Skip to content

बाध्यता (लघुकथा)


डिलकुमारीको पढाइप्रतिको राम्रो प्रगति देखेर उसका आमबुबाले आर्थिक अवस्था कमजोरनै भए पनि नीजि विद्यालयमा भर्ना गरिदिएका थिए । हैसियतभन्दा माथिको कार्य नै भएपनि ऋण लिदै आफ्ना तीन सन्तानलाई राम्रै विद्यालय पढाएका डिलकुमारीका आमाबुबा दिनदिनै ऋणमा भासिँदै गएका थिए । डिलकुमारीका दाजुहरू भने पढाइमा पटक्कै मन नलगाउने बरालिँदै विद्यालय छोडेर खोपी र क्यारिमबोर्ड खेलेर बेलुकी घर फर्कन्थे तर डिलकुमारी भने पढाइमा सधैं राम्रो अङ्क ल्याएर प्रथम हुने गर्थी ।

छोराहरूको तर्फबाट सुख पाउने आशा नलिए पनि डिलकुमारीलाई भने ठूलो आशाको केन्द्र सम्झेका थिए डिलकुमारीका आमाबुबाले । दिनभरको कामले थाकेर लखतरान भएका ती दम्पत्ती ओछ्यानमा पल्टेर सानी छोरीलाई सुम्सुम्याउँदै आफ्नो मनका पीडाहरू एकआपसमा पोख्ने गर्थे । डिलकुमारीले आफ्ना आमाबुबाका अभावले भासिएका पीडायुक्त स्वरहरूलाई नजानिँदो पाराले सुनिरहन्थी । उसको त्यो कलिलो वालहृदयमा आमाबुबाको बिषादले भरिएका पीडायुक्त स्वरहरूको छाप कहिल्यै नमेटिने गरेर पर्यो ।

ऊ बढ्दै जाँदा ऊभित्रको पैसा कमाउनुपर्ने अभिलाषा पनि सँगसँगै बढ्दै गयो । फलस्वरुप १० जोड २ को परीक्षा सकेर जागीर खान शहर पसी तर उसले कहीँ भनेजस्तो गरेर जागीर भेटिन । अन्त्यमा विदेशीने निर्णय लिएर खाडी मुलुक कुवेततिर पसी ।

कुवेतमा उसले घरेलु काम गर्नुपर्ने थियो । तर उसले त्यहाँ शारिरीक यातना मात्र होइन मानसिक यातना पनि भोग्नुपर्यो । आफ्नो घरमा समेत सम्पर्कबिहीन भएर एक कैदी सरह काम गर्नुपर्ने भएको थियो । उसको आँखामा आमाबुबाको दुःखहरू झल्झली नाच्न थाल्थ्यो जसले गर्दा ऊ विदेश बस्न बाध्य थिई तर यातना खप्न नसकेर ऊ पागलझैं बनेकी थिई । ऊ, आफूले काम गर्ने घरबाट भागेर ज्यान जोगाउन सफल भई तर शारिरीक र मानसिक कमजोरीका कारण कहिँ कतै काम पाइन ।

काम नपाएर सडकमा रात विताउनुपर्ने भयो । यसैक्रममा उसको कुमारीत्व पनि लुटियो । ऊ धेरै रोई , बर्बाद भएको महसूस गरी तर अब भने गाउँकी इमान्दार सोझी डिलकुमारीबाट कुवेतको शहरकी मिस् डिम्पल जो होनहार वेश्यामा परिणत भई । ऊ महिनाको लाखौं रुपियाँ कमाउने भई उसका आमाबुबाका दुःखका दिनहरू गए ।

टीका खरेल सुवेदी
कुलेश्वर, काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *