Skip to content


साँझको बेला । झमक्क हुन लाग्दा पनि लोडसेडिङले गर्दा बिजुली बल्ने छाँट थिएन । मैनबत्ती बालेर हजुरआमा कोठामा पस्नुभयो । हजुरआमा बस्न नपाउँदै केटाकेटीहरू वरपर झुम्मिए ।”हजुरआमा, गाउँखाने कथा भन्नोस् न ।” अनन्तले भन्यो ।

“हो हो हजुर आमा, आज गाउँखाने कथा भन्नोस् ।” सुनिताले पनि थपी । राजु त हजुरआमाकै काखमा बस्नपुग्यो । उनीहरू गाउँखाने कथा भनेपछि हुरुक्कै हुन्थे । त्यसमा पनि हजुरआमाले भन्नुहुने कथा ज्यादै रमाइलो हुन्थ्यो ।

“चाँदीजस्तो फूल हुन्छ सुनजस्तो फल

टिप्न जाँदा बगाउँछ रगतको भल ।

के हो ? लौ भन ।” हजुरआमाले सोध्नुभयो । केटाकेटी केही बेर गम खाए ।

“एँैसेलु ।” सुनिताले सम्झेर भनी ।

“स्याबास!” हजुरआमाले भन्नुभयो ।

“अब अर्को भन्नोस् हजुरआमा ।” रामुले भन्यो ।

“छन पनि छ, हुन पनि हो ।

खोज्दा पनि पाइँदैन, चाहिँदा पनि चाहिँदैन ।

के हो ?” हजुरआमाले अर्को गाउँखाने कथा सोध्नुभयो ।

“अँ . . . .” अनन्त, सुनिता र राजु केही बेर घोरिए । उनीहरूले त्यो गाउँखाने कथाको पनि उत्तर भेट्टाउन सकिरहेका थिएनन् ।

“हजुरआमा के हो त्यो ? भन्नोस् न ।” सानो राजुले हजुरआमालाई घच्घच्याउन थाल्यो ।

“पख न पख । अनन्त र सुनितालाई आउँछ होला । विचार गर्न दे । राम्रोसँग सोचेर भन है ।” हजुरआमाले उनीहरूको अनुहार पालैपालो हेर्दै भन्नुभयो । उनीहरू सोचिरहेकै थिए तर कसैलाई पनि त्यसको उत्तर आएन ।

“आएन हजुरआमा! के हो ?” सबैले एकैपटक सोधे ।

“ल, गाउँ देऊ त, त्यसो भए” हजुरआमाले गाउँ माग्नुभयो ।

“ल, हजुरआमा तोरी फुल्ने गाउँ भयो” सबैले एकै स्वरमा भने

“सेरोफेरो सबै मेरो, फोहरमैला सबै तेरो । लौ सुन” हजुरआमाले भन्नलाग्दा सबैले कान चनाखो पारे । त्यसैबेला घर हल्लेको जस्तो लाग्यो ।

“केटाकेटी हो, त्यसरी घरै हल्लने गरेर नचल ।” हजुरआमाले हकार्नुभयो ।

“कहाँ चलेका छौँ र! म त त्यस्सै हुत्तिएर यहाँ पुगेँ । ऊ फेरि हल्लिएजस्तो छ” अनन्तले भन्यो । हजुरआमा झसङ्ग हुनुभयो र दलिनतिर हेर्नुभयो । दलिनमा झुन्डिएको चीम हल्लिएको देख्दा उहाँ पनि आत्तिनुभयो ।

“लौ लौ केटाकेटी हो छिटेैृ खाटमुनि छिर । लौ छिटो गर” यति भन्दै हजुरआमा पनि ढोकाको आडमा उभिन पुग्नुभयो । राजु त डरले क्वाँक्वाँ रुन थाल्यो । सिङ्गो घर हल्लिरहेकै थियो । बाहिरबाट डाङराङ डुङरुङको आवाजका साथै मानिसहरूको होहल्ला आइरहेको थियो ।

“भुइँचालो आयो! भुइँचालो आयो! भाग, भाग!” मानिसहरू रोएको र आत्तिएको आवाज पनि सुनिन्थ्यो ।

“एई, अनन्त, तिमीहरू कहाँ छौ ? हजुरआमा कहाँ हुनुहुन्छ ?” बाहिरबाट आएको आमाको आवाज सुनेर ढुक्क हुँदै अनन्तले भन्यो- “हामी यहाँ छौँ । खाटमुनि । हजुरआमा पनि यहीँ हुनुहुन्छ ।”

“यताउति नगर है, एकैछिन त्यहीँ बस । हजुरआमालाई पनि यताउता जान नदेओ ।” आमाको चेतावनीसँगै उनीहरू खाटमुनि थरथर काम्दै बसिरहे । केही बेरमा घर हल्लन थामियो ।

“लौ लौ केटाकेटी हो, बाहिर निस्क । भुइँचालो थामियो । लौ छिट्टै तल खुला ठाउँमा जाआँैं हिँड ।” हजुरआमा यति भन्दै सबैलाई लिएर बाहिर निस्कनुभयो । बाहिर पुग्नासाथ राजुले आमालाई अँगालो हाल्न पुग्यो । बाहिर पनि अँध्यारो थियो । अनन्तले आˆनो साथी सञ्जयको घरतिरबाट चर्को होहल्ला र रुवाबासी सुन्यो । सञ्जयकी आमा रोइरहेकी पनि सुन्यो ।

“आमा, आमा, सञ्जयको घरमा के भयो ? किन होहल्ला गरेर रोइरहेका ?” केही कुरा नबुझेर अनन्तले सोध्यो ।

“उसको घरको एक छेऊ भत्कियो नि । बिचराहरू! जताततै अन्धकार छ । केही देखिने हैन । अब के गर्ने

खै ?” आमाले भन्नुभयो ।

“हजुरआमा, त्यो घर कसरी भत्किएको ?” सुनिताले सोधी ।

“भुइँचालोले हल्लाएकोले भत्कियो नि! भुइँचालो त ज्यादै डरलाग्दो पो हुन्छ । ठूलाठूला घरहरू, पाटीपौवा आदि पनि भत्काउने गर्छ । भुइँचालोमा परेर कैयौँ मानिस र पशुपक्ष्ी िपनि मर्छन् । खै, के कति नोक्सान गर्‍यो

कुन्नि ?” हजुरआमा फत्फताउनुभयो ।

“हजुरआमा, अघि हामीलाई खाटमुनि छिर भन्नु-भयो । तपाइँ किन ढोकाको आडमा उभिनुभएको ?” खाटमुनि किन लुक्नु परेको होला भनेर सुनिता अझै जिल्ल परिरहेकी थिई ।

“भुइँचालो आउँदा टेबुलमुनि, खाटमुनि वा ढोकाको आडमा बस्यो भने जोगिन्छ । त्यसो गर्दा घर भत्किन थाल्यो भने पनि माथिबाट खसेका ढुङ्गा वा काठले सोझै चोट लाग्दैन । त्यस्तो बेलामा हत्पत गरेर भरेङ ओर्लेर भाग्नु पनि हुँदैन । लडिन्छ र चोटपटक लाग्नसक्छ । घर भत्किन थाल्यो भने किचिन्छ पनि । त्यसैले यस्तो छेको परेको स्थानमा लुक्नुपर्छ । धेरै सुरक्षित भइन्छ ।” आँगनमा जम्म्ाा भएका केटाकेटीलाई हजुरआमाले सम्झाउनुभयो ।

“हो गुरुआमाले पनि त्यस्तै भन्नुभएको थियो अस्ति नै । मैले त भुसुक्कै बिर्र्सिएको ।” अनन्तले सम्झँदै भन्यो ।

“हजुरआमा, भुइँचालो आयो भनेको हैन ? खै, मैले त देखिनँ ।” राजुले तोतेबोलीमा सोध्यो ।

“ल, अघि आएर गैसक्यो नि । तिमी खाटमुनि लुकेको होइनौँ ? घरै हल्लने गरी आयो नि ।” हजुरआमाले राजुलाई सुम्सुम्याउँदै भन्नुभयो ।

“खै त मैले देख्दै देखिनँ! के हो त्यो भुइँचालो भनेको ? कस्तो हुन्छ ?” राजुले लाडिँदै सोध्यो ।

“भुइँ चल्ने भएकोले भुइँचालो भनेको हो । यसले जमिन नै बेस्सरी हल्लाइदिन्छ । देखेनौ अघि कसरी हल्लाएको ? उ सञ्जयको घर पनि भुइँचालोले हल्लाएर भत्किएको छ ।” हजुरआमाले भन्नुभयो ।

“किन हल्लन्छ त भुइँ ? कस्ले हल्लाउँछ ?” सुनिताले पनि बिस्तारै सोधी ।

“कसैले पनि हल्लाउँदैन । आफै हल्लन्छ ।”

“कसरी ?”

“हामी बसेको जमिन छ नि! त्यो पृथ्वी हो । पृथ्वी ठूलो छ । पृथ्वीको सतह विभिन्न सानाठूला चट्टानको तहतहले बनेको हुन्छ । सानाठूला चट्टानहरू एकनासले मिलेर बसेका हुँदैनन् । एकले अर्कालाई थिचोमिचो गरिरहन्छन् । त्यसबेला धेरै दबाव पर्दा कमजोर चट्टानको तह अचानक फुट्छ ।”

“हो र ?”

“हो, यसरी फुट्दा पृथ्वीको सतहमा चारैतर्फ ठूलो धक्का पर्छ त्यसबेला चट्टानको तह यताउता सर्न खोज्दा जमिन हल्लन्छ । चट्टान फुटेकै ठाउँलाई भुइँचालोको केन्द्रविन्दु भनिन्छ । त्यहाँको जमिन जोड्ले हल्लन्छ । साथै त्यसको वरपरको जमिन पनि भुइँचालोको झड्काले हल्लन पुग्छ । यसरी भुइँचालो आउँछ, जान्छ तर यो कहिले आउँछ भनेर कसैले पनि पत्ता लगाउन सकेका छैनन्् ।” हजुरआमाले भन्नुभयो ।

“हजुरआमा, अघि तपाइँले सोध्नुभएको गाउँखाने कथासँग यो मिल्छ कि कसो ?” अनन्तले अघि हजुरआमाले सोध्नुभएको गाउँखाने कथा सम्झेर सोध्यो ।

“ठ्याम्मै मिल्छ । त्यही त हो । छन पनि छ, हुन पनि हो, खोज्दा पनि पाइँदैन, चाहिँदा पनि चाइँदैन । कसो ? यस्तो हामीलाई नोक्सान पुर्‍याउने भुइँचालो पनि हामीलाई चाहिन्छ त ? तर छ, त्यो आउँछ झुक्याएर ।” हजुरआमाले सबैको अनुहार हेर्नुभयो ।

“हो त! यो चाहिने चिज नै होइन । हेर्नुहोस् न! यही भुइँचालोले गर्दा सञ्जय दादाको घरै भत्कियो । अब उनीहरू कहाँ बस्छन् होला हगि हजुरआमा ?” अनन्तले पिर पोख्यो ।

“उनीहरूको घर नबनेसम्म हामीले उनीहरूलाई सहयोग गर्नुपर्छ । यस्तै बेलामा त हो आफन्त काम लाग्ने । दुःखमा साथ दिनु हामी सबैको कर्म र धर्म पनि हो ।” हजुरआमाले सुस्केरा हाल्दै भन्नुभयो ।

अँध्यारै भए पनि अनन्त र सुनिता दौडेर सञ्जयको घरमा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *