Skip to content

‘नारीको अग्रगामितामा पुरुष बाधक बन्नु हुँदैन’ (आलेख)

विषयप्रवेशः

आजको २१ औँ शताब्दी जसलाई हामी नयाँ युग वा आधुनिक युगको संज्ञा दिन्छौँ । आधुनिक संसार, आधुनिक मानवजीवनको बखान गरेर थाक्दैनौँ । दिनहुँजसो हुने वैज्ञानिक चमत्कारले हाम्रो जीवनचर्यालाई नयाँ मोड मिलेको छ । ज्ञानविज्ञानको चमत्कार सँगसँगै हाम्रो दिनचर्या, खानपान, रहनसहनलगायतका विभिन्न कुराहरूमा परिवर्तन आएको छ । यसमा कुनै दुईमत छैन । तर यस्तो नयाँ युगसम्म आइपुग्दा पनि हामी र हाम्रो मानसिकता हिजोको सङ्कुचित घेराबाट उम्कन सकेको देखिँदैन । मैले कोट्याउन खोजेको प्रसङ्ग नारीसम्बन्धी हो जो कसैको हजुरआमा, कसैको आमा, कसैको दिदी, कसैको बहिनी, कसैको श्रीमती, कसैको छोरी, कसैको बुहारी, कसैको भान्जी, कसैको भतिजी, कसैको भदैनी हुन सक्छन् । सृष्टिकी सूत्राधार, जगत्जननी, मातृत्वकी खानी, सृजनशील मानवीय गुणहरूले परिपूर्ण, आधा आकाश ढाकेर रहेका नारीलाई हामीले कुन नजरले हेरेका छौँ र आफूलाई कसरी, कस्तो कसी लगाएर जाँचेका छौँ ? यो एक सोचनीय विषय बनेको छ । हो हिजोका दिनमा हाम्रोजस्तो अविकसित र अशिक्षित देशमा चलेको प्रचलनले नारी समाजलाई घरको मझेरी काटेर बाहिर जानबाट रोक लगाएको थियो, केवल आफ्नो दास एवम् मनोरञ्जनको साधनको रूपमा मात्र हेर्ने चलन थियो । छोरीलाई स्कुल पठाउनुको सट्टा घरैमा राखेर घाँस–दाउरा गराइन्थ्यो, मेलापात पठाइन्थ्यो र गाई–बाख्रा गोठालो बनाइन्थ्यो या बालखैमा डोली चढाएर पराईघर पठाइन्थ्यो । त्यो समय जुन समयलाई यो पङ्क्तिकार नारीद्रोही काल अर्थात् नारीप्रति लगाइएको सङ्कटकाल भनेर भन्न रुचाउँछु ।

पुरुषप्रधान देशहरूमा नारीहरूप्रति यसप्रकारको सङ्कटकाल रहिरहँदा पनि सक्रियता देखाउन सक्षम रहेका केही नेपाली नारीहरूले नेपाली माटोमा पाइला टेकेर आफ्नो नामलाई इतिहासको पानामा लेखाउन सफल भएको कुरा हामी हाम्रो इतिहासको पाना पल्टाएर हेर्दा थाहा पाउँछौँ । त्यस्तै पत्र–पत्रिकाहरूमा र प्रत्यक्षरूपमा पनि नारीको बढ्दो प्रतिनिधित्व र सहभागितालाई देखेर पनि यस कुराको अड्कल गर्न सक्छौँ । तर अन्तर्राष्ट्रिय महिलाजगत् र नेपाली नारीहरूको स्थितिको तुलनात्मक अध्ययन गर्ने हो भने अन्य राष्ट्रका नारीहरूले अत्यन्तै ठूलो फड्को मारेर अगाडि पुगिसकेको कुरालाई हामीले नकार्न सक्दैनौँ । ती विदेशी नारीहरूको तुलनामा हाम्रा आमा, दिदी–बहिनी अर्थात् नेपाली नारीहरूको अवस्था अत्यन्त दयनीय छ भन्दा फरक नपर्ला । नेपाली नारीहरूको यो अवस्थाको जिम्मेवार को त ? केलाउन अत्यन्तै जरुरी भइसकेको छ । यसको मुलभूत आधार र जिम्मेवारीलाई केलाउने हो भने केही हदसम्म पुरुषप्रधान प्रचलनको अहङ्कारपना र नारी स्वयम्ले आफ्नो अधिकार एवम् कर्तव्यलाई पहिचान र परिचालन गर्न नसक्नु, नारी स्वयम्ले आफूलाई सधैँ श्रीमान्को आड खोज्नु, नारीले नारीप्रति ईष्र्या गर्नु र आफूलाई आदेशपालकको रूपमा मात्र आफ्नो उपस्थिति सम्झनु महिलावर्गको ठूलो कमजोरी हो भने नारीलाई अगाडि बढ्न प्रोत्साहन नगर्नु पुरुषवर्गको स्वार्थी मानसिकता हो भन्ने मेरो दृष्टिकोण रहेको छ ।

विश्वप्रसिद्ध नारीहरू जो आज आफ्नै बलबुताबाट विश्वप्रसिद्ध बन्न सफल भएका हुन् । जसलाई हामीले विभिन्न पत्र–पत्रिका, रेडियो र टेलिभिजनहरूमा देख्न, पढ्न र सुन्न पाएका छौँ । ती नारीहरू कसरी, कुन उपाय गरेर त्यतिविघ्न प्रसिद्धि पाउन सफल भए त भन्ने कुरालाई चिन्तन–मनन गरी आजका नारीवर्गले आफूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा जोड गर्नुपर्ने आजको आवश्यकता हो भन्ने धारण यो पङ्क्तिकारको रहेको छ । प्रसङ्गवस यहाँ केही विश्वप्रसिद्ध नारीहरूको नाम उल्लेख गर्न यो पङ्क्तिकार अनुमति चाहन्छ । हुन त यसरी लेख्दा पात्रहरूको स्तरअनुसार ४ वा ५ भागमा विभाजन गरेर उदाहरण प्रस्तुत गर्न उचित हुन्थ्यो होला तर यसो गर्न लेखक (म) स्वयम् असक्षम छु भन्ने ठानेको छु ।

सबैभन्दा लामो समयसम्म शासन गर्न सफल रानी थिइन ब्रिटेनकी द्वितीय साम्राज्ञी, एलिजाबेथ जुन हामी सबैले सुनेकै नाम हो । उनले सन् १९५२ देखि पूरै ५० वर्ष शासन चलाएकी थिइन् भन्ने कुरा विभिन्न पत्रपत्रिकाहरूमा लिपिबद्ध भएको पाइन्छ ।

त्यस्तै महारानी भिक्टोरिया, जसले पनि लामो समयसम्म ब्रिटेनमा शासन चलाएको पाइन्छ । जसले १८ वर्षको कलिलो उमेरमा नै सन् १९३७ देखि राजगद्दी सम्हालेकी थिइन् भने सन् १९०१ मा उनको देहावसान भएको थियो । बीचमा उनलाई तत्कालीन भारत साम्राज्ञीको उपाधिसमेत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी अमेरिकी नागरिक हेलेन केलर आफू अन्धी, लाटी एवम् बहिरी भएर पनि पछि आफ्नै प्रयासमा महान् लेखक बन्न सफल भएकी थिइन् । त्यस्तै इङ्गल्यान्डकी ब्रिटिस नागरिक अगाथा क्रिस्टी जुन प्रख्यात जासुसी उपन्यासकी लेखिका थिइन् । जसले समग्रमा भन्नुपर्दा इङ्गल्यान्ड निवासी सम्पूर्ण नारीहरूमा नै सर्वप्रथम गिनिजबुकमा आफ्नो नाम लेखाउन सफल भएकी थिइन् ।

त्यसैगरी अफ्रिकाजस्तो देशमा आफ्ना साहित्य लेखनले सन् १९९१ मा प्रसिद्ध साहित्यिक उपाधिसहित नोबेल पुरस्कार प्राप्त गर्ने नारी नेडिन गार्डिमर हुन् । त्यस्तै आफ्नो जीवनलाई सदासर्वदा मानवसेवामा समर्पित गरेर महान् परिचारिकाको उपाधि स्वरूप लेडी विथ द ल्यापद्वारा विभूषित भएकी थिइन् । जसको जन्म इटलीमा भएको भए तापनि नागरिक भने ब्रिटेनकी हुन् । उनको नाम फ्लोरेन्स नाइटिङ्गेल हो । उनले सन् १८५४ को क्रिमिया युद्धमा ठूलो मानवीय सेवा पुर्याएकी थिइन् । त्यस्तै ब्रिटेनमा प्रथम महिला प्रधानमन्त्री बन्न सफल भएकी थिइन् मार्गरेट थ्याचर जसले आफ्नो समयमा अत्यधिक चर्चा पाएकी थिइन् । भने बेलायतको रेकर्डमा लगातार ३ पटकसम्म चुनाव जित्न सफल पहिलो नेता पनि उनै हुन् ।

त्यस्तै एउटा व्यापारीकी छोरी भएर पनि ग्रेजिया डेलेडाले इटलीको भूमिमा उपन्यास लेखेर नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् । उनले १७ वर्षको उमेरमा रुलावर अफ मार्डिनिया नामक पुस्तक प्रकाशन गरेकी थिइन् ।

महिला अन्तरिक्ष यात्रीहरूमध्ये विश्वमा नै प्रथम अन्तरिक्ष यात्री हुन् भेलेन्टिना टेरेस्कोभा । जसले १९३७ मा रूसमा जन्मिएर २२ वर्षको उमेरमा प्यारासुट जम्पिङ गरेर सन् १९६३ मा भोस्तोक–७ नामक यानद्वारा उनले अन्तरिक्षमा यात्रा गरेर विश्वकै प्रथम अन्तरिक्षयात्री बन्न सफल भएकी थिइन् ।

यस्तै प्रकारले ब्रिटेसकै इतिहासमा प्रथम महिला समाजसेवी बन्न सफल भएकी थिइन् युवराज्ञी डायना । उनी ब्रिटेनका दीनदुःखी नागरिकहरूको सेवामा सदैव समर्पित रहन्थिन् ।

यसैगरी मिस्रकी रानी क्लियोपेट्रा तत्कालीन समयमा संसारभरकै सबैभन्दा राम्री अर्थात् सौन्दयकी देवी कहलाएर उनी विश्वसुन्दरी घोषित भएकी थिइन् ।

यसरी नै नर्वेका नागरिक सिग्रिद उँडसेतले सातओटा उपन्यास लेखिकी थिइन् भने तीमध्ये अपरिचित नामक उपन्यासले नोबेल पुरस्कार प्राप्त गरेपछि उनको अर्को कृति जेनी नामक उपन्यासबाट उनी विश्वमा नै चर्चित बन्न सफल भएकी थिइन् ।

सधैँ उज्यालो देखिने रेडियम धातु पत्ता लगाउने प्रथम व्यक्ति हुन् महान् वैज्ञानिक मेरी क्युरी । सन् १९६७ नोभेम्बर ७ का दिन पोल्यान्डको वार्सा नजिकको एउटा गाउँको गरिब परिवारमा उनको जन्म भएको थियो । उनी बालखैदेखि नै निडर एवम् भौतिकवादी थिइन् । गरिब परिवारमा जन्मेपनि उनले बालखैदेखी विज्ञानका पाटोमा अध्ययन गर्थिन् । यसरी उनले १५ वर्षमा स्कुलको पढाइ सकेर बिदाइ हुने क्रममा स्वर्णपदक हातपार्न सफल भएकी थिइन् । मेरीले अध्ययन गर्दै जाँदा भौतिकशास्त्र, गणित, विज्ञान, रसायनशास्त्र, खगोलशास्त्र काव्य–सङ्गीतमा विशेष रुचि राखेर अध्ययन गरिन् । यसरी मेरीले सन् १८९३ मा भौतिकशास्त्र र सन् १९९४ मा स्नातकोत्तर पास गरिन । सन् १८९४ देखि नै चुम्बकीय शक्तिको अध्ययन गर्न थालिन् । १९९५ मा वैवाहिक सम्बन्धमा गाँसिइन् र त्यसपछि श्रीमान्को सहयोग लिएर उनी रेडियमको खोजीमा लागिन् । यसरी उनले ३ वर्ष ९ महिनासम्म अथक प्रयास गरेर पोलिनिय रेडियम पत्ता लगाइन् । त्यसपछि सन् १९०३ मा उनलाई नोबेल पुरस्कार प्रदान गरिएको पाइन्छ ।

अर्की एक महिला छन् जोन अर्फ आर्क (वीराङ्गना) जो आफ्नो राष्ट्रप्रेमबाट ओतप्रोत भएर आफू जन्मेको राष्ट्रमा अङ्ग्रेजहरूको दमन देखेर राजाको सामु गएर भनिन् — मलाई सेनामा भर्ती गरेर अङ्ग्रेजहरूका बिरुद्धमा लड्न जाने आदेश पाऊँ भनेर भनिन् । पूर्व राजा चाल्र्सले आदेश दिएर लड्न गइन् र ६ वर्षको युद्धबाट विजय प्राप्त गरेर देशमा शान्ति र अमनचयन कायम गरेपछि राजा चाल्र्सले उनलाई सन्तको उपाधिले विभूषित गरेका थिए ।

यस्तै ई.सं. १९४५ मा बर्माको रङ्गुनमा जन्मिएकी आङ् सान सुकी जसले कारागारभित्र बसेर पनि हिम्मतका साथ राजनीति गरिरहेको कुरा हामी सबैले हरेक मिडियाबाट सुनिरहेकै छौँ ।

यसैगरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक अर्थात् विश्व महिलामुक्तिको आवाज लिएर पहिलोपल्ट आन्दोलनमा उत्रिएकी सङ्घर्षशील नारी हुन् क्लारा जेटकिन । उनको जन्म सन् १८५७ तिर जर्मनीमा भएको हो भने नारी आवाजकी सर्वप्रथम महिला हुन् भने सन् १९१८ मा जर्मनी कम्युनिष्ट पार्टी खडा गरेकी थिइन् ।

सन् १९६५ जुलाई ३१ मा इङ्ग्ल्यान्डमा जन्मिएकी हुन् जे.के. रोलिङ् । जसले विश्वकै चर्चित कृतिहरूमध्ये ह्यारी पोटर नामक पुस्तक लेखेर आफ्नो नाम साहित्यसंसारमा अमर बनाउन सफल भएकी थिइन् ।

यस्तै अर्की महिला हुन् अमृता सेरगिल उनी भारतकै इतिहासमा नग्नचित्रको सुरुआत गर्ने प्रथम महिला कलाकार हुन् ।

मुस्लिम समुदायकी अति नै कडा राष्ट्रप्रेमी महिला हुन् तसलिमा नसरिन । मुस्लिम सभ्यताभित्रबाट पनि आफ्नो देशमा स्वतन्त्रता बहालीका लागि बाहिरिएर अर्थात् विद्रोही बनेर १५ वर्षको उमेरदेखि नै नारीवादी अर्थात् नारी मुक्तिसम्बन्धी लेख लेखेर त्यहाँको सेज्जुती भन्ने पत्रिकामा प्रकाशन हुँदैगयो । सन् १९८४ मा डाक्टरी पास गरिन् र जागिर खान थालिन् । केही वर्ष जागिर खाएपछि डाक्टरको जागिर छोडेर बङ्गलादेशकै एउटा अखबारमा स्तम्भकार भएर नारीवादी लेख लेख्न थालिन् । उनको २४ वर्षको उमेर अर्थात् सन् १९९३ मा जम्मा ७ दिनमा लेखेर एउटा लज्जा नामक उपन्यास प्रकाशन गरिन्, जुन उपन्यास ६०,००० प्रतिभन्दा बढी बिक्री भयो र विश्वमै चर्चित बन्न पुग्यो । फिमेल सलमान रुस्दीको उपनामबाट सम्मानित नसरिनले आनन्द पुस्कार भारत – १९९३, फेमिनिस्ट अफ द इगर अमेरिका – १९९४ जस्ता विश्वविख्यात सम्मान र पुस्कार प्राप्त गर्न सफल भएकी थिइन् ।

अझै अर्को संसारमा नै अत्यधिक चर्चित महिला हुन् इन्दिरा गान्धी, जसले भारतको इतिहासमा नै प्रथम महिला प्रधानमन्त्री हुन सफल भएकी थिइन् । जसले आफ्नो प्रधानमन्त्री कालमा देशवासी धनाढ्यहरूले लुकाएर राखेको कालोधनलाई कृषि विकासमा खुल्लम्खुल्ला लगानी गर्न पाउने नीति ल्याएर देशमा हरियाली क्रान्ति ल्याएर भारतको खाद्यान्नमा आउने गरेको कमीलाई परिपूर्णता प्रदान गरेकी थिइन् ।

यस्तै विश्वभरि नै असीमित लोकप्रिय महान् समाजसेवी एग्नेस गोनक्सा बोजाक्सिहउ, जसले आफ्नो १९ वर्षे उमेरमा युगोस्लाभियाबाट भारत गएर त्यहाँको फुटपाथमा रोइकराई गरिरहेका बिरामीहरूको सेवा गर्न सुरु गरी आफ्नो पूरै जीवनभर मानवसेवामा समर्पित रहेर सन् १९६२ मा रोमन मेगासेसो पुरस्कार, सन् १९७१ मा पोप जोन पोल २३ औँ शान्ति पुरस्कार, सन् १९७२ मा जवाहरलाल नेहरू पुरस्कार, सन् १९७३ मा अर्डर अफ मेरिट पुरस्कार, सन् १९८९ मा नोबेल पुरस्कार, १९८० मा भारत रत्न पुरस्कार, सन् १९९३ मा राजीव गान्धी सद्भावना पुरस्कार प्राप्त गरेकी थिइन् र यसरी पूरै जीवन नै समाजसेवामा बिताएपछि उनलाई संसारभरिकै आमाको संज्ञा दिई मदर टेरेसा भनियो ।

घरबाट बाहिर जान परे अनुहार छोप्नको लागि बुर्का प्रयोग गरेर मात्र बाहिरिन पर्ने एउटी इस्लाम अर्थात् मुस्लिम धर्मालम्बी महिलाले भारतजस्तो विशाल राष्ट्र जुन विभाजनको सङ्घारमा थियो ! यस्तो अवस्थामा उक्त राज्य आफ्नै खानदान सुल्तान वंशको हातमा पुर्याउन सफल भइन् र तत्कालीन् सुल्तानले उनलाई आफ्नो उत्तराधिकारी बनाएका थिए । इ.सं. १२०० को दशकमा उनी भारतकी प्रथम महिला सुल्तान बन्ने सौभाग्यशाली महिला मानिन्छिन् ।

यस्तै अर्की हुन् झाँसीकी रानी ! उनको नाम लक्ष्मीबाई हो र उनी भारतीय स्वतन्त्रता सङ्ग्रामकी सेनानी हुन् । उनी भारतको वाराणसीका मरफी वंशमा सन् १८३४ मा जन्मेर आठ वर्षको उमेरमा अर्थात् १८४२ मा वैवाहिक जीवनमा बाँधिन पुगिन् भने १८५१ अर्थात् १७ वर्षको उमेरमा छोरा जन्माइन् । उनले १९ वर्षको हुँदा (सन् १९५३) पति र पुत्रशोक बेहोर्नुपर्यो । त्यसपछि उनले धर्मपुत्र पाल्न बाध्य हुनुपर्यो । यसरी धर्मपुत्र पालेर राज्य सञ्चालन गर्दै थिइन् । त्यसैबेला अङ्ग्रेजहरूसँगको युद्धको सामना गर्नुपर्यो र गरिन् पनि तर विजय प्राप्त गर्न कठिन थियो, तैपनि साहस र अठोटका साथ लड्दालड्दै २४ वर्षको उमेरमा सहिद भइन् ।

यस्तै श्रीलङ्काकी नागरिक हुन् सिरिमाओ वन्दरानायके, निर्भीक र निडर महिला नेतृ । उनी १९१६ मा जन्मेर विश्कै प्रथम महिला प्रधानमन्त्री भएर विश्व इतिहासमा आफ्नो नाम लेखाउन सफल भइन् । उनी सन् १९६०, १९७७, १९९४ मा गरी ३ पटकसम्म श्रीलङ्काको प्रधानमन्त्री भएकी थिइन् । यसैगरी हामी उदाहारणको लागि पाकिस्थानकी वेन्जिर भुट्रटोलाई पनि लिन सक्छौ ।यसरी बाहिरी देशका महिलाहरूले आ–आफ्नै शैली, सम्बन्ध र तौरतरिका, एवम् सङ्घर्ष आदिमा छुट्टा–छुट्टै किसिमले आफ्नो नाम अमर बनाउन सफल भएका छन् । ती सबैको नाम यहाँ उल्लेख गर्न सम्भव छैन, त्यसैले छोटकरी टिपोट गरिएको हो ।

यसै सिलसिलामा हाम्रो नेपालमा पनि कीर्तिमान कायम गर्ने महिलाहरू नजन्मेको भने पटक्कै होइन । यस्ता केही ऐतिहासिक सफलता प्राप्त गर्ने नेपाली नारीहरूका नाम पनि यहाँ उल्लेख गर्न उचित सम्झेको छु । जस्तैः

सीता उनको जन्म पौराणिक कालको त्रेतायुगमा धनुषा जिल्लाको जनकपुरधाममा भएको हो । उनी विश्व इतिहासमा नै आदर्श पतिव्रता नारी हुन् । उनी नेपाली राष्ट्रिय विभूति बन्न सफल भएकी छिन् ।

यसैगरी अर्की नेपाली राष्ट्रिय विभूति हुन् भृकुटी । उनको जन्म लिच्छवी कालमा अंशुवर्मा राजाकी छोरीको रूपमा भएको हो । उनी तिब्बतक्षेत्रमा बौद्धधर्म प्रचार गर्न सफल थिइन् भनिन्छ ।

यसैगरी यहाँ उल्लेख हुनुपर्ने अको नाम हो रानी जगदम्बा । उहाँको जन्म वि.सं. १९७५ सालमा भएको हो । उहाँको विवाह जनरल मदन शमशेर ज.ब.रा.सँग भएको थियो । वि.सं. २०१० साल असारमा मदन शमशेरको स्वर्गबास भएपछि उहाँले वि.सं. २०११ सालमा मदन मेमोरियल गर्ल्स हाइस्कुलको स्थापना गरेर आफ्नो समाजसेवा सुरु गर्न थाल्नुभयो । २०१३ सालमा उहाँले हालसम्म नेपालकै सबैभन्दा ठूलो धनराशि भएको मदन पुस्कार पुस्तकालयको स्थापना गरेको पाइन्छ । यसपछि मदन धारा, जगदम्बा औषधालय, अतिथि भवन र थुप्रै चौताराहरूलगायत नेपाल तथा भारतमा अत्यधिक समाजसेवा पुर्याउने महिला हुन् रानी जगदम्बा ।

यसैक्रममा लेखिनुपर्ने अर्को नाम हो रमोला देवी ‘छिन्नलता’ । उहाँको जन्म वि.सं. १९८० सालतिर काठमाडौँस्थित बागबजारमा भएको हो । उहाँ आफू गीतप्रेमी भएको र आफूले पनि धेरै गीत लेखेको हुनाले गीत सिर्जना संसारलाई अघि बढाउने उद्देश्यले ‘छिन्नलता’ गीत पुरस्कार गुठीको स्थापना गरी भविष्यका पिँढीसम्म पनि आफूलाई चिनाउन सफल भएकी छन् ।

यस्तै अन्य विविध किसिमका समाजसेवा, साहित्यसेवा, मानवसेवा र राजनीति आदि क्षेत्रहरूबाट आफूलाई स्थापित गर्न सफल धेरै नै महिलाहरू हुनुहुन्छ, जस्तैः नेपाली साहित्यकार नारीहरूमा ललितत्रिपुरसुन्दरी, योगमाया, अम्बालिकादेवी, लोकप्रियादेवी, चन्द्रकान्तादेवी, विद्यादेवी दीक्षित, पवनकुमारीदेवी तथा भद्रकुमारी घले (समाजसेवी), मीना आचार्य (अर्थविद्), वृन्दा शाह (कुटनीतिज्ञ), शारदा श्रेष्ठ जो नेपालकै पहिलो न्यायाधीश हुनुहुन्थ्यो, सहाना प्रधान (राजनीतिज्ञ), पासाङ्ल्हामु शेर्पा जसले विश्वकै उच्च सगरमाथा नेपाल र नेपालीको गौरव जहाँको चुचुरोमा पुगेर नेपालको झण्डा फहराइन् ।
यस्तै अर्को नाम हो विष्णुकुमारी बाइवा, जसलाई आजको नेपालमा पारिजात नामबाट चिनिन्छ । उनी भारती मूलकी नेपाली नारी हुन् भने उनी शारीरिक अपाङ्ग रहेर साहित्यमा सपाङ्ग हुन् । नेपाली नारीहरूमध्ये साहित्य लेखनमा मदन पुरस्कार प्राप्त गर्ने एकमात्र महिला लेखक हुन् उनी । स्मरण रहोस्, उनले लेखेको शिरीषको फूल क्याम्पस लेबलमा अध्ययन गर्ने पाठ्यपुस्तकमा समावेश गरिएको छ ।

यसपछिका दिनमा अर्थात् वि.सं. २०२० को आसपाससम्मका नेपाली साहित्याकाशका नारीस्रष्टाहरू (मेरो मस्तिष्कले भ्याएसम्मका) का नामहरू यहाँ उल्लेख गर्ने कोसिस गर्दैछु । यो मेरो छोटो लेखले सबैलाई समेट्न सकेको छैन र यहाँ छुटेका नामहरूप्रति कुनै पूर्वाग्रह पनि राखिएको छैन । केवल मेरो अध्ययनको सीमितताले मात्र हो ।

प्रेमराजेश्वरी थापा, पारिजात, कोइलीदेवी माथेमा, कल्पना प्रधान, मायादेवी सुब्बा, पुण्यरश्मि, छिन्नलता, गोमा, उषा नेपाल, माधुरी भट्टराई, देवकुमारी थापा, देवकुमारी सिंह, अरुणा लामा, बुलु शर्मा, कमला साङ्कृत्यायन, कोइलीदेवी, शशिकला शर्मा, राधिका राया, भद्रकुमारी घले, लक्खीदेवी सुन्दास, शान्ता श्रेष्ठ, प्रा.डा. वीणा पौड्याल, भारती खरेल, गीताकेशरी, रमा शर्मा, रत्ना शर्मा, सरस्वती रिजाल, गङ्गा सुवेदी, चन्द्रकला नेवार, कुन्दन शर्मा, देवी शर्मा, प्रेमा शाह, नारा जोशी, वानीरा गिरी, मीरा प्रधान रेम, भुवन ढुङ्गाना, माया ठकुरी, कुन्ता शर्मा, शान्ति छेत्री, बेन्जु शर्मा, तोया गुरुङ, पद्मावती सिंह, बेटी वज्राचार्य, भागीरथी श्रेष्ठ, मोमिला श्रेष्ठ, रञ्जुश्री पराजुली, डा.गार्गी शर्मा, चाँदनी शाह, अनिता तुलाधर, मञ्जु काँचुली, उषा ठाकुर, प्रतिसरा साय्मि, कमला देवकोटा, विन्द्या सुब्बा, उषा शेरचन, इन्दिरा प्रसाईं, शारदा शर्मा, शीला पन्त, माधुरी भट्टराई, बबिता बस्नेत, सुलोचना मानन्धर, पुष्पलता आचार्य, सीता पाण्डे, पार्वती उप्रेती आदि नामहरू नेपाली नारी साहित्याकाशमा अग्रपङ्क्तिमा रहेको पाइन्छ ।

यसैगरी नेपाली साहित्यभन्दा बाहिर अन्य विविध सेवाहरूबाट पनि धेरै नेपाली नारीहरूले आफ्नो नाम इतिहासको पानामा लेखाउन सफल भएका छन् । उनीहरू सबैको नाम उल्लेख गर्ने सामथ्र्य त मसँग छैन तथापि मैले थाहा पाएसम्मका नामहरू उल्लेख गर्न चाहन्छु ।

जस्तैः अनुराधा कोइराला जसलाई वरिष्ठ समाजसेवी नेपाली नारी भनेर चिनिन्छ । अङ्गुरबाबा जोशी जो नेपालको इतिहासमा नै शैक्षिक, समाजसेवा र विभिन्न महिलाहरू सम्मिलित संस्थाहरू खोलेर सेवा प्रदान गर्ने नेपाली नारीको नामहरूमा उनको नाम छुटेमा त्यो अधुरो हुनेछ । यस्तै अम्बिका श्रेष्ठ जो नेपालकै ठूलो उद्योगी हुन्, संस्कृतिको संरक्षण र सम्बर्धनमा उनको ठूलो योगदान रहेको कुरा विभिन्न पत्रपत्रिका र लेखहरूबाट अध्ययन गर्न सकिन्छ ।

यसैगरी नेपालकै इतिहासमा पहिलो महिला मन्त्री भएकी हुन् द्वारिकादेवी ठकुरानी । वि.सं. १९७० मा डोटीमा जन्मेकी उनी वि.सं. २०१५ सालको आमनिर्वाचनमा डडेलधुराको क्षेत्र नं. ६, तल्लो स्वराड, केशरपुरबाट ३९०३ मत ल्याई विजयी भएपछि वि.सं. २०१६ साल जेठ १३ गते गठित मन्त्रीमण्डलमा उपमन्त्री भएको कुरा तत्कालीन समयका लेखरचना र नेपाली इतिहासमा पाइन्छ ।

माथि उल्लिखितबाहेक पनि थुप्रै नेपाली महिलाहरूले विभिन्न क्षेत्रलगायत नेपाली साहित्यको फाँटमा कलम चलाएको पाइन्छ । जसको कारण हालको अवस्थामा नेपाली नारी साहित्याकाशमा आफ्नो नाम सुरक्षित राख्न सफल भएका छन् । उहाँहरू सबैको नामहरू यहाँ उल्लेख गर्न सकिने स्थिति त छैन तर पनि मेरो स्मरणशक्तिले भ्याएसम्मका केही नारीहरूको नामहरू यहाँ लिपिबद्ध गर्ने अनुमति चाहन्छु । जस्तैः कृष्णदेवी शर्मा (श्रेष्ठ), सविता श्रेष्ठ ‘बेहोसी’, लीला लुइटेल, सावित्री पोखरेल, गायत्री श्रेष्ठ, श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी, राधिका गुरागाईं, जुनु क्षेत्री, सरस्वती शर्मा ‘जिज्ञासु’, तारा पराजुली, मिश्र वैजयन्ती, भगवती दाहाल, दोनमाया दाहाल, सरिता ढकाल, निर्मला पोखरेल, गीता शिवाकोटी, गीता त्रिपाठी, रमा खड्का, सुधा त्रिपाठी, तारा घिमिरे, सावित्री राउत, सविता ओली, तारा सुवेदी, गौरी दाहाल, गौरा रिजाल, सुस्मिता नेपाल, सीता अर्याल, चन्द्रकला नेवार, ज्ञानु अधिकारी, गोमा काफ्ले, मायम लावती, शीतल गुरुङ ‘कादम्बिनी’, सत्यआमा मथिला, भुवनेश्वरी सत्याल, भागीरथी महर ‘अर्चना’ प्रतिभा शर्मा, रीता थपलिया, सीता असीम, युगज्योति क्रियाशील, गङ्गा पौडेल, रूपा कुसुम, नमुना शर्मा, भगवती अर्याल, राधा पाण्डे, गीता पन्थ, तारा सुवेदी, रुक्मिणी उपाध्याय, राधिका अधिकारी, प्रभा भट्टराई, शारदा पौडेल, जानुका दाहाल, वाङ्देल चेली, सरस्वती श्रेष्ठ ‘सरू’, विष्णु तिवारी ‘उषा’, काँसी राई, दुर्गा पोखरेल, शर्मिला खड्का (दाहाल), सुभद्रा सुब्बा, सरला जोशी, सीता श्रेष्ठ, जुनु भट्ट, विद्या भण्डारी ‘चिराग’, ईश्वरी कार्की ‘वर्षा’, आचार्य प्रभा, रजनी ढकाल, सविना श्रेष्ठ ‘बेहोशी’, राधा बाँस्कोटा, कृत्रिम स्याङ्जाली, सरिता तिवारी, सामना पहाड, सायद भावना सायरी, सुनिता चुँदाली, सुनिता खनाल, युगज्योति क्रियाशील, जयन्ता पोखरेल, झमक घिमिरे, मीना पाण्डेय, मीना लामिछाने, गीतासिंह ठकुरी ‘गङ्गा’, सृजना अर्याल, सीमा आभाष, कमला ‘आँसु’, कृष्णा महत, सिन्धु चटौत, गीता लामिछाने, हेमा कार्की ‘कञ्चन’, सन्ध्या कुँवर, ज्योति जङ्गल, अम्बिका सिंह ‘पत्थर’, सीता तिवारी ‘शिशिर’, अनुपमा करारा ‘विवश’, रामेश्वरी पन्त, कल्पना मरासिनी, अनुपमा रेग्मी, सुष्मा मानन्धर, अञ्जु भुषाल, कल्पना न्यौपाने, केतू चन्द, सहिशा घिमिरे, वसन्ती भट्ट, सविता गौतम, गीताकुमारी जोशी, शान्ति डोटेल ‘सन्ताप’, मञ्जु अवस्थी ‘शशी’, रीता चन्द, शान्ति लेखक, निलम कार्की निहारिका, सुमिना जोशी, देवी त्रिपाठी, पवित्रा बुढा, सरला लामिछाने ‘सरु’,चम्पा चमेली, दीपा सुनामीजस्ता हजारौँ–हजार महिलाहरूले वर्तमानमा साहित्यिक कलम घिसार्दै गरेको पाइन्छ । तसर्थ सबैलाई यहाँ प्रस्तुत गर्ने सामथ्र्य यो पङ्क्तिकारमा रहेन । तथापि यी नामहरू नेपाली साहित्याकाशमा पुरुषहरूको तुलनामा १०–१५ प्रतिशतमात्र देखिन्छ ।

अन्तमा, हामी सबैले अधिकतमभन्दा अधिकतम नारीहरूलाई साहित्यिक यात्रा तथा विभिन्न समाजसेवा, मानवसेवा, राजनीति एवम् अन्य हरेक सङ्घसंस्था आदि क्षेत्रहरूमा समाहित गराउन आवश्यक टड्कारो रूपमा देखिएको छ । त्यसै हुनाले प्रत्येक नारीका अभिभावक एवम् इष्टमित्रहरू कसैले पनि ‘नारीको अग्रगामितामा बाधक बन्नु हुँदैन’ भन्ने यो पङ्क्तिकारको ठम्याई रहेको छ ।

— गजल कुटेरी, विशालमार्ग, नारायणगढ

सन्दर्भस्रोतसूची
१) पल्लव साहित्यिक पत्रिका, अङ्क १ देखि १४ सम्म, चितवन ः पल्लव साहित्य प्रतिष्ठान, २०५२–२०६६ ।
२) http://www.nepalikavita.com
३) नारी चुली, नरेन्द्रराज प्रसाई, काठमाडौँ ः नई प्रकाशन, २०६३ ।
४) जततउस्ररधधध।mबवजभचष्।अयmर
५) विश्व प्रसिद्ध व्यक्तित्वहरू, मधुसूदन पाण्डेय, काठमाडौँ ः पैरवी प्रकाशन, २०६५ ।
६) आँखा, अङ्क १७, चरिकोट ः कालिनचोक युवा क्लब, २०६५ ।
७) शब्दयात्रा, अङ्क १, वर्ष १, कृष्ण–मनोरथ प्रतिष्ठान, २०६६ ।
८) दोलखाली समकालीन साहित्य, इन्द्रेणी साहित्य समाज, २०६३ ।
९) गरिमाका विभिन्न अङ्कहरू, ललितपुर ः साझा प्रकाशन ।
१०) मधुपर्कका विभिन्न अङ्कहरू, काठमाडौँ ः गोरखापत्र संस्थान ।
११) शताब्दीका चर्चित नेपालीहरू, गोविन्दप्रसाद दुलाल र शैलुङ्गे मामा, काठमाडौँ ः मावली नेपाल, २०६१ ।
१२) nai@wlink.com,np / www.nai.com.np
१३) मिर्मिरेका विभिन्न अङ्कहरू, काठमाडौँ ः नेपाल राष्ट्र बैङ्क ।
१४) जनमतका विभिन्न अङ्कहरू, काभ्रे ः जनमत प्रकाशन ।
१५) पदचिन्ह, अङ्क–२, रूपन्देही ः सिद्धार्थ साहित्य परिषद, २०६६ ।
१६) संसार हल्लाउन सङ्घर्षशील महिलाहरू, यशोदा अधिकारी, काठमाडौँ ः ऐरावती प्रकाशन, २०६६ ।
१७) प्रथम नेपाली महिला, निर्मलकुमार आचार्य, रमिला आचार्य, काठमाडौँ, २०६० ।
१८) गजलसारथि, कार्यसमिति, गजलमञ्च चितवन, २०६५
१९) स्मारिका, चितवन महोत्सव, २०६३ ।
२०) स्मारिका, चितवन महोत्सव, २०६५ ।
२१) नेपाली वाङ्मय परिचयकोश, प्रमोद प्रधान, मार्टिन चौतारी, २०६५ ।

gorkhesailo@yahoo.com
पल्लव साहित्य प्रतिष्ठानको आफ्नो मुखपत्र पल्लव साहित्यिक पत्रिका अङ्क – १५ २०६७ भाद्र १० गते विमोचन भएको नारी विशेषको पेज नं। १५ – २३

2 thoughts on “‘नारीको अग्रगामितामा पुरुष बाधक बन्नु हुँदैन’ (आलेख)”

  1. नमस्कार दाई । म पूर्ण समर्थन
    नमस्कार दाई । म पूर्ण समर्थन गर्छु । लेख पढन पाए आभारी भए दाई ।

  2. गोर्खेसाइलोज्यू मझेरीमा
    गोर्खेसाइलोज्यू मझेरीमा समीक्षा पढ्ने सौभाग्य दिलाउनु भकोमा आभारी भइयो
    पंक्तिकारका निजी भनिएका भनाइ सबैका साझा कुरा हुन् लामो अनुन्धान गरेर नारी जगत् का उपलब्धीलाई सार्वजनिक गर्ने काम स्तुत्य छ0
    गतिलो कार्यका लागि यहाँलाई हार्दिक बधाई र
    शु

    का

    ना

Leave a Reply

Your email address will not be published. Required fields are marked *