Skip to content


तिम्रो चोखो सिंउदोमा
चिम्टी सिन्दुरको टीका लगाई दिएदेखि
कलकलाउँदो जवानी बिटुलो पारेदेखि
कुनै हालतमा तिमीभन्दा माथि देखिनु छ
किनकि तिम्रो श्रीमानको पगरी बचाउनु छ ।

अग्निसाक्षी राखी खाएको कसम त्याग्दै
गोलार्धको विपरित कुनामा एक्ला एक्लै
मनको पर्खालभित्र थुनिएको कैदी बनाएर
तिमीलाई सुख र खुशी दिने ढ्वाङ् रच्दैछु
किनकि तिम्रो श्रीमानको पगरी बचाउनु छ ।

आजकल दैनिक तिमीसँग हुने भिडियो कलहरूमा
तिम्रो सामू जवरजस्ती हाँस्नु पर्छ मैले
तिमीलाई निराश गराउनु हुँदैन हँसाउनु छ मैले
मलाई राम्रोसँग थाहा छ
मैले हाँसेर बोल्दैमा तिम्रो चाहना पुरा हुँदैन
तैपनि मन भित्र जति पीडा भए पनि
तिमीसँग हाँसो र खुशीको नाटक गर्नु पर्छ
किनकि तिम्रो श्रीमानको पगरी बचाउनु छ ।

तिमीसँग दुखित बनेर प्रस्तुत हुँदा
मनको पीडा पोख्दा
आँशु खसाल्दा
मेरो कमजोरी ठान्ने छौ
यी सबै लुकाएर तिमीसँग बोल्नु पर्छ मैले
किनकि तिम्रो श्रीमानको पगरी बचाउनु छ ।

धन पैसोको र सम्पत्तीको चर्चा गरेर
तिमीलाई संसारको सुखी हौ भनी
प्रमाणित गर्न दलिल पेश गरिरहने छु
तिमी रूँदा हाँस्नुपर्छ भनी वकालत गरिरहने छु
तिमी माथि मनोवैज्ञानिक हस्तक्षेप गरिरहने छु
किनकि तिम्रो श्रीमानको पगरी बचाउनु छ ।

मलाई थाहा छ
तिमीसँग मेरो लागि थुप्रै प्रश्नहरू छन्
प्रस्तुत गर्ने अवसर दिए भने
ज्वालामुखी भएर सतहमा पौखीने छौ
तिम्रो अन्तरद्वन्दसँग प्रतिकार गर्ने
ल्याकत ममा हुने छैन
आफूलाई तिम्रोसामु मिहेनती सावित गर्नु छ
मायालु भावमा नभए कड्केरै भए पनि
निस्किनै लागेका तिम्रा मनका प्रश्नहरूलाई
तिमी भित्रै कुण्ठित बनाउदै
कुनै हालतमा तिमीभन्दा माथि देखिनु छ
किनकि तिम्रो श्रीमानको पगरी बचाउनु छ ।

बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *