भनेको मान्छे एक ठाउँबाट अर्को ठाउँमा हिँड्ने प्रकृया हो र आप्रवासन भनेको चाहिँ नयाँ देशमा प्रवेश गर्ने र त्यहाँ स्थापित हुने कार्य हो । कोही नेपालबाट अमेरिका जानु बसाइँ–सराइ हो, त्यहाँ प्रवेश गरेर स्थापित हुने प्रयास गर्नु र वसोवासलाई स्थायीत्व दिनु आप्रवासन हो भने उक्त मान्छेसँगै नेपालको भाषा, साहित्य र संस्कृतिसँगै जातित्व र परम्परालाई फैल्याउँदै जानु नेपाली मूलका आप्रवासी हुनुको पहिचान हो, डायस्पोरा होइन ।
अर्कोतिर साहित्य कहिल्यै पनि डायस्पोरा हुँदैन । वरिष्ठ आख्यानकार मनु बाज्राकीका अनुसार देश छोडेर विदेशिएका नेपालीहरूलाई डायस्पोरा र उनीहरूले लेखेको साहित्यलाई डायस्पोरिक साहित्य भनेर नामाकरण गर्ने भनेको सबै नेपाली पञ्च र सबै पञ्च नेपाली भने जस्तै हो । उनका अनुसार विदेशिने लेखकको लेखनलाई डायस्पोरा भन्नु भनेको गाली गरे सरह हो । किनभने इजरायलीहरूका लागि प्रयुक्त भएको डायस्पोरा शब्द र उनीहरूले लेखेको साहित्यलाई भनिएको डायस्पोरिक साहित्य आजको मितिमा मृत समान भएको छ । यो डायस्पोरा साहित्य लेखन क्षेत्रमादेखापरेको एउटा सानो आन्दोलनका रुपमा उदाएर अस्ताइसकेको कथित वाद मात्र हो । आज इजरायलीहरूलाई डायस्पोराभन्दा उनीहरू नै रिसाउने गर्दछन् । ग्रिकहरूले पनि जबरजस्ती आफ्नो मुलुकमा छिर्नेहरूलाई गाली गरेझै डायस्पोरा भन्ने गर्थे । काला वर्णका मानिसहरूलाई निग्रो भन्नु गाली हो, युरोपभरी छरिएका एकथरीका मानिसहरूलाई जिप्सी भन्नु गाली हो, युरोपेलीहरू अमेरिका आउनुभन्दा पहिलेदेखि बसोबास गरिआएकाहरूलाई रेड ईण्डियन भन्नु गाली हो, त्यसै गरी यहुदीहरूलाई डायस्पोरा भन्नु पनि गाली हो । के हामीलाई बहादुर, काञ्छा, पहाडिया, गुर्खा र लाहुरे भनेर सम्बोधन गरेको मन पर्छ ? अवश्य मन पर्दैन । सबैलाई थाहा छ, बहादुर भनेको दरबान, पाले, चौकिंदार हो, काञ्छा र पहाडियाले भाडा माझ्ने गर्छ, गुर्खा र लाहुरे भनेको भाडाका सिपाही हो । अतः हामी नेपाली भनेकोमा नै खुशी हुन्छौं । हामीलाई डायस्पोराको पर्यायवाची चाहिदैन । देशमा हामी स्वदेशी, विदेशमा हामी प्रवासी र आप्रवासी भनेको नै रुचाउने गर्छौं ।
त्यस्तै डा. तारानाथ शर्माका अनुसार धेरैसय वर्षअघि इज्राइलमा आक्रमण गरी रोमका निर्दयी शासकहरूले त्यहाँ ठूलो विजय प्राप्त गरी त्यहाँका निर्दोष जनतालाई कुट्दै, लछार्दै–पछार्दै देशैबाट निकाले, जङ्गलका पशुहरूलाई झैँ खेदे । बिचरा विजित इज्राइली जनताहरू पूर्वी यूरोपका विभिन्न देशमा ती छरिन बाध्य भए, तापनि तिनले आफ्ना भाषा र संस्कृतिलाई बचाएर राखे । आफ्नो साँस्कृतिक र जातीय अस्तित्व बचाएर राख्ने ती निर्दयतापूर्वक छरपुस्टयाइएका जनतालाई नै ‘डायस्पोरा’ भन्ने युनानी शब्द प्रयुक्त हुँदै आएको हो । हामी नेपालीहरूलाई त्यसरी विदेशी साम्राज्यवादीहरूले जर्बजस्ती पशु लघारेझैँ कहिल्यै लघारेनन्, लघार्न पाएनन् । त्यसै हुनाले हामीलाई “डायस्पोरा” र हाम्रो साहित्यलाई “डायस्पोरिक” भन्न मिल्दैन । हामी कहिल्यै पनि इतिहासमा देशबाट लखेटिएका छैनौँ । आफ्नै इच्छा र आवश्यकताले अर्थात स्वेच्छापूर्वक आप्रवासी भएका हुनाले नै हामीलाई स्वदेशी र आप्रवासी भनी दुई प्रकारमा बाँड्नु उपयुक्त हुन्छ । अँझ नेपाली मूलका अमेरिकाका अंग्रजी लेखक सम्राट उपाध्यायले आफूलाई डायस्पोरिक लेखक भन्नुभन्दा अंग्रेजीमा लेख्ने नेपाली लेखक भन्न मनपराउने कुरा गर्नुहुन्छ भने नेपाली मूलकी क्यानाडाका लेखक मञ्जुश्री थापाले पनि डायस्पोरा शब्दको विरोध गर्दै आफूलाई आप्रवासी अर्थात इमिग्रेन्ट लेखकका रुपमा परिचय गर्न रुचाउछिन् । यतिका तथ्यहरू अघिल्तिर हुँदाहुँदै पनि कोही आँखा चिम्लेर आप्रवासी नेपाली साहित्यको सट्टा अंग्रजी शब्दको मोहमा परेर डायस्पोरिक नेपाली साहित्य भन्छ भने भीरबाट आफै हाम फाल्नेलाई राम राम भन्न सकिन्छ काँध थाप्न भने कदापि सकिदैन ।
सम्मेलनको नामबाट आयोजित अन्तर्राष्ट्रिय पुरस्कार वितरण तथा कवि गोष्ठीमा १० जना अनेसास हिरो, ३२ जना अनेसास च्याप्टर र १७ जना कृतिकारलाई पुरस्कार दिदा ५९ वटा पुरस्कार बाडिएको थियो भने ७१ जना कविहरूले कविता पाठ गरेका थिए । चर्चित नायिका गौरी मल्लले आफूमाथि भएको गलत व्यवहारको विरोध गर्दा उनलाई बोल्न नदिएपछि उनको कवितासँगै प्रस्तुति हेर्नबाट सहभागिहरू बञ्चित हुनु परेको थियो । त्यस्तै चर्चित साहित्यकार तथा पत्रकार गोबिन्द गिरी प्रेरणाले कविता पढ्न शुरु गर्दा आयोजकहरू मञ्चमा आउने जाने र कुरा गर्ने जस्ता अस्वभाविक व्यवहार गरेपछि उनी पनि कवितै नपढी फर्केका थिए ।
कार्यक्रमको सबैभन्दा आकर्षक भनेको निलम कार्की निहारिकाको अर्की आइमई उपन्यासको विमोचन रहेको थियो । यसको विमोचन एउटा भिन्दै शैलीमा गरिएको थियो । जुन कुनै विद्वान वा संघसंस्थाको अध्यक्षबाट नभएर सत्रजना आईमईहरूको हातबाट सामुहिक प्रदर्शन गरेर भएको थियो । हुन त यो लेखकको कृतिको पनि विमोचन गरिने कार्यक्रम रहेको थियो तर दर्जन कृतिहरूको सामुहिक विमोचन गर्दा विमोचित कृतिको शीर्षक नै नभनीकन गरिएको देखेर यस लेखकले पनि मञ्चमा गएर आफ्नो कृतिको विमोचन आफै गरेको थियो ।
निष्कर्ष
नेपालबाहिर (आप्रवास) को नेपाली साहित्यको विकास नेपालका साहित्यकारहरूबाट नभएर नेपालबाहिर (आप्रवास)का साहित्यकारहरूबाट मात्र हुने भएको वास्तविकतालाई कसैले नकार्न सकिदैन । यस्ता सम्मेलन (?) को आयोजना गर्नु धेरैने गाहे हुने गरेको कुरा सबैले स्वीकारेका छन् । सम्मेलन (?) आयोजना गरेकोमा यसका आयोजकहरू धन्यवादका पात्र हुन् तर यस्ता सम्मेलन (?) व्यक्ति प्रचारका लागि नभएर साहित्यको विकासका लागि गरिन्छ । यस्तो सम्मेलन (?)बाट आप्रवासको आजको नेपाली साहित्य र भोलिको देखिने तस्वीरका रेखाहरू कोरिन्छ । सम्मेलन (?)मा डायस्पोरा (?)का बारेमा छलफल हुनु पर्ने थियो तर भएन । सम्मेलन (?)मा नेपाली साहित्यको विश्यव्यापीकरणका बारेमा छलफल हुनु पर्ने थियो, तर भएन । विना छलफल घोषणा पत्रमा राखेर सुनाइयो । सम्मेलन (?)मा के भयो त । बढी भाषण त्यसपछि पुरस्कार वितरण र कवि गोष्ठी र सांस्कृतिक कार्यक्रम अनि कार्यपत्र प्रस्तोताहरूले आआफ्ना कार्यपत्रको बारेमा अतिनै संक्षिप्त तरिकाबाट जानकारी गराउन भनेबमोजिक आज्ञाको पालना गरे । पुरस्कार बाडेर नेपाली साहित्यको विकास कहिले पनि हुँदैन । आयोजकहरूले धेरैनै मेहनत गरेको आभास सम्मेलन (?)मा नदेखिएको हैन । तर कार्यतालिकासँग तालमेल मिलाउन नसकेकोले पहिलो दिनको कार्यक्रम प्रत्यक्ष प्रशारण गर्ने मोहमा लागेर प्राविधिज्ञलाई कुर्दा दुई घण्टा ढिलो शुरुभएको थियो भने दोस्रो दिनको कार्यक्रम ३ बजेभित्र समाप्त गर्नु भनेर कार्यपत्रनै पढ्न दिइएन तर कार्यक्रम भने राती ८ बजेसम्म पनि नाचगानका साथ चल्दै थियो ।
त्यसैले सम्मेलन (?)लाई गरिस गरे भनेर संख्या गनेर बस्नुभन्दा एउटै सम्मेलनलाई ऐतिहासिक बनाएर नेपाली साहित्यको इतिहासमा दर्ता गर्न सकेमात्र त्यसलाई सफल मानिन्छ । यस्तै एउटा ऐतिहासिक सम्मेलनको खाँचो हामी सबैलाई छ । जहाँ हामी हाम्रो आप्रवासी साहित्यिक रणनीति पहिल्याउन छलफल गरौं । छलफलमात्र गरौं ।
डा. गोबिन्दसिंह रावत
टोरोन्टो, क्यानाडा