Skip to content


परिचय

नेपाली भाषा साहित्यका अनन्य सेवी सुप्रसिद्ध साहित्यकार ऋद्धिबहादुर मल्ल र उनकी पत्नी आनन्दकुमारीका ज्येष्ठ सुपुत्र गोविन्दबहादुर मल्लको जन्म वि.सं. १९७९ असार २७ गते काठमाडौँको पाको पोखल्ड्याङ्गमा भएको थियो । विजयबहादुर फत्तेबहादुर र हिक्मतबहादुर, उनका भाइहरू हुन् भने शान्ति मल्ल उनकी बहिनी हुन् । गोविन्दबहादुर ८९ वर्षको उमेरमा वि.सं. २०६७ मङ्सिर २६ गते दिवँगत भए । उनले दरबार स्कुल काठमाडौँ र थियोफिस्कल स्कुल काशीमा हाइस्कुल तहसम्मको अध्ययन गरे । त्रि-चन्द्र कलेजमा आई.एस्सी.सम्मको अध्ययन गरे, तर पूरा गर्न भने पाएनन् । उनले सानैदेखि घरैमा साहित्यिक वातावरण प्राप्त गरे । उनका पिता प्रसिद्ध अनुवादक, उपन्यासकार, साहित्यिक पत्रकार र नेपाली प्रेस जगत्का अग्रणी थिए । त्यति बेलाका साहित्यकार उनका घरमै आउँथे र साहित्यिक चर्चा परिचर्चा गर्थे । नयाँ किताब किन्थे र साटासाट गरेर पढ्थे । नेपालको प्रसिद्ध साहित्यिक पत्रिका ‘शारदा’ उनका पिताले आफ्नै छापाखानामा छपाएर प्रकाशित गर्थे । त्यसैले ‘शारदा’ मा रचना छपाउने उद्देश्यले आएका साहित्यकारहरूसँग पनि गोविन्दको भेटघाट भइरहन्थ्यो । उनका पिताले किनेका साहित्यिक कृतिहरू पनि उनी पढ्न पाउँथे । यस्तै घरायसी साहित्यिक वातावरण र साहित्यकारहरूसँगका बसउठले उनी साहित्यतिर आकृष्ट भएका देखिन्छन् । उनको बाल्यकाल रामराजाको बरेबा दरबारमा पनि बित्यो । त्यहाँ बस्ता उनले दरबारका पुराना कुराहरू धेरै सुनेका रहेछन् र त्यसको प्रभाव उनको कथा लेखनमा परेको देखिन्छ । उनले १७ वर्षको हुँदा ‘ममता’ नामको कविता लेखेर ‘शारदा’ मा प्रकाशित गराउन दिए, तर त्यति बेला नै उनलाई सिंहदरबारमा बोलाइयो । ‘शारदा’ का सम्पादक भिक्षु थिए । उनले राणाहरूको कोपभाजन हुनदेखि जोगाउन गोविन्दको शाब्दिक अर्थसँग मिल्दो नाम खोजेर ‘गोठाले’ उपनाम राखेर १९९६ सालमा उक्त कविता प्रकाशित गराइदिए । ईश्वर बरालले ‘गोठाले’ शब्दलाई गाउँले भन्ने अर्थ लगाएर उपनाम अनुसार गोविन्दका कथा र नाटकमा ग्राम्य जीवनसँग सम्बन्धित घटना र सामाजिक परिवेश पाइँदैन, उनले काठमाडौँली सहरी समाजसँग सम्बन्धित कथाहरू मात्र लेखेका छन्, उपनामको विडम्बना वस्तुतः गोठालेमा पाइन्छ भनेर ‘झ्यालबाट’मा उल्लेख गरेका छन् । त्यो वास्तवमा त्यति सही लाग्दैन । ‘गोठाले’ शब्द गाउँले अर्थमा नभएर गाई हेर्ने कृष्ण भन्ने अर्थमा प्रयोग भएको देखिन्छ । यसरी गोविन्दबहादुर मल्ल ‘गोठाले’ को साहित्यिक यात्रा १९९६ सालदेखि आरम्भ भएको पाइन्छ । उनी २००५ सालदेखि २००७ सालसम्म ‘शारदा’ को सम्पादक तथा २००७ देखि २००९ सालसम्म ‘दैनिक आवाज’ नामक समाचारपत्रका सम्पादक पनि भएका देखिन्छन् । त्यस्तै गोविन्द नेपाली लेखक सङ्घ (२००८) का सँस्थापक सदस्य पनि हुन् । त्यसपछि यसको पुनर्गठन २०१० र २०१२ सालमा भएको थियो । ती दुवै पुनर्गठनमा यिनी परेका थिए । २०१७ सालको राजनीतिक काण्डपछि गोठालेलाई केदारमान व्यथितले राजा महेन्द्रको नयाँ कदमलाई अगाडि बढाउन सहयोग गर्नुपर्यो, यसलाई आर्थिक सहयोग पनि प्राप्त हुन्छ, लेखक सङ्घलाई सक्रिय पारेर लानुपर्छ भनेर लेखनाथका घरमा बसेको बैठकमा कुरा गरे तर गोठालेले लेखकको सँस्था स्वतन्त्र हुन्छ, यसलाई राजनीतिमा मुछ्नु हुँदैन, लेखकको स्वतन्त्र अस्तित्व बिगार्नु हुँदैन भनेर केदारमानको प्रस्ताव अस्वीकार गरे । यसबाट गोठाले लेखकीय स्वतन्त्रताका कट्टर समर्थक रहेको थाहा पाइन्छ । उत्तम कुँवरले ‘स्रष्टा र साहित्य’मा गोठालेका साहित्यिक मान्यता प्रस्तुत गरेका छन् । गोठालेका विचारमा साहित्य समाजलाई हृदयङ्गम गरेर, त्यसभित्र भिजेर लेख्नुपर्छ । त्यही अनुरूप आफू पनि चल्नुपर्छ, साहित्य जीवनकेा प्रतिच्छाया हो । साहित्य र जीवन सँगसँगै हिँड्नुपर्छ । साहित्य समाजका लागि लेखिनुपर्छ । साहित्यले जीवनका आन्तरिक र बाहृय दुवै पक्ष समेट्न सक्नुपर्छ । यही सिद्धान्तलाई गोठालेले आफ्ना कृतिमा देखाउने प्रयत्न गरेका छन् । आन्तरिक जीवन बाहृय जीवनसँग स्वतन्त्र हुन चाहन्छ । यही कुराको सङ्घर्ष गोठालेका रचनामा पाइन्छ । उनलाई मनपर्ने नेपाली साहित्यकारहरू बालकृष्ण सम, सिद्धिचरण, रिमाल आदि हुन् भने विदेशी साहित्यकाहरू रवीन्द्रनाथ ठाकुर, शरच्चन्द्र, वर्नार्ड स प्रबोधकुरमा, प्रेम चन्द, जैनेन्द्रकुमार, सेक्सपियर, दोस्तोबस्की, इब्सेन, टाल्स ट्वाय, इमाइल जोला, गोर्की, कामु आदि हुन् । गोठालेले सिद्धिचरणबाट लेख्ने प्रेरणा प्राप्त गरेको, गोपालप्रसाद रिमालबाट आधुनिक बन्ने तथा देवकोटाबाट लगनशील हुन सिकेको कुरा उत्तम कुँवरलाई बताएका छन् । उनले १९९६ सालपछि कथा, नाटक र उपन्यास लेख्दै गए । उनको लेखन यात्रा २०६१ सालसम्म चालू रहृयो । यसरी गोठालेले लगभग साँढे छ दशक साहित्य साधना गरेको देखिन्छ । उनी नेपाली साहित्यमा मनोविश्लेषणवादी आख्यानकार, यथार्थवादी समस्यामूलक, नारीवादी नाटककारका रूपमा सुप्रसिद्ध छन् । आख्यान र नाट्य क्षेत्रमा उनको योगदान विशिष्ट किसिमको छ । उनी विनाको नेपाली आख्यान र नाटकको ऐतिहासिक चर्चा निरर्थक, पक्षपाती र अपूर्ण हुन्छ । उनी नेपाली आख्यान र नाट्य क्षेत्रका विशिष्ट, उल्लेखनीय र उदाहरणीय प्रतिभाका रूपमा स्थापित र प्रतिष्ठित भएका छन् । यस लेखमा उनको कथाकारिताको मात्र चर्चा गर्ने प्रयत्न गरिएको छ ।

गोठालेको कथायात्रा

गोठालेको पहिलो प्रकाशित कथा ‘त्यसको भाले’ हो । यो १९९७ सालमा ‘शारदा’ मा प्रकाशित भएको हो । त्यसपछि ‘महापाप’ (२०००) ‘निद्रा आएन’ (२०००), ‘लक्ष्मीपूजा’ (२००१) आदि प्रकाशित भए । उनका सुरुका कथा प्रायः ‘शारदा’ मा र केही ‘साहित्य स्रोत’मा प्रकाशित भएका देखिन्छन् । २००७ सालपछि ‘प्रगति’ ‘झङ्कार’, ‘रूपरेखा’, ‘मधुपर्क’ र तिसको दशकपछि ‘गरिमा’, ‘समकालीन साहित्य’ आदिमा पनि प्रकाशित छन् । उनका अहिलेसम्ममा कथासङ्ग्रह (२००३), कथैकथा (२०१६), प्रेम र मृत्यु (२०३९), बाह्रकथा (२०५२) र जङ्गबहादुर र हिरण्यगर्भकुमारी (२०६१) गरी पाँचवटा कथासङ्ग्रह प्रकाशित भएका छन् । यी प्रकाशित कथा र कथासङ्ग्रको अध्ययन गर्दा उनको कथायात्रा ६५ वर्ष लामो अवधिको देखिन्छ । उनको यस कथायात्रालाई उनका कथात्मक प्रवृत्तिका आधारमा, देशको तत्कालीन राजनीतिक, सामाजिक र साँस्कृतिक अवस्था तथा उनका कथामा परेको उनीपूर्वका कथाकारको प्रभाव आदिका आधारमा वर्गीकरण गर्न सकिन्छ । मूल रूपमा उनको कथायात्रालाई चार चरणमा विभाजन गर्न सकिन्छ, जस्तै ः

(क) प्रथम चरण (वि.सं. १९९७ देखि २००६ सम्म)

(ख) द्वितीय चरण (वि.सं. २००७ देखि २०१६ सम्म)

(ग) तृतीय चरण (वि.सं. २०१७ देखि २०४० सम्म)

(घ) चतुर्थ चरण (वि.सं. २०४१ देखि २०६१ सम्म)

अब यहाँ यी सबै चरणको छुट्टा छुट्टै विश्लेषण गर्न सकिन्छ ।

(क) प्रथम चरण (वि.सं. १९९७ देखि २००६ सम्म)

गोठालेले १८ वर्षको उमेरमा पहिलो कथा प्रकाशित गराएका हुन् । त्यति बेलाको शासन व्यवस्था अनुदार र निरङ्कुश थियो । वाक्स्वतन्त्रता र प्रकाशन स्वतन्त्रता थिएन । साहित्यिक रचनाहरू शासकवर्गको स्वीकृति बेगर प्रकाशित हुँदैनथे । यस्तो विषम परिस्थितिमा पनि नेपाली कथामा आधुनिक युगको आरम्भ भइसकेको थियो । गुरूप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण सम, पुष्कर शमसेर जबरा, भवानी भिक्षुजस्ता कथाकारले नेपाली कथामा आदर्शोन्मुख यथार्थवादी, यथार्थवादी र मनोविश्लेषणात्मक यथार्थवादी कथा लेखेर नयाँ युगको थालनी गरिसकेका थिए । पश्चिमी यथार्थवादी धारका कथा लेखेर नेपाली कथालाई आधुनिक युगमा प्रवेश गराएर नयाँ मोड ल्याएका थिए । यस्तैमा गोविन्द गोठाले परम्पराकै विस्तार गर्दै र केही भिन्न पथ निर्माण गर्दै आधुनिक नेपाली कथामा प्रवेश गर्छन् । उनले एकातिर मनोविश्लेषणात्मक यथार्थवादी कथा लेखेर कोइराला र भिक्षुले सुरु गरेको परम्परालाई विस्तार गरेका छन् भने अर्कातिर मनोविश्लेषणका नवीनपक्ष बालमनोविज्ञान, अपराध मनोविज्ञान र समाज मनोविज्ञानसँग सम्बन्धित विषयमा कथा लेखेर नयाँ प्रवृत्तिको पनि थालनी गरेका छन् । ईश्वर बरालले अध्ययन गरेअनुसार ‘त्यसको भाले’ र ‘महापाप’ कथामा निर्दोष र निष्कपट शिशुहरूको महिमा गाइएको छ । त्यसैले यी दुवै बालमनोवैज्ञानिक कथा ठहर्छन् । यी कथा कुनै पनि कथासङ्ग्रहमा परेका छैनन् । कथासङ्ग्रह (२००३) मा सङ्कलित कथाहरूमध्ये ‘लक्ष्मीपूजा’ बालमनोवैज्ञानिक कथा हो । यसमा दैन्य अवस्थाको बालकको मनोविज्ञान र दीनताले रुग्ण र असहाय आमाको वात्सल्य प्रकट भएको छ । ‘निद्रा आएन’ कथामा छोरीलाई भन्दा छोरालाई महत्त्व दिने र मूल नक्षत्र परेर जन्मेकाले बाबुलाई पिर्छन् भन्ने सामाजिक अन्धविश्वासले बालिकाको मनमा कति ठूलो चोट पार्छ भनेर देखाइएको छ । ‘एउटा पुरानो कथा’ मा पत्नी पोइल जानाले हीनग्रन्थिले ग्रस्त पतिको यौनजन्य प्रतिशोधले भरिएको मनोदशाको चित्रण गरिएको छ । ‘कृष्णे र खुकुरी’ कथा एकातिर प्रतीकात्मक छ किनभने यसले शस्त्रअस्त्रको होडबाजीले विश्वमा बढ्दै गएको हत्या, हिँसा र विश्वयुद्ध जस्ता मानव सभ्यताका कलङ्कप्रति व्यङ्ग्य गरेको छ भने अर्कातिर हतियार चलाउन नजान्ने अस्थिर मनस्थिति भएको लोग्नेले कसरी पत्नीको गर्धन छिनायो भनेर विचित्र मनस्थितिको चित्रण पनि गरेको छ । ‘एउटा मृत्यु’ कथामा मृत्युन्मुख वृद्ध व्यक्तिको मृत्युभयले आक्रान्त मनस्थितिको चित्रण गरिएको छ । ‘औँठी’ कथामा समाज मनोविश्लेषण गरिएको छ । यसमा घरमा सामान हरायो भने काम गर्ने नोकरलाई दोषी देख्ने सामाजिक मानसिकताका साथै सासू बुहारीबीचको अनमेल सम्बन्ध पनि व्यञ्जित भएको छ । ‘भय’ कथा अपराध मनोविज्ञानसँग सम्बन्धित छ । आर्थिक विपन्ताले व्यक्ति अपराधी हुनसक्छ भनेर कथाले देखाएको छ । ‘एक घटना’ कथामा मानसिक रूपमा विक्षिप्त व्यक्तिलाई समाजले पागल ठान्छ र उसप्रति नकारात्मक भाव राख्छ भनेर विश्लेषण गरिएको छ ।

यसरी यस चरणका कथामा गोठालेले बालमनोविश्लेषण, समाज मनोविश्लेषण, यौनजन्य हीनत्व व्यक्तिको ग्रन्थिको विश्लेषण, मृत्युभयमा परेका मनोदशाको चित्रण, आर्थिक कारणले अपराधी मनोवृत्तिले ग्रस्त मान्छेको मनस्थितिको उद्घाटन, हत्या र हिँसातिर प्रवृत्त हुँदै गएको मानिसको अस्थिर मनोदशाको चित्रण गरेको पाइन्छ । यिनका कथाले समाजमा व्याप्त कुरीति, अन्धविश्वास, हेपाहा प्रवृत्ति आदिप्रति व्यङ्ग्य पनि गरेका छन् । यिनका कथा मूलतः कारुणिक भाव भएका देखिन्छन् । गोठाले प्रथम चरणमै एक प्रसिद्ध कथाकारका रूपमा स्थापित भए । त्यसको कारण उनको प्रभावकारी कथा शिल्प नै रहेको देखिन्छ ।

(ख) द्वितीय चरण (वि.सं. २००७ देखि २०१६ सम्म)

राजनीतिक परिवर्तनका दृष्टिले नेपालको इतिहासमा २००७ साल महत्त्वपूर्ण काल खण्ड हो । नेपाली जनताले निरङ्कुशताबाट, अधिनायकताबाट र जहानियाँ शासनबाट मुक्ति पाए । देश हाम्रो पनि रहेछ भनेर चाल पाए । वाक्स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता पाए । गोठालेको कथा लेखनमा पनि यस राजनीतिक परिवर्तनले ठूलो प्रभाव पारेको देखिन्छ । उनी पहिलेदेखि नै समाज सापेक्ष कथा लेखिरहेका थिए, अब समय सापेक्ष कथा पनि लेख्न थाले । उनका कथामा युगीन चेतना प्रबल रूपमा प्रतिबिम्बित हुन थाल्यो । उनी यथार्थवादी मनोविश्लेषणात्मक, समाज मनोवैज्ञानिक कथा लेख्न पारङ्गत हुँदै गए । गोठालेका यस चरणका कथामा जहानियाँ शासन व्यवस्थामा हुने अन्याय, अत्याचार र शोषणका विविध पक्षको चित्रण पाइन्छ । त्यस्तै राणाहरूको पतन कसरी भयो, उनीहरूका पतनका कारण के के हुन् भन्ने कुराको व्यञ्जना पनि पाइन्छ । यति मात्र नभएर प्रजातन्त्रमा के कस्ता विकृति र विसङ्गति देखिए, प्रजातन्त्र प्राप्तिपछि पनि नेपाली समाजको रूपान्तरण किन हुन सकेन भन्ने तथ्यलाई पनि व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको देखिन्छ । यस चरणका कथा ‘कथैकथा’ कथासङ्ग्रहमा सङ्कलित छन् । गोठाले प्रथम चरणमा भन्दा यस चरणमा बढी समाज मनोवैज्ञानिक भएर देखिएका छन् । यो नै यस चरणको प्रमुख उपलब्धि हो ।

क्रान्तिपछि राणाहरूको पतन कसरी भयो भनेर ‘त्यो क्रान्तिको प्रतीक’ कथाले व्यञ्जित गरेको छ । कुलत छोड्न नसक्ने, अनैतिक, छाडा सँस्कृति भएका, भोगविलासमा चुर्लुम्म डुबेका, प्रेम र वात्सल्य बिर्सेका, दुराचारी, व्यभिचारी राणा सँस्कृतिले नै उनीहरूलाई पतन गरायो, साथै निम्न वर्गको दुर्गति, निम्न वर्गप्रति उनीहरूले गरेको घृणा पनि क्रान्तिको कारण हो भनेर यस कथामा व्यञ्जित भएको छ । त्यस्तै ‘युवती र जरसाहेब’ कथामा पनि राणाहरूको ऐय्यासी मनोवृत्ति उद्घाटन गरिएको छ । यौन पिपासु राणाहरूलाई रातैपिच्छे नयाँ स्वास्नीमान्छे चाहिने र उनीहरूका व्यभिचारबाट अनेक अवैध सन्तान जन्मेका र आज तिनै सन्तति फेरि उनीहरूकै भोगविलासका साधन बनिरहेका छन् भन्ने तथ्यलाई यस कथाले प्रस्तुत गरेको छ ।

क्रान्तिपछि प्राप्त प्रजातन्त्रमा देखिएका विकृति, विसङ्गति र विडम्बनालाई ‘चुनाव’ कथाले अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । देउरानी र जेठानीको आर्थिक असमानाताको कारण सदाचारी राजनीतिज्ञ दाजु र भ्रष्टाचारी भाइ रहेका छन् । समाजमा सदाचार, नैतिकता, इमानदारिता, राष्ट्रियता ओझेलमा पर्दै गए, भ्रष्टाचार, अनैतिकता, धोका, निहितस्वार्थ अगाडि आएका छन् । समाजमा राम्रा मान्छे दीनहीन र अनादरणीय हुँदै गएका र नराम्रा मान्छे सम्पन्न, सुविधाभोगी र आदरणीय हुँदै गएको यथार्थप्रति यस कथाले ठूलो व्यङ्ग्य गरेको छ । अत्यन्त सदाचारी र समाजसेवी पतिलाई पत्नी मत नदिएर टोलमा गुण्डाका रूपमा परिचित भ्रष्ट व्यक्तिलाई मत खसाल्छे । ऊ जानीनाजी खसाल्दिन, उसको अवचेतनले खसाल्छ । तत्कालीन प्रजातान्त्रिक विकृतिप्रति यति गम्भीर व्यङ्ग्य गर्ने कथा नेपाली साहित्यमै कम छन् । ‘म जुजुमान’ कथामा पनि प्रजातन्त्र आएपछि प्रजातन्त्रवादीहरू कसरी सुविधाभोगी भए भन्ने व्यञ्जित गरिएको छ । पहिलेको सामान्य साँढुभाइ अहिले सरकारी सचिव र सुविभाभोगी भएको थियो, साली त्यस्तै भएकी थिई, उनीहरू अब पहिलेको अवस्थामा यथावत् रहेकाहरूसँग विभेदक व्यवहार देखाउँथे भनेर कथामा ध्वनित भएको पाइन्छ ।

क्रान्तिपछि नेपाली नारीमा आएको परिवर्तनलाई ‘कृष्णमैया’ कथाले व्यञ्जित गरेको छ । आइमाईलाई पुरानै दृष्टिले हेर्ने र हेप्ने, नारीले शिक्षित हुनु पर्दैन भन्ने र नारीलाई असमान दृष्टिले हेर्ने नेपाली पुरुष वर्गप्रति कथाले व्यङ्ग्य गरेको छ । बिहा नहुँदा केटीहरूमा कस्तो मनोभाव हुन्छ भनेर ‘चिहृना’ र ‘बिहा’ कथामा देखाएको छ । यी कथा यौनमनोवैज्ञानिक पनि हुन् । बिलासी मनोवृत्ति र हृदयहीनता र सामन्ती चरित्रलाई ‘मालिकको कुकुर’ कथामा चित्रित गरिएको छ । सहरी सभ्यता र काँठे, सभ्यता बिचारको भिन्नता वा गाउँले मान्छे सहरीयालाई चालचलन देखेर कति हीन भावनाले ग्रसित हुन्छ भन्ने कुरालाई ‘म जुजुमान’ कथाले देखाएको छ । परम्परावादी आमा बाबु र प्रेम गर्ने छोरीबीच भएको द्वन्द्वले र प्रेम बिहा गरेको लोग्ने मर्नाले अथवा बेसहारा भएकी युवती वेश्यावृत्ति गरेर जीवन यापन गरिरहेकी छ । ऊ सामाजिक भयले आमाको मुख हेर्न जान सक्तिन । त्यस्ती नारीको मनोदशाको चित्रण ‘के गरेकी शोभा’ कथामा गरिएको छ । देउरानी जेठानीबीचको द्वन्द्वलाई ‘मेरो बाबा’ कथाले देखाएको छ । उनीहरूले एकअर्काको बच्चा एक अर्काले मन पराएका छैनन् तर एकै ठाउँमा बस्न बाध्य छन् । भावुक र वासनात्मक प्रेम गर्ने युवतीको चित्रण ‘बिचरी ऊ’ कथामा गरिएको छ । ‘भाँडो’ कथामा जवान नोकर जसमा यौन भावना छन् तर उसको मनोभावना धनीहरूले बुझ्दैनन्, ऊ जवान मालिक्नीले नुहाएको हेरेर कामुक हुन्छ र भित्रभित्रै मुर्मुरिन्छ तर मालिक्नी उससँग लाजै मान्दिन । त्यही विषम परिस्थितिलाई कथाले देखाएको छ । यो यौन मनोवैज्ञानिक कथा पनि हो । ‘बेसुर’ कथामा पत्नी मरेपछि छोरालाईर् हुर्काउन बिहा नगरी बसेको र छोरो डाक्टर हुन लाग्दा अपराधीले बेकसुरमा छोरो मारिदिँदा झन् असहाय भएको पिताको मनोदशा देखाइएको छ । त्यस्तै ‘ज्यानमारा’ कथामा ज्यान मारेर भागेको अपराधीको पछुतो व्यक्त भएको छ ।

यसरी यस चरणका कथा अपराध मनोविज्ञान, यौन मनोविश्लेषण, हीनत्वग्रन्थिको विश्लेषण, अहम् भावको विश्लेषण गर्नाले मनोविश्लेषणात्मक भएका छन् भने क्रान्तिपछिको सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिकपक्ष पनि कथाले उक्तिकै चित्रित गरेका छन् । पात्रका अवचेतन मनको द्वन्द्व विभिन्न सामाजिक समस्याले गर्दा भएको देखिन्छ । यस चरणका कथा जति मात्रामा मनोवैज्ञानिक छन्, त्यति मात्रामा सामयिक र सामाजिक पनि भएका छन् । व्यक्तिमनलाई भन्दा समाज मनलाई व्यञ्जित गर्ने कथा धेरै छन् । समाज र मनोविज्ञानको सम्मिश्रण अत्यन्त सघन रूपमा भएको छ । त्यसैले गोठाले यस चरणमा आएर काठमाडौँ सहरीया जवीनका वास्तविक मनोचित्रकार भएर देखिएका छन् ।

(ग) तृतीय चरण (वि.सं. २०१७ देखि २०४० सम्म)

वि.सं. २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक सरकार अपदस्थ गरी एकदलीय निरङ्कुश पञ्चायती व्यवस्था लागू गरे । देश फेरि एक प्रकारले जहानियाँ शासन व्यवस्था जस्तैमा फर्कियो । प्रजातान्त्रिक वातावरणमा स्वतन्त्रताको निर्बाध उपयोग गरेर साहित्य सिर्जना गरिरहेका स्रष्टाहरूको लेखनमा अङ्कुश लाग्यो । स्रष्टाहरू पनि सत्ता समर्थक र सत्ता विरोधी भएर दुई खेमामा विभाजित भए । गोठालेलाई सत्ताको समर्थन गर्न भनियो त र उनले मानेनन् । उनले स्वतन्त्र भएरै साहित्य सिर्जना गर्न रुचाए । त्यस्तै नेपाली कथाको दोस्रो चरण अर्थात् २०२० सालपछि नयाँ प्रकारका कथा लेखिन थाले । प्रथम चरणको जस्तो कथाकारले यथार्थवादमा मात्र सीमित भएर कथा लेख्ने छाडे । विसङ्गतिवादी अस्तित्ववादी, प्रयोगवादी कथा लेख्न सुरु गरे । गोठालेले भने आफ्नो पुरानै परिपाटीमा कथा लेखिरहे । यस चरणका कथामा तत्कालीन समयका राष्ट्रिय र राजनीतिक समस्यासँग सम्बन्धित कथा उनले लेखेनन् तर जीवनसापेक्ष कथा भने लेखिरहे । मनोवैज्ञानिक दृष्टिले गोठालेको कथाकारलाई हेर्दा ऊ वर्तमान परिस्थिति कष्टकर भएपछि भोगिसकेको सुखको खोजी गर्न विगतको स्मृतिमा गएको वा विगततिर फर्केको जस्तो देखिन्छ । उनको यस चरणको प्रतिनिधित्व गर्ने कथासङ्ग्रह हो ‘प्रेम र मृत्यु’ । यसमा दुई खाले कथा सङ्कलित छन् । एक खाले कथा यौन मनोविश्लेषणात्मक छन् भने अर्का खाले कथा सामाजिक छन् । ‘हवाईजहाजको गर्भ’, ‘आधार’, ‘मैले सरिताको हत्या गरेँ’, ‘विस्मृतितिर लम्केको स्मृति’, ‘अज्ञात’, ‘प्रेम र मृत्यु’, ‘खेल’ आदि कथा यौन मनोविश्लेषणात्मक छन् । ‘मोड’, ‘साठी रुपियाँ’ जस्ता कथा राजनीतिक वा सामाजिक छन् ।

यौन मनोविश्लेषणात्मक कथामध्ये ‘हवाईजहाजको गर्भ’ कथामा विदेश पढ्न प्लेनमा उडिरहेकेा युवकले प्लेन दुर्घटना हुन आँट्यो भन्ने थाहा पाएर परिचारिकासँग यौन भावनाले टाँसिएको, युवतीलाई चुम्बन गरेको बयान गरिएको छ । मृत्युभयमा पनि युवकको अन्तर्मनमा अतृप्त रहेको यौन चाहना अचानक र आश्चर्य लाग्दो किसिमले प्रकट भएको तथ्यलाई कथाले देखाएको छ । ‘आधार’ कथामा त्यस्ती पत्नीको मनोविश्लेषण गरिएको छ, जसको पति परदेश गएको छ । ऊ हिन्दु आदर्श भएकी पतिव्रता नारी हो । उसका दुइटा छोराछोरी पनि छन् । यौन अतृप्ति छन् । ऊ तिनलाई दबाएर बसेकी छ तर पतिको साथी परदेशबाट आएको छ । ऊ त्यसलाई आफ्नै पति देख्न थाल्छे । उसको अवचेतनले त्यसलाई पति नै मानिसक्छ र ऊ त्यससँग सम्भोगरत हुन्छे । उच्च जातकी केटीलाई तल्लो जातको केटाले मन पराउँछ तर समाजले बिहा गर्न दिँदैन भन्ने जानेर ऊ अनेक आइमाईसँग लागेर व्यभिचारी हुन्छ । टोलमा रहेका सबै वेश्याहरू उसको क्रूरताबाट त्रसित हुन्छन् । ऊ उच्च जातकी प्रेमिकालाई बिर्सन सक्तैन । प्रेमिका यस्तो बदमास केटाबाट मुक्ति चाहन्छे सधैँका लागि, त्यसैले ऊ एक पटक केटालाई शरीर समर्पण गर्न आँट्छे तर केटो प्रेमिकालाई सधैँ प्राप्त गर्न नसकेपछि आफू पनि मर्ने र केटीलाई पनि मार्ने योजनाले केटीको घरमा गएर शरीर समर्पण गर्ने प्रेमिकालाई मार्छ र आफू पनि मर्न खोज्छ तर सक्दैन । यस्तो यौन अपराधलाई ‘मैले सरिताको हत्या गरेँ’ कथाले देखाएको छ । ‘विस्मृतितिर लम्किएको स्मृति’ कथामा यस्ती केटीको यौन मनोविश्लेषण गरिएको छ जो आफूलाई अत्यन्त मन पराउने आफू समानको केटालाई मन नपराई घरको मालिकको छोरालाई मन पराउँछे तर मालिकको छोरो आँट नभएको छ । ऊ निराश भएर घरै छोडेर भाग्छे । ‘अज्ञात’ कथामा धेरै केटाले मन पराएर प्रेमपत्र लेखेका तर केटीले भने ती कसैलाई मन नपराई नचिनेकासँग बिहा गर्न खोजेको देखाइएको छ । आफूले अत्यन्त मन पराएकी केटीले अरूसँगै बिहा गरेपछि आत्महत्या गर्न खोज्ने र पछि प्रेम त प्रयोग रहेछ भनेर थाहा पाएपछि आत्महत्या गर्नु नपर्ने रहेछ भनेर मनोज्ञान प्राप्त गर्ने केटाको यौन मनोविश्लेषण ‘प्रेम र मृत्यु’ कथाले गरेको छ । युवकयुवती प्रेम गर्छन्, घरबाट भाग्छन् तर प्रेम सफल हुँदैन । त्यस्ता प्रेमी प्रेमिकाको यौन मनोविश्लेषण ‘खेल’ कथामा भएको छ ।

‘मोड’ कथामा जनताको छोरो र जर्नेलको छोराबीच फुटबल खेल्दा झगडा हुन्छ । जनताको छोरालाई मैदानमै जर्नेलको छोराले कुट्छ, उसका अङ्गरक्षकले पनि कुट्छन् । जनताको छोरालाई घरमा बाबुले मेरो जागिर जाने भो, तैँले राणाहरूसँग झगडा गर्नु हुँदैनथ्यो भनेर गाली गर्यो । छोराले पढाइ छोडिदियो । यस्तै अत्याचार गरेको हुनाले राणा शासन गयो तर त्यसका बदलामा आएको शासन राणाशाहीकै अवशेष भयो भनेर देखाइएको छ । यो राजनीतिक कथा हो र साथै राणाकालीन जनताको समाज मनोविज्ञान पनि हो । ‘साठी रुपियाँ’ कथामा विपन्नताले दबाई गराउन नसक्ने गरिबको दुःखद मृत्युको चित्रण गरेको छ र अस्पतालमा हुने भ्रष्टाचारलाई पनि व्यञ्जित गरिएको छ ।

यसरी यस चरणका कथाहरू मूलतः यौन मनोवैज्ञानिक छन् । यिनले विभिन्न अवस्थामा परेर यौन अतृप्तिको शिकार भएका युवकयुवती, प्रेमी प्रेमिका, पत्नी आदिको यौन मनोविश्लेषण गरेका छन् । खास गरी यौन अतृप्तिहरू अवचेतन मनमा रहेका र त्यही मनको विश्लेषण गरिएका कथा बढी छन् । राणाशासनको पतन र त्यसपछिको शासन व्यवस्थाले गरिबको कल्याण गर्न नसकेको र देशको स्वास्थ्य क्षेत्रमा पनि भ्रष्टाचार बढेको कुरालाई पनि कथाले व्यञ्जित गरेका छन् ।

(घ) चतुर्थ चरण (वि.सं. २०४० देखि २०६१ सम्म)

यस अवधिमा नेपालमा राजनीतिक अस्थिरता शिखरमा पुगेको थियो । पञ्चायती व्यवस्था निरङ्कुश भएकाले ३० वर्षको अथक प्रयासपछि नेपालीले त्यसलाई ढाली छाडे । फेरि प्रजातन्त्र आयो तर त्यो पनि स्थिर हुन सकेन । देशमा द्वन्द्व र युद्ध चक्र्यो, हजारौँ मान्छे मरे, राजतन्त्र हट्यो, सङ्घीय गणतन्त्रको स्थापना भयो । कथा लेखनमा पनि अनेक परिवर्तन आए । नेपाली कथाले यी सबै पक्षलाई समेट्यो तर गोठालेका कथामा भने यी सबै परिवर्तनको प्रभाव परेको देखिँदैन । यस चरणका उनका कथा कि त राणाकालीन समाजको मनोविश्लेषणसँग सम्बन्धित छन् कि त व्यक्ति मनोविश्लेषपणसँग सम्बन्धित छन् कि केही मात्रामा नेपाली कथामा आएका नवीन प्रवृत्तिसँग पनि सम्बन्धित छन् । यस चरणका उनका कथामा देशको समसामयिक राजनीतिक, साँस्कृतिक अवस्थाको झल्को पाइन्न, बरु शाश्वत र सार्वकालिक मानवीय भावना र समस्याको उद्घाटन भएको पाइन्छ । यस चरणको प्रतिनिधित्व गर्ने कथासङ्ग्रहमा ‘बाह्र कथा’ र ‘जङ्गबहादुर र हिरण्यगर्भकुमारी’ रहेका छन् ।

‘बाह्र कथा’ मा सङ्कलित कथाहरूमध्ये राणाकालीन ऐतिहासिक घटना, किँवदन्ती, तत्कालीन समाज र परिवेशसँग सम्बन्धित कथाहरूमा ‘इतिहासले बिर्सेको घटना’, ‘त्यस बखत भएको यो कुरा’, ‘यस्तो पनि भएको थियो’ ‘बुबू’ ‘छोरीको बाबु’, आँखा’ आदि पर्दछन् । ‘इतिहासले बिर्सेको घटना’ कथामा एउटी षोढषीलाई बूढो राजाको खोपीमा रानी बनाएर पठाइन्छ । षोढषीलाई भोग्न नसकेर बूढो राजा मर्छ । राजासँग सती जान अरू पत्नीलाई जस्तै षोढषीलाई पनि बाध्य पारिन्छ । आर्यघाट जाँदै गरेकी षोढषीलाई उसको प्रेमीले बाटामा देख्छ । बूढो राजाको चितामा जबर्जस्ती जलाउँदै गरेकी षोढषीमाथि हामफालेर प्रेमी पनि मर्छ । ‘त्यस बखत भएको यो कुरा’ कथामा जङ्गबहादुरले आफूसँग बेलायत गएर फर्केको मुसेकाजीलाई टाउकामा ज्यापूको मुत छर्केर जात च्युत गराएको र फेरि जात फर्काएको तर मुसेकाजीले जङ्गबहादुरले फर्काएको जात ग्रहण नगरेर मौन विद्रोह गरेको कुरालाई देखाइएको छ । ‘यस्तो पनि भएको थियो’ कथामा जङ्बहादुरले जबर्जस्ती ज्यानमारा बनाइएको व्यक्तिलाई ज्यान मारेकेा भनेर बकाउन रिसले कुट्न थालेको तर ज्यान मारेको छैन भनेर जङ्गबहादुरसँग प्रतिवाद गर्दै मरेको निर्दोष व्यक्तिको साहसका अगाडि जङ्गबहादुर परास्त भएको कुरा देखाइएको छ । ‘बुबू’ कथामा आर्थिक कारणले जन्मने बित्तिकैको छोरो छोडेर दरबार पसेकी बुबूको खेर गएको ममता देखाएको छ । उसको ममता न आफ्ना छोराका लागि काम लाग्यो न दूध चुसाएको राणाको सन्तानका लागि । ‘आँखा’ कथामा राणाशासन पतन भएपछि दरबारका बैठकेहरू पनि गरिब भए । उनीहरूका पत्नीहरू विपन्न लोग्नेलाई हेर्न चाँहदैनन् र बैठकेहरू पनि पत्नीको आँखा हेर्न सक्तैनन् भनेर चित्रण गरिएको छ । ‘छोरीको बाबु’ कथामा दरबार पसेकी छोरी फर्काउन बाबु सहर आएको तर छोरी दरबार छोडेर बाबुसँग नफर्केको र निराश भएर बाबु एक्लै फर्केको कुरा देखिएको छ ।

यौन मनोविश्लेषण गर्ने कथामा ‘गीता र मीना’, ‘सुशीला भाउजू’, र बलात्कार पर्दछन् । ‘गीता र मीना’ मा स्त्री समलिङ्गी यौन मनोविश्लेषण गरिएको छ । ‘सुशीला भाउजू’ कथामा राणादरबारमा बिहा हुनाले बन्धनमा परेकी, पतिले चाहेका बेलामा भोगिने, बहुगामी पतिले परपुरुषलाई हेरी भनेर झन् बन्धनमा पारिएकी, ५० वर्षकी आइमाईले पति मर्ने बित्तिकै घर ओरिपरिको पर्खाल भत्काएर पल्लो घरको केटालाई बोलाई अँगालो मारेको र म्वाइँ खाएर यौन अतृप्ति मेटेको देखाइएको छ । ‘बलात्कार’ कथामा पत्नी गुण्डाहरूबाट आँखा अगाडि बलात्कृत भएपछि पतिले तिरस्कार गर्न थालेको, बेग्लै सुत्न थालेको तर पूर्वप्रेमिकाले बाटामा हालखबर सोधेपछि पतिका मनमा यौन भावना जागेको र राति बेग्लै सुतेकी पत्नीलाई झम्टन पुगेको र पुनः बलात्कार हुन आँट्दा तर्सिएकी पत्नीको मनस्थितिको चित्रण गरिएको छ ।

‘बाढी’, ‘आगलागी’ र ‘साधन’ कथाहरू सामाजिक र राजनीतिक विषय भएका छन् । ‘बाढी’ कथाले तराई समाजको चित्रण गरेको छ । गाउँमा बाढी आउँदा मालिक र नोकरका परिवार सबै बग्छन् तर मालिक र नोकर भने बाढी पीडितहरूको शिविरमा भेट हुन्छन् । शिविरमा दुवै समान भएका छन्, पहिलेको धनी र गरिबको, मालिक र नोकरको विभेद हटेको छ । दुवै अर्काले दिएको मागेर खाइरहेका छन् र बाँचिरहेका छन् । ‘आगलागी’ कथामा चुनाव जित्न गरिने षडयन्त्र छ । टोलमा साहसी काम गरेर राजनीतिज्ञ भएको र चुनाव जित्न कसैलाई चोरीको आरोप लगाइदिने, कसैका घरमा आगो लगाइदिने गरिन्छ भनेर फोहोरी चुनावी राजनीतिप्रति व्यङ्ग्य गरिएको छ । ‘साधन’ कथामा पत्नी मरेपछि छोरी मावलमा जिम्मा लगाएर विदेशिएको र अन्त्यमा आर्यघाटमा आएर बस्दा आफूले सानैमा छोडेकी छोरी देखेर जीवन साधन मात्र रहेछ भनेर चाल पाएको मान्छेको एकाकीपनको चित्रण गरिएको छ ।

यसरी यस सङ्ग्रहका कथाले मूलतः राणाकालीन घटना, तत्कालीन समाज र त्यति बेलाको चालचलन, शोषण, दमन र समाज मनोविज्ञानलाई देखाएका छन् । त्यस्तै यौन मनोविश्लेषणका अनेक पक्षलाई उद्घाटन गर्नुका साथै समाजमा व्याप्त सामाजिक र राजनीतिक उत्पीडनलाई पनि व्यञ्जित गरेका छन् । ‘जङ्गबहादुर र हिरण्यगर्भकुमारी’ मा सङ्कलित कथाहरूमध्ये ‘जङ्गबहादुर र हिरण्यगर्भकुमारी’, ‘मान्छे’ कथा ‘सेतो बाघको’ कथाहरू राणाकालीन सन्दर्भ र घटनासँग सम्बन्धित छन् । खास गरी जङ्गबहादुरका जीवनसँग सम्बन्धित छन् । ‘जङ्गबहादुर र हिरण्यगर्भकुमारी’ ऐतिहासिक कथा हो । यसमा जङ्गबहादुरले फत्तेजङ्गकी बहिनी जबर्जस्ती बिहा गरेर ल्याएको, हिरण्यगर्भकुमारीले जङ्गबहादुरलाई सुहागरातमा मार्ने दाउ गरेको तर छुरी झर्दा जङ्गेले चाल पाएको र पछि दुवैमा प्रेम भएकाले जङ्गबहादुर मर्दा पत्नी सती गएको घटनाको चित्रण गरिएको छ । ‘मान्छे’ कथामा जङ्गबहादुरसँग बिहा गर्न ल्याइएकी केटीको बिहा जङ्गबहादुर जग्गेमा उपस्थित हुन नसक्दा कलशसँग भएको र पछि सुहागरात मनाउन जङ्गबहादुर आउँदा केटीले मेरो बिहा त कलशसँग भएको छ, तिमी त मान्छे हाँै भनेर केटी हिँडेको प्रसङ्गलाई चित्रण गरिएको छ कथा ‘सेतो बाघको’ कथा पनि ऐतिहासिक हो । जङ्गबहादुरलाई सेतो बाघले लगेको सपना देखेर धीरशमशेर काठमाडौँ आए, फेरि चितौन गए, जङ्बहादुरको चितामा सती जाने महारानी मात्र देखिइन् शव देखिएन र त्यस्तो खबरले काठमाडौँका जनमानसमा कस्तो त्रास फैलियो भनेर चित्रण गरिएको छ ।

समाज मनोवैज्ञानिक समस्यासँग सम्बन्धित कथाहरूमध्ये ‘कुसुम दिदी’, ‘हराएकी केटी’, ‘कुलदेवी’ र ‘पियानानी’ पर्दछन् । यी नारीवादी वा नारी समस्यासँग सम्बन्धित छन् र अरू बाँकी कथा ‘पूर्णमानको घर’, ‘लाटो’ र पचास हजार’ मा अन्य समस्या छन् । ‘कुसुम दिदी’ कथामा लोग्नेले अर्कै केटी ल्याएर छोडेकी, दुइटा सन्तानकी आमा भइसकेकी पत्नी जसले पतिलाई अझै माया मार्न सकेकी छैन, त्यसको लोग्ने हस्पिटलमा मर्न लागेको छ भन्ने थाहा पाएर ऊ लोग्ने हेर्न गएकी छ, यसमा त्यस बेलाको उसको मनस्थितिको चित्रण भएको छ । ‘हराएकी केटी’ कथामा बम्बै पुर्याइएको र वेश्यावृत्तिमा जबर्जस्ती प्रवेश गराइएकी केटीले दिनैपिच्छै भोग्नुपर्ने बलात्कारको पीडा देखाइएको छ । यसका साथै वेश्याबाट जन्मेका सन्तानको अङ्ग बेचेर पैसा कमाउने कार्यको पनि चर्चा गरिएको छ । ‘कुलदेवी’ कथामा सानैमा बिहे भएकाले घरमै बसेकी केटी जसलाई टोलका केटा असाध्यै मन पराउँछन् । लोग्नेले पत्नी अर्कै केटासँग लागी, सम्बन्ध विच्छेद गरिपाऊँ भनेर अदालतमा मुद्दा दिन्छ । केटी अदालतमा जाँदा सयौँ युवाहरू उसलाई हेर्न बाटामा बसेका हुन्छन् । ऊ अदालतमा बयान दिएर फर्कन्छे, तर पहिलेको जस्तो लज्जा उसमा हुँदैन । ऊ कालान्तरमा टोलकै नराम्रो अधबैँसेसँग पोइल गएको प्रसङ्गलाई चित्रण गरिएको छ । ‘पिय नानी’ कथा लघु उपन्यासका नामबाट समकालीन साहित्यमा २०५६ सालमा प्रकाशित भएको पाइन्छ । तर यो लघु उपन्यास नभएर कथा नै हो । यसमा बिहे गरेको लोग्ने मर्ने भो भनेर बाबुआमाले छोरीलाई केटाको सिरानीमा सुपारी राख्न लगाएर फिर्ता ल्याउँछन् । केटो मर्दैन र केटी पनि केटालाई बिर्सन सक्तिन । बाबुआमाले पछुतो गरे, अरू अनेक केटासँग बिहा गरिदिन खोजे, तर केटीले कसैलाई मन पराइन । उसको कसैसँग बिहै हुन सकेन । यसमा यही प्रसङ्गलाई चित्रण गरिएको छ । ‘पूर्णमानको घर’ कथा चाहिँ लघु उपन्यास हुन सक्छ, तर यसलाई कथा भनेर प्रकाशित गरिएको छ । यसमा कथा जस्तो जीवनको एक पक्षको चित्रण नभएर, एउटै व्यक्तिको समस्या विशेष नभएर काठमाडौँली समाजको व्यापक परिवेश समाविष्ट भएको छ । काठमाडौँको समाजमा आएको परिवर्तन, आधुनिकीकरण र सोचमा, बानीमा, व्यवहारमा कसरी परिवर्तन आउँदै गयो त्यसलाई देखाइएको छ । यसमा राणाकालदेखि पञ्चायती व्यवस्था लागू हुँदासम्मको समयावधि समेटिएको छ । पुरानो कुरा जति नै प्रिय भए पनि त्यसलाई सधैँ समातेर बस्न सकिँदैन, परिवर्तन आउँछ । काठमाडौँली समाजमा, घरनिर्माणमा, राजनीतिमा के कस्ता परिवर्तन आए र पूर्णमानको घर पनातिले बेच्यो त्यसलाई जोगाउन सकिएन । यिनै कुरालाई यसमा देखाइएको छ । ‘पचास हजार’ कथामा आर्थिक विपन्नताले बच्चाका मनमा पारेको प्रभावको चित्रण गरिएको छ । यो बाल मनोविश्लेषणात्मक कथा पनि हो । बसले किच्दा क्षतिपूर्ति स्वरूप पैसा पाइन्छ भन्ने थाहा पाएर गरिब कुल्लीको छोरो किचिएर मर्न खोज्छ, तर जोगिन्छ । यही प्रसङ्गलाई कथामा चित्रण गरिएको छ । ‘लाटो’ कथा तराईको ग्रामीण परिवेशमा आधारित छ । लाटाकी स्वास्नी खराब व्यक्तिसँग भागी । त्यसलाई फर्काउन गाउँका व्यक्तिहरू गए, तर लाटाकी स्वास्नी फर्काउन सकेनन्, बिहा खर्च फर्काएर ल्याए । लाटो सारै निराश भयो । ऊ आफै गएर आफ्नी पत्नी फर्काएर ल्यायो । यही प्रसङ्ग कथामा मूल कथ्य भएर आएको छ ।

यसरी यस सङ्ग्रहका कथा प्रायः नारीसमस्या, ऐतिहासिक प्रसङ्ग र समाज मनोविश्लेषणसँग सम्बन्धित देखिन्छन् । यिनले एकातिर राणाकालीन घटना र समाजको चित्रण गरेका छन् भने अर्कातिर नारीका, बालकका, लाटाका समस्या पनि उधिनेका छन् । त्यस्तै नेपालमा आएका अनेक परिवर्तन जो अवश्यम्भावी छन् तिनको व्यञ्जना पनि गरेका छन् ।

माथि चर्चा गरिएको गोठालेको कथायात्रा, यसमा आएका प्रमुख मोड र प्रवृत्तिहरू नै गोठालेका कथाका मूल प्राप्ति वा उपलब्धि हुन् । यसबाट गोठालेले आधुनिक नेपाली कथाको क्षेत्रमा गरेको योगदान व्यञ्जित हुन्छ । खास गरी आधुनिक नेपाली कथाको प्रथम चरणदेखि नै उल्लेख्य रहेको मनोविश्लेषणात्मक कथा लेखन परम्परालाई निरन्तरता दिने थोरै कथाकारमध्ये एक विशिष्ट कथाकारका रूपमा गोठाले सँधै अमर रहने प्रतिभाका रूपमा चिनिन्छन् ।

गोठालेका कथाका मूल प्रवृत्ति वा विशेषता

गोठालेको कथायात्राको अध्ययनपछि उनका कथाका मूल प्रवृत्ति वा विशेषता ठम्याउन सजिलो हुन्छ । उनका प्रवृत्तिलाई कथ्य विषयसँग सम्बन्धित र अभिव्यक्ति पक्षसँग सम्बन्धित भनेर छुट्टयाएर देखाउन सकिन्छ । त्यस्तै उनका प्रमुख प्रवृत्ति र विशेषताहरूमध्ये कतिपय उनको कथायात्राको प्रथमचरणदेखि अन्तिम चरणसम्म विद्यमान देखिन्छन् भने कतिपय चरण विशेषमा थपिएका पनि देखिन्छन् । यहाँ उनका कथाका विषयगत वा कथ्यगत प्रवृत्ति र अभिव्यक्तिगत प्रवृत्तिका सबै प्रमुख पक्षलाई उल्लेख गर्ने प्रयत्न गरिएको छ ।

(क) व्यक्ति मनोविश्लेषणात्मकता

गोठालेका कथाको यो प्रवृत्ति प्रथम चरणदेखि चतुर्थ चरणसम्म विद्यमान रहेको देखिन्छ । यसलाई यौनमनोविश्लेषणात्मक र यौनेतर मनोविश्लेषणात्मक गरी दुई वर्गमा विभाजन गर्न सकिन्छ । यौन मनोविश्लेषणात्मक कथाहरू गोठालेले प्रथम चरणदेखि नै लेख्न थालेको देखिन्छ । ‘एउटा पुरानो कथा’ प्रथम चरणको हो । यसमा स्वास्नी खुसी पारेर राख्न नसक्ने लोग्नेको यौनजन्य हीनत्व ग्रन्थिले जन्माएको प्रतिशोधमुखी मानसिक अवस्थाको चित्रण गरिएको छ । दोस्रो चरणमा ‘बिहे’, ‘चिहृना’, ‘भाँडो’, ‘युवती र जरसाहेव’ जस्ता कथामा यो प्रवृत्ति पाइन्छ । बेलामा बिहा हुन नसक्दा युवतीमा हुने यौन कुण्ठा ‘बिहा’ र ‘चिहृना’ कथामा देखाइएको छ । नुहाउँदै गरेकी मालिक्नीको शरीर देखेर यौनानुभूतिले हुरुक्क भएको नोकरको मनस्थितिको चित्रण ‘भाँडो’ कथामा गरिएको छ । ‘युवती र जरसाहेब’ कथामा दिनैपिच्छे नयाँ केटी चाहिने जरसाहेबको यौनतृष्णा प्रतिबिम्बित भएको छ । तेस्रो चरणमा यो प्रवृत्ति अझ व्यापक भएको देखिन्छ । ‘खेल’ ‘आधार’, ‘हवाईजहाजको गर्भ’, ‘अज्ञात’, ‘प्रेम र मृत्यु’ ‘मैले सरिताको हत्या गरेँ,’ ‘विस्मृतितिर लम्केको स्मृति’ जस्ता कथामा नरनारीका यौनजन्य मनोदशाका अनेक पक्षको उद्घाटन गरिएको छ । यस चरणमा गोठाले मूलतः यौन मनोवैज्ञानिक कथाकारका रूपमा प्रतिष्ठित भएका देखिन्छन् । यौन मनोविश्लेषणका दृष्टिले यो चरण विशेष उल्लेख्य रहेको देखिन्छ । त्यस्तै चौथो चरणका ‘गीता र मीना’ ‘सुशीला भाउजू’, ‘बलात्कार’ ‘कुलदेवी’ ‘पियानानी’ आदि कथाहरू यौनलाई कथ्य बनाएर लेखिएका छन् । यी कथाले नरनारीका यौनमूलक मनोदशाका विविध अवस्थालाई व्यञ्जित गरेका छन् । गोठालेका यौन मनोविश्लेषणात्मक कथाहरू प्रायः सबै विषम लिङ्गीबिचको यौन र यौनजन्य मनोदशाको विश्लेषण गर्ने देखिन्छन् , तर ‘गीता र मीना’ कथा भने नारी समलिङ्गी यौनसँग सम्बन्धित छ ।

यौनेतर मनोविश्लेषण गर्ने कथाहरूलाई बाल मनोविश्लेषणात्मक, अपराध मनोविश्लेषणात्मक, विक्षिप्त मनोविश्लेषणात्मक, असामान्य मनेविश्लेषणात्मक भनेर छुट्टयाउन सकिन्छ । बाल मनोविश्लेषणात्मक कथाहरू प्रायः प्रथम चरणमा लेखिएका छन् । ‘त्यसको भाले’ ‘निद्रा आएन’, ‘महापाप’, ‘लक्ष्मीपूजा’ आदि कथाले दीनहीन अवस्थामा परेका, समाजमा प्रचलित कुरीति र अन्धविश्वासले सताइएका बालबालिकाको मनोदशाको विश्लेषण गरेका छन् । गोठालेले दोस्रो र तेस्रो चरणमा यस प्रवृत्तिका कथा लेखेका छैनन्, तर चौथो चरणमा ‘पचास हजार’ नामक कथा भने बाल मनोविज्ञानमा आधारित देखिन्छ । अपराध मनोविश्लेषण गर्ने कथाहरूमध्ये प्रथम चरणका ‘कृष्णे र खुकुरी’ एउटा पुरानो कथा,’ ‘भय’ पर्दछन् । दोस्रो चरणमा ‘ज्यानमारा’ कथा पर्दछ । तेस्रो चरणमा ‘मैले सरिताको हत्या गरेँ’ लेखिएको देखिन्छ । चौथो चरणमा यस्तो प्रवृत्तिमा आधारित कथा लेखिएका छैनन् । विक्षिप्त मनोदशाको चित्रण गर्ने कथामा प्रथम चरणको ‘एउटा घटना’ पर्दछ । दोस्रो चरणको ज्यानमारा, तेस्रो चरणको ‘मैले सरिताको हत्या गरेँ’ र चौथो चरणको ‘यस्तो पनि भएको थियो’ आदि पर्दछन् । असामान्य मनोविश्लेषण गर्ने कथा थुप्रै छन् । वास्तवमा सम्पूर्ण मनोविश्लेषणात्मक कथाहरू असामान्य मनोविज्ञानमै आधारित हुन्छन्, तापनि यहाँ केही त्यस्ता विशेष कथाको छनोट गरिएको छ । यस्ता कथा यौनेतर मात्र नभएर यौन मनोविश्लेषणात्मक पनि छन् । यौनेतर असामान्य मनोविश्लेषण गर्ने कथा मध्ये ‘निद्रा आएन’, ‘कृष्णे र खुकुरी’, ‘एउटा मृत्यु’, ‘चुनाव’, ‘त्यो क्रान्तिको प्रतीक’, ‘के गरेकी शोभा’, ‘ज्यानमारा’, ‘मान्छे’ आदि पर्दछन् । यी कथाले पात्रका असामान्य व्यवहार, मनोरोग आदिको चित्रण गरेका छन् ।

(ख) समाज मनोविश्लेषणात्मकता

गोठालेले व्यक्ति मनका साथै समाज मनको पनि विश्लेषण गरेका छन् । व्यक्ति र समाजबीचको अन्तक्रिर्यालाई गोठालेका कथाले विशेष महत्त्व दिएका छन् । समाजमा रहने व्यक्तिहरू बीचको अन्तक्रिर्याबाट व्यक्तिविशेषका विचार, भावना, सँवेदना र बानी बेहोरामा पर्ने प्रभावको अध्ययन समाज मनोविज्ञानले गर्दछ । गोठालेका कथाले प्रजातन्त्रपूर्व र त्यसपछिको नेपाली समाजको मनोविज्ञानको अध्ययन अत्यन्त सूक्ष्मतापूर्वक गरेको पाइन्छ । त्यसैले उनका धेरै कथाहरू समाज मनोविश्लेषणात्मक भएका छन् । प्रथम चरणका कथामध्ये ‘निद्रा आएन’ कथाकी सानीले आमालाई म मरेँ भने बाबु फर्केर आउनु हुन्छ त भन्नु, ‘लक्ष्मीपूजा’ को बालकले लक्ष्मीपूजा गर्न चोरी गर्नु आदि कार्य समाज मनोविज्ञानसँग सम्बन्धित छन् । त्यस्तै ‘औँठी’ कथामा नोकर्नीलाई दोषी देख्नु सामाजिक दृष्टि हो । यसरी नै दोस्रो चरणका प्रायः सबै कथाहरू, तेस्रो चरणका ‘मैले सरिताको हत्या गरेँ’ ‘मोड’, ‘आधार’, ‘खेल’, ‘अज्ञात’ आदि र चौथो चरणका ‘आँखा’, ‘सुशीला भाउजू’, ‘बाढी’, ‘त्यस बखत भएको कुरा’, ‘कुसुम दिदी’, ‘दुई बूढा’ ‘पचार हजार’ ‘कुलदेवी’ ‘पियानानी’ ‘पूर्णमानको घर’ आदि कथाले नेपाली समाजको मनोविश्लेषण गरेका छन् ।

(ग) सामाजिक यथार्थता

गोठालेलाई काठमाडौँली समाजको दुरुस्त चित्रण गर्ने कथाकार भनेर चिनिन्छ, तापनि उनले अन्य पहाडी र तराई समाजको चित्रण गर्ने कथा पनि लेखेका छन् । यस्ता कथामा ‘बाढी’, पचास हजार आदि पर्दछन् । गोठालेका कथाले नेपाली समाजमा व्याप्त अनेक समस्या देखाएका छन् । यस्ता केही समस्या देखाउने कथाको यहाँ उल्लेख गर्न सकिन्छ । नेपाली समाजमा व्याप्त गरिबी देखाउने कथामा प्रथम चरणको ‘लक्ष्मीपूजा’ दोस्रा चरणका ‘चुनाव’, ‘के गरेकी शोभा’, ‘भाँडो’ आदि, तेस्रो चरणको ‘साठी रुपिया’ र चौथो चरणमा ‘आँखा’, ‘छोरीको बाबु’, ‘बाढी’, ‘बुबू’ आदि पर्दछन् । यी कथाले आर्थिक विपन्नताका कारणले व्यक्तिहरूले भोग्नुपरेका सामाजिक समस्याको चित्रण गरेका छन् । नेपाली समाजमा व्याप्त लैङ्गिक विभेदलाई देखाउने कथामा प्रथम चरणका ‘निद्रा आएन’, ‘औँठी’ दोस्रो चरणका ‘के गरेकी शोभा’, ‘कृष्णमैया’, ‘चिहृना’, ‘बिहे’, तेस्रो चरणका ‘मैले सरिताको हत्या गरेँ’, ‘खेल’ र चौथो चरणका ‘सुशीला भाउजू’, ‘बलात्कार’, ‘बुबू’ ‘मान्छे’ आदि पर्दछन् । यी कथाले नेपाली समाजमा नारीहरूको स्थान, उनीहरूप्रति समाजको दृष्टिकोण र उनीहरूप्रति गरिने विभेद देखाएका छन् । वर्गीय विभेद देखाउने कथाहरूमा ‘लक्ष्मीपूजा’, ‘औँठी’, ‘भाँडो’ ‘त्यो क्रान्तिको प्रतीक’, ‘मालिकको कुकुर’, ‘म जुजुमान’, ‘आँखा’, ‘मोड’, ‘छोरीको बाबु’, ‘बुबू’, ‘बाढी’, ‘त्यस बखत भएको कुरा’, जङ्बहादुर र हिरण्यगर्भकुमारी, आदि पर्दछन् । प्रणय वा प्रेमलाई सामाजिक समस्या बनाएर लेखिएका कथामा ‘प्रेम र मृत्यु’, ‘खेल’, ‘मैले सरिताको हत्या गरेँ’, ‘के गरेकी शोभा’, ‘अज्ञात’, ‘इतिहासले बिर्सेको घटना’ आदि पर्दछन् ।

(घ) ऐतिहासिकता

गोठालेले इतिहाससँग सम्बन्धित विषयवस्तुमा आधारित कथा पनि लेखेका छन् । यस्ता ऐतिहासिक विषयवस्तु भएका कथा राणाकालीन इतिहाससँग सम्बन्धित छन् । यस्ता कथामध्ये कतिपय कथाहरू प्रसिद्ध ऐतिहासिक व्यक्तिका जीवनमा आधारित छन् भने कतिपय कथाहरू किँवदन्तीमा पनि आधारित छन् । त्यस्तै केही कथा ऐतिहासिक जस्ता तर वास्तविक ऐतिहासिक तथ्य नखुलाइएका पनि छन् । गोठालेले यस प्रवृत्तिका कथा दोस्रो, तेस्रो र खास गरी चौथो चरणमा लेखेका छन् । ऐतिहासिक जस्ता लाग्ने तर वास्तविक ऐतिहासिक तथ्य नखुलाइएका कथामा ‘युवती र जरसाहेब’, ‘त्यो क्रान्तिको प्रतीक’, ‘मोड’, ‘आँखा’ ‘छोरीको बाबु’ ‘बुबू’, ‘इतिहासले बिर्सेको घटना’ पर्दछन् । प्रसिद्ध ऐतिहासिक व्यक्ति अर्थात् जङ्गबहादुरका जीवनमा आधारित कथाहरूमा ‘यस्तो पनि भएको थियो’ ‘त्यस बखत भएको कुरा’, ‘जङ्गबहादुर र ‘हिरण्यगर्भकुमारी’, कथा ‘सेतो बाघको’, ‘मान्छे’, पर्दछन् । यी कथाले जङ्गबहादुरको व्यक्तित्वका अनेक पक्ष देखाएका छन् । गोठालेले यस्ता कथा विशेष गरेर वृद्धावस्थामा वा चौथो चरणमा लेखेका छन् । मनोवैज्ञानिक आधारमा हेर्ने हो भने व्यक्ति जब वर्तमानबाट असन्तुष्ट हुन्छ अनि अतीततिर पलायित हुन्छ । नेपालको चालिस र पचासको दशक राजनीतिक दृष्टिले अनिश्चित, अस्थिर, द्वन्द्व र हत्या, हिँसायुक्त थियो । त्यसबाट जोगिन गोठालेले यस्ता ऐतिहासिक कथा लेखेका हुन् कि जस्तो पनि लाग्दछ ।

(ङ) अस्तित्ववादी चिन्तन

अस्तित्ववादी चिन्तन वा विचारलाई कथ्य बनाएर गोठालेले कथा रचना गरेको देखिन्छ । उनका केही कथा अस्तित्ववादी विचारका सङ्केतक मात्र देखिन्छन्, तर ती पूर्ण अस्तित्ववादी नै चाहिँ होइनन्, किनभने तिनका पात्रहरू जीवनको विसङ्गति र अस्तित्वबोध असचेत रूपमै गर्दछन्, जस्तैः ‘कृष्णमैया’ की कृष्णमैया, ‘भाँडो’ कथाको भीमे, ‘मोड’ कथाको चन्द्रे, ‘म जुजुमान’ कथाको जुजुमान आदि तर ‘सुशीला भाउजू’, ‘दुई बूढा’, ‘साधन’, ‘यस्तो पनि भएको थियो’, ‘त्यस बखत भएको यो कुरा, जस्ता कथा अस्तित्ववादी चिन्तन वा विचारले प्रेरित भएर लेखिएका देखिन्छन् । सुशीला भाउजूको स्वतन्त्रता वा उन्मुक्ति, दुई बूढाको अस्तित्वहीनता र अकिञ्चनताबोध, ‘साधन’ को जेदुनाथको एकाकीपन र निरर्थकता र निस्सारता बोध’, ‘यस्तो पनि भएको थियो’, कथाको नायकले आफू निर्दोष छु भनेर देखाएको अदम्य साहस, ‘त्यस बखत भएको यो कुरा’ को मुसेकाजीको माथ्लो जातमा नर्फकने निर्णय सबै आस्तित्विक चेतनाबाट भएका छन् । उनको यो प्रवृत्ति चौथो चरणमा प्रकट भएको देखिन्छ । यी सबै विशेषता गोठालेका कथ्य विषय वा रुचि क्षेत्रसँग सम्बन्धित देखिन्छन् । यसपछि अभिव्यक्ति पक्ष वा रीति क्षेत्रसँग सम्बन्धित प्रवृत्ति वा विशेषताका बारेमा चर्चा गर्न सकिन्छ ।

(च) यथार्थवादी कथानक ढाँचा

गोठालेका कथाको कथानक ढाँचा यथार्थवादी छ । उनी मनोवैज्ञानिक कथा लेख्न निष्णात छन्, त्यसैले उनका कथाको कथानक सँरचना पात्रका मनोदशाको उद्घाटनमा आधारित छ । उनी एउटै कथामा थुप्रै घटना घटेको देखाउँदैनन् । एउटा वा दुइटा घटना लिन्छन् र तिनको प्रभाव नायक वा नायिकामा कसरी पर्यो भनेर विश्लेषण गर्छन् । त्यसैले उनका कथाले घटनाको अङ्कन नगरेर घटनाको प्रभावको उत्कर्ष देखाउँछन् । कथानकका आरम्भ, विकास, उत्कर्ष, सङ्घर्षह्रास र उपसँहार आदि अवस्थामध्ये गोठाले सर्वाधिक महत्त्व उत्कर्ष अवस्थालाई दिन्छन् । उनी आरम्भ, विकास, सङ्घर्षह्रास र उपसँहारलाई अति सङ्क्षिप्त रूपमा प्रस्तुत गर्छन् र कुनै समस्या उत्कर्षमा पुग्ने बित्तिकै कथा समाप्त गरिदिन्छन् । गोठालेका कथामा उत्कर्ष कति बेला हुन्छ र कस्तो हुन्छ भन्ने ठूलो कुतूहलता हुन्छ । उनी कथानक निर्माण गर्दा पात्रको मनोविश्लेषणलाई बढी ध्यान दिन्छन् । त्यसैले उनका कथामा सङ्क्षेप पद्धति र विश्लेषणात्मक पद्धतिको प्रयोग बढी भएको पाइन्छ । दृश्य विधि वा पद्धतिमा आउने सँवाद तत्त्वको प्रयोग पनि उनी कम गर्छन् । सँवाद दुई जनाका बीचमा मात्र नभएर पात्र एक्लै अवचेतन मनसँग पनि गरिरहेको देखिन्छ । यो गोठालेको कथा लेखनको विशेष प्रवृत्तिका रूपमा देखिएको छ । आकारका दृष्टिले उनका कतिपय कथा लामा छन् । जस्तै ः ‘पूर्णमानको घर’, यो कथा नभएर लघु उपन्यासजस्तो लाग्छ । अरू लामा कथामा ‘चुनाव’ ‘त्यो क्रान्तिको प्रतीत’, ‘खेल’, ‘आधार’ आदि पर्दछन् । जेहोस् उनका कथाको कथानक सँरचना पात्रको मनोदशाको विश्लेषण राम्ररी गर्न सक्ने र प्रभावकारी रहेको देखिन्छ ।

(छ) वर्गीय र वैयक्तिक विशेषतायुक्त चरित्रविधान

गोठालेका कथामा पात्रहरू थोरै देखिन्छन् । उनले प्रायः चरित्रप्रधान कथा नै लेखेका छन् । यथार्थवादी कथाकार भएकाले उनका चरित्र सामाजिक यथार्थसँग मेल खाने भएर देखिएका छन् । उनको चरित्रचित्रण गर्ने विधि अलि भिन्न छ । उनी पात्रले गरेका क्रियाकलाप र उसको सोचलाई नै चरित्र चित्रणको माध्यम बनाउँछन् । उनी यो पात्र यस्तो हो भनेर परिचय दिइरहँदैनन् । उनले गरिब, दीनहीन, निम्न वर्गका, समाजले कम महत्त्व दिने पात्रलाई अनुकूल बनाएर प्रस्तुत गरेका छन् भने सम्पन्न र उच्च वर्गका पात्रलाई प्रतिकूल बनाएर प्रस्तुत गर्छन् । मनोविज्ञानसम्मत चरित्रचित्रण गरिनाले उनका चरित्रहरू स्वाभाविक, जीवन्त र जीवनानुरूप भएका छन् । उनले समाजमा व्याप्त अन्धविश्वास, कुपरम्परा र कुरीति जस्ता समस्यामा परेका, उच्च वर्गबाट हुने शोषण, दमन, अन्याय र अत्याचारले पीडित, समाजमा व्याप्त अनेक प्रकारका विभेद जस्तै- लिङ्ग, वर्ग, जाति, आदिले विभेदित, तत्कालीन शासन व्यवस्थाका विकृति, विडम्बना र विरोधाभासबाट प्रताडित र आफ्नै मानसिक कुण्ठाले ग्रस्त पात्र चयन गरेका छन् । उनका पात्रहरू समाजसँग, सामाजिक संस्कारसँग देशको व्यवस्थाले उत्पन्न गराएका राजनीतिक, आर्थिक समस्यासँग र आफ्नै मानसिक कुण्ठासँग द्वन्द्व गर्छन् । पात्रहरू आन्तरिक र बाहृय दुवै प्रकारका द्वन्द्वले भुटभुटिएका देखिन्छन् । यिनै द्वन्द्वले नै तिनलाई जीवन्त बनाएको देखिन्छ । उनका पात्रहरू ज्यादै मनोरोगी, अत्यन्त विकृत र सामाजिक दृष्टिले अत्यन्त घृणित छैनन् । अनुकूल चरित्रहरूप्रति पाठक सहानुभूति राख्छन् । उनका कतिपय चरित्रमा चारित्रिक विचित्रता पनि पाइन्छ । उनका चरित्रहरू बढी क्रान्तिकारी, विद्रोही र समाजलाई आमूल परिवर्तन गर्नुपर्छ भन्ने खालका नभएर आफ्नै मानसिक द्वन्द्वले थिचिएका छन् । जो विद्रोही जस्ता देखिन्छन् उनीहरूको विद्रोह साङ्केतिक मात्र छ । त्यस्तै गोठालेले कल्पित व्यक्तिका साथै वास्तविक व्यक्तिलाई पनि चरित्र वा पात्र बनाएका छन् । उनका चरित्रलाई राणा वा उच्चवर्गको प्रतिनिधित्व गर्ने र तिनको मनस्थितिको प्रतिनिधित्व गर्ने, प्रजातन्त्र प्राप्तिपछिको अवस्थामा नेपाली समाजका विभिन्न वर्गको मनोदशा झल्काउने र व्यक्ति विशेषका मानसिक अवस्था झल्काउने भनेर चिनाउन सकिन्छ । जेहोस् गोठालेको चरित्रगत प्रमुख वैशिष्ट्य के हो भने उनी वैयक्तिक र वर्गीय दुवै विशेषताले सम्पन्न चरित्र निर्माण गर्न खप्पिस छन् । उनका जुनसुकै चरित्र पनि जति वर्गीय छन् त्यति नै वैयक्तिक पनि छन् । यी दुवै विशेषताको सम्मिश्रण गरेर चरित्र निर्माण गर्नु सिद्धहस्त कथाकारको विशेषता हो जो गोठालेमा पाइन्छ ।

(ज) स्वाभाविक परिवेश

गोठालेका कथामा आन्तरिक र बाहृय दुवै परिवेशको निर्माण अत्यन्त स्वाभाविक किसिमले भएको पाइन्छ । हुन त उनले काठमाडौँ र अन्य क्षेत्रको भौगोलिक वा स्थानीय परिवेशको सिर्जना राम्ररी गरेका छन्, तापनि उनलाई आञ्चलिक वा स्थानीय रङ्ग प्रयोग गर्ने कथाकार भनेर कसैले चिन्दैन । उनी मूलतः आन्तरिक परिवेश निर्माणमा प्रवीण मानिन्छन् । व्यक्तिमन देखाउन वा सामूहिक अवचेतन मन झल्काउन उनले स्थानीय सँस्कृति, रीतिरिवाज, चालचलन र परम्परालाई महत्त्व दिएका छन् । त्यसैले उनका कथा मनोविश्लेषणात्मक भएर पनि नेपाली समाजकै मनोवृत्ति देखाउने भएका छन् । व्यक्ति विशेषका मनमा समाजले कस्तो प्रभाव पार्छ, समाजको प्रभावबाट उम्कन व्यक्ति के कस्ता कृत्य गर्छ भनेर गोठालेले कथा रचेको देखिन्छ । यो कुरा आन्तरिक परिवेशसँग सम्बन्धित हुन्छ, त्यसैले गोठालेले आन्तरिक परिवेश निर्माणमा आफूलाई केन्द्रित गरेका छन् । उनले यस्तो परिवेशको स्वाभाविक निर्माण गरेर व्यक्ति विशेषका निराशा, एकाकीपन, अकिञ्चनता, मृत्युभय, उदासी, अवसाद, वेदना, करुणा, घृणा, कुण्ठा, साहस, हीनत्व आदि भाव व्यञ्जित गरेका छन् ।

(झ) कारुणिक भावको आधिक्य

गोठालेलाई मूलतः करुणाका कथाकार भन्न सकिन्छ । उनका कथाले न आदर्श, न सुख, न जीवनको उज्यालो नै देखाएका छन् । उनी यथार्थवादी अझ प्रकृतिवादी कथाकार भएकाले उनले जीवनका अँध्यारा पक्षलाई महत्त्व दिएका छन् । उनले व्यक्तिका सफलता भन्दा असफलताको चित्रण गरेका छन् । त्यस्तै केही केही साहसका, धैर्यका कथा पनि लेखेका छन् तर ती नगण्य छन् । त्यस्तै केही अस्तित्ववादी विचार व्यञ्जित गर्ने कथा पनि छन् तर तिनले पनि जीवनको अँध्यारो नै व्यञ्जित गरेका छन् । दुःख, वेदना, अवसाद, करुणा, अभिघात आदि भाव देखाएका छन् । उनका कथा सुखान्त वा जीवनका सतही पक्षसँग सम्बन्धित नभएर गम्भीर पक्षसँग, दुःखान्तसँग सम्बन्धित छन्, त्यसैले उनी कारुणिक भाव भएका कथा लेख्ने कथाकारका रूपमा प्रसिद्ध भएका छन् ।

(ञ) व्यङ्ग्यात्मकता

गोठालेका धेरै कथा व्यङ्ग्यात्मक वा व्यङ्ग्यार्थप्रधान छन् । उनले समाजमा व्याप्त कुरीति, कुपरम्परा, आर्थिक विषमता, वर्गीय, जातीय, लिङ्गीय आदि विभेद, निरङ्कुश राणाशासन, प्रजातान्त्रिक व्यवस्थाका विसङ्गति, विकृति र विरोधाभासप्रति तीव्र व्यङ्ग्य गरेका छन् । त्यस्तै साँसारिक अनित्यताप्रति पनि व्यङ्ग्य गरेका छन् । ‘निद्रा आएन’, ‘त्यो क्रान्तिको प्रतीक’, ‘चुनाव’, ‘भाँडो’, ‘के गरेकी शोभा’, ‘कृष्णे र खुकुरी’, ‘आँखा’, ‘मोड’, ‘कृष्णमैया’, ‘मालिकको कुकुर’, ‘म जुजुमान’, ‘युवती र जरसाहेब’, ‘औँठी’, ‘लक्ष्मीपूजा’, ‘साठी रुपियाँ’, ‘साधन’, ‘सुशीला भाउजू’, ‘बाढी’, ‘यस्तो पनि भएको थियो’, ‘त्यस बखत भएको यो कुरा’, ‘कुसुम दिदी’, ‘हराएकी केटी’, ‘दुई बूढा’, ‘पचास हजार’, ‘मान्छे’, ‘कुलदेवी’, ‘पियानानी’ आदि कथाहरू व्यङ्ग्यात्मक छन् । त्यसैले अत्यन्त शक्तिशाली र कलात्मक पनि भएका छन् ।

(ट) अभिधार्थ र अन्यार्थप्रधान सन्देश

गोठालेका कथा उद्देश्य वा सन्देश सञ्चार गर्ने दृष्टिले पनि महत्त्वपूर्ण छन् । उनका कथाको उद्देश्य मूलतः मनोरञ्जन प्रदान गर्नु नै हो, तापनि उनका कथाले खास गरी राणाकालीन र प्रजातन्त्रकालीन नेपाली समाजको मनस्थितिको उद्घाटन गरेर नेपाली समाजको तत्कालीन अवस्थाको जानकारी पनि गराएको देखिन्छ । उनका यी दुवै सन्देशको सञ्चार अभिधात्मक र व्यङ्यात्मक दुवै रूपमा भएको छ । उनका कथा अभिधार्थप्रधान मात्र छैनन् अन्यार्थप्रधान र ध्वन्यार्थक पनि छन् । यिनै विशेषताले गर्दा उनका धेरै कथा नेपाली कथा साहित्यमा उदाहरण बनेका छन् । यस्ता कथामा ‘कृष्णे र खुकुरी’, ‘भाँडो’, ‘आधार’, ‘मैले सरिताको हत्या गरेँ’, ‘चुनाव’, ‘आधार’, ‘बाढी’, ‘आँखा’, ‘साधन’, ‘के गरेकी शोभा’ आदि पर्दछन् ।

(ठ) मध्यम प्रयुक्तिको भाषाशैली

गोठालेको भाषाशैली मध्यम प्रयुक्तिको छ । सुरुमा उनको भाषा हिन्दी उर्दूमूलका आगन्तुक शब्द र वाक्यगठनबाट प्रभावित देखिन्छ । त्यसपछि क्रमशः उनका भाषामा नेपालीपन टट्कारो हुँदै जान्छ । उनी काठमाडौँका बासिन्दा र नेवार समुदायका भएकाले उनको भाषामा त्यही समुदायले बोल्ने नेपाली भाषाको प्रभाव परेको देखिन्छ । यसो हुनु स्वाभाविक हो र यसैलाई मौलिकता भन्न सकिन्छ । उनी भाषालाई अलङ्कत र कलात्मक पार्नपट्ट िलाग्दैनन्, किनभने उनी यथार्थवादी कथाकार हुन्, त्यसैले उनको भाषाशैली पनि यथार्थवादी ढाँचा अनुरूपको छ । उनी कल्पनामुखी अतिरञ्जनापूर्ण आशय व्यक्त गर्ने खालको भाषा प्रयोग गर्दैनन् । उनको शैली खास गरी विश्लेषणात्मक, व्याख्यात्मक, तार्किक र व्यङ्ग्यात्मक पनि छ । उनको शैलीमा हास्य तत्त्वको प्रयोग कम पाइन्छ । उनले धेरैजस्तो कथा तृतीय पुरुष वा बाहृय दृष्टिबिन्दु पद्धतिमा कथन गरेका र थोरै कथा प्रथम पुरुष दृष्टिबिन्दु पद्धतिमा कथन गरेकाले ती दुवै कथन पद्धतिको प्रभाव उनका भाषामा परेको छ । त्यसैले उनको भाषा पनि प्रथम पुरुषप्रधान भन्दा तृतीय पुरुषप्रधान भएको छ । उनले शीर्षक राम्रो पार्न कलात्मक, रूपकात्मक र लाक्षणिक पार्न ठूलो प्रयास गरेका छैनन् । उनले कथा सङ्ग्रहहरूको नाम पनि जुराएर राखेजस्तो देखिँदैन, जस्तै ‘कथासङ्ग्रह’ ‘बाह्र कथा’ आदि । बरु उनले प्रतीकात्मक शीर्षक भने राखेका छन्, जस्तै ः ‘कृष्णे र खुकुरी’, ‘बाढी’, ‘साधन’, ‘त्यो क्रान्तिको प्रतीक’, ‘आधार’, ‘मोड’, आदि । समग्रमा भन्दा उनको भाषाशैली यथार्थवादी ढाँचा अनुरूपको र मध्यम प्रयुक्तिको देखिन्छ ।

निष्कर्ष

नेपाली साहित्यमा गोविन्दबहादुर मल्ल गोठाले बहुमुखी प्रतिभा भएका साहित्यकारका रूपमा सुपरिचित र प्रतिष्ठत छन् । उनी नाटककार, उपन्यासकार र कथाकारका रूपमा उत्तिकै प्रसिद्ध छन् । उनी एक कवि तथा सफल साहित्यिक पत्रकार पनि हुन् । नेपाली कथासाहित्यमा गोठालेको प्रवेश १९९७ सालमा भएको देखिन्छ । त्यसपछि उनले २०६० सालसम्म कथा लेखेको देखिन्छ । लगभग ६५ वर्ष लामो अवधिमा उनले पाँचवटा कथाकृति-‘कथासङ्ग्रह’, ‘कथैकथा’, ‘प्रेम र मृत्यु’, ‘बाह्र कथा’ र जङ्गबहादुर र हिरण्यगर्भकुमारी’ प्रकाशित गराएको देखिन्छ । उनका कथाले मूलतः राणाकालीन र प्रजातन्त्रकालीन नेपाली समाजको मनस्थितिको अत्यन्त मार्मिक र प्रभावकारी ढङ्गमा चित्रण गरेका छन् । उनका कथामा विभिन्न प्रकारको मनोविश्लेषण र सामाजिक यथार्थको चित्रण अत्यन्त राम्ररी भएको छ ।

मनोविश्लेषणात्मकता, समाज मनोविश्लेषणात्मका, सामाजिक यथार्थता, ऐतिहासिकता, अस्तित्ववादी चिन्तन उनका कथ्यगत वा विषयगत मूल प्रवृत्ति हुन् भने यथार्थवादी कथानक ढाँचा, वर्गीय र वैयक्तिक विशेषतायुक्त चरित्रविधान, स्वाभाविक परिवेश, कारुणिक भावको आधिक्य, व्यङ्ग्यात्मकता, अभिधार्थ र अन्यार्थ प्रधान सन्देश, मध्यम प्रयुक्तिको भाषाशैली आदि उनका अभिव्यक्ति पक्षसँग सम्बन्धित वा शैली शिल्पगत प्रमुख प्रवृत्त वा विशेषता हुन् । यिनै कथागत विशेषताले गर्दा उनी नेपाली कथा साहित्यमा एक विशिष्ट कथाकारका रूपमा अमर भएका छन् ।

मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष

Leave a Reply

Your email address will not be published. Required fields are marked *