Skip to content


सुमेरु पर्वतको चार सय कोस लामो बरफको चट्टानमा हिँड्दै गर्दा मेरा गोडा फतक्कै गले । अति भएपछि तिनले मलाई थामिदिएनन् । म ढलेँ ।

जेठा पति युधिष्ठिरले त भनेकै थिए, पापीहरू यस चट्टानमा हिँड्न सक्दैनन् । पाप नगर्ने संसारमा को होला ? पापी यहाँ हिँड्न नसक्ने हो भने त मैले भन्दा कता हो कता बढी पाप युधिष्ठिरले गरेका छन् । उनी किन ढलेनन् ? प्रस्ट छ, उनी पुरुष, त्यसमाथि राजा भएकाले सेवा, सुश्रुषा पाएर मभन्दा निकै बलिया छन् । म जुगदेखि मानसिक र शारीरिक दुबै हिसाबले पीडित नारी ! सत्य के हो भने म अत्यधिक थकाइ र भोकले ढलेकी थिएँ । माइला पति भीमले सोधे, ‘ठूल्दाइ, द्रौपदीले के पाप गरेकी थिइन् र यहाँ ढलिन् ? उनले हामी पाँचै दाजुभाइको त्यत्रो सेवा गरेकी थिइन् !’

‘यिनी हामी पाँच दाजुभाइमध्ये अर्जुनसँग विशेष प्रेम गर्थिन् । त्यही पापले यिनको यो गति भयो । हिँड, यिनको मोहमा पर्नु अर्को पापमा फस्नु हो ।’ जीवनभरिको कुण्ठा क्या सजिलै पोखिदिए युधिष्ठिरले ! कति क्रूर छन् यी तथाकथित धर्मराज ! अर्जुनसँग मेरो विशेष प्रेमको प्रतिशोध यस्तो अवस्थामा मसँग लिइरहेका छन् । युधिष्ठिरको आदेशमा पाँचै जना मलाई नहेरी लम्किए । आखिर उनकै इच्छाअनुसार हामी सबै आत्महत्याका लागि हिँडेका थियौँ भने मलाई उठाएर सँगै लगेको भए के बिग्रन्थ्यो ?

जीवनभरि धर्मका नाममा म परपीडक पुरुषका पारिवारिक वेश्या भएँ र अपमानको आगोमा जलिरहेँ । नरसंहारक महाभारत युद्धको प्रेरकका रूपमा दोष दिँदा मानिसहरूले कहिल्यै मेरा अनन्त दुःख र वेदनाबारे सोचेनन् । द्रूपदजस्ता ऐश्वर्यशाली राजाकी छोरीको यो हालत ! हो, मत्स्यवेधको सर्त पूरा गरेर अर्जुनले मलाई स्वयम्बरमा प्राप्त गरे । त्यसअनुसार म उनकी पत्नी हुँ । सासू कुन्तीले गल्तीवश बोलेको कुरालाई आज्ञा भनेर पाँच जनाकी साझा पत्नी बन्न बाध्य बनाए युधिष्ठिरले । आइमाईको रुपै बैरी भन्छन् । मेरो रूप र शारीरिक बुनोट सुन्दर हुनुमा मेरो के दोष थियो ? पहिलो पल्ट मलाई देख्दा यिनै धर्मराजका आँखा कति लोभिएका थिए ! अर्जुन कति भातृभक्त थिए भने आफ्नै पत्नी सबै दाजुभाइलाई सुम्पन तयार भए । दाजुहरुको विवाह नभई अर्जुन विवाह गर्न चाहँदैनथे । तर, भीमले त हिडम्बासँग विवाह गरेर घटोत्कच नामक छोरा जन्माइसकेका थिए । अर्जुन पनि त्यति त्यागी कहाँ थिए र ! हुँदा हुन् त युधिष्ठिरसँग मात्र मेरो विवाह हुन दिने थिए ।

बाबा राजा द्रूपद मेरा लागि अर्जुन नै बर मिलून् भन्ने चाहनुहुन्थ्यो । लाक्षागृहमा पाँचै पाण्डव जलेर मरिसकेको खबर फैलिए पनि त्यसमा उहाँको विश्वास थिएन । यस कारण उहाँले मेरो स्वयम्बरका लागि यस्तो मत्स्यवेधको शर्त राख्नुभयो जुन अर्जुनबाहेक अरु कसैले गर्न सक्दैनथ्यो । संसारका सारा क्षत्रीय राजाहरूले गर्न नसकेपछि ब्राह्मणको हुलबाट विप्र भेषमा एक युवक उठ्यो र सजिलै मत्स्यवेध गरिदियो । अर्जुन उनै थिए ।

राजाहरू ब्राह्मणले क्षत्रीय कन्या जितेको देख्न चाहँदैनथे । यस कारण उनीहरू अर्जुनसँग युद्ध गर्न तयार भए । अर्जुन र भीमसेनलाई त्यहीँ छाडेर नकुल-सहदेवलाई लिएर युधिष्ठिर लुसुक्क भागे । विचरा अर्जुन र भीमले सयौँ राजाहरुले आक्रमणको सामना गरिरहे । घमासान युद्ध हुन थाल्यो । एकातिर सैयौँ राजा, अर्कातिर केबल अर्जुन र भीम । युद्धको भीषण रूप देखेर कृष्ण कन्हैयाले ब्राहृमण भए पनि द्रौपदीमाथि सर्त पूरा गर्नेकै हक लाग्ने भनेर सम्झाएपछि राजाहरु युद्ध रोक्न तयार भए । नत्र ठूलै दुर्घटना हुनसक्थ्यो । त्यसपछि मलाई लिएर डेरा आइपुग्नै लाग्दा भीम र अर्जुनले आमालाई बोलाएर भने, ‘हामीले विशेष कुरा ल्याएका छौँँ आमा ।’ कुन्तीले फ्याट्ट भनिदिइन्, ‘सबै जनाले बरोबर बाँडेर लिनू ।’ पछि मलाई देखेपछि अपसोच गर्दै उनले युधिष्ठिरलाई भनिन्, ‘अञ्जानमै मैले यस्तो के बोलेँ ! अब तिमी यस्तो उपाय निकाल जसका कारण मेरो भनाइ असत्य नहोस् र द्रौपदीले पनि दुःख भोग्नु नपरोस् ।’ मत्स्यभेद गरेर अर्जुनले स्वयम्बरमा मलाई प्राप्त गरेको खबर युधिष्ठिरले आमालाई सुनाएकै रहेनछन् । कति कुण्ठित यी धर्मराज !

आमाको आज्ञापछि लोकाचारवश युधिष्ठिरले अर्जुनलाई भने, ‘साइँलाभाइ, तिमीले यिनलाई जितेका हौ, अतः तिमी नै यिनको पाणी ग्रहण गर ।’

‘दाजै, हजुर अविवाहित हुँदाहुँदै म विवाहित हुनु कहाँ उचित हो र !’ भ्राताभक्त अर्जुनले भने । बस, जेठा महाराजले मौका छोपिहाले, ‘त्यसो भए यिनी हामी पाँचै भाइकी पत्नी हुने छिन् ।’ अर्जुनको आशय पक्कै यस्तो थिएन । जेठाले कसैसँग विवाह गरून्, त्यसपछि मात्र आफू विवाहित हुने उनको चाहना थियो । तर युधिष्ठिर मसँग विवाहित हुन सबैभन्दा बढी लालायित थिए । बाँकी अरु भाइमा पनि लोभ थियो । मेरो जिन्दगीमाथि त्यति ठूलो निर्णय हुँदै थियो तर यी धर्मात्माले मलाई एक वचन सोध्न आवश्यक ठानेनन् ।

युधिष्ठिरको यो निर्णयविरुद्ध बाबा द्रुपद र दाइ धृष्टधुम्नले विरोध गर्नुभयो । दाइले त हाकाहाकी भनिदिनुभयो, ‘सदाचारी दाजुले भाइकी पत्नीसँग कसरी सहवास गर्न सक्छ ?’ जवाफमा युधिष्ठिरले भने, ‘जति सुकै ठूलो कुकर्म भए पनि मैले गरेपछि त्यो अधर्म हुँदैन, धर्म नै ठहर्छ ।’ हाय रे धर्मराज, तिम्रो कुतर्कसित संसारका महामुर्खले पनि हार मान्नेछन् । विचित्रवीर्य निःसन्तान भएर मरेपछि सत्यवतीले भीष्मलाई विधवा भाइबुहारी अम्बिका र अम्बालिकासँग सहवास गरेर सन्तान जन्माउन आज्ञा दिएकी थिइन् । भीष्मले आमाको आज्ञा स्वीकार्न सकेनन् । त्यस बेला न भीष्म दोषी ठहरिए न त सत्यवतीको वचन पूरा नभएकोमा उनी नरक जानुपर्‍यो । यही कुरा युधिष्ठिर र कुन्तीलाई चाहिँ किन मान्य भएन ? केही नलागेपछि उनीहरूले हिमालमा तपस्या गरिरहेका च्यापुबाजे व्यासलाई उभ्याए जसले विचित्रवीर्यका दुई विधवा र एक दासीबाट सन्तान जन्माएका थिए । व्यासले तर्क गरे, ‘पूर्व जन्ममा पनि द्रौपदी यिनै पाँच दाजुभाइकी पत्नी थिइन् । यस जन्ममा पनि पाँचै जनासँग विवाह हुने यिनको ललाटमा लेखिएको छ । यसकारण यो विवाह अधर्म हुने छैन ।’ बाबा र दाइको केही लागेन । उहाँहरूको मौनतालाई स्वीकृति मानेर पाँचै भाइले मलाई पत्नी बनाए ।

समस्या यहीँ कहाँ सकिएको थियो त ? पाण्डवको बहादुरी हेर्नुस्, पछि जेठाले शिविदेशका राजा गोवसनकी छोरी देविकासँग बिहे गरे । भीमले काशीराजकी छोरी बलन्धरासँग । भीम यसरी तीन पत्नीका धनी भए । युधिष्ठिरसँग मेरो सहवासका बेला कुटी आएको आरोपमा अर्जुनलाई उनले बाह्र वर्षको बह्मचार्यको सजाय दिए । त्यसै अवधिमा यी धनुर्वीरले उलुपी, चित्रांगदा र सुभद्रासँग गाँठो कस्न भ्याए । चेदी नरेशपुत्री करेणुमतीलाई नकुलले र मद्रनरेशकी राजकुमारी विजयालाई सहदेवले निजी पत्नी बनाए । पाँच पतिलाई सन्तुष्ट राख्न मैले कति सावधानी अपनाउनुपथ्र्यो भन्ने मलाई बाहेक कसलाई थाहा होला ? जेठी पत्नी भएको अहम् र कामक्रोध सबै त्यागेर पाण्डवमात्र होइन, म तिनका निजी पत्नीको समेत सेवा गर्न बाध्य थिएँ । आफ्ना सबै इच्छा दबाएर सेवाकै भावनाले मैले यिनीहरूको मन राखेकी थिएँ । साँच्चै भन्ने हो भने पतिहरूले गरेको परिहासमा बाहेक मैले हास्नै बिर्सिसकेकी थिएँ ।

पाँच छोराकी आमा भइसकेकी मलाई एक दिन युधिष्ठिरले जुवामा हारिदिए । कुनै भाइसित अनुमति लिन उनले आवश्यक ठानेनन् । मलाई त उनी किन गन्थे ! उनकी निजी पत्नी देविका पनि त थिइन् ! तिनलाई उनले किन दाउमा लगाएनन् र म साझा पत्नीलाई नै दाउमा लगाए ? यसको जवाफ कोसित छ ?

खुला सभामा दुःशासनले मेरो साडी तान्दा मेरो इज्जत बचाउन कुनै पति अघि सरेनन् । केबल भीमले मुर्मुरिँदै युधिष्ठिरको हातमा आगो लगाइदिन्छु भने । अर्जुनले जेठाको बचाउ गर्दै भीमलाई गाली गरे, ‘माइलादाइ, तपाईंको धर्म कसरी नष्ट भयो ? नत्र आफ्ना धर्मात्मा दाजुलाई यसरी कसैले अपमान गर्न सक्छ ?’ बरु कौरव पक्षकै विकर्ण र महात्मा विदूरले मेरो पक्षमा बोले तर भीष्म पितामहको दोधारे कुराले कौरवको मनोबल झनै बढ्यो । तिनीहरूले मलाई अश्लील छेडखानीसमेत गरे । यति धेरै अपमान सहनुपरे पनि धृतराष्ट्रबाट वर प्राप्त गर्ने अवसर पाएपछि सर्वप्रथम मैले यिनै बैगुनी युधिष्ठिर र पछि अरु भाइहरूलाई दासताबाट मुक्ति दिलाएँ । महाबली भीम अर्का मुर्ख थिए जसले मलाई दुःशासनले छोएका कारण मबाट जन्मेका सन्तानकै पहिचानको सङ्कट हुने आशङ्का गरे । मेरा पतिहरूमा कृतज्ञता भन्ने कुरै थिएन । युधिष्ठिरले धर्मपालनाका नाममा फेरि जुवामा सबै कुरा हारेर भाइहरूसहित मलाई लिएर बनबास हिँडे । बनबास जाँदा उनका निजी पत्नी दरबारमा सुखसयलसाथ बसे । मै यिनीहरूको दुःखको साथी बन्न आफ्ना प्रिय छोरालाई छाड्न बाध्य भएँ । अज्ञात बासका क्रममा राजा विराटको दरबारमा मैले दासी भएर काम गर्नुपर्‍यो । राजाको साला किचक मप्रति मोहित भयो र आफ्नो वासनापूर्तिका लागि अनेक षड्यन्त्र गर्न लाग्यो । सफल नभएपछि दरबारमा खुलमखुला उसले ममाथि हातपात गर्‍यो । म के गरूँ ? दुःख, क्रोध र लज्जाले जलिरहेको थिएँ । याचनाका दृष्टिले मैले युधिष्ठिर र भीमलाई हेरेँ । गोप्यता खुल्ने डरले सबै चुपचाप । मेरो अपमानबाट भीम खुबै क्रोधित भए तर दाजुको इशारा पाउनेबित्तिकै उनको क्रोध सामसुम भयो ।

यथार्थमा मैले मेरा पतिहरूलाई धेरै सहेँ । खासगरी युधिष्ठिरलाई । उनको बहानाबाजी भनिनसक्नु थियो । फेरि पनि मैले जेठा पतिका रूपमा उनलाई सम्मान गरिरहेँ । हो, अति भएपछि धृतराष्ट्रको सभामा मैल भनिदिएँ, ‘आफैँलाई हारिसकेपछि युधिष्ठिरले मलाई दाउमा राख्ने के अधिकार थियो ?’ जवाफमा दरबारका भीष्म, द्रोण, कृपाचार्यलगायत भद्रभलाद्मीले धर्मको हवाला दिँदै युधिष्ठिरकै पक्षपोषण गरे । ‘जुन स्त्रीका पति राजा युधिष्ठिर छन्, ऊ कसरी निर्धक्क रहन सक्छे ? निन्दनीय जुवामा आशक्त यस्ता जुवाडे अरु को हुनसक्छ जो आफ्नी पत्नी, राज्य र सर्वस्व त्यागेर बनबास जाने सर्तमा जुवा खेल्न सक्छ ?’ अति दुःखी भएरे मेरो मुखबाट यस्तो वचन निस्केको थियो । खासमा भीमको पराक्रमप्रति मलाई केही विश्वास थियो जसका कारण मैले आफ्नो दुःख यदाकदा उनलाई सुनाएँ । नत्र पराधीनताको पीडामा आफ्ना सबै अधिकार गुमाएर पनि मैले अरु कसैसँग कहिल्यै गुनासो गरिनँ ।

अब एउटा सत्य खोल्छु । जुन युवकलाई ज्वाइँ बनाउने इच्छाले बाबाले त्यत्रो सर्तसहित मेरो स्वयम्बरको घोषणा गर्नुभयो, त्यो सर्त पूरा गर्ने युवकप्रति मेरो आशक्ति हुनु अस्वाभाविक के थियो त ? सशरीर नदेख्दै उनको वीरता र गुणको गुनगान सुनेर उनीप्रति ममा अनुराग पैदा भएको थियो । के यो कुरा युधिष्ठिरले बुझेका थिएनन् ? अवश्य थिए तर उनले मलाई प्राप्त गर्ने लोभ संवरण गर्न सकेनन् । स्त्रीलाई आकषिर्त गर्ने विशेष गुण केही नभएर उनी जीवनभरि कुण्ठित भइरहे । त्यही कुण्ठा उनले मेरो जीवनको अन्त्यमा अत्यन्त क्रूतापूर्वक व्यक्त गरे । स्त्री त्यसमाथि कैयन् दिनदेखिकी भोकी र थकित म हिउँमा चिप्लनु के अर्जुनप्रति विशेष प्रेमको पापकै परिणाम थियो त ? थियो भने त्यो प्रेमलाई पाप बनाउने बनाउने काम कसले गर्‍यो धर्मराज ? मलाई अर्जुनकी मात्र पत्नी बन्न दिएका भए के यो प्रेम प्रेमै रहने थिएन र ? फेरि प्रेम कसरी पाप हुन्छ ? हुँदो हो त तिमीले आफ्नै भाइकी पत्नीसँग बिहे गर्नु पाप थिएन ?

संसारका कुनै पनि नारी मेरो जस्तो पीडा खपेर नबसून् । तिनीहरूले विद्रोह गर्न सिकून् । यही चेतनाले एक दिन यस्तो समय आउनेछ जहाँ नारी भएकै कारण कसैको पनि जीवन अभिशप्त हुने छैन । आह…. चारैतिर अँध्यारोले मेरा परेला छोप्दैछ । शिरतिर कालो आकृतिको कोही आएर बसेजस्तो लाग्छ । अन्धकार.. अन्धकार… अन्धकार…।

Leave a Reply

Your email address will not be published. Required fields are marked *