Skip to content


तिमीसामु भर्खरै आइपुगेको छ
मेरीआमाको जुनी
आफूसँगै बोकेर-
अभावको आँधीले लछारेको घुम्रे कपाल
शोषणको घामले डढेको उदास अनुहार
दुःखको कुवामा डुबेका अनिदा आँखा
बारम्बार अँधेरी गौँडामा ठोकिएको निधार
र युगभरिको पीडा घोलिएको एउटा गहिरो सुस्केरा ।
तिमीसामु भर्खरै आइपुगेको छ
मेरीआमाको जुनी
आफूसँगै बोकेर-
परम्पराको भारीले कुप्राएको करकरी खाने ढाड
विभेदका जङ्गली काँडाले कोतरिएको घाइते मुटु
भोकका विरुद्ध पटुका कसिएको अभागी पेट
बिमारको असिनापानीले हिनामिना पारेको ज्यान
र सयथरी त्रासले उब्जाएको एउटा अनन्त छटपटी ।
मेरीआमाको जुनीले
चौतारीतिर चिहायो-
त्यहाँ जुवाडेहरू तास फिटिरहेका थिए वल्लोपट्ट
िपल्लोपट्ट िभलाद्मीहरू जुँगामा ताउ लगाइरहेका थिए
धर्मशालामा हेर्‍यो-
त्यहँा लुटेराहरूको बैठक चलिरहेको थियो
सरकारी घरमा
चोरहरू झगडा गरिरहेका थिए
नाटकघरमा
नवयौवनाको नृत्य चलिरहेको थियो
दोहोरीसाँझमा
धनाढ्यहरू कम्मर भाँचिरहेका थिए
मेरीआमाको जुनीले
गायकको गला खोज्दै गयो-
त्यहाँ त चन्द्रशमशेरको कर्खा र गोपिनीको गीत थियो
कविताका पङ्तीहरूमा
भगवान्का भजनहरू बजिरहेका थिए
इतिहासका पानामा
शासकका अनुहारहरू टाँस्सिएका थिए
र सङ्ग्रहालयका प्रत्येक कोठामा पनि
राजा र सेनापतिका लुगाफाटा सजाइएका थिए ।
कतैतिर पनि
बस्न, सास फेर्न र सुस्ताउन नपाएपछि
मेरीआमाको जुनी
घृणा, उपेक्षा र तिरस्कारका आक्रमणहरू खप्दै
भौँतारिँदै भौँतारिँदै
तीव्र गतिमा चलेका एकएक थान मुटु र फोक्सो बोकेर
तिमीसामु भर्खरै आइपुगेको छ
पि्रय कलाकार!
के तिम्रो क्यानभासमा कतै अलिकति ठाउँ छ ?

-बाजुङ, पर्वत

1 thought on “मेरी आमाको जुनी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *