Skip to content

थाहा नलागेको वसन्त बहार

  • by


राजनीतिलाई पोशाक चाहिने साहित्यलाई नाङ्गै राख्ने काइदा छन् ।

विशेष गरी आख्यानमा बीपी सगरमाथा उक्लेका मान्छे । उनको नजरले साहित्यलाई अराजकतामा हुर्कने अभिव्यक्ति देख्यो । राजनीतिले समाजको कल्याण नभएको र समाजलाई चेत नदिएकोले हुनसक्छ । साहित्य बराल्ने हैन, सपार्ने चीजको नाम हो । साहित्य मुक्त छ । राजनीति परतन्त्री छ । शौचालय राजनीति, उद्यान साहित्य । तर्कमाथि, तर्कले मन गिजोल्छ । अनुरागका काइदा पनि थरिथरीका हुँदा रहेछन् । राजनीति साहित्यबिना नबाँच्ने, साहित्य राजनीतिले भर नगरी नजन्मने । थरिथरीका मनहरू घुमिरहन्छन् मभित्र ।

तन नै घुम्छ, मन नै घुम्छ, अमनचयन अपहरणमा पर्छ ।

जहाँ छु, विहान भन्न पाउँदिनँ, दिन भन्न भेट्दिनँ । अझ रात त अर्काकै पर्यो । आफ्नो भन्ने कुराले त सञ्चो अनुभूति दिनुपर्ने । खोज्दा पनि भेट्दिन । मन ठीकमा आउने अवस्था हुन्न । थोत्रो कलमा श्रीमती झुण्डिन्छे । पानी खस्दैन । जताततै खडेरीले पक्रेको छ । कुरा बुझ्दिनँ । झर्कोफर्को गर्छे । एउटा हैरानमा अर्को हैरान थप्छे । सहन्छु । धेरै कुरा सहिरहेछु । निःशुल्क सङ्गीत पनि सुनेर सहेँ । निःशुल्क रक्तदान पनि भोगेर सहेँ । प्याट्ट एउटा गालामा थप्पड बजार्छु, अर्को चिलाइरहेकै हुन्छ । त्यहाँ थप्पड बर्साउन नभ्याउँदै शरीरको कुनै अवयव चिलाउन थालिहाल्छ । प्याट्ट र पुट्टको थप्पड बर्साइले पीडा थोरै कम हुन्छ, हात भने रक्तमुच्छेल । उतै ध्यान जान्छ, मन हर्दम शरीर बचाऊ आन्दोलनमा हुन्छ । मनबाट शब्द चुहलान्, चुहलान् भएकै बखत पुनः शरीर थङ्थिलो पार्न हिर्काउनैपर्छ । लेख्दै गरेको कलम खुत्रुक्क खस्छ । कलमसँगै मन पनि खस्छ । मन उठाउन सोच्ने गर्छु– चराचर सृष्टिमा यही एउटा मच्छड नामधारी जीवको जन्म नभइदिएको भए त हुन्थ्यो । चैन पनि खाने । ध्यान, ज्ञान मात्रै हैन मौका परे ज्यान पनि लाने । नाना रोग बोकेर नृत्य र सङ्गीतमा भुल्ने, भुलाउने र बदलामा रक्तदान लिने । यस जीवका लीला पनि अनमोल । राजनीति नाम मात्रको दबाई फ्याक्छ । रकम कुम्ल्याउँछ र व्यक्ति पोसिन्छ । धेरै भए पार्टी पोसिन्छ । राजनीति बडेमानको घरमा चारैतिर बलिया जालीले घेरिएर बस्छ । जनता कहाँ मर्दैछ ? के सकस छ ? बुझ्ने उसको दिमाख छैन । सुन्ने उसको कान छैन । हेर्ने र भोग्ने फुर्सद छैन । मात्र बोली छ । बोल्छ । के बोल्छ, बोलीसकेपछि उसैलाई थाहा हुन्न । तालीको अभिलाषी भएर बोल्छ । पत्रिकामा आएपछि झसङ्ग हुन्छ र पत्रकारको मनपर्दी हो, मैले बोलेकै हैन भन्छ । कुरा एक कान, दुई कान मैदान हुन्छ । न बोलीको काम हुन्छ । न कामको बोली रहन्छ । सोचमग्न हुनबाट मन जगाउँछु । कलम पक्रन्छु, वत्ती जान्छ झ्याप्पै । जलस्रोतको दोस्रो धनी राष्ट्र नेपाल । पानीको खडेरीले विजुली नभ’को । हुकुम गर्न सजिलो छ । व्यवहारमा चाहिँ राजनीति सधैँ उज्यालो खान्छ, उज्यालै पिउँछ । फ्याक्न मात्र अँध्यारो फ्याक्छ । छक्कापञ्जाको खेललाई रमरम अँध्यारो नभई हुन्न । बत्ती जानु एक क्षण सारा सुनसान छाउँनुहुन्छ । मन पनि सुनसान । मट्टितेल बालौँ बाल्ने मन हुन्न । दाम बढ्छ सुनकै भाउमा । त्यस उज्यालोले मनलाई पगाल्न पनि सक्दैन । मन नपग्लिए शब्द चुहने कुरा पनि हुन्न । बरु पहिले देखिकै नृत्य र सङ्गीतमा झुम्नुको विकल्प देख्दिनँ । अराजक साहित्य जन्माउन खोज्दा, अर्को अराजकता भोग्नु परिरहेछ । अराजकताको झोला बोकेर हिँडिरहेछु । नसक्ने जीवन बाँचिरहेछु । बाँच्नुभित्र पनि मूल्य खोजिरहेछु । बिसाउने ठाउँ छैन । सहिरहेकै छु । सहनुको अर्को नाम नै जीवन रहेछ ।

घुमेँ, बेस्कन घुमेँ, राजनीतिको जाँतोमा फनफनी घुमिरहेछु ।

मुख भन्छ–अधिकार चाहियो । काम भन्छ–एनी हाउ दाम चाहियो । ए बाबा, जाऊ सरकार सामु जाऊ । टेबलमा बस । कुरा सुन । कुरा राख । कसले कसको भाग हरण गर्यो ? कसले थोरै पायो, कसले धेरै पायो ? हिसाबकिताब गर । मसँग हिसाब किन माग्छौ ? म आफैँ मगन्ते हुँ । पलपल मृत्यु नजिक पुगिरहेछु । निम्त्याएका सन्ततीका लागि मुण्टो लुकाउने ठाउँ जोडिदिएको छैन । शरीर त्याग्न आफ्नै छाप्रो भए हुन्थ्यो भन्ने कामना गरिरहेको छु । मसँग अराजक कलम छ । मसँग दरिद्र मानसिकता छ । छ नै भने भोको पेट छ, मुस्किलले लाज छोपेको काया छ । मन च्यात्छौ भने राम पनि छैनन्, सीता पनि छैनन् । मात्र ठूलाठूला आकांक्षाका महल छन् । मखमली विस्ताराहरू छन् । अत्तरले सुवासिला ठाउँ छन् । हुन सक्छ, भौतिक दुनियाँका अरू थुप्रै कुरा छन् । भएका कुरा तिनै हुन् । न गोजी दाम छ, न बाहिर नाम छ । आएको थिएँ भन्ने सूचना छाड्ने मन छ । सूचना बेगर छाड्ने मन छैन । मैले छाड्दैमा न दाम हात पर्ला न अधिकार नै पोल्टोमा आउला । दाम अधिकारका लागि हैन, मामका लागि पनि हैन । मलाई पनि थाहा छ–सोमरस र सूरासुन्दरीका लागि । अधिकारसँग जोड्ने साइनो त हतियारका खरिदका लागि । हतियार आत्मसुरक्षाका लागि । साँचो कुरो कहाँ छ ? मुखमा एकथोक छ, कार्यमा अर्कैथोक छ । यहाँ त देखिरहेछु, भोगिरहेछु । छोरो डराउँछ बाबुदेखि । यो त ठीक छ तर बाबु डराउँछ छोरोदेखि । दिदी अत्तालिन्छे बहिनीदेखि बहिनी काँप्छे दिदीदेखि । डर ओडिन्छ, डर लगाइन्छ, डर खाइन्छ, डरसँगै सुतिन्छ, डरसँगै उठिन्छ यहाँ । डरले साम्रज्य जमाएको छ, यहाँ । खुल्ला सीमानाले राज गरेको छ, यहाँ । वैद्य होस् या अवैद्य आउन र ल्याउन, जान र लैजान रोक छैन, टोक छैन । कतै ‘रोक’ नामक स्वर सुनियो गोजी भर्दियो भइगयो । हुन त मैले गोजीको कुरा भन्दा बाहिर सुन्न परेको छैन । पढ्न परेको छैन । लेख्न परेको छैन । यहाँ त, मामका लागि काममा धसिने धस्सिएकै छन् । दामका लागि हानथाप चल्ने कुरा चलेकै छ । मन चुँडेर फ्याकेको छु र म यहाँ छु । मन राखेर तन रहँदैन यहाँ । नत्र पुग्थेँ कहाँ हो कहाँ ? मेरा ज्ञानेन्द्रीयले समय समयमा काम गर्दैनन् यहाँ । इन्द्रिय बसमा राख्न हुन्न । परिचय बोकेर शिर उच्च पार्नु जोखिमको शिर कुल्चनुहुन्छ यहाँ । महान् इतिहास बोकेको मधेसले महानतालाई बोक्न पाएको छैन । उम्रदैका नेताले, च्याउ सरिका समूहले मधेसी जनताका नाममा भजाउँने नम्बरी नोट भएको छ मधेस, यत्तिखेर । यो नेपालमा छ वा छैन ? म घरिघरी तर्सन्छु । पचहत्तर जिल्ला छँदा अहिले म उभिएको ठाउँलाई छयहत्तरौँ जिल्ला भन्थे । सङ्घीय राज्य भएपछि भने के नामाकरण हुने हो पर्खेर बस्नुको विकल्प छैन ।

उर्दीको उरुङ्ग थियो, मुसहर्नियादेखि नाम्चेसम्मको ।

‘ओ दाजु, तिमीलाई हामी मान्छु । तिमी दुःख खाने काम नगर् । हामीले भनेको मान्छ भने हामीलाई सहयोग गर् । हामीलाई मात्र एक पेटी दे । नदिने भए माथि, माथि जा, कहिल्यै नफर्कने गरी जा ।’ सम्झन्छु– मर्नु त छँदै छ । जता गए पनि,जता पुगे पनि, जहिले भए पनि–

आउनेले नगई हुन्न । मलाई झट्टै जाने मन छैन । मजस्तै अरुलाई पनि गएहाल्ने मन छैन । ठाउँ छाडूँ– कहाँ जानू भोको पेट देखाउँन । आफ्नो हातको कार्य शैली स्वर्ग गइगो । दिमाख शैलीको महामारी चलेको छ, जताततै । ठाउँ छाड्दा पनि मर्नुको विकल्प देख्दिनँ म । ठाउँ राख्दा पनि नाम्चे बजार उकालो लाग्न थाल्यो–उर्दी । जा, माथि नै जा । सगरमाथाको फेदीमा मात्रै हैन टुप्पामै पुगे पनि पुग् । आखिर जहाँको पानीले बनेको रगत छ, त्यही रगतले यहीँँँ धर्ती रंगिने त हो । उर्दीवालाका लागि एक क्षण रक्तहोलीको मौका न आउने हो । तर एकजनाको रगतले धेरै ज्यानको वचत हुने अवस्था नै देखिनँ । नदेख्नुमै हराउन थालेँ । बरू कानै नभइदिएका भए, आँखै नरहिदिएका भए बेस हुन्थ्योजस्तो पनि लाग्न थाल्यो । मन पत्थर भो । तन बूढो भो । बोली बन्द भो । कान कानेगुजीको राजधानी भो । आँखामा रतन्धो रोग पस्यो । म सजीवको रूपमा निर्जीव अवतार भएँ । तब त छु, यहाँ । चोरी, चोरी कलम उठाउँदै छु । नामलाई पनि निर्जीव पार्ने हो भने मनको वहलाई विछ्याउन सहज पर्थ्यो कि ?

उघ्राएर थाकी सुस्ताएको सिंहलाई कोट्याउँदै छु ।

त्रास घाँटीसम्म आएको छ । शब्दकै कारणले मृत्युले आशीर्वाद दिएका धेरै घटना पढेको छु । थोरै देखेको छु । भोगेको छैन र पो छुच्चो हुँदै गएको छु । भन्ने कुरा धेरै छन्, मनले मनसँग । अरूलाई देखाउने र सुनाउने भने एकदमै नगन्य । छटपटी र बेचैनीलाई मुख्य साथी बनायो, लण्ठासाफ । मुखबाट पौराणिककालकोजस्तो आदर्श वाक्य बाहेक अर्थोक ननिकालो, बस् लण्ठासाफ । विद्रोही स्वर कुन जन्तुले निकाल्छ, थाहै नभको भएर बस्यो, बस् लण्ठैसाफ । सबै कुरा साफ गरेर मात्र सधैँ बस्न नसकिने रहेछ । फोहरमा बस्नु पनि जिन्दगीको परिचय रहेछ । धोका माथि धोकाको खेल हुन्छ जताततै । त्यही धोका खाँदाखाँदा त मन पाकिसक्यो, थाकी सक्यो । पाक्नु र थाक्नु त चुप भएर बस्नु हो । मन न हो, कहाँ बस्छ र ! राख्ने ठाउँ नभई यसले अडिन नै जानेको हुन्न । मन ठाउँको खोजीमा स्वतःस्फूर्त लाग्छ । कतैकतै झिनो आशाको त्यान्द्रो बाँकी नै रहेको पाउँछ । थोरै प्रकाशवाला भए पनि दीपक जगमगाए राखेको भेट्छ । त्यही सानो उज्यालोले ठूलो उज्यालो डाक्छ कि भन्नु पर्या छ । जसो गरे पनि यहाँ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ ।

थुप्रै खेलबीच एक खेल छ, जहाँ भेल मात्रै हैन मेल पनि छ ।

आशय थुप्रै निस्कन्छन् । चोट दिनेले भोट पाउन्न । चोटको दर्द नमेटिउञ्जेल मनमा आदर जन्मदैन । मनको स्वभाव नै चित्रविचित्रको हुन्छ । सबैलाई सधैँ एकै खाले तुलोमा राखेर हेर्दा इतिहास झुटो बन्दो रहेछ । मन खाने कामको कुरा छाडे निष्पक्षता कहाँ पाइन्छ र ! सधैँ फलामलाई फलामले नै काट्दै आएको छ । बन्दुकलाई बन्दुकले नै पहरा दिँदै आएको छ । फलामका अघि फलाम झुक्दैन, बन्दुकका अघि बन्दुक झुक्दैन । त्यहाँ मानव मन जुट्ने हो भने फलाम पनि रूपान्तरण हुन्छ । बन्दुक पनि थान्को लाग्छ । जहाँ जति बढी द्वन्द्व छ, त्यहाँ त्यत्ति बढी मेल लुकेको छ । मेललाई झेल देख्नु विनासको सूचक हुन्छ । मधेसमा देखिएको मसिनो भावनामा मन कल्पाउने तागत पनि लुकेको पाएको छु । म यहाँ सम्पूर्ण नेपाल र नेपालीकै भोलि देखिरहेको छु । थोरै भए पनि सुनौला फूल फूलिरहेको पाएको छु । मनले मधेसलाई जित्नुपर्छ, बाँकीलाई मधेसीले नै जिताउँछन् भनिरहेछु । थोरै मधेसलाई जितेर त हेर, पूरै मधेसलाई जित्ने मौका स्वतः आउँछ । आजसम्म मधेसलाई हराएर राज भो, हारेकाले जित्न खोजेको मात्र हो । जित्नका लागि त्यान पनि सक्नुपर्छ । विना त्यागको जितौरी दुई दिनको मात्र हो । फेरि हार्नकै लागि दुई दिन जित्नु अनिष्ट निम्त्याउनु हो । हार्न नजान्नेले जित्न पनि जान्दैन । जितलाई बचाउँन नसक्नेले हारलाई सहन पनि सक्दैन । सधैँ थिच्न जित्नु परेको छैन । सधैँ विगत विउँझाउन मनासिव पनि छैन । विगतको अध्यायलाई उल्टाएर नपढे नयाँ रोडम्याप पनि पत्ता लाग्दैन । रोडम्याप विनाको काम अँध्यारोमा बन्दुक चलाएझैँ घातक हुन्छ । मनले मधेसीलाई हृदयमा पसाउँनुपर्छ । मनले मधेसीलाई नेपालीमा रूपान्तरण गर्नुपर्छ । मन नै नभएकाहरू मधेसमा मह चाट्न आउँछन् । तिनै चटुवाहरूले मधेसलाई मसानघाट बनाए । दानवीर बन्नु परेको छैन, खानी छ यहाँ । दिन परेको छैन, नखोसे भएको छ यहाँ । दयालु मनले रित्तो झोला लिएर आऊ, भरेर लैजाऊ । क्रोधी मन र षडयन्त्रपूर्ण दिमाख लिएर आऊ, मार र मरेर जाऊ । यो पनि हो–भर्ता झोला ल्याऊ, खन्याउने ठाउँ मिल्छ यहाँ । बाँकी दुःखका घर कैँटे बन्दुकहरू स्थूल मनको अघि टिक्न सक्दैन । कैँटेलाई मधेसले नै पाताल भसाउँछ । भरौटेलाई पाखा पार्दिन्छ । मधेस विवेकले ताते चैत्र, बैशाख आउँनै पर्दैन, सधैँ, सधैँ वसन्त बहार रहिरहन्छ । वसन्त फुलिरहन्छ । वसन्त फक्रिरहन्छ । म पनि फुल्छु वनैभरि लालीगुँरास भएर । म पनि फक्रन्छु, मुसहर्नियादेखि चोमोलुङ्मासम्म पुगेर ।

तपेश्वरी–१, गल्फडिया, उदयपुर
हाल ः लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी,
फोन नं: ०३१५२००३८
सम्पर्क ः ९८४२८२९२०६
दिनाङ्क ः ०६६।१२।०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *