चार जनाले भनेको कुरा स्वीकार गर्नैपर्छ, अरू उपाय नै छैन । चार जनाको अगाडि उभिनु पर्दा कसरी मुख देखाउनु ? चार जनाले के भन्लान् ख्याल राख्नुपर्ने हो कि होइन ? चार जनाले यसो गर्न त नहुने भने भने के जवाफ दिने ? चार जना मानिसको अगाडि उभिनुपर्दा अनि थाहा हुन्छ नतिजा के हुन्छ भनेर । अरूको डर भर नलागे पनि चार जना मानिसले कुरो समाउँदा मुख कहाँ लुकाएर बोल्ने होला कुन्नि! कसैले पनि चार जनालाई चित्त नबुझ्ने विधि व्यवहार, कामकुरो र आचरण गर्न हुँदैन । केही परिहाले चार जना मानिस राखेर हो-होइन निक्र्योल गरौँला नि! चार जनालाई ल्याएर उभ्याएपछि लौ त कसरी मान्दोरहेनछ हेरौँ ? चार जनाको अगाडि उभिने आँट पनि त हुनुपर्यो, एक्लैले जे मन लाग्यो बोलेर मात्र हुने हो र भन्या ? चार जनाले जे भन्छन् त्यसै हुन्छ । चार जनाको अगाडि इज्जत राख्नै पर्यो ।
चार जनाको अगाडि शिर झुकाउनु पर्यो भने त मरेकै जुनी भो’ नि । चार जनाको अगाडि नाक राख्नै पर्यो तर पाठकवृन्द चार जना मानिस भनेर कसलाई सम्बोधन गरिएको होला ? नेपाली समाजका ती चार भद्रभलाद्मी भरपर्दा मानिसहरू को हुन् ? तपाईंलाई उनीहरूका बारे केही थाहा छ ? समाजभित्रका गुण-अवगुण, असल-खराब, इज्जत-बेइज्जत, सत्य-असत्य, राम्रो-नराम्रो यावत् कुरामा ठीकठीक निर्णय दिन सक्ने ठानिएका चार जना मानिसहरू को हुन सक्छन् ? हाम्रो समाजका चार जना मानिसहरूका बारेमा अरूले जस्तै मैले पनि घरभित्र र अन्यत्र पनि निरन्तर रूपमा सुन्दै आएको छु ।
समाजमा पक्का र ठीक-बेठिक ठोकुवा गरेर आकाट्य निर्णय दिन सक्ने चार जना मानिसहरू समाजभित्रका सम्पूर्ण गतिविधिका फड्के साक्षी मात्रै होइनन् मानिसहरूका गुण-दोष प्रस्टसँग पहिचान गरेर ठीकठीक निर्णय दिन सक्ने हाम्रो समाजभित्रका सामाजिक न्यायमूर्ति पनि हुन् । उनीहरू समाजका अगुवा हुन् र सामाजिक विकृति र विसङ्गतिका केवल द्रष्टा होइनन् उनीहरू सामाजिक अनुशासन कायम राख्न सधैँ पर्दा पछाडि डण्डा लिएर बसेकोझैँ लाग्ने समाजका पहरेदार पनि हुन् ।
सङ्कटको बेला ती चार जना मानिसको सहयोग सबैलाई आवश्यक पर्दछ र सबैलाई सधैँ उनीहरूकै डर र त्रास पनि छ । समाजका ती अज्ञात सम्मानित मानिसहरू सधैँ सही ढङ्गले प्रस्तुत हुन्छन् भन्ने गहिरो विश्वास विद्यमान छ । ती सधैँ सबैका सामु औँला ठड्याएर उभिएझैँ भान हुन्छ । ती चारै जना समाजका शिक्षक हुन् । तिनीहरू सामाजिक नीति-नियम कानुन र मान्यताप्रति सबैलाई सजग गराउने र परिआउँदा खबरदारी गर्ने जिम्मेदारीका साथ निःशुल्क सेवा प्रदान गर्ने परोपकारी सामाजिक पहरेदार हुन् र तिनीहरू समाजका अत्यन्त सक्रिय र सजग संवाहक हुन् ।
ती चार जना मानिस पञ्च भलाद्मी होइनन् । तिनीहरूको कानुनी मान्यता कतै पनि छैन र भनौ भने ती चारै जनाको समाजमा स्पष्ट पहिचान पनि छैन । ती चार जनालाई यिनै हुन् भनेर कसैले चिन्दा पनि चिन्दैन र उनीहरूको यथार्थ पहिचान दिन सक्ने कोही पनि छैन । ती चार जना एक प्रकारले नेपथ्यका अदृश्य शक्ति हुन् । उनीहरूको स्पष्ट पहिचान नभए पनि यिनीहरूको हैसियत भने समाजमा व्यापक र ठूलो छ । तिनीहरूको शक्ति यति विघ्न छ कि बेनामी उनीहरूको उल्लेख मात्रैले पनि ठूला शक्तिशाली कहलिएका व्यक्तिहरू समेत तर्सिन्छन् । तिनीहरू कहिले समाजका साहाराको रूपमा प्रस्तुत हुन्छन् त कहिले भय र त्रास पैदा गर्ने डरलाग्दा हुन्छन् । रहस्यमय ढङ्गले चारै जना सधैँ संयुक्तरूपमा समाजका आँखामा देखिने उनीहरू समाजका असल साक्षी हुन् र असहायका आशा र भरोसा पनि । पद विहीन ती चार जना मानिसहरू को को हुन् ? कसैलाई थाहा हुँदैन तर तिनीहरू सजिलै उपस्थित हुन्छन् र मौकामा निणर्ायात्मक मत जाहेर गर्न कहिल्यै पछि पर्दैनन् भन्ने विश्वास समाजमा आम छ । कुनै घटनाको बेला वा सङ्कट पर्दा उनीहरूको भौतिक उपस्थिति हुने मात्र होइन उनीहरू अनुपस्थित रहेरै पनि समाजमा कैयौँ मामिलामा तरङ्ग र सतर्कता पैदा गर्न सक्ने क्षमता तिनीहरूमा रहेको हुन्छ । चार जना मानिसले भन्लान् ए! भन्ने वित्तिकै अलिकति पनि सामाजिक चेत भएको मानिस तत्काल हच्किन्छ र सतर्क भैहाल्छ । निर्लज्ज मानिस त जहिलेसुकै जहाँसुकै पनि अपवाद हुने नै भयो ।
लोकलाजको पर्याय चार जना मानिसको उल्लेख गर्ना साथ सोध्नै पर्दैन, सोच्नै पर्दैन मानसिकरूपमा डर र भर दुवै पैदा भैहाल्छ, मानिसलाई सतर्क तुल्याउन अनि सोच्न बाध्य तुल्याउन । बेनामका ती चार जनाको उल्लेख मात्र पनि कतिपय अवस्थामा समस्या समाधान गर्न पर्याप्त हुन्छ । मानिसले आफ्नो मान-मर्यादा, इज्जत र प्रतिष्ठालाई महìव र मान्यता दिन थालेदेखि नै समाजका अज्ञात चार जना मानिसहरूको उल्लेख हुन थालेको र उनीहरूको महत्ता सुरु भएको होला भनेर सहजै अनुमान गर्न सकिन्छ । ती चार जना मानिसहरूले समाजको ठूलो सङ्ख्याको प्रतिनिधित्व गर्दछन् र उनीहरूको मतको मूल्य असामान्य छ । उनीहरूले समाजका धेरै मानिसहरूको प्रतिनिधित्व गर्ने भएकैले चार जनाले भनेको वा पत्याएको जो कोही पनि समाजभित्रका मान्यताप्राप्त इज्जतदार प्रतिष्ठित सम्मानित एवं भरपर्दो व्यक्ति बन्न लायक हुन्छ । चार जनाले नपत्याएको कथा चार जनाले बहिस्कार गरेको व्यक्ति शिर ठड्याउन नसक्ने गरी पत्रु र खोटो सिक्का जस्तै काम नलाग्ने सावित भएको हामीले देखेको र सुनेकै हो । चार जनादेखि सतर्क रहेर काम गर्ने मानिसले प्रायश्चित गर्ने मौका पाउँदछ तर चार जनाको हेक्का नराख्ने वा बेवास्ता गर्ने व्यक्तिको दुर्दशा भएको कैयौं उदाहरण छन् गनेर र भनेर साध्य नै छैन । सामान्यतः चार जनाको भौतिक उपस्थिति देख्न सकिन्न! यद्यपि चार जना मानिसको महìवबारे कुरा गर्ने क्लासिक एफ.एम. का मेरा सहकर्मी मुकुन्द खड्का (माइक)को भनाइमा गाली-बेइज्जती, मुद्दाजस्ता प्रसङ्गमा ‘चार जनाले अदालतसमक्ष दिने बकपत्रले ठोस प्रमाणका रूपमा अत्यन्त ठूलो भूमिका खेल्ने हुनाले चार जना मानिसको अध्यापि सामाजिक मात्र होइन कानुनी मान्यतासमेत रहेको सिद्ध गर्दछ ।’
बढ्दो सहरीकरण र तीव्र बसाइँ सराइको प्रचलनले गर्दा मानिसहरू नितान्त नयाँ ठाउँ र नयाँ समाजमा मिसिने क्रम बढ्दो छ । मानिसलाई नयाँ देश, नयाँ परिवेशमा घुलमिल भएर परिचित हुन समय लाग्छ । उदाहरणका लागि सुदूर कणर्ाली अञ्चलको मानिस काठमाडौँको कुनै कुनोमा आएर बस्दा उसको सामाजिक परिचय नबन्दासम्म चार जनाले औँलो ठड्याउने अवस्था नपर्न सक्छ त्यस्तै काठमाडौँको एउटा टोलको मानिस तराईको कुनै बस्तीमा गएर मिसियो भने पनि उसलाई तत्काल चार जनाले औँला ठड्याउन भेउ नपाउने सम्भावना पनि छ तर त्यसो भन्दैमा कसैले पनि ढुक्क भएर बस्न पाउँदैन । समय लाग्ला तर चार जना मानिस जहाँसुकै मौजुद हुनेछन् । जुन ठाउँमा पनि रहँदा बस्दा मानिस दुई चार जनाको नजरमा नपर्ने भन्ने कुरै आउँदैन । जस्तोसुकै ठाउँमा र जहाँसुकै बस्न पुगे पनि मानिस सामाजिक प्राण्ी भएकाले उसलाई चार जना मानिसको आवश्यकता जहिलेसुकै पनि पर्न सक्छ । चार जनाले उसको खोजी गरून् या नगरून् ऊ आफैँले चार जना मानिसको सहारा खोज्नुपर्ने बाध्यता पटकपटक पर्न सक्छ ।
समाजमा चार जनाले के भन्लान् भनेर आफूलाई सधैँ संयमित राखेर होसियारीका साथ सामाजिक अनुशासनको घेरा तोड्न हच्किने मानिस पनि प्रशस्तै छन् । इज्जतको सवाल छ भाइ, तलमाथि परे चार जनाले के भन्लान् भन्ने सामाजिक संस्कारको चिन्ता लिएर अझै धेरै मानिस बाँचेको पाउन सकिन्छ । त्यस्ताले उसको बाबु बाजेको पालादेखि अहिलेसम्म पनि नचाहिँदो काम कुरा गर्दा चार जनाले चारै दिशाबाट औँलो ठड्याउन सक्ने सम्भावना देखिरहेको हुन्छ तर अहिले समाजमा चार जनाको त के कुरा सोह्रै जनाले नाकैको डाँडीमा ल्याएर औँला ठड्याए पनि लाज पचाउने मनोवृत्ति भएका मानिसहरूको सङ्ख्या बढ्दो छ । जसरी हुन्छ कमाउँ, खाउँ, मोजमस्ती गरौँ भन्ने चारवाकको जस्तो आदर्श बोकेर हिँडेकाहरू असङ्ख्य भइसकेका छन् समाजमा जसले गर्दा खुलेआम भ्रष्टाचार, अत्याचार, हत्या-हिंसा, उच्छृङ्खलता, बेइमानी, नकचरोपन र मनपरीतन्त्र व्यापकरूपमा बढ्दै गएको छ र समाज एक प्रकारले छाडा र दिशाहीन बन्दै गएको छ । मानिसहरू कलेवरमा भद्र र धार्मिक देखिए पनि तात्विकरूपमा धर्म छाडा र गति छाडा बन्दै गएका छन् । सामाजिक अपराध बढेका छन्, अशान्ति चुलिँदैछ र लोकलाज भन्ने कुन चराको नाम हो थाहा नहुने मानिसको सङ्ख्या पनि बढिरहेको झैँ लाग्न थालेको छ ।
चार जनाको डर नभएकै कारण वर्तमान समयमा युवाहरूलाई उच्छृङ्खलता र कुलतले गाँजेको छ । नेपाली समाजमा यतिबेला कसैले देखादेख गलत काम गर्दा वा खुल्लमखुला अन्याय, अत्याचार, दुराचार, व्यभिचार गर्दा पनि चार जना त के एक जनाले पनि औँलो ठड्याउन चासो नराख्ने वा साहस नगर्ने परिस्थिति सिर्जना हुँदै आएको छ तर पनि घटनाक्रमहरूले अझै के प्रमाणित गर्दछन् भने चार जना मानिसले औँलो ठड्याउन छोडेका छैनन् । समाजमा मनोमानी र जथाभावी गरी हिँड्ने वा उच्छृङ्खलता प्रदर्शन गर्ने जोसुकै पनि देर सबेर चार जना मानिसको नजरबाट बच्न सकेका पनि छैनन् र ऐन मौकामा सामाजिकरूपले त्यस्ताको राम धुलाई चार जनाकै अघिल्तिर भएकै छ । पक्का कुरो के छ भने सत्ताशक्ति र सम्पत्तिको आडमा समाजभित्र अन्याय, अत्याचार, व्यभिचार, बेइमानीजस्ता कुप्रवृत्तिहरूलाई बढावा दिएर उन्मत्त ढङ्गले लागेकाहरूले कानुनको आँखा त छल्न सक्लान् तर चार जना मानिसका आँखा छल्न गाह्रो पर्छ किनभने ती चार जना मानिस यत्रतत्र सर्वत्र समाजका प्रत्येक अङ्गअङ्गमा व्यापकरूपमा आठै प्रहर मानिसका हरेक गतिविधिको निगरानी गर्न चनाखो भएर लागिरहेका हुन्छन् ।
ती चार जना मानिसले के भन्लान् भन्ने डर लिइयो भने समाज निश्चित हदसम्म व्यवस्थित र अनुशासित बन्ने छ । हामीले समाजका ती चार जना मानिसको सम्मान गर्न सिक्यौँ भने समाजमा जो कोही पनि एक्लो र अनाथ हुने छैन । चार जना मानिसले सधैँ सबैको भलो गर्ने छन् र चार जनाको औँला ठड्याइएकै कारण मानिस चेतनाको आलोकमा सजग र सुरक्षितसाथ अनुशासित भएर निरन्तर ठीक बाटामा अघि बढ्न सक्नेछ । कानुनले निषेध गरेका अपराध गर्दा मात्र होइन समाजले सहजै पचाउन नसक्ने क्रियाकलाप पर्दा पनि चार जनाको औँला ठडिन सक्छन् । त्यसैले ‘कर्म गर तर देश र काल विचार गर’ भन्ने एउटा सामान्य शूत्रलाई मनन गर्नु उचित हुनेछ । कुरोको चूरो यही हो ।
चार जना मानिसले समाजको अहितभन्दा बढी हित नै गर्नेछन् । यद्यपि चार जनाको औँला सधैँ सही कुरामा मात्र ठडिने भन्ने होइन । उदाहरणका लागि बिहेमा केटीतर्फबाट पर्याप्त र भने जति दाइँजो दिन नसक्दा पनि चार जनाले औँला ठड्याएर कुरा काट्न सक्छन् टीकाटिप्पणी गर्न सक्छन् । गाउँमा गरिब महिलालाई बोक्सीको आरोपमा चारै जनाको अगाडि गाउँ निकाला गर्ने, सामाजिक बहिस्कार गर्ने वा कलङ्कति गर्नेजस्ता काम कुरा पनि हुनसक्छन् । चार जनाको सहमतिमा कसैको भात काट्न, जात काट्न र अन्य प्रकारका ज्यादती पनि हुनसक्छन् । चार जना मानिस मिलेर कतै गलत प्रवृत्ति र संस्कृतिले पो प्रश्रय पाइरहेको छ कि ? यी चार जना मानिसको नाममा कहीँ कसैले अनुचित लाभ उठाउने र अरूलाई प्रताडित गर्नेजस्ता काम कुरा भने कदाचित हुनु हुँदैन । चार जनाका चोर औँलाहरू आपराधिक मनोवृत्ति, व्यक्तिगत स्वार्थ, राग द्वेश, ईष्र्या आदिबाट प्रेरित हुनु हुँदैन, कसैको वैयक्ति अधिकार हनन् हुने गरी । चार जना मानिस समग्रमा समयसापेक्ष इमानदार र निष्ठावान् तथा उचित न्याय दिन सक्ने हुनुका साथै स्वतन्त्र र पाददर्शी हुनु पनि जरुरी छ । चार जना मानिस कदाचित समाजको अग्रगमन र प्रगतिको बाधक होइन सहयोगी बन्न सक्नुपर्दछ र चार जना मानिसको चारै औँला समाजका पीडक र चोर चिनेर सधैँ उठ्नै पर्दछ । समाजको उन्नति र वातावरण स्वच्छताको लागि यस्तो हुनु आवश्यक छ ।
पहिलेपहिले मानिसलाई समाज, ईश्वर, गुरु, बाबुआमा, गाउँटोल, छिमेकका पञ्च भलाद्मी तथा सबभन्दा बढी चार जनाको डर थियो । जसले गर्दा मानिस मनोमानी र जथाभावी गर्न हच्किन्थ्यो । मानिस अनुशासनमा बस्थ्यो तर अहिले स्थिति नितान्त फरक छ । उहिलेका कुरा खुइले भन्ने मानसिकताको विकास भइरहेको छ । मानिसले पुराना मानिसका कुरा-अर्ति-उपदेश र चलनचल्तीका मान्यताहरूलाई सडेगलेको भन्दै क्रमशः छोड्दैछ । समयको प्रवाहसँगै मानिसको सोच र मान्यतामा पनि परिवर्तन आइरहेको छ तर सुन, पित्तल बन्न नसके जस्तै शाश्वत कुरा जतिसुकै पुरानो भए पनि मानिसले ग्रहण गर्नु उसकै हितमा हुनेछ ।
सामाजिक विधि व्यवहार, राजनीति, आर्थिक कारोबार एवं न्याय सम्पादन आदि सबै क्षेत्रमा मानिसलाई आफ्नो कर्तव्य र जिम्मेदारी स्मरण गराउन औँला ठड्याउने चार जना मानिसको उपस्थिति अनिवार्य जत्तिकै छ । समाजलाई सही मार्गदर्शन गर्न समाजका प्रतिनिधि चार जना मानिसको भविष्यमा पनि पहिले जत्तिकै आवश्यकता परिरहने कुरामा कुनै द्विविधा छैन । खराब काम कुरा धेरै जसो लुकेरै गर्ने हो तर जतिसुकै गोप्य र अँध्यारोभित्र अपराध गरिए पनि चार जनाको नजरबाट जोगिन सकेको घटना सायदै पाइएला । चार जना मानिसको वास्ता नगरी मनपरी गर्नेले जीवनभर पछुताउनु परेका अनगिन्ती घटनाले के दर्शाउँछ भने चार जना मानिसको महìव घटेको छैन बरु बढेको छ । अतः समाजलाई पतन हुनबाट जोगाउन प्रयत्न गर्ने चार जना मानिसको अस्तित्व स्वीकार गरेर हिँड्ने गर्नाले अरू कुरा त होइन मानिस जीवनका अनेक उकाली ओरालीमा धेरै कलङ्कहरूबाट जोगिएर बाँच्न सक्दछ । यसमा दुई मत छैन ।
