Skip to content

शैक्षिक समृद्धिमा आजका शिक्षक विद्यार्थी र अभिभावकको भूमिका


हे बालाजन हो पढो घरिघरी विद्या छ अमृत सरी ।
अर्काको घरमा नजाऊ वरिपरि पढ मिहिनत गरी ॥

पढेको चिज डाकुले घर फोरी लादैन चोरी गरी ।
नपढ्दा हिन भो छोरो यदि भने के गर्नु र माया गरी ॥

हामी एक्काइसौँ शताब्दीका होनाहार प्राणी हौँ । सोचेजस्तो उपलब्धी ल्यायौँ तर हुनुपर्ने स्वभाव बिर्सियौँ । सुखका अभिलाषी छौँ तर दुःखका भागिदार बन्दैनौँ । समय छिप्पिएअनुसार शिक्षामा गुणात्मक स्तर अभिवृद्धि हुनुपर्ने हो । त्यसो नभएर परिमाणात्मक बृद्धि मात्र भएको पाइन्छ । तसर्थ शैक्षिक वेरोजगारी बढेको छ । शिक्षित वर्ग आत्मनिर्भर हुन सकेका छैनन् । शिक्षा मागी खाने साधन मात्र भएको देखिन्छ । पढेका जनशक्ति मानसिक श्रम गर्न तत्पर छन् तर शारीरिक श्रम गर्न पटक्कै रुचाउँदैनन् । शिक्षाले सिकारुलाई जीवनवोध गराउन सकेको छैन । शिक्षाले जीवनको बोझ हलुको पार्नुपर्ने हो । तर उल्टै गहैं्रा पारेको महसुस भएको छ किनकि शिक्षित मानसिक शारीरिक श्रमले जिउने आकांक्षा राख्न सक्दैनन् । शिक्षा क्षेत्रको यस खाले अराजकताको निदानको लागि शिक्षाशास्त्रीहरूको सही दृष्टिकोण र शिक्षा प्रणली समेत सही हुनुपर्छ ।

शिक्षाले नै मानिसलाई अरु प्राणीबाट अलग्याएको छ । शिक्षा मानव मात्रको निजी सम्पत्ति हो । एकलौटी अधिकार जमाएर मान्छे प्राणी जगत्मा सर्वश्रेष्ठ ठहरिएको छ । जंगली युगबाट विस्तारै विस्तारै परिवर्तन गर्दै र परिवर्तित हुँदै मानिस एकाइसौँ शताब्दीको यो सुखमय समयमा विचरण गरिरहेको छ । समाजमा दुई थरिका वर्ग जन्मिएका छन् जन्मिरहेका छन् । सामन्तवर्ग र श्रमिक वर्ग कूलिन वर्ग र दरिद्रवर्ग उच्च जाति र निच जाति सबल र दुर्बल पुरानो पुस्ता र नयाँ पुस्ता बरिष्ठ र कनिष्ठ ज्ञानी र अज्ञानी गुरु र शिष्य आदित्यादि जुनसुकै दृष्टिकोणले हेरे पनि समाज दुई भागमा विभक्त छ । अझ त्यसलाई सूक्ष्म विश्लेषण गर्ने हो भने उपभागहरू प्रशस्त छन् । यहाँ चर्चा गर्न खोजिएको कुरा भने शिक्षक र विद्यार्थी अर्थात् जान्ने र नजान्ने वर्गको हो । हाम्रो समाजमा सक्षमले अरुलाई खुट्टा टेकाएमा पो त्यो सक्षम हो भन्न सकिन्थ्यो । नोकर नभई मालिक बन्न सकिन्न भन्ने मानसिकताले हामी ग्रसित छौं । फलस्वरुप नोकर बनाउन व्यग्र छौं । यही विशाल खाडललाई पुरेर समर्थ मैदान बनाउने ध्येयले यो सानो लेखमा यही समाजले दिएको अनुभव बाँड्दै छु । शिक्षक कस्तो हुनुपर्छ र विद्यार्थीले कसरी चल्नुपर्छ भन्ने निक्र्योल गर्न सक्षम बनाउँला भन्ने अपेक्षा राख्दछु ।

दार्शनिक ओशो शिक्षकका बारेमा भन्छन्- “धर्मलाई नष्ट गरिदिए पण्डित एवं पुजारीले । ठीक के हो भन्ने जान्ने मान्छे अरुलाई लडाउँदैन । अनुयायीहरू पछि उभिएर सारा उपद्रव खडा गर्दिन्छन् । त्यसैले कोही कसैको गुरु हुनुहुन्न भन्ने मेरो ठहर छ । यसो भएमा दुनियाँमा कतै उपद्रव हुन्न । अनुयायीले झमेला खडा गर्छन् संगठन बनाउँछन् । त्यसैले यो दुनियाँमा जति शिक्षक जन्मन्छन् उनीहरूले ख्याल गर्नुपर्छ कि कोही कसैका गुरु र कोही कसैका शिष्य नबनूँन् । अनि मात्र हिन्दू जैन कृष्चियन इस्लाम बीच भएको मतभेद टुङ्गिन्छ । कुनै राम कृष्ण क्राइष्ट बुद्ध मोहम्मदहरूले कहिल्यै मतभेद ल्याएनन् । यी सब अनुयायीहरूले खडा गरेको चुनौती हो । मान्छेले स्वविवेकले काम गर्न सक्नुपर्छ ।” यस प्रकार स्वतन्त्ररुपले शिक्षा लिने र दिने परिपाटी हुनुपर्ने विचार दार्शनिक ओशोको रहेको देखिन्छ ।

राम्रो बोल मीठो बोल, फोहोर बोल्नुहुन्न
सफा लाऊ ताजा खाऊ, रोगले छुँदै छुन्न ।

आदर गर ठूलालाई, सानालाई माया
सुगन्ध हौ भविष्यका, देशका हौ छायाँ ।

शैक्षिक क्षेत्रका कुरुपतालाई नियाल्नु यहाँ श्रेयस्कर हुन आउँछ । मुखमा पान सुपाडी हातमा घडी अनुहारमा क्रोध बोलीमा जंगबहादुरकालीन निरंकुशता । धेरै ठाउँमा धेरै समयमा शिक्षकको पहिचान यस्तै बनेको छ । कक्षामा त्रासमय वातावरण छ । मन खोलेर कुरा राख्ने वा अन्तकिर््रया गर्ने छुट बिल्कुलै छैन । मनभरि छरिएका जिज्ञासाहरू मनभित्र गुम्स्याउन वाध्य छन् विद्यार्थी । मुख खोले अनुशासनहीन बनिएला भन्ने त्रास छ एकातिर भने अर्कातिर शिक्षकको क्रोधित मुहार र हातको छडीको शिकार भइएला भन्ने त्रास छ । आ जे होस् । जे पढाउँनुहुन्छ त्यही पढ्छु अनाखो किन हुने । किताब गाइड पढेर जानौंला या उनैसँग ट्यूशन पढेर बुझौंला भन्ने मानसिकता बनाउन वाध्य छन् कतिपय विद्यार्थीहरू । अनि यस्तो त्रासदी वातावरण सिर्जना गरी कडा अनुशासन कायम गर्न सकेको मा शिक्षक मख्ख छन् अर्कातिर । यी दुबैको अन्तरद्वन्द्वर् यत्ति चर्कदो छ कि एकले अर्कालाई आस्था र श्रद्धाले नहेरी घृणा र वितृष्णाको नजरले हेर्ने परिपाटीको विकास भएको छ । शिक्षकले विद्यार्थीहरूमा ज्ञानको भोक जगाउन सकेका छैनन् । विद्यार्थीले शिक्षकमा विद्यमान ज्ञान झिक्न सकेका छैनन् । शिक्षक श्रेष्ठ हुँ भन्ने मानसिकतामा छन् भने विद्यार्थीहरू अबुझ छौं भन्ने सोचाइमा छन् । फलस्वरुप राष्ट्रले स्वाभिमानी नागरिक पाउन सकेको छैन । राष्ट्र सिर्जनात्मक स्वाबलम्बी जनशक्तिबाट बिाचत हुँदै छ ।

हरेकलाई हरेक कोणबाट अध्ययन गर्नु आवश्यक हुन्छ । अब शैक्षिक क्षेत्रको अर्को दृष्टिकोणतिर जाऔं । हँसिलो चेहरा नम्र बोली उदार भावना अग्रदिशा उन्मुख कृयाकलाप शिक्षकको र बदलामा फुंग उडेको मुहारमा कर्कश बोली फेसनी रहनसहन “विग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर”जस्तो मानसिकता विद्यार्थीको । शिक्षकको जति प्रयास पनि विफल विद्यार्थीको ज्ञानआर्जन आफ्नो लागि हैन शिक्षक वा अभिभावकको लागि हो भन्ने पश्चगामी सोच । अरुको हेरेर वा चिट चोरेर उत्तीर्ण हुने मानसिकता । यी सबै शिक्षा क्षेत्रका नालायकी पाटाहरू हुन् । शिक्षक इमान्दारपूर्वक ज्ञान दिइरहेका छन् र विद्यार्थी चाहिँ वेवास्तापूर्वक ध्यान अन्तै मोडिइरहेका छन् । बदमासी सोचमा अमृत प्रवेश गराउने प्रयास विफल भए पछि शिक्षक नम्र भावले जीवनवोध गर्न सम्झाउँछन् । शिक्षक एक आदर्श मात्र हो उसको कर्तव्य नै आदर्शवादी सोच सार्वजनिक गर्नु हो उनी आफ्नो काम गरिरहेका छन् । त्यसलाई ग्रहण गर्ने वा नगर्ने छुट हामीमा छ । हामी जे गर्छौ हाम्रो आनन्दका लागि गछौर्ं भन्ने विद्यार्थी वर्गको सोच शिक्षा क्षेत्रको अवरोध हो ।

माथि चर्चा गरिएअनुसार दुई थरीका धारहरू शैक्षिक क्षेत्रमा छन् । कतै विद्यार्थी गुणी छन् शिक्षक वैगुणी । कतै शिक्षक उदार दिलका त विद्यार्थी अनुदार सोचका । यी दुबै पक्षबीच अन्तर्द्वन्द्व विद्यमान छ शैक्षिक क्षेत्रमा । आखिरमा यस्तो किन हुन आयो के गर्दा यी दुबै क्षेत्रमा सन्तुलन कायम हुन आउँछ शैक्षिक सन्तुलनले समाजले के पाउँछ केही पाउन कसले के गुमाउनुपर्छ यस वारे घोत्लिनु आवश्यक छ । एक थरी दृष्टिकोण निम्न समेटिएको छ ।

शिक्षक “शिक्षक” हुन नसक्नाका कारकतत्वहरू ः

क) वैज्ञानिक युग असुहाउँदो शैक्षिक प्रणाली
ख) सरकारको शैक्षिक लगानी प्रशस्त तर नियन्त्रण चाहिँ लचिलो
ग) पूर्वाग्रही राजनैतिक आस्थाले शिक्षक र कर्मचारीहरूलाई हेरिनु
घ) विद्यालय व्यवस्थापन समितिमा प्रत्यक्ष राजनैतिक हस्तक्षेप
ङ) शिक्षक तालिमको अभाव तालिम दिए पनि भत्ता पचाउने मेलो मात्र
च) शिक्षकहरूमा नैतिक इमान्दारितामा दिनानुदिन ह्रास
छ) प्रधानाध्यापकहरू राजनैतिक र जातिय पूर्वाग्रहले ग्रसित
ज) शिक्षा कार्यालय थकान मेट्ने थलो र गफ गर्ने चौतारीमा रुपान्तरण आदि ।

विद्यार्थी “विद्यार्थी” हुन नसक्नाका कारकतत्वहरू ः

क) शिक्षकको अपरिपक्वता
ख) शैक्षिक लगानी विद्यार्थीको हितसम्म नपुग्नु
ग) राजनैतिक आस्थाले विद्यार्थीहरूलाई थिच्नु
घ) राजनीतिगर्ने पहिलो अखडा विद्यालय बन्नु
ङ) विद्यार्थीबाट गलत काम भएको चाल पाए पनि विद्यालय विभिन्न प्रभावमा आई उचित निर्णय र ठोस कार्य गर्न नसक्नु
च) विद्यार्थी नैतिक इमान्दारिता जिम्मेवारीमा ह्रास देखिनु
छ) पाश्चात्य जीवन शैलीका घिनलाग्दा पाटाहरूको अनुकरण गर्न माहिर भेटिनु
ज) विद्यार्थीले विद्यालयलाई भेटघाट र मन बहलाउने थलो एवं बदमासी गर्ने चौतारीका रुपमा हेर्नु
झ) अभिभावकहरूको उचित दिशानिर्देशको अभाव खड्कनु
ञ) चिठ चोरेरै प्रमाणपत्र बटुल्न पाइने मानसिकता आदि ।

शिक्षकले सधै शिक्षणसिकाइ कृयाकलापहरूमा सकृय रहन विद्यार्थीहरूलाई प्रेरित गर्ने र शिक्षकवर्गको सल्लाह एवं सुझाव बमोजिम विद्यार्थीले पनि अध्ययन गर्दा योजना बनाएर अध्ययनलाई नियमित रुपमा अगाडि बढाउने गरेमा अध्ययनअध्यापन कार्य सही हुन आउँछ । यस वारे बाह्रै महिनामा उपभोग गर्दा हित हुने लोककण्ठ अनुसारको श्लोकलाई पनि एक पटक दाँजेर हेरौँ ।

भदौका गिठा असोजका कोसा
कात्तिकको जौ-तिल मंसिरका रोटा
पुसको पुसे डल्ला माघको खिच्रो
फागुनको साखिनु चैत्रको रायो
बैशाखको खुदो पानी जेठको गिठा
असारको दुधच्युरा साउनको खीर
यत्ति खान पाए लाग्दैन पीर ।

बाह्रै मासको महत्व बेग्लाबेग्लै भएझैं विद्यार्थी पनि भिन्नभिन्न स्वभाव र चालचलनका हुन्छन् । अनुत्तरदायी ढंगले विद्यार्थी माथि अंकुश लगाउन हुन्न तर उत्तरदायी ढंगले सोच्न भने विस्रन मिल्दैन । हरेकले हरेकलाई ठीक काइदाले व्यवहार गर्नुपर्ने हुन्छ । शिक्षकले विद्यार्थी विद्यार्थीमा करुणा प्रेम शान्ति सद्भाव फैलाएर विद्यार्थीको आन्तरिक इलाज गरी समाज र राष्ट्रप्रति समर्पित गराउने प्रयत्न थाल्नुपर्छ । जसरी व्यवस्था र शासन बदलिँदैमा क्रान्ति भएको ठान्नु हुन्न त्यसै गरी परीक्षामा राम्रो अंक ल्याउदैमा राम्रो र असल शिक्षा दिएको मान्नु हुन्न । असल शिक्षा दिएको ठान्नलाई विद्यार्थीको मन रुपान्तरण हुनु आवश्यक छ । कालो मन भएका विद्यार्थीहरूले कालै तवरले प्रमाणपत्र बटुल्न पाउने अवस्था रहिरह्यो भनॆ जस्तो प्रमाणपत्रमा सुधाु आए पनि सकारात्मक परिवर्तन केही हुँदैन । आपसी सद्भाव र सौहाद्रता गुमाई त्रास र अहंकार फैलाएर विद्यार्थीले शैक्षिक प्रमाणपत्र हात पार्ने अवस्था जिउँदै रहिरहने हो र शिक्ष्ग्क पनि राजीनितिको छत्रछहारीमा बसी कर्तव्यबाट अलग भई रहने हो भने शैक्षिक रुपान्तरण आउनै सक्दैन । राज्य दुई पैसाको क्षति बेहोरेर बीस पैसाको लाभ मिल्छ भने दुई पैसाको क्षति बेहोर्न तयार रहनुपर्छ । अतः कर्तव्यहीन कर्ममा आफूलाई लिप्त पार्ने शिक्षक र विद्यार्थीहरूलाई दण्डको दायरामा ल्याउन सक्नुपर्छ । क्षमताविहीन र मर्यादाहीन शिक्षकलाई पूर्वाग्रह रहित ढंगबाट पदमुक्त गरी राष्ट्रघाती धोषणा गर्नुपर्छ । बाटो बिराएका विद्यार्थीहरूलाई सुधारका निम्ति विशेष किसिमको सकारात्मक भावना जाग्ने प्रकृतिको कार्यक्रम ल्याइनुपर्छ । यस पुनित कार्यमा अभिभावकवर्गको अहम भूमिका हुनुपर्छ । शिक्षामा हुने व्यापारीकरण रोक्नुपर्छ । कुरुप राजनीतिबाट शैक्षिक क्षेत्रलाई अलग राख्नुपर्छ । यस प्रकार राम्रो कामलाई इनाम र नराम्रो कामलाई दण्डको व्यवस्था रहनु आवश्यक छ । शिक्षकले अस्थिर जीवन बाँच्न वाध्य रहनुहुन्न । यस कार्यमा राज्य मात्र जुटेर हुन्न समाजका अग्रजहरूले सकृयता देखाउनै पर्छ ।

किनभने हामीले समाजलाई नचायौँ तर आफू आनन्दसाथ नाच्न सकेनौँ । किनभने धनपदको लोभमा हामीले खुशी बेचेर दुःख मात्र किन्यौँ । दुःखले भरिएको संसार बनायौँ र त्यसैमा रोइरहेछौँ रुवाइरहेछौँ । आनन्द बर्साउने गरी पलपल बाँचेर हेर्न खोज्नुपर्छ । निस्वार्थी भावले आँखा खोलेर हेर्न सके कोही पराइर कतै तराई भेटिन्न र देखिन्न यहाँ । बेचैनीको भारी बिसाइ हेरे मुक्त छौ हामी यहाँ । हृदय खोलेर संसार हेरे प्रेम बस्रन्छ जताततै यहाँ । धनको पदको लोभमा धेरै घुम्यौँ बाहिर हामी अब भित्र फर्कौर्ँ र आफू को हुँ भन्ने चिनेर मनभित्र दियो बालौँ अनि भोलिका नेपालका सारथीहरूलाई बाटो देखाऔँ । हामी बेहोसीमै बोल्दा रहेछौ आँखा छोपेर हिँड्दा रहेछौँ र कामकुरो बिगार्दा रहेछौँ । यो दुई दिनको जिन्दगीमा हामी जालोमा पस्दा रहेछौँ । हाम्रो आँखा कहिल्यै खुलेन । अतः यो जीवन व्यर्थ फालेका छौँ । साँच्चै हाम्रो होस खुलेको भए यो डर भय र त्रास किन अनि अध्ययनअध्यापन कार्यमा अस्तव्यस्तता किन हामीमा प्रेमको ढोका उघ्रेको भए यत्तिविघ्न घृणा र सन्ताप किन बुझौँ आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिँदैन । धनसम्पत्ति पद जति जोड्दा पनि तृष्णा कहिल्यै मेटिँदैन । आफू को हो चिन्नैपर्छ ध्यानदृष्टिले भित्र हेरौँ । अति भो अब त कति दौडन्छ मान्छे धनसम्पत्ति पदका पछि । हामी मान्छेले मानव प्रवृत्ति छाड्न हुन्न आफूमार्फत् संसार बिग्रन दिनुहुन्न । यिनै र यस्तै विचार लिएर नयाँ नेपालको निर्माण गर्न नौलो सोच र नौलो शैक्षिक क्रान्तिको आँधीबेहरी ल्याउनुपर्छ अनि मात्र शैक्षिक क्षेत्रमा आमूल परिवर्तन हुन सम्भव छ ।

हालः लिट्ल फ्लावर मा.वि. राजविराज-९ सप्तरी

तपेश्वरी-१ गल्फडिया उदयपुर

मो. नं. ९८४२८२९२०६/९८१४७०००९९

2 thoughts on “शैक्षिक समृद्धिमा आजका शिक्षक विद्यार्थी र अभिभावकको भूमिका”

  1. नन्दलाल “सर”
    विश्लेषणको लागि

    नन्दलाल “सर”

    विश्लेषणको लागि धन्यवाद छ। शिक्षकको हैसियतले तपाईंले देख्नुभएका संगति विसंगति सामान्य मानिसहरूभन्दा बेसी नै होला। समाज बन्ने भनेको शिक्षाबाट नै हो। अन्य भौतिक र सांस्कृतिक पाटोहरू त शिक्षाको उब्जनी मात्र नै त हुन् !

    तपाईंले भन्नुभा’ जस्तै हाम्रा बिद्यार्थीहरू अभिभावक र शिक्षकलाई त्यति टेर्दैनन् जस्तो लाग्छ। त्यसको कारण शिक्षक र अभिभावक आफैं ‘मोडल’ बन्न नसक्नुमा छ जस्तो लाग्छ । असल र मेहनती अनि इमान्दार विद्यार्थी जन्माउन शिक्षक र अभिभावक आफैं असल, मिहिनेती र इमान्दार हुनु आवश्यक छ।

  2. Thanks kumar sir,
    Thanks kumar sir, महत्त्वपूर्ण विचारको लागि
    भनेजस्तो त लेख्न सकिएन
    तर कोशिस भने गरियो
    यत्ता चै पहिलो दोष अभिभावकको दोस्रो शिक्षक र अनि तेस्रो विद्यार्थीको छ
    अरू ठाममा चै भन्न सकिनँ
    फेरि एउटा दुइटा जुटेरै यस्तो गन्दे सोच परिवर्तन होलाजस्तो लाग्न छाडिसक्यो
    हरेश खाइहाल्या छैन
    एकाध जाति अभिभावक र विद्यार्थी पाइएकै छ चित्त त्यसैमा बुझाइएकै छ
    कछुवा गतिमै अग्रगामी पथ पक्रिन खोजिरहिएछ
    THANKS.

Leave a Reply

Your email address will not be published. Required fields are marked *