Skip to content


लमजुङ-मनाङ जोड्ने सडक निर्माण कार्यले गति लिन थालेपछि लमजुङको सदरमुकाम बेसीसहर सुनसान हुने त होइन भन्ने चिन्ता छाएको थियो। मनाङ जाने बाटोमा रहेको स्याङ्गेसम्म मोटर चल्न थालेपछि बेसीसहरबासी यहाँको व्यापारमा ह्रास आउला भनेर पिरोलिएका थिए। तर, अचल बेसीसहर पर्यटकीय गन्तव्यको केन्द्रविन्दु बनेको छ।

नबनोस् पनि किन ? यही बाटो भएर जानुपर्छ, नेपालका प्रसिद्ध पर्यटकीय स्थलहरूमा। अन्नपूर्ण पदयात्रामा जाने पर्यटक हुन् या विश्वकै सातौँ उत्कृष्ट गन्तव्य मानिने थोरङ्ला पार गर्न जाने पर्यटक। संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न निस्केका नै किन नहून् वा दक्षिण एसियाकै नमुना मानिएको घले गाउँको अनुभव बटुल्न हिँडेका पर्यटक, सबैले बेसीसहरलाई कुल्चनैपर्छ। त्यही भएर पनि बेसीसहरको आकर्षण बढेको हो। लमजुङ जिल्ला विकास समितिका पूर्वसभापति जमिन्द्रमान घले भन्छन्, “पर्यटकका लागि चौतारो हो बेसीसहर, जहाँ एकैछिन भए पनि थकाइ नमारी सुखै छैन।”

अधिकांशले त एक रात यहीँ बिताउने गर्छन्। पछिल्ला वर्षहरूमा लमजुङका विभिन्न गाउँलाई मोटरबाटोले जोडेपछि यहाँबाट जिल्लाका प्राय: सबै ठाउँ मोटरसमेत चल्न थालेका छन्।

गोरखाको मनास्लु पदमार्गमा पर्यटकको चाप बढेपछि यसको फाइदा पनि बेसीसहरलाई नै भएको छ। गोरखा र मनाङको सिमानामा रहेको लार्के भञ्ज्याङ पार गरेर आएका पर्यटकहरू पनि बेसीसहरकै बाटो भएर फर्कन्छन्। पर्यटकको चाप बढेपछि ठूला होटेलहरू पनि थपिएका छन्। त्यही भएर यहाँ जानेले बासको पीर गर्नुपर्दैन। यहाँबाट अन्नपूर्ण, लमजुङ, मनास्लुलगायतका हिमचुचुराहरू छर्लंगै देख्न सकिन्छ। नजिकै रहेको ऐतिहासिक महत्त्व बोकेको लमजुङ दरबारले नेपालको इतिहासको अध्ययनलाई समेत सहयोग पुर्‍याउँछ। मनाङे चौतारा, मस्र्याङ्दी नदी यहाँका थप आकर्षण हुन्। मस्र्याङ्दी खोलामा डुबुल्कीसमेत मार्न सकिन्छ, बेसीसहर पुगेपछि। लमजुङ जिल्ला गुरुङ संस्कृतिको धनी जिल्लासमेत हो।

प्रदीप पोखरेल/लमजुङ
नेपाल साप्ताहिक ४५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *