Skip to content

राजविराज : उहिल्यै र अहिले


पूर्वमा फर्सेठ, पकरी र देउरी भरूवा गाविस, पश्चिममा जमुनी मधेपुरा, उत्तरमा मलेठ तथा दक्षिणमा इटहरी विष्णुपुर र बोरिया गाविसको बीचमा रहेको राजविराज नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिका हो । यो नगरपालिका विश्वकै अग्लो चुचुरो सगरमाथा (८८४८ मि.) रहेको अञ्चलको सदरमुकाम पनि हो । विभिन्न किसिमको इतिहास रच्न र धेरै नाम कमाउन सफल यो नगरपालिका पहिला जस्तो थियो, हालसम्म त्यही अवस्थामा रहिरहेको छ । केही ठूला घर बन्नु र भित्री भागहरूमा कच्ची तथा ग्राभेल सडकको विस्तार हुनु जस्ता विकासीय काम भएका छन् ।

केही ठूला ठूला महलहरू निर्माण भएका छन् । दुई वर्ष यता व्यापार केही फस्टाएको देखिन्छ । निजी क्षेत्रका बैंकहरूको स्थापना, मोटरसाइकल तथा ट्याक्टर र जीपहरूको शो–रूम खोलिनु पनि व्यापार फस्टाएको परिसूचक हो ।

पछिल्लो केही वर्ष यता संक्रमणकालीन राजनीतिक अवस्था, राज्य संयन्त्रहरूको लापरवाही र राजनीतिक दलको उदासिनताले नगरपालिकालाई पुरानै अवस्थाबाट माथि उठ्न दिएको छैन् । शायद यसैले हुन सक्छ यो नगरपालिका कार्यसम्पादन न्यूनतम शर्त मापनमा लगातार दुई वर्ष असफल हुँदै थप बजेट ल्याउन असफल भयो । पछिल्लो दुई वर्ष न्यूनतम शर्त मापनमा राम्रो अवस्था देखिएपनि नगरको अवस्थामा परिवर्तन आउन सकेको छैन् । नयाँ संरचना निर्माण हुनुको साटो भएका भौतिक संरचनाहरू भत्किँदै र जीर्ण बन्दै गइरहेका छन् । स्थापित उद्योग, प्रतिष्ठान बन्द भएर यो नगर वर्तमान अवस्थामा उद्योग, प्रतिष्ठानविहीन बनेको छ ।

राजविराज शहर बन्दै गरेको समयमा १८ वर्षका रहेका वडा नम्बर ६का छतर मडर यादव (हाल निधन भइसकेका) को कुरालाई मान्ने हो भनेपनि नगरको निर्माण भए यता कुनै उपलब्धीपूर्ण काम हुन् सकेको छैन । उनको विचारमा पहिला नगर जस्तो थियो, अहिले पनि उस्तै रहेको छ। ‘त्यस बेला १८ वर्षको थिएँ, अहिले १ सय ५ वर्ष पुगिसकेको छु ।’ उनले दुई वर्ष अगाडि स्तम्भकारसँग भनेका थिए,”बरू, भएका संरचना, बाटो र सडक पनि भत्किनै लागेको भन्ने सुनेको छु । यसतर्फ सबैको ध्यान जानुपर्छ ।” २०६७ माघमा प्रमुख जिल्ला अधिकारीको रूपमा सप्तरी आएका कैलाशनाथ खरेल भाग लिने प्राय: जसो हरेक कार्यक्रममा भन्ने गर्थे,”२४ वर्ष अगाडि पनि म राजविराज आएको थिएँ, पहिला जस्तो थियो, अहिले पनि त्यस्तै रहेको छ ।”

नगरपालिकामा १२ जना प्रमुख तथा उपप्रमुख भइसकेका छन् । नगरपालिकाको प्रथम प्रमुख यमुनानन्द मिश्र र उप प्रमुख गुणानन्द चौधरी भएका थिए । तर कुनै मेयर, उपमेयरले राम्रो र ठोस काम गर्न नसकेको अनुभव सुनाउँछन् बिगत ४० वर्षदेखि यहिरहेर व्यापार गर्दै आएका थानसिंह भन्साली । उनको कुरालाई मान्ने हो भने ४० वर्ष अगाडि नगरजस्तो थियो त्योभन्दा पनि पछाडि परिसकेको छ । ‘अरू त थाहा भएन् गोविन्द सिंहको पालामा केही अतिक्रमण घरहरू हटाउनेबाहेक कसैले कुनै काम गर्न नसकेको भन्सालीको स्मरण छ ।
‘राजविराज स्थापित भएपछिको केही वर्षमा रामै्र कामहरू भयो ।’ विक्रम संवत २०४९ देखि ०५४ सालसम्म नगरपालिकाको मेयर भएका शैलेश चौधरी भन्छन,”किशोरावस्थामा छँदा पूर्वी पहाडी जिल्लाका बजारको रूपमा रहेको थियो राजविराज, अहिले आएर अव्यवस्थित बनेको छ ।” राजविराजमै जन्मेका ५६ वर्षीय चौधरी अवसरको कमी हुन थालेपछि व्यक्तिहरू यहाँबाट जान थालेको बताउँदै सामाजिक सद्भाव बिग्रेर कोही पनि यहाँबाट नगएको बताउँछन् ।

उनको भनाइअनुसार राजविराज पछाडि पर्नुको मुख्य कारण आर्थिक अनिमीयता हो । ‘आफू मेयर छँदा नगरपालिकाको कोषमा ३६ लाख रूपैयाँ थियो, अहिले ३६ सय पनि छैन होला ?’ उनी थप्छन,”अव्यवस्थित बसोबास बढ्नु सिबाय राजविराजमा कुनै प्रगति हुन नसकेको र यहाँको सौन्दर्यतामा ह्रास आउन लागेका कारण सबै नगरबासी यसतर्फ सचेत हुनु आवश्यक छ ।” यहीं जन्मेर आधा तथा जीवनको अन्तिम क्षणमा रहेका व्यक्तिहरू सबैको भनाइ एकै पाइन्छ, ‘राजविराज पहिलाकोभन्दा पनि खतम हुँदै गएको छ ।

अव्यवस्थितको केही झलक

सगरमाथा अञ्चलकै सदरमुकाम कहलिएपनि सुरूमा बनेको संरचनाहरू ध्वस्त भइसक्दा पनि यसतर्फ सम्बन्धित पक्षहरूले ध्यान दिन सकेको अवस्था छैन् । सुरूमा बनाइएको सार्वजनिक शौचालय, पुल तथा केही सरकारी कार्यालयका भवन, मठ, मन्दिर जीर्ण बनिसकेको छ । बसपार्क नहुँदा सवारीसाधन जथाभावी रूपमा सञ्चालन भइरहेका छन् । छाडा जनावरको बिगबिगी र फोहोरले नगर अव्यवस्थित बन्दै गएको छ ।

सदमुकाम एवं प्रमुख व्यापारी केन्द्रको रूपमा रहेको राजविराज नगरपालिकामा हाल एउटा पनि सार्वजनिक शौचालय छैन । व्यक्तिहरू जथाभावी दिशापिसाव गर्न बाध्य छन् । विगत एक वर्षदेखि भएका दुई वटै शौचालय जीर्ण भई मर्मतको अभावमा बन्द भएपछि नगरपालिका सार्वजनिक शौचालयविहीन बनेपनि निकायले ध्यान दिन सकेको अवस्था छैन् । राजविराज नगरपालिकाकाले २०५९ सालमा करिब ३० लाखको लागतमा नगरका दुई स्थानमा सार्वजनिक शौचालय तथा एक दर्जन स्थानमा युरिनल निर्माण गरेको भएपनि उचित रेखदेख, संरक्षण र मर्मत हुन नसक्दा प्रयोगविहीन भएपछि सदरमुकाम आउने व्यक्तिहरू खुल्ला ठाउँमा दिशा पिसाब गर्न बाध्य छन् । शौचालयको अभावमा खेल मैदान, सार्वजनिक चौर, खोल्सा, पोखरी र सडक किनार तथा गल्लीहरूमा जताततै फोहरमैला गर्नेको सङ्ख्या बढ्दो छ ।

विगत लामो समयको प्रतिक्षापछि सप्तरीको राजविराज–९स्थित राजदेवी मन्दिर नजिक रहेको बसपार्क जेठ २०६८ को दोस्रो हप्ताबाट नै सञ्चालनमा आउने जनाइए पनि त्यो पूरा हुन सकेको छैन् । करिब पाँच वर्ष अगाडि नै सो बसपार्कबाट सवारी सञ्चालन गर्ने सर्वपक्षीय सहमति भएको थियो । यातायात व्यवसायीहरूले सुरक्षा र आवश्यक पूर्वाधार नभएको भन्दै जान नमानेपछि र नगरपालिकाले सहमति पालनामा आवश्यक सहयोग नपाएको भन्ने जुहारीका बीच हालसम्म बसपार्क सञ्चालनमा आउन सकेको छैन । बसपार्कका लागि राजविराज–९स्थित राजदेवी मन्दिरदेखि पूर्व एक विगाहा १९ धुर जग्गामा वर्षौंदेखि खेप्दै आएको मुद्दा राजविराज नगरपालिकाले जितेको छ । मुलुककै प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह र राजविराज नगरपालिकाबीच वर्षौंदेखि मुद्दा चलिरहेको थियो । जग्गा बस पार्कको लागि दिने भनी मन्त्री परिषद्को निर्णयका आधारमा छुट्याएको र तत्काल ११ कठ्ठा जग्गामा बसपार्क सञ्चालन गर्न मर्मत कार्य थालिएको भएपनि कुनै सार्वजनिक यातायातका सवारीसाधन त्यहाँबाट सञ्चालन हुन सकेको छैन् ।

गर्न सके झल्किन सक्छ सौन्दर्यता

भर्खरै २०७० साल मंसिर ४ गते सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर ३बाट निर्वाचित एमाओवादीका सभासद् उमेश यादवले एउटा नारा नै बनाएका छन् । ‘ग्रीन राजविराज, क्लिन राजविराज ।’ यो नारा ल्याउनु सकारात्मक भए पनि कार्यान्वयन हुनु जरूरी छ । यादवकै भनाइ मान्ने हो भने सबैले सहयोग गरे यो नारालाई सार्थक बनाउन सकिन्छ । उनले यसबारेमा अन्तरक्रियाका साथै पत्रकारहरूसँग छलफल गरिसकेका छन् । सभासद्ले नारा लगाएसँगै अतिक्रमित पेटी खाली गराउने काम शुरू भइसकेको छ ।

यसअघि राजविराजमा पुस १४–२३ (२०६८)मा भएको सप्तरी महोत्सवले राजविराजको पुरानो छवीलाई धेरै हदसम्म पुनरावृत्ति गर्न मद्दत पुर्याएको छ । जिल्लामा भव्यतापूर्वक भएको सप्तरी महोत्सव तथा पूर्वाञ्चल मेला राजविराजमै आयोजना हुनुले शहरको विकासपथमा सहयोगी भूमिका खेलेको भएपनि त्यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छैन । महोत्सव र यस्तै कार्यक्रमहरूलाई निरन्तरता दिइएको भए नगरको विकास हुनेमा दुईमत रहँदैन । वरिष्ठ पत्रकार अनिल अनल भन्छन्,”उद्योग बाणिज्य संघ मात्र होइन सबैले यसतर्फ ध्यान दिनु जरूरी छ ।”

प्रत्येक वर्ष लगातार महोत्सवको आयोजना गरिए बाहिरका व्यक्ति पनि आउने र यसबाट भएको आम्दानीले नगरको विकासमा पनि मद्दत पुर्याउन सक्ने भएकाले यसतर्फ उद्योगी, व्यापारी, सम्बन्धित निकाय तथा सरोकारबाला जागरूक रहनुपर्ने धारणा अनलको छ ।

सानोतिनो कामहरूप्रति नगरपालिका कार्यालयले विशेष ध्यान दिनुपर्ने बताउँदै अर्का वरिष्ठ पत्रकार वैद्यनाथ झा भन्छन्,”शहरलाई अँझ् सुदृढ बनाउन प्रयास गर्न नसकिएकै कारण पछाडि परेकाले अब पनि विकासपथमा अगाडि बढाउन सबै सकृय बन्नु जरूरी छ ।”

झाका अनुसार फोहोर संकलन, अतिक्रमण हटाउने काममा नगरपालिका र स्थानीय प्रशासनले नेतृत्व गर्नुपर्ने र त्यसमा सबैले सहयोग गर्नुपर्दछ । सप्तरी उद्योग बाणिज्य संघका महासचिव सुरेश सिंह महोत्सवले सामाजिक सदभाव र भ्रातृत्वको भावनालाई उजागर गर्न २०६८ सालमा भएको महोत्सवले अतुलनीय भूमिका खेलेका कारण उद्योग, व्यवसायमा पनि सप्तरी अगाडि आउने विश्वास व्यक्त गर्छन् । ‘अब उद्योग, व्यवसाय फस्टाउँछ । उनले भने,”यसमा सबैको सहयोग रहे गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगहरू सञ्चालन गर्न संघले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।”

महोत्सवमा भएको गतिविधि स्मरण गर्दै संघका अध्यक्ष शत्रुघ्न रौनियार भन्छन्,”सुरूमा व्यक्तिहरू स्टल राख्न हिच्किचाए पनि अन्तिम क्षणमा आएर भोजपुर, धनकुट्टा, कास्की लगायतका जिल्लाबाट स्टल राख्न आउनेहरूको धमाधम फोन आएकाले अब जिल्लामा विकास मात्र होइन्, धेरै कुरा हुनेमा विश्वास गर्न सकिन्छ ।”

‘हामीले बाटो खोलिदिएका हौं, यसमा राजनीतिक दल, सरकारी संयन्त्रसहित सबै सरोकारबालालाई सक्रिय हुनु आवश्यक छ ।” रौनियारले भने ।

‘गर्न सके धेरै कुरामा अगाडि बढ्न सक्छौं ।’ पुराना पत्रकार शिवहरि भट्टराई आगामी वर्ष हुने महोत्सवमा सुन्दर राजविराज देखाउन सबैले अहिलेदेखि मिहिनेत गर्नु जरूरी भएको बताउँछन् ।

मुलुककै पहिलो ‘टाउन प्लानिङ’ शहर

मुलुककै पहिलो ‘टाउन प्लानिङ’ गरी बसाइएको शहर तराईको सबैभन्दा पहिलो र अधिराज्यको चौथो नगरपालिका हो । वि.सं. १९९४तिर सप्तकोशी नदीले पुरानो सदरमुकाम हनुमाननगरलाई कटान गर्न थालेपछि तीव्र गतिमा भारतको जयपुर जस्तै शहरको रूपमा विकसित भएको हो, यो नगरपालिका । यस क्रममा त्यस वेलाका पूर्वी कमाण्डिङ्ग सम्हालिरहेका जनरल बबर शम्शेर जंगबहादुर राणा र तिनका प्रतिनीधि प्रकाश शम्शेर जंगबहादुर राणाले यसै ठाउँलाई शहरका रूपमा उपयुक्त ठानेका थिए । त्यस क्रममा यस ठाउँमा जङ्गलै जङ्गल थियो । राजविराज नगरको योजना ६० विघाको प्लटमा तत्कालीन इन्जिनियर डिल्ली जंगले गरेका थिए ।

इन्जिनियर डिल्ली जंगले भारतको जयपुर शहरको नक्शा वमोजिम टाउन प्लानिङ् गरेको यो शहर प्लानिङको दृष्टिले अति नै सुन्दर छ । हरेक ३/३ घरको पछाडि सानो गल्ली, मुख्य सडक र सहायक सडक जोडिने ठाउँमा चौक र बजारको व्यवस्था, अलग–अलग स्थानमा हटिया, किराना पसल, तरकारी बजार लाइन र सरकारी कार्यालय भवनहरूको व्यवस्था गरिएको छ । सुरूमा ६० विघा जग्गामा टाउन प्लानिङ् गरिएको भए पनि कर्मचारी आवास भनेर उत्तरपट्टीको २ विघा जग्गा र दक्षिणतर्फको ८ विघा जग्गा अधिग्रहण गरी जम्मा ७० विघाको राजविराज नगर स्थापित गरियो । वि.सं. १९९८ सालमा सप्तरी जिल्लाको सदरमुकाम हनुमाननगरबाट राजविराज सारियो र लगभग १० वर्षपछि राजविराजले बजारको रूप लियो ।
निष्कर्षमा भन्नुपर्दा योजनाबद्ध किसिमले व्यवस्थित राजविराज छिट्टै व्यवसायिक रूपमा अगाडि बढी २०१० सालतिर पूर्वी नेपालको तराई र पहाडी जिल्लाको व्यापारिक केन्द्रको रूपमा विकसित हुन पुगेको थियो । सप्तरी, सिरहा, सुनसरी मात्र होइन् विकट पहाडी जिल्ला भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुट्टासम्मका व्यक्तिहरूको प्रमुख बजार त्यसबेला राजविराज नै थियो । शहर विकासका लागि चाहिने आधारहरू रहेका कारण विक्रम सम्वत २०१६ सालमा राजविराजलाई नगरपालिका घोषणा गरियो । वि.सं. २०३२ सालको निर्वाचनमा राजविराजको उत्तर पूर्वमा रहेको चनौरा पडरिया (तत्कालीन गाउँ पञ्चायत) को सम्पूर्ण क्षेत्र र दक्षिणमा रहेको बोरिया गाउँ पञ्चायतका केही क्षेत्रहरू यस राजविराज नगरमा गाभेर नगरको विस्तार गरियो ।

यसरी नाम रह्यो राजविराज

प्राचीनकालका शासकहरू र राजाहरू बसेर शासन गर्ने भएका कारण यस ठाउँको नाम राजविराज राखिएको विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । राजाहरू विराज अथवा वसोवास गरेको हुनाले यस स्थानलाई कालान्तरमा राजविराज भनिएको जनाइए पनि यसको कुनै ठोस प्रमाण फेला पर्न सकेको छैन् ।

अर्कोतर्फ हेर्ने हो भने नगरको पूर्वपट्टी हालको वडा नम्बर ९मा जमिनमुनि भासिए जस्तो परेर बनाइएको मन्दिरमा भगवतीको रूपमा राजदेवी विराजमान छिन् । यसरी राजदेवी भगवती विराजमान भएको यस ठाउँलाई राजविराज भनिएको पनि चर्चित छ ।

क्षेत्रफलमा ५३ औं स्थान

क्षेत्रफलको हिसाबले धेरै सानो मानिएको यो नगरपालिकाको कुल क्षेत्रफल ११.९६ वर्ग किलोमीटर रहेको छ । पूर्वाञ्चलको १४ नगरपालिकामध्ये राजविराज नगरपालिका क्षेत्रफलको दृष्टिकोणले १३औं स्थानमा तथा समग्र मुलुकका नगरपालिकाहरूमा ५३औं स्थानमा छ । संसदीय निर्वाचन क्षेत्र नम्बर ३ र इलाका नम्बर १०मा रहेको राजविराज नगरपालिका १० वटा वडामा विभाजन गरिएको छ ।

पूर्वी तराइका अन्य स्थानहरूमा झैं यहाँ पनि उष्ण जलवायु भएकोले गर्मीमा अति गर्मी र जाडोमा चिसो रहन्छ । राजविराजको अधिकतम तापक्रम ४०० सेल्सियस र न्यूनतम तापक्रम ७.२२० सेल्सियससम्म रहन्छ । औसत वर्षा २५०० मि.मि.सम्म रहेको छ । राजविराज नगरपालिका तराईको दक्षिणी भागमा रहेको हुँदा यो शहर समुद्रको सतहभन्दा करीब ६१ मीटर (२०० फीट) उचाइमा अवस्थित छ (मेचीदेखि महाकाली, पृ. ८१९) ।

राजविराज शहर ८६०२८’ देखि ८७०७’ पूर्व देशान्तर र २६०२५’ देखि २६०४७’ उत्तर आक्षांशको बीचमा पर्दछ । (विस्तृत, पृ. ८०९) ।

टोलैटोल

वडागत हिसाबले राजविराज नगरपालिकामा बिभिन्न टोलहरू रहेका छन् । जसअनुसार वडा नम्बर १मा मेनरोड, हटिया, भगवती मन्दिर तथा नगरपालिका रोड र मुख्य बजारको केही भाग रहेको छ । वडा नम्बर २मा चनौरा, पडरिया, रहमदपुर, झल्ही र रामपुर टोल रहेको छ भने वडा नम्बर ३मा गोर्खाली टोल रहेको छ । वडा नं. ४ को पोखरेल टोललाई मधेसआन्दोलनपश्चात् सर्वोदयटोल नामांकरण गरिएको छ । वडा नं. ५मा शान्तिनगर र हिमालय टोल रहेको छ । वडा नं. ६मा खर्साल टोल तथा यादव टोल छ । दक्षिणतर्फको भागलाई खर्साल टोल भन्ने गरिएको छ भने उत्तरतर्फलाई यादव टोलको नामले पनि जान्ने गरिएको छ ।

वडा नम्बर ७मा लिलजा टोल, स्वर्ण टोल तथा कारागार टोल छ । यसबाहेक लिलजा टोलमा थानगाछी अवस्थित रहेका कारण थानगाछी नामले पनि यो ठाउँलाई चिन्ने गरिन्छ । वडा नम्बर ८मा स्वर्ण टोल तथा सरस्वती टोल रहेको छ भने वडा नम्बर ९मा तेतरी गाछी तथा राजदेवी टोल रहेको छ । डुमरी तथा शिवथान टोल वडा नम्बर १०मा रहेका छन् । नगरपालिकासँगै जोडिएपनि १० नम्बर वडा ग्रामीण भेग जस्तै छ ।

सद्भाव र सहिष्णुता

नगरपालिकामा ऐतिहासिक राजदेवी, गणेश, दुर्गा भगवती, महादेव, विष्णु, वागेश्वरी, हनुमान, रामजानकी, राधाकृष्ण, बैष्णवीकाली लगायतका मठमन्दिर तथा मुस्लिम समुदायको जामे मस्जिद छन् ।

नगरपालिकामा यादव, ब्राम्हण, क्षेत्री, थारू, तेली, देव (वैश्व) हरिजन, मुस्लिम, जैन, मारबाडी, दास, डुम, मण्डल, हलखोर जातिको बसोबास छ । हिन्दु, मुस्लिम, जैन, बुद्ध धर्म मान्नेहरू आपसमा मिलेर बसेका छन् । प्रत्येक धर्माम्बलीहरूको आ–आफ्नो रीतिरिवाज र चाडपर्व, कला–संस्कृति छ । कामकाजको रूपमा नेपाली भाषा प्रयोग गर्ने गरे पनि अधिकांशले मैथिली भाषा बोल्ने गर्छन् ।

वि.सं. २०६८ को जनगणनाअनुसार १९ हजार ६ सय ८४ पुरूष र १८ हजार ५४ महिला गरी ३७ हजार ७ सय ४३ जनसङ्ख्या रहेको नगरपालिकामा ७ हजार ७ सय ४३ घर सङ्ख्या रहेको छ । जब कि २०५८ सालको जनगणनामा ५ हजार ४ सय ४५ घर सङ्ख्या रहेको थियो ।

जस्ताको त्यस्तै : छतर मरर (१०५ वर्ष)

थोरै नून किन्न पनि हामीलाई हनुमाननगर पुग्नुपर्दथ्यो । खेत र अग्ला वृक्षहरू मात्र थिए अहिले राजविराज भएको ठाउँमा । कतै कतै मात्र घरहरू देखापर्थे । कहिलेकाहीं सानो बजार लाग्ने गर्थ्यो । बाढीले कोशी कटान गर्न थालेपछि यस ठाउँमा बजार बनाउने चर्चा सुनियो । उमेरको हिसाबले पनि दौडधूप गर्न थालें र काम गर्ने व्यक्तिहरूसँग सम्पर्क गर्न थालें । त्यस बेला राणाका मानिसहरूको चहलपहल धेरै थियो ।

केही व्यक्तिसँग मेरो पनि सम्पर्क भयो । केही काम गर्नुका साथै हटिया बनाउन लाग्दा ६ कठ्ठा, सिडिओ बंगलामा २ कठ्ठा जग्गा पनि दिएँ । पछि बजारको निर्माण भएपछि बोरिया गाविसलाई पनि नगरपालिकामा गाभ्ने आवाज उठाएको थिएँ । त्यस बेला वोरियाका केही भाग नगरपालिकामा मिलाइयो पनि ।

अब भन्नुहुन्छ परिवर्तन । खासै परिवर्तन भएको देखिदैंन राजविराज नगरपालिकामा । राजविराजपछि बनेका इटहरी, लहानले धेरै विकास गरिसक्यो अरे ! अब राजविराजको विकास पनि जरूरी छ । हामीले यो शहर बनाइदियौं, अब अगाडि बढाउने र विकास गर्ने जिम्मा तपाईंहरूको हो ।

(२०६८ साल पुस महिनामा अन्र्तवार्ता लिइएका राजविराज ६ निवासी मररको २०६९ साल मंसिरमा निधन भइसकेको छ) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *