Skip to content

शीर्षक के हो ? (मुना २०६७ चैत)

  • by


बिनी आज निक्कै खुशी छ, खुसी हुनका लागि उसँग थुप्रै कारण छन् । एक त आज बिनीको जन्मदिन हो, त्यसमाथि बिनीका बाबुले छोरीको जन्मदिनका लागि, ‘ह्याप्पी बर्थडे बिनी’ लेखेको ठूलो केक घर ल्याइदिएका छन् । ८ वर्ष पूरा भएर ९ वर्षमा लागेकी बिनीका लागि आमाले पनि राम्रो टिसर्ट र पाइन्ट उपहार ल्याइदिएकी छन् । बिनीका काका, काकी आफन्त अनि साथीभाइ पनि जन्मदिन मनाउन बिनीको घरमा भेला भएका छन् । घरमा पुलाउ पाकेको छ, मासुका विभिन्न परिकार बनेका छन्, जुस, कोकाकोला पनि ल्याइएको छ ।

केकमाथि बालिएको रङ्गीबिरङ्गी मोमबत्ती फु..फु.. गरेर निभाएपछि बिनीले केक काटी, केक आमा बाबु, काका काकी र साथीसँगीहरूलाई पनि खुवाई । बिनीले आफ्नो मिल्ने साथी ऋषितालाई पनि केक खुवाई । केक खानासाथ ऋषिताले ‘ह्याप्पी बर्थडे बिनी’ भन्दै एउटा सामान्य कागजले बेरिएको गिफ्ट दिइ र घर जानका लागि विदा मागी । बिनीले ऋषितालाई सँगै खाना खाने र आजसँगै बस्न आग्रह गरी तर ऋषिताले घरमा काम छ, फेरि खाउँला, बसौंला भन्दै विदा भई । लाख बिन्ती गर्दा पनि ऋषिता खानबस्न नमानेपछि बिनी निराश थिई । ऋषिता गए पनि बिनीको जन्मदिनमा भेला भएका सबै पाहुनाले रमाइलो गरी खाना खाएपछि राती सबै जना विदावारी भए ।

सबै जना विदाभए पछि बिनी र बिनीका बाबुले बर्थडेमा साथीसङ्गीले ल्याइदिएका गिफ्ट खोल्न थाले । बिनीको बर्थडे पार्टीमा साथीसङ्गीले ल्याइदिएका गिफ्ट एकपछि अर्को खोल्दै जाँदा बिनीको अनुहारमा खुसी देखियो । साथीहरूले बिनीलाई महंगा खेलौना ल्याइदिएका थिए, महँगा मूल्य पर्ने चकलेट ल्याइदिएका थिए । बिनी रमाईरमाई गिफ्टका पोका खोल्दै थिइ, अचानक बिनीको नजर एउटा गिफ्टमा पर्‍यो, जुन गिफ्ट बिनीको सबैभन्दा बढी मिल्ने साथी ऋषिताले ल्याइदिएकी थिई ।

गिफ्ट सामान्य कागजले मोडिएको थियो, कागज भित्र एउटा पैसा जम्मा गर्ने भुर्को थियो, गिफ्ट खोलेपछि बिनीले फेरि निराशा व्यक्त गर्दै बाबालाई भनि, ‘हा, यो कस्तो नराम्रो गिफ्ट, त्यसलाई त मैले जानेको छु, मैले भने त्यसको बर्थडेमा एक हजार रुपिया पर्ने खेलौना लगिदिएँ । मेरो बर्थडे भने २० रुपियाँ पर्ने भुर्को ल्याइदिई, त्यसमाथि बर्थडेमा खाना पनि खाइन, सँगै बसौं भन्दा पनि मानिन ।’

‘नरिसाउ छोरी, ऋषिताले तिम्लाई पत्र पनि लेखेकी छन्, शान्त पार्दै आमाले भनिन् । मलाई पत्रसत्र पढ्नु छैन, आक्रोशित हुँदै बिनीले आमालाई जवाफ फर्काइन । ‘पत्रमा के लेखेको छ पहिले त्यो त सुन अनि रिसाउनु नि,’ आमासँग पत्र लिँदै बिनीका बाबुले भने । आमासँग लिएको पत्र बाबुले बिनीलाई दिए, पत्रमा लेखिएको थियो ।

‘मेरी प्रिय साथी बिनी, मैले ल्याइदिएको गिफ्ट देखेपछि मसँग नरिसाउनु है, मैले पनि जिद्धि गरेपछि मेरो बुवाले मेरो बर्थडेमा धेरै पैसा खर्च गर्नुभयो, बर्थडेमा धेरै पैसा खर्च भएपछि बुबाले समयमा घर भाडा तिर्न सक्नुभएन, घरभेटीले हामीलाई घर छोड्न भने, बाबाले समयमै विद्यालयको फि नतिरेपछि मैले हैरानी खेप्नुपर्‍यो, मैले एक दिनका लागि धेरै खर्च गर्न जिद्धि गर्दा बाबाले निक्कै दुःख पनि पाउनुभयो । त्यसयता मैले दृढ निश्चय लिएकी छु, अबदेखि म धेरै खर्च गर्ने छैन्, मैले पाउने पैसा पनि जोगाउनेछु । मैले यस्तै भुर्कोमा पैसा जम्मा गर्न थालेकी छु । मलाई विश्वास छ, तिमी पनि अबदेखि धेरै खर्च गर्ने छैनौ, पैसा जोगाउने पनि छौ । प्रिय बिनी, आम्दानी गर्नु मात्र ठूलो होइन, त्यसलाई जोगाउनु पनि ठूलो कुरो हो । बिनी फेरि पनि मलाई माफ गर । तिम्रो प्यारो साथी, ऋषिता ।

पत्र पढेपछि बिनीलाई ग्लानि भयो, बिनीले बाबुआमाको अघि प्रतिवद्धता गरी अबदेखि म पनि धेरै पैसा खर्च गर्ने छैन, भएको पैसा जोगाउनेछु । ऋषिताको बुद्धिमता देखेपछि बिनीका बाबुआमा खुसी भए, ऋषिताजस्तो असल साथीसँग सङ्गत गरेकोमा गैरावान्दित पनि ।

मुना २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *