लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) का फुटकर कवितामध्ये सर्वाधिक चर्चित र उत्कृष्ट कविता पागल (२०१०) मानिन्छ। पागल देवकोटाको गद्यकविता हो। देवकोटाका व्यक्तिगत जीवनमा आएको सङ्कट, पितामाताको निधन, हुर्किसकेका छोराको मृत्यु, एमए पढ्ने अपूर्ण धोको आदि उतारचढावले महाकवि देवकोटाका मानसिक स्थितिमा केही परिवर्तन आएको थियो। त्यसैले उहाँलाई १९९५ को पुसमा मानसिक रोग उपचारका लागि राँची लगियो। राँचीका मानसिक उपचार गर्ने डाक्टरले देवकोटामा मानसिक समस्या नभएको निक्र्योल गरेर फर्काइदिए। राँचीबाट फर्किएपछि देवकोटालाई उहाँका छरछिमेककी, इष्टमित्र र साथीभाइले पागल भनेर विभिन्न अवसरबाट विमुख गराउन थाले। काम पर्दा उहाँलाई प्रयोग गरेर फाइदा लिने फाइदा लिइसकेपछि देवकोटाका स्वार्थी साथीहरू उहाँलाई पागल भनेर हल्ला मच्चाउँथे। देवकोटाका साथीहरू कठिन काम गर्न उहाँलाई अघि सार्थे तर कुनै पद र प्रतिष्ठा प्राप्त हुने अवस्था आउँदा पागल भनेर उहाँलाई पन्छाउँथे। २००८ सालमा सल्लाहकारसभा चुनावमा देवकोटा पनि उम्मेदवार हुनुहुन्थ्यो तर तिनै क्षुद्र साथीहरूले देवकोटा पागल भइसकेका छन् भन्ने प्रचार गरेर चुनावमा हराउने काम गरे। भारतीय विद्वान् महापण्डित राहुल सांकृत्यानले समेत देवकोटालाई भेटेर केही संवादका आधारमा देवकोटा पागल भइसकेको स्वीकार गरी भारतीय पत्रिकामा लेख छपाए। महापण्डित सांकृत्यानको लेखले देवकोटाको छाती चिरियो। यस्तै साहित्यिक, राजनीतिक र सामाजिक क्षेत्रमा अनुभूत गर्नुपरेका पीडाजन्य व्यवहार, व्यक्तिगत जीवनमा भोग्न परेका आरोहअवरोह, शोक, आर्थिक सङ्कट, अपमान तथा आफन्तबाट गरिएको तिरस्कारजन्य कुराको प्रतिक्रियास्वरूप पागल कविता पैदा भएको किटान गर्न सकिन्छ।
महाकवि देवकोटाले पागल कवितामा आफूमाथि लाग्ने गरेको पागलपनको आरोपलाई व्यङ्ग्यात्मक रूपमा स्वीकार गर्दै आफ्ना आत्मवेदना र विद्रोहका भाव पोखिएका छन्। सात अनुच्छेदमा लेखिएको यस कवितामा कम्तीमा दुईदेखि ४७ पङ्क्तिसम्मका अनुच्छेद रहेका छन्। कवितामा कवि म पात्रका (पहिलो पुरुष) रूपमा आएका छन् भने उहाँलाई पागल भन्ने समाज (साथी) लाई तिमी (दोस्रो पुरुष) भनेर सम्बोधन गरिएको छ। देवकोटालाई पागल ठान्ने तत्कालीन समयका सामाजिक र राजनीतिक क्षेत्रका स्वार्थी व्यक्तिप्रति तिखो व्यङ्ग्य प्रहार गर्दै सामाजिक असमानता, राजनीतिक अव्यवस्था, समाजमा विद्यमान शोषण, दमन, अन्याय, अत्याचारप्रति तीव्र असन्तोष व्यक्त गरिएको पागल कविता व्यङ्ग्य विद्रोही कविता हो।
पागल कविताको मूल आशय
कविताको पहिलो अनुच्छेदमा ‘जरुर साथी म पागल, यस्तै छ मेरो हाल’ भनेर आफू पागल भएको कुरा कवि स्वयम्ले स्वीकार गरेको देखिए पनि यसको अर्थ ठीक उल्टो भएको अनुमान लगाउन सकिन्छ। कविले म पागल होइन, मलाई पागल ठान्ने समाज नै पागल हो भन्ने कुरा व्यङ्ग्यात्मक रूपमा पोखिएको छ। कविले शब्दलाई देख्ने, दृश्यलाई सुन्ने, बास्नाको स्वाद लिने, आकाशभन्दा पातला कुरा स्पर्श गर्ने, जुन कुराको संसारले भेउ पाउँदैन ती कुरा अपनाउने गरेको स्वीकार गरेका छन्। अरूले देख्ने निर्जीव ढुङ्गालाई फूल देख्ने, प्रकृति जगत्का वस्तुहरूसित तिनकै भाषामा कुरा गर्ने, कविको दृष्टि सूक्ष्म, गम्भीर र संवेदनशील छ भने उहाँलाई पागल ठान्ने साथीको दृष्टि स्थूल र सतही मात्र भएको हुँदा आफूसित भएको कल्पनाशीलता साथीसित नभएको ठोकुवा गर्छन्।
कविलाई समाजले पागल ठान्छ भने कवि समाजलाई लाटो, बहिरो र पागल ठहर्याउँछन्। कवि र उनलाई पागल ठान्ने समाजका ज्ञान, सीप र धारणामा आकाश-जमिनको अन्तर छ। कविलाई पागल ठानेर उपचारार्थ राँची पुर्याउने, पागल भनी सम्बोधन गर्ने साथीहरू तथा समाजलाई गणितका सूत्रमा चल्ने जडसूत्रवादी नेत्रहीन ठहर्याउँछन्। आफूलाई सर्वज्ञान सम्पन्न ठान्ने समाज पाँच इन्दि्रयद्वारा काम गर्छ तर कवि छैटौँ इन्दि्रय अर्थात् विवेकका नजरले संसारलाई नियालेको कुरा यहाँ उल्लेख छ। समाजले गुलाफमा गुलाफबाहेक केही देख्दैन तर कवि त्यसमा हेलेन र पद्मिनीको झल्का पाउँछन्। कवि समाज तथा उनलाई पागलको आरोप गर्ने साथीलाई बलियो गद्य र आफूलाई तरल पद्यका रूपमा परिचय दिँदै समाज जम्दा आफू पग्लने र समाज सङ्लिँदा आफू धमिलिने स्वभावको भएका हुनाले आफू सदैव कल्पनाका तानाबाना बुनेर रमाउने भावना व्यक्त गर्छन्। सद्दे मानिसलाई पागलको उपनाम दिन किञ्चित पछि नपर्ने समाजको दृष्टि बहिर्मुखी र वस्तुवादी छ भने कविको दृष्टि अन्तर्मुखी, गम्भीर र भावनात्मक रहेको कविले स्वीकार गरेका छन्।
कविले आफ्ना जीवनका सन्दर्भहरू उल्लेख गर्दै आफ्नो खिल्ली उडाउने समाजप्रति व्यङ्ग्य प्रहार गरेका छन्। कवि प्राकृतिक सौन्दर्यको मादकतामा भुल्न चाहन्छन्। माघको चिसोमा ताराहरूको राप ताप्ने, गम्भीर चिन्तनमा मग्न हुने, सुन्दरीको केशमा समय तुसाराको छिर्का देख्दा तीन दिन रुने, वसन्तमा कोइलीको मीठो गीत सुनेर नाच्ने, औँशीको रातमा प्रलयवेदनाले उफ्रँदा मूर्खहरूले पाता कसेर राखेको, तुफानसित गीत गाउन थाल्दा आफूलाई मरेको सम्झेर लम्पसार पर्दा एक साथीले चिमोटेर ए पागल तेरो मासु अझै मरेको छैन भनेको, यस्तै क्रियाकलाप देखाउँदा बुज्रुक भनाउँदाले कविलाई नचिनेर राँची पठाइदिएको कुरामा कविको तीव्र गुनासो छ।
पागल कविताको पाँचाँै दफामा कविको संसारलाई नियाल्ने दृष्टि नितान्त फरक भएको कुरा व्यक्त गरिएको छ। कवि नबाबको मदिरालाई खुन, छिमेककी नगरबधूलाई लास, राजालाई गरिब भन्दै सिकन्दरलाई गाली गर्छन्। महात्मा भनाउँदाहरूको निन्दा गर्छन् तर समाजले उपेक्षा गरेका नगन्य व्यक्तिलाई सम्मानको फूल अर्पण गर्छन्, समाजका महापण्डित कविका महामूर्ख, अरूको स्वर्ग कविको नर्क, अरूको सुन कविको फलाम, आफूलाई चलाख सम्झने कथित समाजलाई लाटो देख्ने, समाजको सोचाइमा जुन कुरा उन्नति हो कविका लागि त्यही अवन्नति भन्दै समाज र आफूमा ठूलो उलटपुलट भएको कुरा स्वीकार गर्दै समाजले जुन कुरालाई संसारै ठान्छ त्यसलाई कवि रौँबराबर ठान्दै आफू चन्द्राहत अर्थात् जूनको शीतल प्रकाशले पनि आहत भएको स्वीकार गर्छन्। कविको युग चेतनाले यहाँ शिखर चुमेको देखिन्छ। नेत्रहीन व्यक्तिलाई संसारका अगुवा, गुफामा बसेर तपस्या गर्नेलाई भगुवा, मिथ्याका मञ्च चढेका कथित राजनीतिज्ञलाई काला नटुवा भन्दै समाजका असफललाई कवि सफल, प्रगतिलाई अगति भन्दै साथी र समाजलाई छेडछाड गर्दै आफू पागलपनको अभिनय गर्दै हिन्दी गीत गुनगुनाउनसमेत पुग्छन्।
कविताको सातौँ अनुच्छेमा समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण, उत्पीडन एवम् विकृतिप्रति व्यङ्ग्य प्रहार गर्दै आफ्ना मानवतावादी तथा प्रगतिवादी विचार पस्कनुभएको छ। मानवतामाथि प्रहार भएको देख्दा ग्रीक पुराणमा वणिर्त गर्गनका सर्पकेस बनेर उहाँका रौँ ठाडा हुने गरेको, इन्द्रियहरू वनको आगोझैँ तातेको, झुटको खेती गर्ने, मानवतामाथिको आक्रमणले उनी समाजप्रति नै भीमसेन हिन्दु पुराणका पात्रले झैँ दारा किट्दै उहाँ मानवता उद्धारका लागि स्वर्गबाट आगो चोरेर पृथ्वीमा ल्याई सबैको उद्धार गर्ने ग्रीक पुराणमा वणिर्त सहिद प्रमिथस बन्न तयार भएको उल्लेख गर्नुहुन्छ।
कविले आफू पागल भएको कुरा बाहिरी रूपमा दर्साउन खोजे पनि भित्री रूपमा कविलाई पागल भन्ने उहाँका साथी र समाजलाई नै पागल भएको प्रमाणित गरी समाजमा जरो गाडेर रहेको अन्धविश्वास, रुढीग्रस्त सोच र चिन्तनप्रति व्यङ्ग्य र विद्रोह यस कविताको केन्द्रीय भाव हो।
२०६८ फागुन २७
शनिबार, गोरखापत्र
