Skip to content


पानीले निथुक्क भिजेपछि
धरती त्यसै त्यसै चलमलाउन थाल्छ
मुहारमा निन्यारोपन लिएर पनि
इन्द्रेणी मुस्कुराइरहेको हुन्छ
पानीको थोपा बक्षस्थलमा खस्दा
धरती त्यसै त्यसै मोहित हुन्छ
धरती त्यसै प्रफुलित हुन्छ
यौवनको मादकताले धरती
त्यसै चलायमान हुन्छ
पानीले धरतीलाई सधै
माया गरेर चुम्छ
धरती र पानीको माया
महासागर भएर फैलन्छ
इन्द्रेणीमा घाम पानी, घामपानी
……….कुकुर जन्ती बिरालो बाहुन

पानीले भिज्दा धरती
सृष्टिको पहिलो अविष्कार
अनन्त यात्राबाट
थकानको मृदु मुस्कान
मेघको प्रलयकारी गर्जनमा
सुतुरमुर्घले जस्तै छोपेर आफुलाई
धरती निश्चिन्त, निश्छल
किन्चित कम्पित, थकित
पानी र धरतीको सम्बन्ध
रगत र माम्सपेशी शरीरको
एउटाको आडमा खडा भएर अर्को
सृष्टिको अनन्त यात्रामा
अगाडि वढ़दै
सायद धरती हिडिरहेको होला
सायद धरती………..

तर यहाँ धरतीलाई छेकिएको छ
धरतीलाई बन्ध्करण गरेर
उस्को उर्बरतालाई कैद गरेर
सिमेन्ट र बालुवाले रोकेको छ
यहाँ धरतीको स्निग्धतालाई बन्द गरिएकोछ
यो चार दिवारमा
धरती पनि टाढाको कल्पना
केही बर्ष पहिलेको सम्झना
खेतका आली………..
धान लहलहाउदै
धरती टाढाको कल्पना
धरती अनादी कालमा कतैबाट निस्केर
धरती मनुष्यले पाहिला टेकेको आगन
छेकबारले पनि नछेकिने
घामपानीमा, इन्द्रेणीमा
एकलै पनि मुस्कुराहीरहे जस्तो
घेरा भित्र पनि उन्मुक्त जस्तो
धरती टाढाको कल्पना जस्तो

Leave a Reply

Your email address will not be published. Required fields are marked *