Skip to content

नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म

  • by


वि.सं. २०६४ कात्तिक १ देखि १२ गतेसम्म सञ्चालित विपश्यना ध्यान शिविर सङ्ख्या ५६७ मा सम्मिलित भई ध्यान भावना अभ्यास गरी घर फकर्ंदा युवा बौद्ध समूहका सल्लाहकार, कल्याणमित्रले फोन गरी जानकारी दिनुभयो, “यही कात्तिक १७ देखि २० गतेसम्म मध्यपश्चिमाञ्चल, भेरी अञ्चल, बर्दिया जिल्लाको मगरागढी गाविस-८, रम्मापुरस्थितको बुद्धनगरमा स्थापना गरेको ‘बोधिज्ञान बुद्धविहार’ स्थलमा युवा बौद्ध समूह, काठमाडौँ र बोधिज्ञान बुद्धविहारको संयुक्त आयोजनामा दुईदिने बौद्ध जागरण शिविरमा सरिक भई प्रशिक्षण दिनुपर्ने ।” उक्त उल्लिखित विपश्यना ध्यान शिविरमा सातौँपटकको ताजगीपन अभ्यास गरी घर पुग्नासाथै आएको फोनको प्रत्युत्तर सकारात्मक तवरले स्वीकारी सहभागी हुने काम गर्‍यौँ ।

युवा बौद्ध समूहका सल्लाहकार, कल्याणमित्र विपेन्द्र महर्जनको अनुरोध र आग्रहलाई स्वीकारी गत कात्तिक १७, २०६४ को शनिबार बिहान काठमाडौँ भूगोलपार्कको सडकमा भेला हुन पुग्यौँ । त्यहाँबाट श्रद्धेय भिक्षु सुशील, डा. लक्ष्मण शाक्य, सल्लाहकार विपेन्द्र महर्जन र उहाँकी धर्मपत्नी, म कृष्णकुमार प्रजापति र युवा बौद्ध समूहका कोषाध्यक्ष तेजनारायण मानन्धर चढेको माइक्रोबस ब्रहृमटोल हुँदै टेकू नेसनल ट्रेडिङ भवनअगाडि पुगेपछि युवा बौद्ध समूहका संस्थापक अध्यक्ष एवं बौद्ध विद्वान् हर्षमुनि शाक्य र उहाँकी धर्मपत्नीलाई लिएर कलङ्कीतर्फ हुइँकियौँ । कलङ्कीमा कुरेर बस्नुभएका श्रद्धेय भिक्षु धर्मगुप्त महास्थवीरलाई पनि माइक्रोबसमा सिटको प्रबन्ध मिलाई हामी हाम्रो गन्तव्यतर्फ लम्कियौँ । कलङ्कीबाट थानकोट हुँदै बिहान ८ः३० बजेतिर काठमाडौँ उपत्यकाबाट बिदा भई जाँदा नागढुङ्गादेखि ट्राफिक जामको स्वाद बाध्यतावश लिनुपर्‍यो । नौबिसेसम्म करिब पौने दस बजेसम्मको ट्राफिक जामपछि निष्पिmक्रीका साथ रˆतारमा गुड्दै जाँदा चितवनको च्ष्खभच-क्ष्मभ होटेलमा बिहानको भोजन गर्‍यौँ । चितवन जिल्ला पार गरी नारायणीपुलबाट नवलपरासीको गैँडाकोट, बेल्डिया, रजहर, टाइकोट हुँदै दाउन्ने पहाडको उकालीओराली भई चोरमारा कावासोती हुँदै नवलपरासी जिल्ला पार गर्‍यौँ । सुनवल हुँदै बुटबलको चौरास्ता, मुख्यसडक पुग्दा नपुग्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. केशवमान शाक्यलाई मोबाइलमार्फत सम्पर्क गरी बुटवलबाट सिधै पश्चिमतिर जान खोज्दा उहाँले आज कपिलवस्तु जिल्लाको यातायात बन्द भएको जानकारी दिनुभयो । हामीहरूको टोलीलाई उहाँको आतिथ्य स्वीकार्न लुम्बिनीमा आउन आग्रह गर्नुभयो र हामीहरू लुम्बिनीतर्फ मोडियौँ । बाटोमा पर्ने अन्तर्राष्ट्रिय बौद्ध परियत्ति बुद्धविहारस्थल पनि अवलोकन गर्ने साझा सहमति भएपछि त्यसतर्फ लाग्यौँ । संयोगवश सो दिन त्यस बुद्धविहारमा ‘महान् कथिन दानोत्सव’ जस्ता पवित्र कार्यक्रम भइरहेकोले विहाराधिपति श्रद्धेय भिक्षु जटिललगायत सम्पूर्ण भिक्षु गण र उपासकउपासिकाहरू कार्यक्रममा व्यस्त रहनुभएको थियो । विहारका केन्द्रीय अध्यक्ष सी.बी. घोतानेज्यूको आग्रहलाई स्वीकारी चियापान गर्‍यौँ र लगत्तै त्यस बुद्धविहारबाट बिदा भई भैरहवा नाघी सकेपछि लुम्बिनी नपुग्दै बीच बाटोमा पर्ने ‘पुगताभूमि बुद्धविहार’ अवलोकन गर्न पुग्यौँ । विहारको रेखदेख गर्ने मानिसबाहेक अरू कोही पनि नभई शून्य जस्तो विहारको पर्यावरण अवलोकन गर्‍यौँ रमाइलै रहेछ । तत्कालीन मन्त्री एवं नेपाली काङ्ग्रेसका नेता, उपासक रामकृष्ण ताम्राकारका दिवङ्गत बुबा पूर्णबहादुर ताम्राकार एवं ममतामयी माता गणेशकुमारी ताम्राकार, जो त्यस विहारका संरक्षिका पनि हुनुहुन्छ, को कृतज्ञ गुणलाई जाहेर हुने गरी ‘पुगताभूमि बुद्धहिवार’ भनी नामकरण गरी संस्थापन गर्नुभएको विहारको आˆनो छुट्टै विशेषता र कार्यक्रम रहेको छ । सो विहार निर्माणमा ठूलो परिमाणमा तन, मन र धनको योगदान उपासक ताम्राकारकी ममतामयी आमालगायत परिवाजनको रहेको छ र थियो पनि । त्यसको अलावा विदेशी दाता एवं स्वदेशी दाताहरूको पनि कमी रहेन, थिएन । त्यहाँ उल्लिखित मार्बल पाटोमा लिखित विवरणलाई अध्ययन गरेमा स्वतः ज्ञात हुने भयो । सो बुद्धविहार स्वयम्भू चैत्याकारमा रहेको छ भने भित्र गर्भमा भगवान् बुद्धको प्रतिमा प्रतिस्थापित गरी त्यसको चारैतर्फ हल भएकोले बुद्ध पूजाजस्ता पवित्र कार्य गर्न सुगम हुने लाग्यो । त्यस चैत्यको पछिल्तिर छेउमा अलग्गै ठूलो भवन रहेछ, त्यसमा रेडक्रजस्ता सामाजिक सेवा गर्ने संस्था थिए । चैत्यको उत्तरतर्फको छेउमा भिक्षुहरूका लागि चिटिक्क परेका आवासगृह रहेछ । बुद्धविहारको द्वार नै आकर्षक र सुरक्षायुक्त ढङ्गबाट निर्माण गरिएको देखिन्छ । यसरी बुटवलदेखि लुम्बिनीसम्मको बीच बाटोमा परेको दुईवटा थेरवादी बुद्धविहारको अवलोकन भ्रमणपश्चात् सिधै पवित्र लुम्बिनीतर्फ हुइँकिदै सवा चारबजेतिर लुम्बिनीको प्रवेशद्वारमा पुग्यौँ । जहाँ लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं युवा बौद्ध समूहका सल्लाकार डा. केशवमान शाक्य उपस्थित भई हामीलाई स्वागत गर्नुभयो र उहाँसँगै सिधै उहाँको क्वार्टरमा गयौँ र त्यसपछि लगत्तै बोधिसत्व सिद्धार्थ गौतमले यस धरतीमा पदार्पण गर्नुभएको पवित्र चिन्हको दर्शन गर्न पुग्यौँ । अशोक स्तम्भलगायत पुष्करिणी पोखरीको अवलोकन गरी सकेपछि माइक्रोबसबाट महायानी बुद्धविहार निर्माण स्थलतर्फ गई सर्वप्रथम चिनियाँ गुम्बा (बुद्धविहार) निरीक्षणपश्चात् फेरवादी बुद्ध विहार क्षेत्रअन्तर्गत रजकीय थाई बुद्ध विहार अवलोकन गरी चियापानमा सरिक भयौँ । त्यहाँबाट सिधै माथि विश्वशान्ति स्तूप, निचिरेन सम्प्रदाय, जापानद्वारा निर्मित एसियामै सबभन्दा ठूलो विश्वशान्ति स्तूप अवलोकन गरी, घुमी सकेपछि केही मिनेट शान्तपूर्वक आराम गरी, फर्की उपाध्यक्ष डा. शाक्यको क्वार्टरमा पुग्नु अगावै लुम्बिनी प्रवेशद्वारबाहिर श्रद्धेय भिक्षु मैत्री महास्थवीरबाट निर्मित बुद्ध विहार अवलोकन र मैत्री भन्ते दर्शन गर्न गयौँ । श्रद्धेय भन्तेज्यूप्रति वन्दना अभिवादन गरी सकेपछि भलाकुसारीपश्चात् हाम्रो कार्यक्रमबारे अवगत गराउने कार्य भयो । भेरी अञ्चल, बर्दिया जिल्लाअन्तर्गतको मगरागढी गाविसस्थितको रम्मापुर गाउँको बुद्धनगरमा स्थापित बोधिज्ञान बुद्धविहारमा सो विहारका उपासक/उपासिकाहरूको अनुरोध र आग्रहमा युवा बौद्ध समूहको पूर्ण सहयोगमा दुईदिने बौद्ध जागरण शिविर सञ्चालन गर्न जान लागेको कुरा बतायौँ । मैत्री महास्थवीरले भन्नुभयो- “तपाईंहरू त्यतातिर लाग्ने हो भने मध्यपश्चिमाञ्चलमा बुद्धमूर्ति एउटा पनि पुगेको छैन, लगेको छैन । यदि तपाईंहरूले जिम्मा लिई लानुहुन्छ भने एउटा बुद्धमूर्ति दिएर पठाउन सक्छु ।” हामीले पनि सकारात्मक जवाफ दियौँ । हुन्छ, यहाँले दिनुहुन्छ भने लान, लैजान तयार र उत्सुक छौँ । लैजान्छौँ भनी बुद्धमूर्ति राखेको पुस्तकालय कक्षमा हेर्न जाँदा त्यहाँ दुईवटा भू-स्पर्श मुद्राको थाई बुद्ध मूर्ति दर्शन गर्न पुग्यौँ । भोलिपल्ट बिहान लैजाने मनसाय व्यक्त गरी मैत्री भन्तेको विहारबाट हामीहरू लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. केशवमान शाक्यको अथिति भई उहाँको क्वार्टरतर्फ प्रस्थान गर्‍यौँ ।

भोलिपल्ट अर्थात् २०६४ कात्तिक १८ गते आइतबार बिहान ६ः०० बजे उपाध्यक्षको क्वार्टरमा सबै भेला भई त्यहाँबाट हामीहरूको सल्लाहबमोजिम बिहान ७ः०० बजेतिर श्रद्धेय भिक्षु मैत्री महास्थवीरको विहारमा गई बुद्धमूर्ति लैजान मैत्री भन्तेसँग अनुरोध गर्‍यौँ । उहाँले अत्यन्त प्रसन्न मुद्रामा हामीलाई बुद्धमूर्ति दिनुभयो । हाम्रौ टोलीका श्रद्धेय भन्ते धर्मगुप्त महास्थवीर र सुशील भन्ते मैत्री भन्तेको अतिथि भई सो रात त्यस विहारमा शयन गर्नुभएकोले उहाँहरूलाई पनि डाकी डा. केशवमानज्यूको मोटरमा बुद्धमूर्ति र श्रद्धेय विक्षुद्वयलाई व्यवस्था मिलाई हामीहरू दुईवटा मोटरबाट कपिलवस्तु भई पश्चिमतिर लम्केका थियौँ । बाह्र बज्न केही मिनेट अगावै भोजन गर्नतिर लाग्यौँ । हामीहरू बाह्र जनाको लागि दुईवटा होटेलमा खानाको व्यस्था गर्‍यौँ र त्यहाँबाट कहीँ पनि नरोकी रˆतारको गतिमा बर्दिया राष्ट्रिय निकुञ्जको सैनिक एरियाबाट २०० मिटर जति पर पुगेपछि सक्रिय उपासक इन्द्रबहादुर मगरले राजमार्ग दक्षिणी छेउमै बौद्ध झण्डा फर्फराई हामीलाई स्वागत गर्न एक बौद्ध जमातै आइपुग्यो । विस्तारै बुद्धनगरस्थितको बोधिज्ञान बुद्धविहारतर्फ लाग्यौँ र ५,१० मिनेटको बाटोपश्चात् विहार क्षेत्रमा प्रवेश गर्‍यौँ ।

बोधिज्ञान बुद्धविहार रहेको रमणीय वनोद्यानमा पुग्नासाथै बौद्ध जागरण शिविरको कार्यक्रम शुभारम्भ गरियो । बुद्धविहारको तर्फबाट सोही विहारका उपासक इन्द्रबहादुर मगरले स्वागत मन्तव्य दिई स्वागत गर्ने कार्य भयो भने शिविरको उद्घाटन हामीले लगेको थाई बुद्धमूर्ति अगाडि व्यवस्था गरिएको तीनवटा प्रज्ञाको ज्योतिरूपी दीप प्रज्वलन लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. केशवमान शाक्य र भिक्षु धर्मगुप्त महास्थवीरबाट संयुक्त तवरले गरियो । सो कार्यक्रमका अध्यक्षता सोही विहारका अध्यक्ष धनबहादुर मगरले गर्नुभएको थियो ।

भोलिपल्ट अर्थात् कात्तिक १९ गते सोमबार पनि सो विहारका अध्यक्ष उपासक धनबहादुर मगरको परिवारजनकै जलपानदेखि भोजनसम्मको आतिथ्यलाई स्वीकारी प्रातःकालीन भोजनपछि दिनभरको जागरण अभियानमा सरिक भयौँ । सो दिनको शुभारम्भको एक घण्टाको जागरण कक्षा युवा बौद्ध समूहका संस्थापक अध्यक्ष बौद्ध विद्वान् हर्षमुनि शाक्यले ‘बुद्धकालीन समाजको चित्रण’ बारे सरस र दिलचस्पीपूर्ण तवरले लिनुभयो भने अर्का वरिष्ठ सल्लाहकार ज्यापूमहागुथिका अध्यक्ष बौद्ध विद्वान् विपेन्द्र महर्जनले ‘पञ्चशीलको महìव’ बारे गहन तवरले बुद्धकालीन कथासमेत जोडी शीलको पालन गर्नुपर्ने, शील भङ्ग गर्नाले भोग्नुपर्नेजस्ता कुराहरू अगाडि सारी रोचक तवरले कथासमेत भन्न भ्याउनुभयो । जागरण शिविरका तेस्रो प्रशिक्षक बौद्ध विद्वान् डा. लक्ष्मण शाक्य, जो दुई दशकभन्दा बढी प्रव्रजित जीवन अपनाई भिक्षुसमेत भई प्रत्यक्ष अनुभव गर्नुभएकाले ‘शील, समाधि र प्रज्ञाको महत्व’ बारे केलाई केलाई भगवान् बुद्धका अजर, अमर, वचन पाली भाषामा समेत व्याख्या विश्लेषणसमेत गर्नुभयो ।

जागरण शिविरको चौथो कक्षा यसै लेखका पङ्क्तिकार थिए । अन्तिम प्रशिक्षक भिक्षु धर्मगुप्त महास्थवीर जो प्रमुख अथितिका रूपमा पाल्नुभएको थियो, ले ‘बुद्धपूजा विधि’ बारे रोचक ढङ्गले प्रस्तुत गर्नुभयो । बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, सङ्घं शरणं गच्छामिजस्ता त्रि-रत्न शरणलाई कण्ठस्थ पार्न सरल होस् भन्ना खातिर लयबद्ध ढङ्गले सिकाउनुभयो । अन्तमा युवा बौद्ध समूहका कोषाध्यक्ष तेजनारायण मानन्धरले सधन्यवाद प्रशिक्षण शिविरका सभापति एवं बोधिज्ञान बुद्धविहारका अध्यक्ष उपासक धनबहादुर मगरलाई विहारको उन्नति खातिर रु. ५,०००।- को धनराशि समूहको तर्फबाट हस्तान्तरण गर्नुभयो ।

सोही कात्तिक १९ गते सोमबार दिनको ४ः३० बजेतिर त्यस रमणीय वनोद्यान बुद्धनगर, जहाँ बोधीज्ञान, बुद्धविहार रहेको छ, मा उपस्थित उपासक/उपासिकाहरू लगायत सम्पूर्ण प्रशिक्षार्थीहरूसँग बिदा भई काठमाडौँ र्फकने क्रममा राति ९ः३० बजेतिर बुटवलमा पुगी एउटा होटेलमा खाना खायौँ र रातिको बास पद्म चैत्य विहारमा बस्यौँ । भोलिपल्ट बिहान सो विहारका अनागरिका कमला गुरुमाले भन्तेद्वयलगायत हामीहरू सबैलाई सामान्य जलपानको व्यवस्था गर्नुभयो । त्यसपछिको यात्राबाट नारायणगढ पुगियो र चितीवन विहारको एकछिन अवलोकनपछि त्यहाँबाट रˆतारमा गुड्दा मनकामना केबुलकार स्टेसन रहेको कुरिनटार पुग्दा बिहान ११ः४५ बजेको रहेछ । लगत्तै त्यहाँको एक होटेलमा भोजन ग्रहण गरी दिनको १ः०० बजे त्यहाँबाट पुनः काठमाडौँतर्फ प्रस्थान गर्दा २ घण्टापछि अर्थात् दिनको ३ः०० बजे थानकोट नागढुङ्गा पुग्यौँ र ४ दिनपछि पुनः काठमाडौँ उपत्यकाभित्रको ऐतिहासिक स्वयम्भू चैत्यलाई टाढाबाट भए पनि ‘वन्दामि चेत्तियं सब्बं सब्बठानेसुपतिठ्ठतिं’ भनी मनमनै दर्शन अभिवादन गर्दै र्फकने काम गर्‍यौँ । १२० किलोमिटर प्रतिघण्टा रˆतारमा कुदी दौडी आएका हामीहरूले नैकापदेखि नै काठमाडौँको अस्तव्यस्तता ट्राफिक जामको तितो स्वाद बाध्यतावश लिनुपर्‍यो । खल्लो महसुस गर्नुपर्‍यो । नैकापदेखि रत्नपार्कम्म पुग्न एक घण्टाको ट्राफिक जामको सामना गर्दै, दिक्क मान्दै आइपुगेका थियौँ । म पनि रत्नपार्कबाट पुरानो बाटो भई मध्यपुर थिमिनगरको बहाखा बजार हुँदै नगदेश प्रवेश गरेँ र झिटीगुण्टा घरमा राखी नगदेश बुद्धविहारको धम्महलमा पुगी देवमनुष्यका शास्ता (गुरु)को प्रतिमूर्ति, शान्तिका महानायक, तथागत् गौतम बुद्धको प्रतिमूर्ति अगाडि पञ्चाङ्ग वन्दना गरें । भबतु सब्ब मङ्गलम् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *