Skip to content

भ्रमणले जन्माएको ‘शरणार्थी’

  • by


तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वि.सं. २०५० सालमा नेपाली लेखकहरूको एउटा समूहलाई पूर्वोत्तर भारत भ्रमण कार्यक्रमको आयोजना गर्यो । संयोगले त्यो समूहमा उपन्यासकार कृष्ण धरावासी पनि परे । मदनमणि दीक्षितको नेतृत्वमा गएको नेपाली लेखकहरूले आसाम, सिक्किम, सिलगुढी, तेजपुर, गुवाहटीलगायतका ठाउँहरू भ्रमण गरे । त्यहाँ रहेका नेपालीहरूलाई भेटे । उनीहरूका सुखदुःखका कुरा सुने । त्यहाँका नेपाली लेखकले पनि आफ्नो पीरमर्का मन खोलेर सुनाइरहेका थिए । परदेशमा नेपालीहरूले भोग्नु परेका पीडाहरू सुन्दा साहित्यकार धरावासीले आँखाबाट आँसु झरेको पत्तै पाएनछन् । स्थानीय आदिवासीहरूको दुव्र्यवहार, राज्य सरकारको भेदभावपूर्ण नीति तथा पहिचानको समस्याले नेपालीहरू पिरोलि रहेका थिए । धरावासीले सम्भव भएसम्म धेरै नेपालीका समस्यालाई नजिकबाट नियाल्ने प्रयास गरे । त्यहाँका सुन्दर पार्कहरूमा भन्दा नेपालीहरूको बस्तीमा रमाउन थाले । अचम्म त के भयो भने उनीहरूका समस्या सुन्दासुन्दा धरावासीलाई एउटा छिमेकी जड्याहाको याद आयो । जसको परिवार तेजपुरबाटै झापा पुगेको थियो ।

त्यो छिमेकी जड्याहा अर्थात् हरि खनाल, बाह्रमासे जड्याहा । रक्सी नखाएको बेला देउतासमान खनाल मातेपछि ‘संसारकै दादा हुँ’ भन्ठान्थे । यो त आमजड्याहाहरूको साझा बानी नै हो । धरावासी उनलाई दाजु भनेर बोलाउँथे । उनी धरावासीकी आमालाई ‘काकी’ भन्थे । उनी माते पनि नराम्रो कुरा केही बोल्दैन्थे र प्रत्येक दिन धरावासीको घरमा छिरेकै हुन्थे उनको धरावासीसँग एउटा ठूलो गुनासो थियो । त्यो के हो, त्यतिबेला धरावासी गाउँघर तथा शनिश्चरेमा दुःख पाएका मान्छेहरूका कथा लेखिदिन्थे । पत्रिकामा पनि छपाउँथेँ । यो कुरा खनाललाई थाहा थियो तर धरावासीले कहिल्यै खनालको कथा लेखिदिएका थिएनन् । त्यसैले खनाल उनीसँग निकै रुष्ट थिए । मातेर आएपछि आमालाई छाँद हालेर रुँदै ‘काकी, यो भाइले सबैको कथा लेख्छ । मेरो चाहिँ लेख्दैन । यसलाई मेरो कथा लेख्दे भनिदिनुस् न’ भनेर गुनासो गर्थे । आमा चाहिं ‘अब, केही नपाएर तँ जड्याहाको कथा लेख्छ, त्यसले’ भन्दै उसलाई पन्छाउँथिन् । धरावासी पनि मुसुमुस हाँसेरै टार्थे । खनाल दिनहुँ आउने, रुने गर्दागर्दै एक दिन धरावासीलाई ‘यसको कथा लेख्नै पर्छ’ भन्ने सोच आयो । यससँगै खनालको असाध्यै कारुणिक कथा तथा पारिवारिक पृष्ठभूमि पनि धरावासीलाई थाहा भएकोले सानो तिनो कथा लेखेर टार्नुभन्दा केही गहकिलै कुरा लेख्नैपर्छ भन्ने लागिरहेको थियो । के लेख्ने, कसरी लेख्ने भनेर मेसो धरावासीले पाइरहेका थिएनन् । गम्भीर भएर सोच्ने समय मिलिरहेको थिएन तर त्यो भ्रमणले खनालको कथा लेख्न थप विषयवस्तु मात्र दिएन् स्रोतसमेत फेला पारिदियो । उनले भ्रमणकै अवधिमा आफ्नो पहिचानको खोजीमा निस्केका हरि खनालहरूका पीडा तथा उनीहरूलाई राज्यले गरेको दुव्र्यवहारमाथि उपन्यास लेख्ने निधो गरे । भ्रमणबाट फर्कंदा परिवार तथा आफन्तका लागि धरावासीसँग केही कोसेली थिएन । केवल विभिन्न निहुँमा एउटा देशबाट अर्को देशमा खेदिएर, धपाएर जर्वजस्ती शरणार्थी बनाइएका नागरिकहरूको आवाज बुलन्द पार्ने उपन्यास लेख्ने दृढ इच्छाशक्ति मात्र धरावासीसँग थियो ।

प्रवासी नेपालीहरूका पीडाले भरिएका डायरी बोकेर धरावासी घर आए । हरि खनालको उस्तै चाला थियो । आमासँग पहिले जसरी नै रोइरहेको हुन्थ्यो । त्यतातिर ध्यान नदिई धरावासी उपन्यास लेख्नतिर लागे । त्यसभन्दा अगाडि नेपाली साहित्यमा स्वदेशमा दुःख पाएर विदेश जानेको कथा धेरै लेखिएको थियो तर बर्मा, भुटान, आसाम, सिक्किम, दार्जिलिङ, मणिपुर आदि ठाउँहरूबाट अमानवीय ढङ्गबाट राजनीतिक घोषणाका साथ नेपालतिर धपाइएका नागरिकहरूको कथा लेखिएको थिएन । जुन कुरा धरावासी लेख्न चाहन्थे । उपन्यासलाई यथार्थसँग अति नजिक राख्ने उनको सोच थियो । त्यसैले उनी अध्ययन, अनुसन्धानमा जुटे । बसाई, मुग्लान, डाकबङ्गला, शिरीषको फूल, ज्यागा, ब्रहृमपुत्रको छेउछाउ, जयामाया आफूमात्र लिखापानी आइपुगी जस्ता कृतिहरू अध्ययन गरे, शरणार्थीहरूको इतिहास खोतले र नेपाल, भारत, बर्मा, तिब्बतको राजनीतिलाई नजिकबाट नियाले । विस्तारै उपन्यासको पहिलो चरणका लागि आवश्यक पर्ने कुराहरू तयारी भएपछि कुन शैलीमा प्रस्तुत गर्ने भन्ने चिन्ताले धरावासीलाई सताउन थाल्यो । सोच्दासोच्दै उनको मस्तिष्कमा दुबसु क्षेत्री नाच्न थाले ।

क्षेत्रीसँग उनको पुरानो चिनजानी थियो । धरावासी २०४४ सालतिर काठमाडौँ आउँदा सानेपास्थित क्षेत्रीको डेरामा बस्दथे । क्षेत्री पनि साहित्यप्रेमी भएकोले रातभर साहित्यको चर्चा हुन्थ्यो । उनी धरावासीसँग आफ्नो नयाँ सिर्जनाको बारेमा छलफल गर्थे । यस्तैमा एकदिन क्षेत्रीले ‘बजारमा आइसकेका विभिन्न उपन्यासहरूका पात्रहरूलाई लिएर नयाँ उपन्यास लेख्दा कस्तो होला, दाजु ?’ भनेर सोधे । धरावासीलाई उनको आइडिया नयाँमात्र लागेन, उत्कृष्ट पनि लाग्यो र उनले तत्काल ‘गज्जब हुन्छ, लेख’ भन्दिए तर पछि क्षेत्री जागिरको क्रममा कहिले कता, कहिले कता पुगे । १४ वर्ष बितिसकेको थियो तर उपन्यास लेख्नै भ्याएका थिएनन् । त्यसैले धरावासीले क्षेत्रीको यही आइडियालाई समाउँदै २०५० सालको अन्त्यतिरबाट ‘शरणार्थी’को पहिलो हरफ लेखे ।

लेखनमा धरावासीको अचम्मको बानी रहेछ । लेखिरहँदा पात्र जोजो छन्, त्यसैमा अनुवाद हुँदारहेछन् । उनमा एक किसिमको ‘पागलपन’ जाग्दोरहेछ । त्यो पात्र हास्यो भने हाँस्ने, रोयो भने आफू पनि रुने । कतिसम्म भने मानसिकरूपमा पनि अव्यवस्थित हुँदारहेछन् । एउटा कृति तयार पारिसक्दा शरीरको तौल घट्ने मात्र होइन्, रक्तचाप पनि ओरालो लाग्दोरहेछ तर पनि डायरीमा कलम बग्न छोड्दोरहेनछ । प्रशस्त अध्ययन, अनुसन्धान तथा वास्तविक घटनाक्रम चाहिने भएकोले यो उपन्यास सक्न ६ वर्ष लाग्यो । २०५६ साल कात्तिक १९ गते उपन्यासको अन्तिम हरफ लेखे ।

उपन्यास त लेखी सकेँ तर छाप्ने सुरसार थिएन । तैपनि केही मित्रहरूलाई उपन्यासको पाण्डुलिपि पढ्न दिएँ । सबैले मन पराए । यस्तो उपन्यास आफूले यसभन्दा अगाडि कहिल्यै नपढेको प्रतिक्रिया दिए र बजारमा कहिले आइसक्छ ? भनेर सोधे । दुःखको कुरा बजारमा आउने कुनै सम्भावना थिएन । साहित्यको महìव बुझेका ती मित्रहरूलाई लाग्यो, आर्थिक अभावमा यो उपन्यास बजारमा नआउनु भनेको त पाठकमाथिकै अन्याय हो । उनीहरूलाई यो कुरा थाहा थियो कि यो उपन्यासले शरणार्थी अधिकारको आन्दोलनमा महìवपूर्ण भूमिका खेल्छ । त्यसैले आफैँ चन्दा उठाएर भए पनि उपन्यास छाप्ने अभियानमा लागे । मदन अधिकारी, विश्वराज भण्डारी, अशोक गिरी, ऐश्वर्य तिमल्सिना, राजेन्द्र लिङदेनआदि जस्ता मनकारी मित्रहरू नभइदिएको भए धरावासीले उपन्यासलाई पहिलेको १४ वर्ष जस्तै कतै मिल्काइएको हुन्थ्यो । उनको डायरीमा मात्र सीमित हुन्थ्यो । सबैभन्दा ठूलो कुरा त हरि खनालको गुनासो जीवरभर रहिरहन्थ्यो । भतिजो लेखक हुँदा पनि आफ्नो कथा नलेखिने अभागी काका बन्थे खनाल तर भाग्यवश उपन्यास छापिने भयो ।

वि.सं. २०५६ सालको अन्त्यतिर उपन्यास बजारमा आयो । छोटै समयमा साहित्यिक क्षेत्रमा तहल्का मच्चायो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र होइन, प्रवासमा पनि उपन्यासको माग हुनथाल्यो । यही उपन्यासले सम्पूर्ण पाठकको ध्यान धरावासीतिर खिच्यो । उनलाई एउटा नयाँ उचाइ दिलायो र ‘शरणार्थी’ले २०५६ सालको प्रतिभा पुरस्कार पनि पायो । जसले थप चर्चा दिलायो । पुरस्कारस्वरूप धरावासीले २५ हजार पाए ।

उपन्यास लोकप्रिय भएपछि धरावासी, उनको परिवार तथा मित्रहरू त खुसी छँदै थिए । त्यो भन्दा धेरै खुसी हरि खनाल भए । उनी त्यतिविघ्न खुसी हुनुको दुईवटा कारण थियो । एक त उसको बारेमा लेखिएको उपन्यासले त्यति धेरै चर्चा पायो । अर्को कारण चाहिँ, धरावासीले उनलाई उपहारस्वरूप बीस वटा उपन्यास दिएका थिए, उनले त्यसलाई बेचेर एक हजार पाँच सयभन्दा बढी कमाए । खनालले भेटेजति मान्छेसँग धरावासीको गुन गाउँथे तर एक साँझ उनी मात्दै आए । पहिलेजस्तै धरावासीको घरमा छिरे । तर आमा भएतिर गएनन्, धरावासीको अगाडि आएर गुनासो गर्न थाले, ‘भतिज, निमुखा गरीबलाई जहाँगए पनि सुख छैन् । संसारभर शोषण गर्दारहेछन् । अरू त अरू, आज तैले पनि मेरो शोषण गरिस् ।’ उसको यस्तो आरोपले धरावासी अलमल्ल परे । उसले भनेको कुरा बुझिरहेका थिएनन् तर एकछिन पछि गाँठी कुरा थाहा पाइहाले । भएको के रहेछ भने धरावासीले २५ हजार पुरस्कार पाएपछि गाउँका केही मान्छेले ‘तेरो कथा बेचेर उसले त्यत्रो पैसा कमायो । तैले के पाइस् ? त्यसमा तेरो पनि हक लाग्छ । गएर पैसा माग’ भनेर खनाललाई उचालेका रहेछन् । धरावासीलाई पनि यो कुरा कताकता हो ठीकजस्तै लाग्यो । तर अहिले खाएको बेलाभन्दा भोलि बिहान कुरा गर्नु उपयुक्त हुने ठाने ।

भोलिपल्ट बिहान धरावासीको घरको बाटो हुँदै खनाल पल्लो गाउँतिर जादै रहेछन् । हिजोको कुरा थाहा पाएर हो कि उनी धरावासीको घरपट्ट िमुन्टो पनि नफर्काई हिँडिरहेका थिए । धरावासीले देखिहाले । ‘दाजु, एकछिन काम छ, यता आउ त’ भनेर बोलाए । गाह्रो मान्दै खनाल आए । उनलाई चिया खुवाए र ‘एकछिन तिम्रो र मेरो काम छ’ भन्दै पर लिएर गए । त्यहाँ स्थानीय क्लबको सानो भवन थियो । गाउँका दुईचार केटाकेटी त्यहाँ जम्मा भएका रहेछन् । धरावासीले उनीहरू सबैको अगाडि खनाललाई एक हजार पाँच सय दिए र पछि ‘तिमी विरामी भयौ वा अप्ठ्यारो पर्यो भने सहयोग गर्छु’ भने । पैसा पाएपछि खनाल आफ्नो बाटो लागे, धरावासी घरतिर फर्किए । प्रकाशकले लेखकलाई रोयल्टी नदिइरहेको बेला लेखक भएर पात्रलाई रोयल्टी दिन पाउँदा निकै खुसी भए धरावासी ।

धरावासी बेलुकी अफिसबाट र्फकंदै थिए । प्रधानाध्यापक मोहन सरसँग उनको जम्काभेट भयो । उनी सरसँग खनाललाई रोयल्टी दिएको कुरा सुनाउन चाहन्थे तर हेडसर कड्किहाले ।

‘तिमी खत्तम रहेछौ, धरावासी ।’

‘किन र, सर ?’ छक्क पर्दै सोधे ।

‘तिमीले खनाल जड्याहालाई एक हजार पाँच सय दिएछौं ।’ उनी भन्दै थिए, ‘दिउँसै मातेर मेरो भतिजोले दिएको पैसा भनेर देखाउँदै, फाल्दै हिँडिरहेको रहेछ । मैले भुराहरूलाई टिप्न लगाउँदाको हैरान । उसलाई दिनुको सट्टा परिवारलाई दिनु पर्दैनथ्यो ?’ हेडसरले हपारे ।

उनी केही बोलेनन् । बरू खिस्स हाँसे र घरतिर लागे ।

भोलिपल्टदेखि कहिले पनि हरि खनाल मातेर धरावासीको घरमा आएन । कुनै गुनासो पनि गरेन । बरु धरावासीलाई देखेपछि हल्का लजाएजस्तो गर्न थाले । जुनक्रम जारी नै रह्यो ।

प्रस्तुति ः गोकर्ण गौतम

मधुपर्क २०६८ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *