Skip to content

पुरातात्विक महत्त्वका लुम्बिनी, कपिलवस्तु तथा देवदहबारे केही चर्चा

  • by


नेपालको रूपन्देही जिल्लामा रहेको लुम्बिनीमा गौतम बुद्ध जन्मेका थिए । कपिलवस्तु जिल्लास्थित तिलौराकोट बुद्धको बुबा शुद्धोधनको राजधानी थियो भने देवदह उनको मामाघर अर्थात मायादेवीको माइती कोलीयग्राम अन्तर्गत पर्दथ्यो । यी तीनैवटा स्थानको पुरातात्त्विक, ऐतिहासिक तथा धार्मिक महत्वको साथसाथै बुद्धको जीवनीसँग सम्बन्धित भएकाले नेपालको लागि मात्र नभएर समस्त विश्वको नै चासोको विषय हँदा ज्यादै महत्त्वपूर्ण छ ।

लुम्बिनी

यसै स्थानमा इ. पू .६२३ मा गौतम बुद्धको जन्म भएको थियो । तारानन्द मिश्रले, ‘थेरवाद अनुसार ६२३ इ. पू .मा भएको तर अधिकाशं विद्वान्हरूले जन्म मिति ५६० -६६ इ. पू .तोकेका छन्,’ भन्छन् (मिश्र, १०२, २०१०) । वशन्त मर्हजनले चाहिँ बुद्ध जन्मेको मिति इ.पू. ५६३ लेखेका छन् (महर्जन, १९, २००५ ) । बुद्धजस्तो ऐतिहासिक व्यक्तित्वको जन्म मितिको निक्र्याैल गरी एकरूपता दिन खोज अनुसन्धान हुनुपर्छ । महापरिनिर्वाणसुत्त अनुसार बुद्धले आनन्दलाई, लुम्बिनी जहाँ उनको जन्म भएको थियो, बौद्ध तीर्थयात्रीहरूका लागि ठूलो तीर्थ हुनेछ’ भनेर भनेका थिए । यसै स्थानमा मौर्य सम्राट अशोक आफ्नो राज्याभिषेकको बीस वर्षमा इ.पू. २४९ मा लुम्बिनी आइ बुद्ध जन्मेको ढुङ्गाको पूजा गरी त्यसको संरक्षण गरेर शिलास्तम्भ राखेको प्रमाण उनले राखेको अभिलेखबाट थाहा हुन्छ । त्यसपछि चिनियाँ यात्रीहरू सेङसाइ, फासियान (ईस्वी ४०६) तथा हुयेनसाङ (ईस्वी सातौँ) ले लुम्बिनीको भ्रमण गरेका थिए । ईस्वी १३१२ मा कर्णाली प्रदेशका खस राजा रिपु मल्लले पनि अशोक शिलास्तम्भमा आफ्नो नाम कुँदाएको पाइन्छ । बुद्धको समयमा लुम्बिनीग्राममा बसोबास सुरु भई मौर्यकालमा विकास भएको लुम्बिनी त्यसपछि भने लगभग छ सय वर्षसम्म जङ्गलमा परिणत भएको पाइन्छ । लुम्बिनी बिस्तारै रूपादेवी, रुमिनदेइ (देवी) भइ आजको रूपन्देही जिल्ला भएको छ । ईस्वी १८९६ मा खड्ग समशेर र ए. फुहररले लुम्बिनीको स्तम्भ पत्ता लगाइ जब बुद्ध जन्मेको स्थान लुम्बिनी यही हो भन्ने बारे अभिलेखबाट पुष्टि भयो, तबदेखि नेपालमा पुरातत्त्वसम्बन्धी अन्वेषण, खोज तथा अनुसन्धानको सुरुआत भयो भन्दा अत्युक्ति नहोला । ईस्वी १८९९ मा पी.सी. मुखर्जीले लुम्बिनीको उत्खनन्् गरी बुद्ध जन्मेको मूर्ति तथा बुद्ध जन्मेको स्थान र वरिपरि विभिन्न संरचनाका भग्नावशेष भएको पत्ता लगाए । ईस्वी १९३० मा केशर समशेरले मायादेवीको मन्दिर तथा पुष्करिणीको संरक्षण गरेका थिए । उनले गरेका कामको सबै विवरण भेटिएको छैन । उनैको समयमा काम गरेर थुप्रिएका दुइटा माटोका ढिस्को हाल हटाइएका छन् । ईस्वी १९५६ मा राजा महेन्द्रले चौथो बौद्ध सम्मेलनको अवसरमा लुम्बिनी भ्रमण गरी यसको विकास गर्न चाहे । देवला मित्र (१९६२) ले लुम्बिनीको अन्वेषण गरेकी थिइन् । ईस्वी १९६७ मा संयुक्त राष्ट्र सङ्घका महासचिव उथान्तको भ्रमणले योजनाबद्ध ढङ्गमा लुम्बिनीको विकास गर्ने ढोका खुल्यो । ईस्वी १९७० मा लुम्बिनी विकास समिति गठन गरियो । बाबुकृष्ण रिजाल (१९७०) ले लुम्बिनी गाँउको उत्खनन् गरी बुद्धको समयमा लुम्बिनीग्राममा बसोबास शुरु भएको भनेका थिए । यिनले १९७६ मा लुम्बिनीमा उत्खनन् तथा स्तूपाहरूको संरक्षणकार्य गरेका थिए । प्रो. केन्जो ताङगेले ईस्वी १९७८ मा तयार गरेको लुम्बिनी गुरुयोजना नेपाल सरकारले स्वीकृत गर्‍यो । तारानन्द मिश्र (१९८३) ले पनि लुम्बिनीमा १९ वटा स्तूपाहरूको संरक्षण तथा उत्खनन् गरेका थिए । ईस्वी १९८५ (२०४२ साल) मा लुम्बिनी विकास कोषको गठन भयो । लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग र जापान बुद्धिस्ट फेडेरेसनको संयुक्त टोलीबाट ईस्वी १९९० मा मायादेवी मन्दिरको उत्खनन् गरिएको थियो । उत्खनन्मा पीपलको रुख काटिएकोमा चर्को विरोध भएको थियो तर उक्त रुख बुद्ध जन्मेको समयको नभइ केशर समशेरले संरक्षण गरेपछिको भनिन्छ । मायादेवीले समाएको हाङ्गा कसैले साल वृक्ष, कसैले प्लाक्ष वृक्ष त कसैले अशोक वृक्ष भनेका छन् । यो उत्खनन्को सबभन्दा उल्लेखनीय उपलब्धि भनेको बुद्ध जन्मेको सङ्केत ढुङ्गा (मार्कर स्टोन) भेटिनु नै हो । यसको सार्वजनिक घोषणा १९९६ फेब्रुअरी ४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट गरिएको थियो । युनेस्कोले पनि १९९७ मा लुम्बिनीलाई विश्व सम्पदाको सूचीमा समावेस गर्‍यो । अहिलेको मायादेवी मन्दिर उत्खनन्मा भेटिएका संरचनाहरू, बुद्ध जन्मेको सङ्केत ढुङ्गा, बुद्ध जन्मेको मूर्ति तथा मन्दिरसमेत रहेको छ । यसको निर्माण कार्य सन् । २००३ मा सम्पन्न भइ तत्कालीन राजा ज्ञानेन्द्रबाट उद्घाटन भएको थियो ।

लुम्बिनीको प्रमुख पुरातात्त्विक आधारहरू भनेका अशोक स्तम्भ शिलालेख, पुष्करिणी (पोखरी), बुद्ध जन्मेको सङ्केत ढुङ्गा, बुद्ध जन्मेको मूर्ति, मायादेवी मन्दिर, विभिन्न स्तूपाहरू, तेलार नदी तथा लुम्बिनी गाउँको भग्नावशेषहरू नै हुन् । यो स्थान बुद्धमार्गीहरू र नेपालको मात्र नभएर विश्वकै धरोहर भएकोले यसको विकास गर्दा मौलिकता, वातावरण तथा अद्वितियपनलाई ध्यान राख्नु पर्छ । अहिले यहाँ विभिन्न देशका प्रतिनिधित्व गर्ने गुम्बाहरूको निर्माण कार्यहरू भइ रहेका छन् तर कुनै मापदण्ड तोकिएको छैन । वास्तवमा अहिले लुम्बिनी जानेहरूलाई डिज्नेल्यान्ड घुमे जस्तै राम्रो लाग्ला तर शान्तिको प्रतीक लुम्बिनीमा आध्यात्मिकता जगाउने वातावरण भएन भने हस्तीहरूले सोध्नेनै छन्, ‘खोई यसको आत्मा ?’ लुम्बिनी विकास कोषले ताङगेको गुरुयोजना अनुसार २० वटा कार्यक्रमहरूमध्ये हालसम्म ४०५ लक्ष्य हासिल गर्न सकेको जानकारी पाइन्छ । हाल यसको प्राथमिकतामा १६ कि.मि. सुरक्षा पर्खाल रहेकोमा १२ कि.मि. तयार भइ ४ कि.मि. बाँकी रहेको छ ।

लुम्बिनीको विकासका लागि चीनका निजी क्षेत्र उत्सुक भइ पेस गरेको प्रस्तावनालाई नेपाल सरकारले सहमति दिइसकेको छ । विभिन्न कार्यक्रममध्ये गौतम बुद्धको ठूलो मूर्ति बनाउने, विद्युतीय डुङ्गा, विद्युतीय बस, बगैँचा तथा सुविधा सम्पन्न होटेल आदि रहेको छ । त्यस्तै जापानले युनेस्कोसँग मिलेर लुम्बिनीको पवित्र क्षेत्र (पुरातात्त्विक स्थल) मा काम गर्ने घोषणा गरिसकेको छ ।

कपिलवस्तु

लुम्बिनीबाट २७ कि.मि. पश्चिममा कपिलवस्तु पर्दछ । पाली ग्रन्थ दिगनिकायमा कपिलवस्तुको उल्लेख भेटिन्छ । यसलाई भगिरथी नदीको किनारमा हिमालयको तल्लो भेगमा घना सक रुखले ढाकेको भन्ने छ । कपिलमुनिले तपस्या गरेको स्थान भएकोले कपिलवस्तु नाम भएको मानिन्छ । कपिलवस्तुको गोटीहवामा क्रकुछन्द बुद्ध र निक्लीहवामा कनकमुनि बुद्ध जन्मेका थिए । दुवै स्थानमा अशोकले शिलास्तम्भ राखेका थिए तर निग्लीहवामा अभिलेख भेटिए पनि गोटीहवामा भेटिएको छैन । अशोकले राज्याभिषेकको १४ औं वर्षमा कपिलवस्तु कनकमुनि बुद्ध जन्मेको स्थानमा आई स्तूपालाई पहिलेको स्वरूपमा दोब्बर ठूलो गरेर जीर्णोद्धार गरेको अभिलेखमा उल्लेख छ । चिनियाँ यात्री फासियानले कपिलवस्तुको भ्रमण गर्दा न राजा न जनता देखेको उल्लेख गरेका छन् । यहीँका बुद्धभद्र ईस्वी ४०६ मा चीन गएर ख्याती पाएका थिए । उनको उही ईस्वी ४२९ मा मृत्यु भयो । उनको शव लुशान पहाडको टोङलिङ मन्दिरमा राखिएको छ । नेपाल सरकारले बुद्धभद्र चीन पुगेको १,६०० वर्षको उपलक्ष्यमा उनको सालिक बनाइ चीनलाई उपलब्ध गराउने कार्यको पहल गरी रहेछ । यसमा चीनका लागि नेपालको महामहिम टङ्क कार्की जुटिरहेका छन् । हुयेनसँगले कपिलवस्तु भ्रमण गर्दा सहर उजाड भैसकेको थियो । रिपु मल्ल (ईस्वी १३१२) ले निग्लीहवाको स्तम्भमा पनि आफ्नो नाम कुुँदाएका थिए । तत्पश्चात ईस्वी १८९५ मा फुहररले निग्लीहवाको अशोक स्तम्भ पत्ता लगाएपछि पुरातत्त्वविद्हरूको ध्यान यता तानिएको थियो । ईस्वी १८९९ मा पी.सी. मुखर्जीले प्राचीन तिलौराकोट पत्ता लगाएका थिए । देवला मित्रले ईस्वी १९६२ मा कुदानको उत्खनन् गरेकी थिइन् । त्यसपछि रिशो विश्वविद्यालय, जापानले तत्कालीन सरकारसंग पाँच वर्षको सम्झौता गरी १९६७ देखि कपिलवस्तुस्थित तिलौराकोटको उत्खनन् कार्य सुरु गरेको थियो । उत्खनन्बाट प्राचीन तिलौराकोटको पर्खाल, खाइ, पूर्वी द्वार, पश्चिम द्वार, बसोबासका संचरनाहरू आदि भेटिएकाले शुद्धोधनको राजधानी यही भन्ने थाहा भयो । २३’ चौडा खाइ, १०’ चौडा किल्ला पर्खालले सहर घेरिएको छ । यो क्षेत्र १,७०० फिट लम्बाइ र १,३०० फिट चौडाइ छ । यहाँबाट सबभन्दा पहिलो चरणमा ८ औं शताब्दी इ.पू. का पेन्टेड ग्रे वेयर ९ एबष्लतभम न्चभथ ध्बचभ ०, त्यसपछि नर्दन ब्ल्याक पोलिस्ड वेयर ( Northern Black Poilshed Ware ) तथा रेड वेयर ( Red Ware ) का माटाका भाँडाकुँडाहरू भेटिएको थियो । त्यस बाहेक टेराकोटाका मानव तथा जनावरहरूको खेलौना, बिड्स, चुरा, फलाम, छाप, मुद्रा तथा श क न स्य टोकन प्राप्त भएको थियो । उक्त विश्वविद्यालयले फोटो तथा नक्साहरूको रिपोर्ट पार्ट २, १९७५ मा प्रकाशित गरे पनि पार्ट १, २००० ईस्वीमा प्रकाशन गरी पुरातत्त्व विभागमा २०५९ र ९ र २४ मा लुम्बिनी विकास कोष मार्फत प्राप्त भएको थियो । त्यत्रो रिपोर्टको पृष्ठ २५१ देखि २५३ सम्म मात्र अङ्ग्रेजीमा अयलअगिकष्यल दिइएको छ ।

यस बाहेक दुइ स्तूपा (धमनिहवा), सग्रहवा (शाक्यहरूको हत्या गरिएको स्थान), गोटीहवा, निग्लीहवा, अरौराकोट, कुदान (सिद्धार्थ बुद्ध भएर कपिलवस्तु आएपछि बसेका न्याग्रोधर्म बिहार), सिसहनिया, तौलेश्वर महादेव आदि महत्त्वपूर्ण पुरातात्त्विक स्थानहरू पत्ता लागि सकेको छ । हालै प्रकाशित गोटीहवा र पिप्री उत्खनन्को रिपोर्ट अनुसार गोटीहवाको प्रथम चरणको कल्चर १३००-८०० ई.पू.) को नारहान कल्चर भएको प्रमाण पाइएको छ । यो प्रमाणले यस भन्दा अगाडिका कपिलवस्तुको मितिसम्बन्धी आशङ्काहरू हटाइ दिएको छ ।

यति महत्त्वपूर्ण रहेको तिलौराकोटको र निग्लीहवाको अवस्था देख्दा भने जो कोहीको चित्त दुख्छ । तिलौराकोटको पर्खालको हालसम्म ३३५ अर्थात् ५५६ मि. मात्र उत्खनन् र संरक्षण गरिएको देखिन्छ । जवकि यसको हरेक वर्ष कार्यक्रममा राखी उत्खनन् र संरक्षण गनर्ुपर्ने अत्यावशक छ । वास्तवमा भन्ने हो भने तिलौराकोटको सम्पूर्ण क्षेत्रको एरिया एक्सकाभेसन गर्न सकेको खण्डमा धेरै महत्त्वपूर्ण सूचनाहरू प्राप्त हुन सक्छ । निग्लीहवाको दुर्दशा देख्दा केही वर्षपछि अभिलेखनै हराउने सम्भावना बढेको छ । भारतस्थित जुनागढको अशोकको चट्टान अभिलेखलाई घरै बनाएर संरक्षण गरिएको छ भने चीनको बेइजिङस्थित क्यापिटल म्युजियम अगाडि शिलालेखलाई ऐनाले ढाकेर संरक्षण गरिएको पाइन्छ । निग्लीहवाको अभिलेख जीर्णोद्धार कार्यसम्बन्धी जम्बुद्वीप भरिनै पहिलो शिलालेख भएकोले र नेपालको पहिलो अभिलेख भएकोले पनि यसको तुरुन्त संरक्षण गनर्ुपर्छ । कपिलवस्तु सङ्ग्रहालय नेपालको पहिलो साइट म्युजियम भएकोले यसको आफ्नै महत्त्व छ तर महत्त्वपूर्ण भग्नावशेषहरू ओझेलमा परे जस्तै सङ्ग्रहालय पनि ओझेलमा छ । यसको व्यवस्थित किसिमले विकास गनर्ु पर्ने देखिन्छ ।

देवदह

लुम्बिनीबाट ५४ कि. मि. पूर्व देवदह पर्दछ । यो बुद्धको मामाघर अर्थात उनको आमा मायादेवी र उनलाई हुर्काउने सानी आमा गौतमीको माइती घर थियो । यसलाई कोलियनगर, व्याग्रपुर, देवदह वा रामग्राम पनि भन्छन् । बनारसका राजा राम र कपिलवस्तुको रानी प्रियाबाट कोलीय वंश सुरु भएकोले यस राज्यलाई कोलियनगर भनिएको थियो ।

दिगनिकायको महापरिनिर्वाणसुत्त अनुसार गौतम बुद्धको मृत्युपछि उनको अवशेष आठ भागमा विभाजन गरिएको थियो । उक्त आठ भागमध्ये एक भाग रामग्रामका कोलियले प्राप्त गरेका थिए । कोलीय राजाले उक्त अवशेष राखी स्तूपा निर्माण गरेेका थिए । पछि अशोकले ८४,००० स्तूपाहरूको निर्माण गर्न सातवटा अवशेष भएको स्तूपा खोले पनि रामग्राम स्तूपा खोल्न नसकेको उल्लेख छ ।

फासियान र हुयेनसागंले रामग्रामको भ्रमण गरी स्तूपा देखेको लेखेका छन् । त्यसपछि ईस्वी १८९८ मा डा.होयेले रामग्राम स्तूपा पत्ता लगाएका थिए । ईस्वी १९६४ मा एस. बि देवले पनि यस स्तूपाको शिघ्र उत्खनन् हुनु पर्नेमा जोड दिएका थिए । बाबुकृष्ण रिजालले ईस्वी १९७८ मा रामग्राम स्तूपा बारे आफ्नो गहकिलो लेख प्रकाशन गरेका थिए । अहिले नवलपरासी जिल्लाको देउरिया गाउँको झरही नदीको किनारामा रामग्राम स्तूपा रहेको छ । हालको त्रिवेणी अनोमा नदी थियो । बुद्धले यही नदी तरेर कपाल काटी भिक्षु भए र आफ्नो सइस छन्दकलाई घर फर्काइ दिएका थिए ।

पुरातत्त्व विभागले शुक्रसागर श्रेष्ठको नेतृत्वमा १९९९ देखि २००४ सम्म रामग्राम स्तूपाको उत्खनन् गरेको थियो । उत्खनन्मा कुनै अभिलेख वा छाप (सिल) भेटिएन । तर चिनियाँ यात्रीहरूले वर्णन गरेको स्तूपाको भौगोलिक अवस्था र आकारसँग यो ठ्याक्क मिल्छ । रिपोर्टमा पुरातत्त्वविद्ले अशोकले यहाँ अभिलेख राखेका र पश्चिमबाट आउँदा लान्मो सहर भेटिन्छ भनेको कतैँ पण्डितपुर त हैन ?’ भन्ने प्रश्न उठाएका छन् । २,३०० वर्ष अगाडि अशोकले नखोलेको स्तूपालाई किन खोल्ने भनेर बुद्धको अवशेष नभेटिएको तथ्यलाई ढाकछोप गर्न खोजेको पनि भान हुन्छ । स्तूपाको उत्खनन्बाट पहिलो चरणमा मौर्यकालिन संरचना भेटिनु, आठ कुने स्तूपाको नक्सा तयार गरिनु तथा बिहारहरू पत्ता लाग्नुले उत्खनन्को केही उद्देश्य हासिल भएको देखिन्छ तर देवदहको के कस्तो महत्त्व थियो भन्ने थाहा हुन सकेको छैन । देवदहको उत्खनन् हुन नसक्दा अन्यौल सिर्जना भइरहेको छ । देवदह विकास समिति बनाउन पनि यसले लुम्बिनी तथा पशुपतिको झैँ कानूनी अधिकार मागेकोले बिना पूर्वाधार पूरा नहुने देखिन्छ ।

बुद्ध धर्मको प्रतिपादित गर्ने बुद्ध तथा उनलाई प्रेरीत गर्ने उक्त स्थलहरूको कति महत्त्व छ भन्ने कुरा शब्दमा लेखेर साध्य देखिँदैन तर यस्तो स्थानमा पुग्ने बाटोको दुबै तर्फ कारखानाबाट निस्कने धुलो र आँखालाई दुषित गर्ने वातावरण देख्दा हाम्रा औद्योगिक प्रवर्धनकर्ताहरूको बौद्धिकता तथा नीति क्षमता कस्तो छ भन्ने प्रष्टिन्छ तसर्थ बेलैमा बुझेर पुरातात्त्विक महत्त्वका लुम्बिनी, कपिलवस्तु तथा देवदेहको संरक्षण र सम्बर्द्धन गरी भविष्यका सन्ततीहरूलाई हस्तान्तरण गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *