Skip to content

मलले सप्रिएको र हौसिएको बाली (१०६ औँ समजयन्ती)


सम्पन्न परिवारमा जन्मी हुर्की धेरै राणाहरू जस्तो भोग-विलासमा रमाउँदै उपभोक्तवादी बनेर कुकुर बिरालो झैँ मर्नुको साटो साहित्य साधनामा आफ्नो सारा जीवन घोटेकोले बालकृष्ण समप्रति मेरो सम्मानको हिमाल ठडिन्छ । सम-निवासमा पसेर उनीबारे बुझ्ने मेरो उधुम इच्छा जागिरहेको बेला १०६ औँ समजयन्ती मनाइने खबर एफएमले फुक्यो ।

कक्षा ९—१० को पद्यमा ‘इच्छा’ (कविता) बाहेक मैले समको कुनै पनि कृति पिएको छुइनँ । उनीबारे मैले सुनेको छु, “समले देवकोटाको खुट्टा तान्ने कोसिस गर्थ्यो रे, डाही गर्थ्यो रे र प्रकाश सायमीले सुनाएको पुरस्कृत कविताको प्रतिकृया स्वरुप उनलाई समले ढाप मारेको र उनलाई घर लगी सम्मान गरेको ।”

उनको जीवनी मैले ६ वा ७ कक्षाको नेपाली साहित्य (पाठ्यपुस्तक) मा जानेँ । टोपी र दौरा सुरुवाल पहिरिएको, दुब्लो र गोरो वर्णको सम राष्ट्रिय नाचघर अघिल्तिर रिक्सामा गुड्दै गरेको २०३३ साल बेलाको दृष्य मेरो आँखैमा झुन्डिरहेको छ ।

कमलपोखरी स्थित समको मूर्ति अघिल्तिर मञ्च खडा थियो । रोचक घिमिरेलाई अभिवादन चढाएँ । उनको नजिकको कुर्सीमा टेकाएर उनीसँग बात मार्न लागेँ । हामी बसेको भन्दा एक हार पछिल्तिरको कुर्सीमा बसेको मान्छेलाई देखाउँदै उनले कहे, “ऊ त्यो हो, समको नाति ।”

म लगत्तै फूर्ति साथ त्यहाँ सरेँ । उनीसँगैको खाली कुर्सीमा बस्दै उनलाई मैले जौँले हात ठड्याएँ ।

कालो र दुब्लो मान्छेले नमस्कार फर्काए ।

“बालकृष्ण समको घर, पुस्तकालय र अध्ययन कोठा हेर्ने इच्छा थियो । आज सकिन्छ ?” मैले अनुरोध राखेँ ।

“आज त ई… कार्यक्रममा आइएको छ । भएन ।” उनले असमर्थता जनाए ।

“हैन । कार्यक्रम सकिएपछि नि ।” मैले ताकेता गरेँ ।

“आज त हुँदैन । कुनै दिन फोन गरेर आउनु होस् ।”

मैले कार्यक्रमबारे टिप्ने कापीमा उनको फोन नम्बर धस्काउन लगाएँ । ‘४४१२५२५ जीवन शमशेर राणा’ उनले धस्क्याए । अप्पर केजीमा पढ्ने मेरी छोरी जाज्वीको जस्तो काइते अक्षर पाएँ ।

“दिउँसो घर बस्नु हुन्न होला ? जागिर, व्यापार कतै जानु हुन्छ होला ?”

“कतै जान्नँ । भाडा उठायो खायो ।”

जुम्राको झैँ उनको परजीवीपन । उनको औँलाहरू स्याप्रो र कालो । उनको अनुहारमा धेरै र गहिरो चाउरी खुम्चिन थालेको । घाममा सेकिएर काम गर्ने ज्यामीकोझैँ उनको कालो छाला र आँखा भासिएको र च्यापु उछुट्टिएको । रक्सीले खँगारेको (सुकेको) वा लागु पदार्थले गालेको उनको ज्यान हो भन्ने मैले अन्दाज गरेँ । मेरो अन्दाज गलत हुन सक्थ्यो । सके बिचरा ! कुनै घातक वा दीर्घ रोगले गालेकोले उनको त्यस्तो ज्यान भएको भए मैले अन्याय बोल्दैछु ।

उनले मलाई यसो भनी खुसी तुल्याए, “तपाईँलाई आजभन्दा पहिले पनि कतै देखेको हो । ” सम्भवतः उनले मलाई देवकोटाजयन्तीको दिन रुसी सांस्कृतिक केन्द्रको सानो हलमा देखे ।

———————————————


मेरो साङ्लो भिराइको त्यो करामत थियो । नत्र मजस्तो नाम न निसानको मान्छेलाई ख्याल गर्न बिलकुल असम्भव ।

त्यस्तो शिथिल ज्यान हेरी मैले उनको उमेर सोध्ने मन बनाएँ, “कत्ति वर्ष पुग्नु भो ?”

“५२ ।”

“त्यसो भए १२ साले हो ?”

“हो ।”

“मभन्दा एक वर्ष जेठो हुनुहुदो रै’छ ।”

तर उनी ६५ नाघेका जस्तो पुरानो देखिन्थे । असी नपुगी बसी खाने दिनचर्यामा बाँचेको उनको अहालजस्तो जमेको र सडेको जिन्दगी र ज्यान देख्दा एक चोटि फेरि सन्तानको लागि सम्पत्ति नउबार्ने मेरो इच्छा बन्यो । मलाई लाग्यो— समको नाति जीवन शमशेरजस्तै परजीवी सन्तान भएमा आफ्नो विविध इच्छा थाँती राखी उबारेको सम्पत्तिको औचित्य हुने छैन ।

केदार गुरुङले बताए, “२८ वर्षअघि नेपाल आएको बेला मैले बालकृष्ण समको निवासमा उहाँलाई भेटी ३ घण्टा लामो अन्तरवार्ता लिने मौका पाएको थिएँ । उहाँ ८० वर्षको वृद्ध अवस्थामा पनि आफूलाई साहित्यसाधनामा लगाउन सफल हुनु भयो ।”

माधव घिमिरेले लर्बरिएको स्वरमा भट्ट्याए, “समले साहित्यमा मात्र योगदान नदिएर दर्शन र चित्रकलामा पनि दिनु भयो । उहाँ भन्नु हुन्थ्यो, ‘मानिसको जात मानिसबाहेक अर्को जात छैन’ तर यति खेर मुलुकलाई जात, भाषाको आधारमा विभाजन गर्ने कोसिस गरिँदैछ । त्यसैले आज मुलुकमा अखण्डताको खाँचो छ ।”

सडकमा दौडेको सवारीसाधनको हल्ला र धुलोले दर्शक-श्रोता पर्सिदैँ उड्ने बताससँग भिड्दै कार्यक्रम निख्रियो ।

रोचक घिमिरेसँग बात निकालेँ, “३० सालतिर ‘रचना’ र ‘रुपरेखा’ नियमित र स्तरीय रचनाहरूसहित निस्कन्थ्यो । अचेल त्यस्तो छैन । साहित्यको पाठक घटेकै हो त ? हुन त विज्ञापन नै नपाए पछि गार्हो हुने त भयो नै । त्यत्रो भरमार विज्ञापन पाउने ‘मधुपर्क’, ‘गरिमा’ त घाटामा छ रे । विज्ञापन माग्नु भीख भाग्नु झैँ कठिन छ ।”

“तपाईँ त त्यो जमानादेखिको साहित्यको पाठक । विज्ञापन माग्नु त स्वाभिमानले नै दिँदैन । के गर्ने ? ननिकाली पनि भा’को छैन । मनले धर दिँदैन । घरखेतसकेर भए नि पत्रिका त चलाउनै परेको छ ।” उनले दुखेसो कहे ।

“उही पाँच हजारको आजीवन सदस्य शुल्कले मात्र पत्रिका चलेको जस्तो बुझेँ ।”

“तपाईँले कुरा बुझ्नु भा’को रै’छ । त्यही त्यसको मुख्य स्रोत हो ।”

अढाई–तीन दशकपछि आएर साहित्यिक पाठक घटेको भन्ने कि साहित्यिक रचना नै स्वादिलो बन्नु न सकेको ? खुब विचरणीय कुरा छ । टिभी, सिनेमा, दोहोरीसाँझ र केबुल टिभी जस्ता वैकल्पिक मनोरञ्जनको साधनको बिगबिगी भएकोले पनि साहित्यिको पाठक घटेको अनुमान मेरो छ । स्रष्टा मात्र आफ्नो रचनाको पाठक बनेको जस्तो छ । अरुको रचना पढ्ने बानीसँगको स्रष्टा कोही छैन भन्ने पनि होइन र सबै पूर्वाग्रही छन् भन्नु गल्ती हुन्छ । पढ्न लायक रचनाको लागि सक्षम र तपस्वी स्रष्टाको पनि खाँचो छ । रहर र समय काट्ने सुरमा रच्ने स्रष्टाको हावी भएकोले पनि पाठक बढ्न नसकेको हुन सक्छ । अक्षरको विज्ञापनभन्दा आवाजको विज्ञापन प्रभावी भएकोले पनि पत्रिकामा अचेल विज्ञापन कम आउन थालेको हुन सक्छ ।

1 thought on “मलले सप्रिएको र हौसिएको बाली (१०६ औँ समजयन्ती)”

  1. कसलाई फुर्सद अरुको लेख रचना हेर्ने?
    साँच्चै नै अहिलेको परिवेशलाई हेर्दा साहित्य पठनमा कमि आएको देखिएकै हो किनकी हजुरले भन्नु भए जस्तै अन्य मनोरञ्जनका साधनले बजार देखि लिएर घरको सानो कोठा भित्र सम्म आफ्नो प्रभुत्व जमाएको पाइन्छ अनि त्यसमाथि कसलाई फुर्सद अरुको लेख रचना हेर्ने?यो व्यस्त समयको उपज हो।मानिस अब निकै आधुनिक भएको छ।आधुनिकतासंगै जिउने कलामा पनि पृथकता आएको पाईन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *