एकदिन स्कुल चौरमा म र साथीहरू एसएलसीपछि के गर्ने ? विषयमा गफिँदै थियौं । सबैले आ-आफ्नो योजना सुनाइरहेका थिए । यत्तिकैमा विवेकले एसएलसी पास भएपछि विदेश जाने कुरा सुनायो । उमेर घर्किसकेकोले मलाई पनि पढ्नभन्दा विदेश जाने रहर थियो । उताबाट कमाएर ल्याएको पैसाले सानोतिनो व्यापार-व्यवसाय गरेर यतै घरजम गर्ने सोचमा थिएँ तर विवेकले नागरिकता बनाउन बुबालाई भनिसकेको बताएपछि म झसङ्ग भएँ । म कतिसम्मको अज्ञानी रहेछु भने विदेश जानका लागि पासपोर्ट बनाउनु पर्छ, पासपोर्टका लागि नागरिकता चाहिन्छ र बाबु वा आमाबिना नागरिकता बन्दैन भन्ने कुरा मैले हेक्का नै गरेको रहेनछु । जिन्दगीको २२ वसन्त काटिसक्दा पनि आमाबाबुको माया नपाएर छट्पटाएको यो टुहुरोलाई त्यसदिनदेखि पहिचानको समस्याले थप आहत तुल्यायो । मेरो पीडाको अर्को पहाड फेरि छातीमा ठडियो । तैपनि चुपचाप सहनुको विकल्प थिएन । त्यसदिन डेरामा फर्कदै गर्दा बिगतमा आमाबाबु तथा अन्य आफन्तको यादमा छट्पटाएका पीडादायी क्षणहरू घम्साघम्सी गर्दै मेरो मस्तिष्कमा नाच्दा आँखाबाट आँसुको भेल बगेको पत्तै पाइनछु ।
मलाई सबैले ‘सूर्यबहादुर थापा’ भनेर बोलाउँछन् तर यो नाम कसले राखिदियो, मलाई थाहा छैन । आमाले राखिदिइन् भनूँ भने मेरी लाटी आमाले मलाई कसरी ‘सूर्य’ भनेर बोलाउन सकिन् होला र ? बाबुले राखे भनूँ भने आमाको गर्भमै छँदा मलाई टुहुरोझैँ बनाएको मेरो निर्दयी बाबुले नाम राख्ने कष्ट कसरी गरे होलान् र ? तर पनि खै कसरी म ‘सूर्यबहादुर’ भनेर बोलाइदैछु । म कतिसम्मको अभागी छु भने मलाई मेरी आमाको नाम आजसम्म थाहा छैन तर बाबुको नाम रामबहादुर थापा हो र म २०४५ साल जेठ ७ गते भोजपुरको जरायोटारमा जन्मेको रहेछु भन्ने केही समय अघि मात्र थाहा पाएँ । मैले यो पनि थाहा पाएँ कि मेरी आमा सोझी र लाटी थिइन्, मामाहरू निकै गरिब थिए । आमाको सोझोपनको फाइदा उठाउँदै बाबुले सम्बन्ध त राखे तर आफ्नो घरमा कहिल्यै भित्र्याएनन् । गरिब र कमजोर भएकोले बाबुको हर्कत विरुद्ध मामाहरूले केही बोल्न सकेनन्, निरीह भए, आमाले मलाई मामाघरमै जन्म दिइन् र मेरो न्वारान धेरैपछि निकै विजोकसँग भयो । कुमारी छदँै बच्चा जन्मिएपछि आमाले निकै हण्डर खानुपर्यो, लाटी भएकोले आफ्नो पीडा कसैलाई सुनाउन सकिनन् । उनी निकै अपहेलित भइन् र एकदिन त्यो समाजले उनलाई सडकमा फालिदियो ।
आमासँग छ महिना नपुगेको बच्चा च्याँप्दै माग्दै हिँड्नुको विकल्प थिएन । हात पसार्दा थोरैले अन्न दिन्थे, धेरैले त्यही हातमा थुकिदिन्थे । तैपनि आमाले मागेर भए पनि बच्चालाई कहिल्यै भोको राखिनन् । आफू चिसो भुइँमा सुत्थिन् तर त्यो बच्चालाई पातलो भए पनि बिछ्यौनामा सुताउँथिन् । पानी पर्दा ओतमा राख्थिन्, घाम चर्कदा छहारी दिन्थिन् । उनले यतिसम्म दुःख पाउँदा न उनीबाट चरम यौन सन्तुष्टि लिएको त्यो बच्चाको बाबुले नै कुुनै साहरा दियो । बरू भगवान्ले आमाको दुःख देख्न सकेन र आफूसँगै लिएर गयो । त्यो बच्चा तीन वर्ष नपुग्दै टुहुरो भयो । आमाले बाबुसमेत नचिनाई छोडेर गइन्, यो संसारमा उसको भन्नु कोही भएनन् । हो, त्यही बच्चा अर्थात् म एक्लै भएँ । यसरी त्यति सानो उमेरमा म बीच सडकमा एक्लै भएँ ।
आमा मरेर म सडकमा विचल्लीमा परेको खबर बुबासम्म पुगेछ । त्यसपछि मलाई सडकबाट उठाएर अरूकै घरमा लगेर राखिदिएछन् । मलाई जहाँसम्म त्यो घर कान्छी आमाको माइती हो जस्तो लाग्छ । त्यो घरमा निकै कष्टसँग एक-डेढ वर्ष बिताएँ । उनीहरूले मलाई मेरो बारेमा केही पनि भनेका थिएनन् । सधैँ रिस मात्र गरिरहन्थे । म अलि ठूलो भएँ । घरतिरको सानोतिनो काममा सघाउन सक्ने भएँ । त्यसपछि कान्छी आमापट्टकिो मामा र मेरो बुबाले मलाई धरानमा ल्याए र सोहन थापाको घरमा ल्याएर छोडिदिए । उनीहरूले त्यसबेला मलाई ‘हामी तिम्रो मामा र बुबा हौं’सम्म भनेका थिएनन् । सोहन थापालाई पनि ‘गाउँतिरको केटो हो, जे काम लगाए पनि खान, लाउन चाहिँ दिनू’ भनेका रहेछन् । भोलिपल्ट उनीहरू फर्किए तर म सानै भएकोले भनेको जति काम गर्न सक्दिनथे । ‘कामचाहिंँ नगर्ने खान मात्र खोज्ने’ भन्दै परिवारै मिलेर पिट्न थाले । बिरामी हुँदा औषधि दिँदैनथे । खान पनि एक छाक मात्र दिन्थे । तैपनि जसोतसो पिटाइ खाएरै भए पनि बसिरहेको थिएँ तर एक वर्षपछि मलाई विराटनगर पठाइदिए । त्यो घरमुलीको नाम बिर्सिएँ तर थरचाहिँ कार्की थियो । त्यहाँ कामचाहिंँ असाध्यै गर्नु पर्थ्यौ तर खानलाई उति समस्या थिएन । राम्रो व्यवहार नगरे पनि कहिलेकाहींँ मात्र पिट्थे । उनीहरूले लगाएर फाटेका कपडा दिन्थे । उनीहरूले सात-आठ महिनापछि मलाई फेरि धरान नै फर्काइदिए र म राजु भुजेलको होटेलमा काम गर्न थालेँ । होटेलमा भाँडा माझ्नेदेखि चिया बनाएर टाढा-टाढासम्म पुर्याउने सबै काम गर्नुपर्थ्यो । एउटा गिलास मात्र फुट्यो वा चिया अलि नमीठो भयो भने साहुजीले पिटिहाल्थे । होटलको मात्र होइन, उनीहरूको घरको काम पनि गरिदिनुपर्थ्यो ।
दुई वर्षपछि भुजेलले होटेल छोडे र मलाई धरानकै पुरुषोत्तम ढकालको घरमा काम गर्न राखिदिए । त्यतिबेला म लगभग आठ वर्षको भइसकेको थिएँ । त्यो घरको गोठभरि गाईभैँसी थिएँ । बिहान चार बजे उठेर कुँडो पकाउनेदेखि गोबर सोहोर्ने, त्यत्रा बस्तुलाई घाँस काट्ने सबै काम म एक्लैले गर्नुपर्थ्यो । अरू कसैले सघाउँदैनथ्यो । बिहान कुँडो पकाउन एकछिन मात्र ढिला भयो भने निकै गाली खानुपर्थ्यो । कहिले त खानसमेत दिँदैनथ्ये । त्यो घरमा सीता दिदी भन्ने थिइन् । जसले मलाई असाध्यै माया गर्थिन् । उनैले मलाई स्कुल भर्ना गरिदिइन् । म एघारदेखि दुई बजेसम्म स्कुल जान्थे र अरू समय घरको काम गर्थे । दुर्भाग्य त्यहाँ पनि धेरै बस्न पाइन । म बीच मैदानमा फालिएको भकुण्डोजस्तै थिएँ । कसैले लात्ताले हिर्काएकै भरमा कहिले वल्लो छेउ त कहिले पल्लो छेउ पुग्नु पर्थ्यो । त्यसपछि म सुब्बा थापाको घरमा शरण लिन पुगे । त्यहाँ केही समय बसेपछि मलाई त्यो घरकी बूढी आमाले ‘काम पनि धेरै गर्नु पर्दैन । पढ्न पनि पाउँछस्’ भनेर काठमाडौंँ पुरानो बानेश्वरस्थित कमला कार्कीको घरमा पठाइदिइन् र, २०५५ सालतिर म काठमाडौँं आएँ । ती बूढी आमाले भनेको जस्तै त्यो घरमा मैले धेरै दुःख गर्नु परेन । कमला दिदीले निकै राम्रो व्यवहार गर्नु भयो र भीमसेनगोला माविमा तीन कक्षामा भर्ना गरिदिनु भयो । मैले जिन्दगीमा पहिलोपटक मायाको अनुभूति गरेको कमला दिदीबाट नै हो । त्यहाँ दुईवर्ष बसेपछि उहाँले मलाई बहिनी बिमला भट्टराईको घरमा राखिदिनुभयो । त्यहाँ सर्दा पनि मेरो पढाइ रोकिएन र बिमला दिदीले पनि निकै माया गर्नुहुन्थ्यो । विस्तारै म अलि ठूलो हुँदै गएँ । धेरथोर कुराहरू बुझ्दै गएँ । सधैँ यसरी अर्काको घरमा नोकर बस्नु हुँदैन भन्ने लाग्यो र बिमला दिदीको घरमा बसेको दुई वर्षपछि साथीसँग छुट्टै डेरा गरेर बस्न थाले । गुहृयेश्वेरी बालशिक्षा माविमा सात कक्षामा भर्ना भएँ । कुरियरहुँदै मोटरसाइकल ग्यारेजमा सम्म काम गरेँ । दुःखसुख गरेर दिनहरू कट्दै गए । अहिले सोही स्कुलमा दश कक्षामा पढ्दैछु ।
अरूको घरमा नोकर बस्दाबस्दै १७-१८ वर्षसम्म मैले बुबाको खोजी गर्नै भुलेछु । कहिलेकाहीँ त मलाई बाबुआमा भन्ने नै हुँदैनन् भन्ने लाग्थ्यो तर जति ठूलोहुँदै गयो, त्यति नै बाबुआमाको यादको भुङ्ग्रोमा पिल्सनु पर्दोरहेछ । तिर्सनाले पिरल्दो रहेछ । हुन त मलाई आमाको अनुहार कति पनि याद छैन तर मुखनेरको सानो घाउ र बाटोमा बस्दा अरूसँग मागेर आमालाई खुवाएको मधुरो स्मृति भने छ । त्यससँगै मलाई आमा मरे पनि बाबु अझै छन् भन्ने थाहा थियो । त्यसैले बुबालाई जसरी भए पनि भेट्ने दृढ इच्छाशक्ति लिएर म २०६४ सालमा धरान गएँ । बाबुको नामसमेत प्रष्टसँग थाहा नभएकोले निकै गाह्रो भयो । बल्लबल्ल ठूलो बुबालाई भेटे । उहाँले नै कान्छी आमासँग भेटाइदिनु भयो तर बुबालाई भेट्न सकिन, विदेश जानुभएको रहेछ । त्यसपछि ठूलो बुबासँग बुबाको फोन नम्बर लिएर काठमाडौंँ फर्किएँ ।
मैले काठमाडाँै आएर फोन गर्नुभन्दा पहिले नै कसैले उहाँलाई सबै कुरा सुनाइदिएछ । मैले फोन गर्नासाथ ‘म तिम्रो बुबा होइन । तिमी भ्रममा छौं’ भन्नुभयो । उहाँको यस्तो वचनले मलाई असाध्यै दुखित तुल्यायो तैपनि हरेस खाइन । २०६६ सालमा बुबा नेपाल आउनु भएको थाहा पाएँ । नेपाल आएपछि त उहाँसँग भेट होला भन्ठानेको थिएँ तर बुबाले मलाई भेट्नै मान्नु भएन । मैले फोनमा ‘म घरै आउँछु’ भन्दा ‘तिमी यता नआऊ । खतरा हुन्छ । बरू म काठमाडौँ आउँदा भेट्छु’ भन्नुभयो । मैले पनि ‘ठिकै छ’ भनेर कुरेर बसे र २०६७ साल जेठ ३० गते काठमाडौँमा बुबासँग भेट भयो । उहाँलाई भेटेर म निकै खुसी भएँ, खुट्टामा ढोगेँं तर बुबाको अनुहारमा कुनै चमक थिएन, उत्साह थिएन । बरू निकै निरास देखिनुहुन्थ्यो । त्यो दिन बुबाले केही कुरा गर्नु भएन । छुट्टनिै हतार गर्नुभयो । पछिपछि भेटौंला भन्नुभयो तर त्यसदिनभन्दा पछाडि आजसम्म भेटेको छैन । ‘म तपाईंलाई भेट्न आउँछु’ भन्यो भने ‘नआइज, म काठमाण्डु आउँछु’ भन्नुहुन्छ तर कहिले आउनुहुन्न । मैले फोनमा बुबालाई धेरैपटक नागरिकता बनाइदिन अनुरोध गरेँ तर उहाँ एउटा न एउटा निहँु झिकेर पन्छिनुहुन्छ । मलाई आजसम्म माया त दिनु भएन, एउटा नागरिकतासमेत दिनुहुन्न । मेरो बुबासँग यही गुनासो छ कि, ‘मलाई तपाईंको एक कौडी सम्पत्ति चाहिन्न । बरू मैले जम्मा पारेको धेरथोर पैसा तपाईंलाई नै दिन्छु तर मलाई माया दिनुस्, पहिचान दिनुस् । आजसम्म म जसरी तपाईंको यादमा तड्पिएँ, अब त्यसरी नतड्पाई दिनुहोला’ । फेरि एक पटक विनम्रताका साथ दोहोर्याउन चाहन्छु, ‘मलाई तपाईंको सम्पत्ति हैन, न्यानो माया र पहिचान चाहिएको छ ।’
दसैं नजिँकिदै छ । आफन्त नभएकालाई चाडपर्व जति पीडादायी क्षण अरू केही हुन्न । मैले पनि आजसम्म हरेक दसंैतिहार रोएरै बिताएको छु तर यसपालिको दसंैमा बुबाको हातबाट अमूल्य आर्शीवाद थाप्न चाहन्छु । त्यसैले अचेल मोबाइल बज्दा बुबाकै फोन आयो, भनेर मन फुरुङ्ग हुन्छ तर खै आजसम्म फोन आएको छैन । अझ पनि म बुबाको त्यही बोलीको पर्खाइमा छु, ‘छोरो, दसैंमा जसरी भए पनि घर आइज् । हिजो जे-जे भयो, त्यसलाई बिर्सिदे । अबदेखि जिन्दगीको नयाँ अध्याय सुरु गरौं र यसपालिको दसैं सारा दुःखकष्ट भुलेर बाबुछोरासँगै बसेर मनाऔं ।’ म यहीं जवाफको प्रतीक्षामा छु । सायद बाँचुञ्जेलसम्म नै बाबुको यहीं जवाफ कुरेर बस्नेछु । मलाई आफ्नो पहिचान खोज्दै बिताएको विगतको २२ वर्षको भरपाई बुबाको त्यही जवाफले मात्र गर्न सक्छ । अन्यथा आकासमा पूर्वबाट उदाएको सूर्य पश्चिममा अस्ताउँदै बित्ने दिन, हप्ता, महिना र वर्षहरूको गन्ती गर्नुबाहेक मेरो कुनै लक्ष्य छैन । कुनै प्राप्ति छैन ।
मधुपर्क २०६८ असोज
