बढ्दैछ तिम्रो माया झन्झन् घटाउन सक्दिन
तिम्रै लागि हो मुटु अरु अटाउन सक्दिन ।
तस्वीर तिम्रो, आँँखामा आइरहन्छ झल्झली
कुनै पनि हालतमा म हटाउन सक्दिन ।
मुटुभित्र राखिसके आफ्नो मान्छे ठानिसके
तिमीबिना जीवन एक्लै कटाउन सक्दिन ।
मनको मात्र धनी म, अरु सम्पत्ति छैन खासै
त्यसैले त कोसेली केही पठाउन सक्दिन ।
विश्वास गर न अब त, साचो माया गर्छु म
भ्रममा पारी तिमीलाई सताउन सक्दिन ।
समिना कुलुङ महाकुलुङ सोलुखुम्बु
हाल-बसुन्धरा काठमाडौ
