Skip to content

चप्पल छिने के भो र यात्रा जारी छ


सानो कुम्लो पछाडि बोकेको छ । टाउकोमा निधारसम्मको टोपी छ । दायाँतिर सारङ्गी भिरेको छ । ऊजस्तै ऊभन्दा उमेरले पाको देखिने अर्को मान्छे छ । लगाई उस्तैछ । कुम्लोको ठाउँमा चेन बिग्रिएको झोला छ उसको । हातमा लौरो छ बाँसको । तगारो बन्द छ ।

तगारोमा लौरोले हिर्काउँछ पक्कोले ।

कच्चोले र्‍याइँर्‍याइँ सारङ्गी रेट्छ । भित्रपट्ट िकेटाकेटी झुम्मिन्छन् / कुकुर भुकिरहेछ / अझै जोडले भुक्छ ।

………………….
हे……हे….. हे……
हेर्दाहेर्दै मान्छे जति भैसके भक्षक
तगारोमा पुग्दा भुक्छ घरको रक्षक
र्‍याइँर्‍याइँ…….
सारङ्गी पुनः रेट्छ कच्चोले भाखा हाल्दै ।
खोल नानी ढोका खोल
आयौँ गीत गाउनलाई
जोहो गर्दै हिँडेकाछौँ
चुहेको घर छाउनलाई
………………………
कति राम्रो टुसाएको गैरीछेउ तामा
भुरा मात्र देखियो, कहाँ गइन्
आमा ?
र्‍याइँर्‍याइँ…….

बूढीआमा हातमा लौरो लिएर आउँछिन् र कुकुरलाई खेदाउँछिन् ।

तगारो खोलिन्छ । दुबै भित्र पस्छन् । केटाकेटी खुसीले उफ्रिन्छन् ।

र्‍याइँर्‍याइँ…….

सारङ्गी रेटिरहेछ ।

साँझको घाम अस्ताउने बेला छ । स्कुलका केटाकेटी डहर हुँदै फर्कंदै छन्, किताब कोखिलामा चेपेर ।

कच्चोले सारङ्गी रेट्छ गाउँदै ।

हे बरै……..
हामीलाई पनि मन थियो
गैरीखेतको धान कुटेर
कासको थालमा खानलाई
हामीलाई पनि मन थियो
सेतो पेन्ट, निलो सर्त लाएर
साथीसँग स्कुल जानलाई
हे बरै…..
हाम्रोलाई मन थियो
हाम्रो पनि तन थियो
कतै भित्र छुन्छ होला
मन भित्र रून्छ होला
एक छिन रोकिन्छ । केहीबेर टोलाउँछ ।
पक्को चाहिँले चिमोट्छ पाखुरामा ।
हे बरै……
जाउजाउ हात धौ
आमा दिन्छिन् खाजा
पकाएर राखेकी छन्
घिउ हाली ताजा
आमा भए मेरो पनि
पाउँथे होला पढ्न
छाड्ने थिनन् यो उमेरमा
भिरैभिर लड्न
आमा पनि छैनन् हजुर
बाबा पनि रैनन्
हे बरै…………
बर्सा लागे पुल छैन
खोला पसी तर्‍यो
भाग्य पनि कस्तो रैछ
डुली हिँड्न पर्‍यो
पुछ्ने रूमाल छैन हजुर
आँसु ढिका झर्‍यो
हे बरै….
साबुन छैन बुट्टे जामा
खरानीले धुन्छे
सानी मेरी बैनी हजुर
दाजु भन्दै रून्छे
न त राम्रो आँखा देख्छे
न त कान नै सुन्छे
हे बरै……
महिना दिन यसै गरी
कमाई गरी जम्ला
दाजु बैनी मिलीजुली
चुलो बाली खाम्ला
दिने भए जडौरी
जाडो छेक्न लम्ला

बौतामा कोदाको बाक्लो जाड दुवै जना अघिल्तिर राखिदिन्छ बूढीआमा । केटाकेटी वरिपरि बसेका छन् रमाइलो मानेर । बस्तु हेर्न गएका बाबु पनि आइपुग्छन् । गोठमा बस्तु बाँध्छन् ।

सारङ्गीको धुनसित
लाएको छु मित
घर मालिक आउनु भयो
अब सुन्नुस् गीत
बह मेरो पोख्छु अब
यहाँहरूसित……….
सिमलको हाँगामा
दुई ढुकुर जोडी
मिहिना दिन हुन लग्यो
हिँडेको घर छोडी
गीतको लय फेर्छ सारङ्गी रेट्दै ।
झरीले रूझे पनि
पसिनाले भिजे पनि
घरघर जानु छ
गाइने गीत गाएर
सबको मन खुसी पार्नु छ ।
ऐया भन्न पाइँदैन
तर चोरी खाइँदैन
नभएको जुराएर
गीत पनि गाइँदैन
पुस-माघ जाडो होस् कि
चैतको घाम
यही हो हाम्रो पेसा
यही हो हाम्रो काम
बासको ठेगान छैन
सुख भन्ने कैले भैन
जे भए नि लिनु रैछ
मनमा एक चैन

बूढीआमाले टाढैबाट रोटी फालिनु दिन्छिन् टपरीसँग अघिल्तिर,

हे आमै…
काँडा बिझ्यो पितालामा
ढेला पर्‍यो हातमा
कोही छैन ठूलोसानो
एकै हुन्छ जातमा

फेरि बूढीआमा हाँस्दै जाँड थपिदिन्छिन् । ऊ २-४ पटक निल्छ र सारङ्गी रेट्छ ।

भाँडा थाप्छु दैलोनेर थप आमा जाँड
नेता जति यो देशका घाँटीको दुःखी गाँड
केटाकेटी बालबच्चालाई अघि बढाएर
कर्फु लाग्दा जुलुस निस्क्यो नारा लगाएर
गोली चले छातीमाथि भूरालाई नै लाग्ने
टाठाबाठा नेताहरू ज्यान बचाई भाग्ने
होटलमा बैठक बस्छ, विदेशसँग माग्ने
बालबच्चाको नाम पारी आफ्नो पेट भर्ने
भोकानग्गा बालबच्चाको फोटो पठाएर
विदेशसँग सहयोग मागे दशा देखाएर
बाल बिक्री बढ्न लाग्यो रोक्ने कसले हो ?
हाम्रा सारा एस्ता पीडा बोक्ने कसले हो ?
गरिबका बालककाझैँ दुःख कसको होला
हाम्रा लागि बोलि दिने मुख कसको होला ?

एक छिन रोकिन्छ ।

पक्कोले पटकपटक धाप मार्छ कच्चोको काँधमा । पल्लो घरका पनि आइपुग्छन् । गुन्द्री बिछ्याएर बसेका छन् वरिपरि ।

भरियाको कर्म गाईदे ।

पाक्कोको आदेश ।

पक्कोले पनि साथ दिन्छ । सारङ्गी रेट्दै ।

हे हे हे हे……….
सानो छ शरीर
सानै छ उमेर
गरूँगो छ भारी
लानु छ डाँडा पारि
टोपी खस्ने उकाली
बिसाउन छैन देउराली
एस्तै छ हजुर
कसो गरी त्यो डाँडा चढ्ने होला खै ?
कहिलेसम्म भाग्यसँग लड्ने होला खै ?
हे हे हे हे……….
कोही जान्छन् स्कुल
कापी-किताब बोकेर
म जान्छु भारी बोक्न
आफ्नै आँसु पिएर
पढ्न रहर थियो सारै
ज्ञानी गुनी बन्नलाई
सारो पर्‍यो यो जन्ममा
साहूको ऋण तिर्नलाई
बन्दकी यो जिन्दगीमा कसो गरी पढ्ने होला खै ?
कसो गरी त्यो डाँडा चढ्ने होला खै ?
कहिलेसम्म भाग्यसँग लड्ने होला खै ?
हटेको त छैन अझै
दासदासी बनाउन
उज्यालो खसेदेखि
साँझसम्म कजाउन
हटाउन भेदभाव
ल्याउन समानता
हाम्रा लागि अब को बोल्ने होला खै ?
कसो गरी त्यो डाँडा चढ्ने होला खै ?
कहिलेसम्म भाग्यसँग लड्ने होला खै ?
भाका फेर्छ
र्‍याइँर्‍याइँर्‍याइँ
………………
आमा मेरी भन्थिन् ठूलो मान्छे हौला
एक दिन ती औँलाले हिमशिखर छौला
सारङ्गी रेट्न छोडेर हेर्छ आफ्ना आँैला ।
रोकिएको देखेर पल्लोघरकी पटुका कसेकी बजै जान खोज्छिन् ।
रेटेर सारङ्गी हिँडिरछु घरघर
आऊ सुन गाउँछु गीत नजाऊ परपर
बर्सा लाग्यो धमिलो भो बढ्यो झुम्सा खोला
कहन्छु आज मनको बिरह सुनी दिनुहोला
आमा छैनन् बाबु भन्ने जिम्दै मरे
टुहुरा दुई भाइबैना अलपत्र परे
बाका भाइ साना काका आए सरन दिन
गाउँदै हिँड्ने उनैसँग त्यो को होला चीन ?
हामी त हजुर झुम्साको गाइने
हातपात जेमा देनि खाएने
सानी मेरी बैनीलाई घर एक्लै छाडी
गाउन आछम काकाभातिज डाँडा तल माडी
झोली थाप्छु दिनुस् हजुर यहाँ मन फुकाई
भीख मागेको होइन, गाए घाँटी मैले सुकाई
अबेर भयो जानु छ अब पल्लो गाउँ
लौन आमै जे दिने हो अब हामी पाउँ
बूढीआमा पाथीमा गहुँ लिएर औछिन् ।
पक्कोले लुगा थाप्छ । आमाले खनाउँछिन् ।
……………………………………………..
आमै, एक गिलास पानी देऊ तिर्खा लागेको छ
यो देशले अझै दुईचार सहिद मागेको छ ।

घरको सानो बालकले पानी ल्याएर राखी दिन्छ ।

हे हे…………..
छुवाछूता नगरौँ तिमी हामी दाजुभाइ
एकजुट हुनु छ पर्छ शान्ति ल्याउनलाई

जुठो नपारी पानी सक्छ अनि आगनको पल्लो छेउ ढुङ्गामा राखी दिन्छ अम्खोरा ।

आमैले अम्खोरा हातमा लिन्छिन् ।

कुम्लो बोकेर उनीहरू बाटो लाग्छन् ।

आउँदा भुकेको कुकुर अहिले पुच्छर हल्लाएर उनीहरूको पछिपछि लागेको छ ।

सबैलाई नमस्कार गरेर उनीहरू तगारो काट्छन् ।

पछिपछि अरू भूराहरू छन् ।

कुम्लो गरूँगो छ । घरिघरि माथि सार्छ ।

तर पनि सारङ्गी रेट्दै हिँडेको छ कच्चो, फुरूङ्ग भएर अलि पर पुग्दा चप्पल छिन्छ ।

भूराहरू खितिती हाँस्छन् ।

ऊ पनि हाँस्छ ।

कुम्लो भुइँमा राखेर गाउँछ

हे ………
चप्पल छिने के भो र यात्रा जारी छ ।
उज्यालो दिने सूर्य यही डाँडापारि छ ।

सबै केटाकेटी धूलोमा उफ्रेर ताली बजाउँछन् ।

1 thought on “चप्पल छिने के भो र यात्रा जारी छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *