यो दशैंमा मेरो देशमा
पाकिस्तान पड्किन्छ
बिगतको पाना पल्टिन्छ
अनि यो युग बद्लिन्छ
बुद्ध टीका लगाउन आउँछ जब
नेपाल आमाकोमा
तर्सिन्छ ऊ अनि अनायसै
देवलोक फर्किन्छ
यो दशैंमा मेरो देशमा
पाकिस्तान पड्किन्छ
कतारको रेडियो बारम्बार
बजाइरहन्छ मेरा बाउ
छिमेकी भारत भन्छ,
“तेरो त्यो गीतले मेरो गाउँ नै थर्किन्छ,”
यो दशैंमा मेरो देशमा
पाकिस्तान पड्किन्छ
ती बनमान्छे जस्ता
बोक्सीहरुको आबाज सुनेर त,
मेरो गोठको गाई तर्सिन्छ
अनि मनमन्दिरमा दुर्गा भड्किन्छ
यो दशैंमा मेरो देशमा
पाकिस्तान पड्किन्छ
कुनै सहरिया स्वार्थी श्रीमती झैं गरेर
ऊ गाउँ आउँछे
अनि उस्को नजर बाटोमै
कुनै धनीको घरमा अड्किन्छ
यो दशैंमा मेरो देशमा
पाकिस्तान पड्किन्छ
दिनभरि द्वालीले हानिरहन्छ
त्यो हलीले ती गोरुहरुलाई,
मेसिन हैन बिस्तारै हिन्छ, मर्किन्छ खुट्टा
ढुङ्गामा ठोक्किएर सड्किन्छ
यो दशैंमा मेरो देशमा
पाकिस्तान पड्किन्छ
तिम्ले ती कलिला फूलहरुलाई
बलत्कार गरेर कति सजिलै भनिदियौ
कि भमराको जस्तो टीका कस्ले लगाइदिन्छ?
मेरो देशमा यो दशैंमा पाकिस्तान पड्किन्छ
सपनामा पृथ्वीको पागलले
आकाशकी एउटी अप्सरालाई मनपरायो
बिपनामा न कैले देखिन्छ
न कसैले कसैलाई चिन्छ
यो दशैंमा मेरो देशमा
पाकिस्तान पड्किन्छ
यो समाज आज
लाज हराएको साँझजस्तै भएको छ
दिनभरि नाङ्गै सुत्छ
अनि बेल्का बत्ती निभाएर ब्युझिन्छ
मेरो सानो बाबु भन्छ,
“छिमेकीको छोरीसँग खेल्छु, खेल्न जान्छु,”
बालुवाको घर हो उस्कै बुबाको कारको
धुवाले भत्किन्छ
यो संसारको पवित्र प्यार भन्ने अजीव चिजले पनि
बिहे गर्नुअघि सोध्यो कि,
“भन न यार तिम्रो कति धन छ
अनि कहाँ कति ऋण छ?”
एकाबिहानै एक उज्यालो कान्ति सूर्य आएर आगनमा
मेरो मनमा भन्यो
“जुनतारा मरेर त आज यो दुनिया यति रङ्गिन छ।”
आज यसरी आतङ्गकारीहरुले
मेरो देशको शान्त समुद्र बन्दुकले बगर बनाइदिए
अब जिन्दगीभर माछा मैदानमा तड्पिन्छ
सरकार त्यो मच्छेटले पनि
तिम्रो ताजमहल र दरवार त घेर्नेछ एकदिन हेर!
त्यसले केबल आफ्नो पेट
र मान्छेको रगत सम्झिन्छ
मेरो देशमा यो दशैंमा
पाकिस्तान पड्किन्छ
बिगतको पाना पल्टिन्छ,
अनि यो युग बद्लिन्छ ।