Skip to content

तिम्रो समाजवाद !


जब म देख्छु
आज पनि जताततै
गाउँहरुमा, बस्तीहरुमा
ढल्न लागेका
कतै टेको लगाइएका
खुइलिएका
लतृएका
बुढो रुखझै
आस्थाका मनहरू
मलाई लाग्छ तिम्रो समाजवाद
अँझै टाढाको कुरा हो ।

जब म देख्छु
आज पनि जताततै
शहरका रेष्टुराँहरुमा, बारहरुमा
किस खाँदै गरेको एक साथ
ह्वीस्कीका बोतलहरू र
लेनिनका किताबहरुलाई
सुहाग रातको पहिलो पल
अनि होस गुमाएका पुरुषहरुझै
क्रान्तिका सिपाहीहरू
मलाई लाग्छ तिम्रो समाजवाद
अँझै टाढाको कुरा हो ।

जब म सुन्छु
आज पनि जताततै
हेडक्वार्टरहरुमा, युद्धका कमाण्डहरुमा
झन झन पातलो
दम बिनाको झिनो
खियाउटे, सुकुटे
बेसहारा, लुरे
कुपोषित बच्चाको आवाजझैं
चे ग्वेभाराका स्वरहरू
मलाई लाग्छ तिम्रो समाजवाद
अँझै टाढाको कुरा हो ।

जीवनस्पर्शी
बर्दिवास, महोत्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *