Skip to content

नेपथ्यको पर्दामा दृश्यान्तर

  • by


सर्पिलो पीच फैलिएको थियो, उकालोतिर। यो उकालोको नाउँ के हो? साथमा पैदलयात्रा गरिरहेका साथी स्पेन्सर केही भन्न खोज्दैथिए, अचानक हामी दुईछेउ भयौँ, थ्रीह्विलर आएकाले। बम्बईको हँकाइ यस्तै हो।

हामी दुई एउटै समयका पागल सिनेप्रेमी। ऊ दक्षिण भारतको एक कुनाबाट, म भारतको उत्तरी छिमेकबाट। आनन्द भवन पुग्यौँ। राष्ट्रपति भवन जस्तो देखिने त्यो महल अभिनेता, फिल्मकार, चलचित्र उद्यमी देव आनन्दको थियो। मेरा आमा, हजुरआमा र हजुरबुबासम्मका प्रिय अभिनेता, मेरी हजुरआमाले वीरसिक्काको कथा झै सुनाएका नायकको आँगनमा म थिएँ।

कालो सूट लगाएका देव आनन्दलाई देख्दा केटीहरू बाल्कोनीबाट हाम फाल्थे रे! म बुझने नहुँदै हजुरआमाले सुनाएको यो कथा उहाँले कुन च्यानलबाट, कसरी सुन्नुभो र मसम्म आइपुग्दा कति सम्पादन वा विस्तार भो भन्न सकिन्न। देव आनन्दले सुरैयालाई औँठी दिन गएको रात के भो? सुरैया-देव आनन्द प्रेमकथा हजुरआमाको यौवनकालको लोकप्रिय स्क्यान्डल रहेछ। तिनै सुरैयाका पूर्वप्रेमी देव आनन्दसित आज हजुरआमाको खुल्दुलीबारे सोध्नुछ।

ढोकैमा रोके, गोर्खेले। जसरी हामी सबै पश्चिमालाई अमि्रकन भन्छौं, त्यसरी नै भारतीयहरू पहाडबाट झ्रेर इमानदार द्वारपालको पहिचान बनाएकाहरूलाई बहादुर वा गोर्खे भन्छन्। भारतीय साहित्यका कमजोर लेखकहरूले यो कुराको बयान गर्दा मर्माहत भएका छौं हामी कतिचोटि। हिन्दी सिनेमा घरवाली बाहरवाली त्यसको एउटा उदाहरण हो। अरविन्द अडिगाको उपन्यास द ह्वाइट टाइगर अर्को उदाहरण।

“कहाँ से हो?” गोर्खेले सोधे।

“यो सोझ्ो मान्छे देवसाहबलाई भेट्न नेपालबाट आएको हो। देवसाहबसँग नेपालमै पनि यसको भेट भइसकेको रहेछ”, स्पेन्सरले भाँती पुर्‍याएर भने। स्पेन्सरको बयानले मलाई १५ वर्ष अगाडिको स्कूले जीवनतिर धकेल्यो। हामी स्कूलको नियमित एसेम्बलीमा दाँत, नङ, कपाल, जुत्ता र ड्रेस जँचाएर हरे राम हरे कृष्ण को सुटिङ्गस्थल पुग्थ्यौं। म हरेक दिन साथीहरूलाई हिँड्, देव आनन्द भेट्टाइदिन्छु भन्दै लान्थेँ।

जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको डाँडोमा एकदिन मैले देव आनन्दलाई जीनत अमानसँग देखेर भीडबाटै सोधेँ, “मिष्टर देव आनन्द, हाऊ ‘ल्ड आर यू?” यो हजुरआमाको प्रश्न थियो, मैले सोधी दिनुपर्ने। उनले हेरे, तर कहाँ देख्नु? म त भीडमा हराएको थिएँ। तैपनि, हात हल्लाउँदै जवाफ दिए उनले, “आइ एम फोर्टी सेभेन इयर यङ्ग।”

यो जवाफ हजुरआमासम्म पुर्‍याउन नपाउँदै मैले अभिभावकबाट हत्केला र पैतालामा चार-चार लौरो पाएँ। अब मेरो सुटिङको कक्षा तुरियो। लट्ठीको डाम लिएर देव आनन्द जस्तै हल्लिँदै स्कूल जान थालेँ। आज देव आनन्दको आँगनमा त्यो अतीत सम्झ्ँदासम्झ्ँदै ढोकेले हामीलाई सानो जानकारीसहित बिदा गर्न चाह्यो, “देवसाहब दुई साताका लागि डेनमार्कमा छन्। पछि समय मागेर आउनू, यसरी भेट्न पाइँदैन।” त्यसपछि म उनलाई भेट्न कहिल्यै गइनँ। बम्बईमा कसैलाई भेट्न जानु पनि माग्न गए जस्तो हुँदोरहेछ।

देव आनन्दलाई आदर चैं गरिरहेँ। उनले आफ्ना सिनेमामार्फत नेपालका सुन्दर भूभागलाई विश्वकरण गरिदिएका छन्। नेपाली भाषाको सौन्दर्यलाई गीतहरूमा घुसाइदिएका छन्। उनैले नेपाली धुन (यो खोलाको सङ्लो पानी, ए कान्छा ठट्टैमा) सँगै नेपाली बाजा मादललाई हिन्दी पार्श्वसङ्गीतमा प्रविष्टी दिए जुन हरेक हिसाबले नेपाल र नेपालीप्रति सम्मान थियो। नेपालबाट गएका दार्जीलिङका एक सङ्गीतकर्मी रञ्जित गजमेरको सङ्घर्षलाई पनि उनैले संरक्षण दिएका हुन्।

यस्तो धेरै मायाले हेरिएका देव आनन्द मे २००८ मा लेखकका रूपमा नेपाल आए। काठमाडौंमा हुने उनको पुस्तक रोम्यान्सिङ्ग विथ् लाइफ को विमोचनमा मलाई वक्ता छानिएको थियो। रमाइलो कुरा, ४७ वर्षको उमेरमा उनलाई नेपालमै देखेको थिएँ, उनी ७४ हुँदा फेरि यहीँ भेट्दैछु। ४३८ पृष्ठको पुस्तक पढ्दै जाँदा अनगिन्ती प्रश्नहरू आए, अझ्ै सोध्न बाँकी हजुरआमाको प्रश्नहरू गौण हुन थाले। कति साहसले बनेका रहेछन् यी मान्छे, म त अवाक् भएँ! मैले देव आनन्दलाई परिचयकै क्रममा “तपाईंले आफ्नै हातले लेखेको हो त?” भनेर सोधेको थिएँ। उनले यसको जवाफ भरिसभामा दोहोर्‍याएर दिए, “यो पुस्तकको एक-एक पङ्क्ति आफ्नै हातले लेखेको हुँ।”

मैले लिखित भनाइ राखेँ, त्यही मञ्चमा। उनले मेरो कडा टिप्पणीलाई तीखो भनेनन्। बरु अत्यन्त राम्रो भन्दै प्रेमपूर्वक त्यो मन्तव्य मागे। मेरो प्रश्नैप्रश्नले जेलिएको समीक्षापत्र आज उनको घरमा सुरक्षित होला। मसँग पनि उनले ६० हजार रुपैयाँको मो ब्लाँले हस्ताक्षर गरेको रोम्यान्सिङ्ग विथ् लाइफ सुरक्षित छ।

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *