Skip to content

मल्लकालपूर्वको नेपाली रङ्गमञ्च

  • by


नेपाली नाटकको विकासमा मल्लकाललाई स्वणिर्मकाल पनि भनिन्छ । नेपाली नाटकको जे जति विकास मल्लकालमा भएको थियो त्यसअघि र पछि नेपाली नाटकले विकास गरेको पाइँदैन । मल्लकालमा राजा र जनता दुवै नाटकको विकासमा लागेका र राजा स्वयम् पनि नाटक प्रदर्शन गर्न अग्रसर हुने गरेकाले मल्लकालमा चाडपर्वको बेला नाटक मञ्चन गर्ने परम्परा नै बसेको पाइन्छ । नेपालमा खुलामञ्च नाटकको थालनी पनि मल्लकालमा डबली नाटकका माध्यमबाट सुरू भएको र मल्लकालअघि पनि डबलीको अस्तित्व रहेको तथा धार्मिक नाटक खुला आकाशमा देखाउने परम्परा रहेको देखिन्छ ।

नेपालमा डबलीको अस्तित्व सूर्यवंशी राजा शिवदेव वर्माको पालादेखि नै रहेको र नाट्यस्वरूपको अस्तित्व भने ईसापूर्व ४२६ देखिकै रहेको पाइन्छ । हरिसिद्धि नाचबाट सुरू भएको नेपाली रङ्गमञ्चको इतिहासले धेरै नै उतारचढाव पार गरिसकेको छ । नाटकको इतिहास पहिल्याउनुपूर्व नेपालको इतिहासलाई पनि हेर्नुपर्ने हुन्छ । नेपालको इतिहासमा भारतवर्षका सम्राट् विक्रमादित्यको आगमनसँगै तिथिमितिको इतिहास पाउन सजिलो भएको छ । विक्रमादित्यले उज्जैनबाट त्रिशक्तिदेव हरिसिद्धिलाई कलशमा ल्याएर प्रतिस्थापित गराएर हरिसिद्धि नाचको परम्परा चलाएको मानिन्छ । हरिसिद्धि नाचका विषयमा धेरै अध्ययन-अनुसन्धान कार्यहरू भएको पाइन्छ । देववंशावली, भाषावंशावली, राजभोगमाला आदि सबै वंशावलीमा कलिगत २६७५ अर्थात्् ईसापूर्व ४२६ मा विक्रमादित्यले भारतको उज्जैनबाट हरिसिद्धि नाच नेपालमा ल्याएको उल्लेख भएकोबाट यसको प्राचीनता प्रमाणित हुन्छ त्यसैले नेपाली रङ्गमञ्चीय प्रस्तुतिको थालनी गर्ने हरिसिद्धिका बारेमा चर्चा गर्नु सान्दर्भिक देखिन्छ ।

हरिसिद्धिलाई नेवारीमा जाला प्याख अर्थात् जलको नाटक पनि भनिन्छ । डेनियल राइटका अनुसार भारतवर्षको उज्जैनका राजा विक्रमादित्यले आफ्नो कुलदेवता हरिसिद्धिलाई कलशमा राखेर नेपालको नीलतारा भन्ने ठाउँमा स्थापित गराएर नृत्य, सङ्गीत, नाटकको थालनी गराएको मानिन्छ । यसको समय कलिगत २६७५ मा ईसापूर्व ४२६ मानिएको छ । कुलदेवता हरिसिद्धिलाई विक्रमादित्यले पहिला बानेश्वरमा स्थापना गरेका र केही धार्मिक व्यवधान आएपछि हालको हरिसिद्धिमा सारिएको बारे राइटले आफ्नो कृति History of Nepal (London ; Cambridge Universty Press, 1877) उल्लेख गरेका छन् । विक्रम संवत् ७४५ मा बानेश्वरबाट कलशलाई हरिसिद्धिमा सारिएको र हाल पनि हरिसिद्धिको मन्दिर यस स्थानमा रहेको देखिन्छ । यो नाटक परम्परा ईसापूर्व ५६ बाट विक्रमसेन सूत्रवीरले नगेन्द्रलाई मारेको कथामा आधारित छ । यस नाटकको थालनीका बारेमा देवमाला वंशावलीमा उल्लेख भएको पाइन्छ र यसलाई लिन्डा एल्. इल्टिसले पनि आफ्नो कृतिमा चर्चा गरेका छन् । सातौँ शताब्दीमा बरदेवले हरिसिद्धि नृत्यपरम्पराको थालनी गराएपछि नियमानुरूप चल्दैआएको थियो । यो नृत्यनाटक परम्परामा वि.सं. १००३ सालमा फेरि अवरोध उत्पन्न भए तापनि पुनः ५१४ वर्षपछि अर्थात्् वि.सं. १५१७ मा अमर मल्लले हरिसिद्धि नृत्यनाटकपरम्परा सुरू गराएपछि यो नृत्यनाटक परम्परा मल्ल राजाहरूका लागि धार्मिक मान्यता नै बन्न पुगेको पाइन्छ । राजा रत्न मल्ल (१५३९-१५९७) ले त आफ्नो राजमुकुट नै हरिसिद्धिमा चढाएर लगाएको इतिहास छ । यसरी नेपालमा धार्मिक मान्यता बोकेर सुरू भएको हरिसिद्धि नृत्यनाटक पुनः बन्द भएपछि राजा प्रताप मल्लको शासनकालमा वि.सं. १७११ सालमा नयाँ विधिअनुरूप सुरू हुन्छ । लम्भाकर्ण भट्ट र नर्सिंह ठाकुरको सहयोगबाट पुनः सुरू भएको हरिसिद्धि नृत्यलाई विश्वनाथ उपाध्यायको सहयोगमा नृत्य गर्ने नयाँ विधिहरू पनि सिकाइएको बारे देवमाला वंशावलीमा चर्चा भएको छ । अझ वि.सं. १७२० सालमा यो नृत्य प्रारम्भ गर्न १०५ वटा खसी र २४ वटा राँगा चढाएर दर्शकहरूको उपस्थितिमा मन्दिरको प्राङ्गणमा नृत्य मुद्रामा प्रस्तुत गरिएको मानिन्छ । हरिसिद्धि नृत्यनाटक धार्मिक नाटक भएकाले यसमा पुजारीको अहम् भूमिका रहन्छ र उनीहरू दया वा दयालु अर्थात् ईश्वरका रूपमा नाटकमा आएको मानिने हुँदा मञ्चमा आएका दया पात्रलाई नाटकपछि धार्मिक रीतिअनुसार पूजा गरिने चलन छ ।

बाह्र वर्षमा एक पटक देखाइने परम्पराअनुसार हरिसिद्धि नाचमा अभिनय गर्न चाहनेले चार महिनासम्म मन्दिरमा बसेर होम गरेर विधिपूर्वक कथाका पात्रको चरित्रलाई बुझेर चरित्रअनुरूप आफूलाई ढाल्नु पर्दछ । यसरी नाटकका पात्रको चरित्रलाई बुझेपछि मात्र अभिनयकर्ताले पात्रको चरित्रसँग न्याय गर्न सक्छ भन्ने विश्वास रहेको छ । यसका अतिरिक्त नाटकमा दसजना पुरोहितले स्थायी पात्रका रूपमा अभिनय गर्छन् भने अरू दसजनालाई च्याबु भनिन्छ, जसमा आठजना भूतका छोराहरू र दुईजना कुकुर पात्र हुने गर्दछन् । यसैमा दुईजना ढोलकी, एकजना चुस्या बजाउने र एकजना गायक रहने गर्छ । दुईवटा कलश, बाली, शुक्रवीर, लाखे र कुमारी आदि पात्रहरू पनि यस नृत्यनाटकमा रहने गर्दछन् । प्रत्येक पात्रले आफ्नो पुर्खाबाट आफ्नो चरित्रको गोप्य अर्थ बुझेको हुनुपर्दछ । बाह्र वर्षमा गरिने भएकाले यसमा पुजारीको इच्छाअनुसार नयाँ पात्रले अभिनय गर्ने मौका पनि पाउन सक्छ तर त्यसका लागि उसले गोप्य शिक्षादीक्षा लिनु अनिवार्य मानिन्छ । यस नृत्यनाटकमा देवभाषाका रूपमा प्रयोग गरिने दयामैं भाषालाई मन्त्र भनिन्छ र यो भाषा नेवारी, नेपाली, मैथिली, संस्कृत, पाली भाषाभन्दा बेग्लै प्रकारको हुने गर्दछ ।

हरिसिद्धि नृत्यनाटकमा अभिनय गर्नेले पूर्ण ब्रहृमचर्यको पालना गर्नुपर्छ । नृत्यनाटक सुरू हुनुभन्दाअगाडि गुरुशिष्य मिलेर पूजा गरिन्छ । हरिसिद्धि नृत्यनाटक देखाएपछि हरिसिद्धि स्वर्गमा जाने किंवदन्ती रहेको छ । तर नवदुर्गा र पचली भैरवको पूजा गरी नृत्यनाटक देखाएपछि पातालमा पठाइने चलन रहेको हुँदा प्रत्येक नवदुर्गा र पचली भैरवको प्रस्तुतिमा देवीदेवतालाई स्वर्गबाट बोलाएर नाटकको अन्त्यमा पातालबास गराइन्छ । त्यसैले नवदुर्गा र पचली भैरवको पातालबासपछि मात्र हरिसिद्धिलाई स्वर्गबाट बोलाएर नाटकको अन्त्यमा स्वर्गमा फिर्ता पठाएर नाटक समाप्त गर्ने चलन छ । धार्मिक मान्यताअनुरूप देखाइने हरिसिद्धि नृत्यनाटकको प्रस्तुति पनि धार्मिक विधिअनुसार गरिन्छ । त्यसैले नाटक सुरू गर्नुअघि पञ्चबली दिइन्छ । नाटकलाई निँ प्याख र काँ प्याख गरी दिउँसो र राति देखाउने परम्पराअनुसार विभाजित गरिएको छ । काँ प्याखको प्रस्तुतिमा दसजना कविराजहरूले पाँच दिशाबाट मुदे, भलन्द्या, विक्रमापति, कुमारी, नारायणले रातो, पहेँलो, नीलो र हरियो मुखुन्डो लगाएर अभिनय गर्छन् भने निँ प्याखमा नसद्या अदृश्य पात्रका रूपमा रहने गर्छ । नृत्यनाटकका अन्त्यमा गणेश, हनुमान, रामचन्द्र, शुक्रवीर, नारद, बलीराजा, कुमारीसँगै विक्रमापति, मन्त्री, लाखे आदि विभिन्न पात्रहरू मुखुन्डो लगाएर मञ्चमा उपस्थित हुने गर्छन्् । यस नाटकको प्रस्तुतिमा जम्माजम्मी १६ वटा दृश्य रहने गरेको पाइन्छ । यसरी धार्मिक मान्यताअनुरूप मञ्चन हुने गरेको हरिसिद्धि नृत्यनाटक नेपाली रङ्गमञ्चको थालनी बिन्दुसँगै सांस्कृतिक धरोहरका रूपमा रहेको छ । ईसापूर्व ४२६ देखि नेपालमा भित्रिएको यो नृत्यनाटक परम्पराले अहिलेसम्म पनि त्यहीअनुरूपको मान्यता र श्रद्धा पाइरहेको देखिन्छ ।

किराँतकालपछि नेपालको राज्यसत्ता सोमवंशीको हातमा जान्छ भने सोमवंशका अन्तिम राजा भाष्कर वर्मा निःसन्तान भएपछि सूर्यवंशी क्षत्रीय भूमिवर्मालाई राजा बनाएर सूर्यवंशीहरूको शासन व्यवस्था सुरू भएको पाइन्छ । सूर्यवंशी राजा शिवदेव वर्माले आफ्नो शासनकालमा धार्मिक चाडपर्वहरूलाई बढी मान्यता दिएको एवम् मठमन्दिर तथा देवालयहरूको निर्माण गर्दै गएको मानिन्छ । यिनै शिवदेव वर्माको पालामा पाँचवटा डबलीको निर्माण गरिएको कुरा डेनियल राइटले आफ्नो पुस्तकमा चर्चा गरेका छन् । नेपाली इतिहासको अध्ययनको क्रममा प्राप्त डबलीको पहिलो वर्णन यसै पुस्तकमा भएको पाइन्छ । सूर्यवंशी राजा शिवदेव वर्माले चार गणेश, चार भैरव, चार महादेव, चार कुमारी, चार बुद्ध र चार नृत्यनाथको प्रतिस्थापना गराएपछि पाँचवटा डबली बनाएका थिए । यस तथ्यबाट नेपाली रङ्गमञ्चको इतिहासलाई अझ अगाडि बढाइदिएको छ । डबलीको निर्माणले नै तत्कालीन समयमा रङ्मञ्चीय गतिविधि हुने गरेको सङ्केत दिन्छ । सूर्यवंशी राजाहरूको इतिहास भूमि वर्माबाट कलिगत १३८९ वर्षदेखि भएको मानिन्छ भने राजा शिवदेव वर्मालाई सत्ताइसौँ राजा मानिन्छ । यिनै शिवदेव वर्माको समयदेखि रथमा देवीदेवताको जात्रा निकाल्ने चलन सुरू भएको मानिन्छ । राइटका अनुसार शिवदेव वर्माको पालामा भारतवर्षबाट महाराजा विक्रमादित्य भारतमा जस्तै नेपालमा पनि आफ्नो संवत् चलाउन आउँदा सपनामा देवी आएर आदेश दिएअनुरूप यिनले भारतको उज्जैनबाट त्रिशक्तिदेवको कलश ल्याएर नीलतारामा प्रतिष्ठापित गराएको र यिनले नै देवीको आदेशानुसार हरिसिद्धि नाच थालनी गराएर गएपछि यो नृत्यनाटक परम्पराले नियमितता पाउँदै गएको बारे चर्चा गरेका छन् । यिनै राजा विक्रमादित्यले सूर्यविनायकमा गणेशको मूर्ति स्थापना गराएका थिए । राजा विक्रमादित्यले त्रिशक्तिदेवीको कलश ल्याएर हरिसिद्धिमा स्थापना गरी हरिसिद्धि महोत्सव मनाउने परम्परा सुरू गराए भने महोत्सवमा गीत, नृत्य र नाटक देखाउने परम्पराको थालनी पनि यिनै विक्रमादित्यले हरिसिद्धिको आज्ञानुसार चलाएको मानिन्छ । यिनले नेपालमा आएर विभिन्न धार्मिक उत्थानका कार्यहरू गर्नाका साथै नेपाली जनतालाई करमुक्त गराई आफ्नो संवत् चलाएर गएको भनिन्छ विक्रमी संवत् र ईस्वी संवत्बीच ५७ वर्षको अन्तर भएको र विश्व वर्मालाई मानदेव, गुणदेव र शिवदेवको वंशज मानिएकोबाट मानदेवको समयलाई ईस्वी सन् ४६४ मानिन्छ भने यो गणना न मिल्ने भएकोले विक्रमादित्यको आगमनको समयलाई कतै विक्रमी संवत्पूर्वकै हाराहारीमा भएको अनुमान लगाउन सकिन्छ । फेरि हरिसिद्धि नृत्यनाटकको थालनी विक्रम संवत् ९४१ वर्ष अघिदेखि सुरू भएको भनिएकोबाट पनि यो तथ्यमाथि शङ्का उत्पन्न हुन आउँछ । रङ्गमञ्चीय इतिहास हेर्दा यहाँ पनि धार्मिक नाटक परम्परा रहेको तथ्य पाइन्छ । अहिलेसम्मको अध्ययनअनुसन्धानबाट हरिसिद्धि पुराणअनुसार नेपालमा नाटकको अस्तित्व विक्रम संवत् सुरू हुनुभन्दा ९४१ (कलिगत वर्ष २९६०) वर्ष अगाडि अर्थात् ईसापूर्व ९९८ देखि नै रहेको तथ्य पाइन्छ । यस तथ्यबाट नेपालमा नाटक परम्परा धेरै पुरानो रहेको प्रमाणित हुन्छ ।

धार्मिक कथावस्तुमा आधारित हरिसिद्धि नृत्यनाटकमा उग्रतारा र नीलसरस्वतीलाई मूल विषय बनाइएको छ भने यसमा सूत्रवीरले नागेन्द्रलाई बध गरेको उपाख्यानलाई प्रस्तुत गरिएको छ । वंशावलीअनुसार यस नाटकलाई राजा विक्रमसेनले उग्रतारा देवीको आज्ञा पाएर निर्माण गरेका र कालान्तरमा यो हरिसिद्धि नाच नाटक लोप भएर गएपछि विक्रम संवत् सुरू हुनुभन्दा १९६ (कलिगत वर्ष ३७०५) वर्ष अगाडि विश्वकर्मा नामक व्यक्तिले यसलाई नृत्यमा परिणत गरेर नियमितता दिँदै गए तापनि वि.सं. १००३ मा यसको नृत्य प्रस्तुति परम्परा पनि बन्द भएर गएको तथ्य पाइन्छ । पछि गएर कान्तिपुरका राजा प्रताप मल्ल (वि.सं १६९८-१७३१) ले आफ्नो शासनकालमा हरिसिद्धि नृत्य नाटकलाई पुनः व्यवहारमा ल्याएर नियमितताका साथ हरिसिद्धि नृत्यनाटक देखाउने परम्परा सुरू गराएको पाइन्छ । अहिलेसम्म पनि नियमितरूपले ललितपुरको हरिसिद्धिको मन्दिरमा प्रत्येक वर्ष हरिसिद्धि उत्सवको बेला नाचनाटक प्रस्तुत गरिन्छ । राजा प्रताप मल्लको देहावसान पनि यही हरिसिद्धि नाचनाटक हेर्दाहेर्दै रगत छादेर वि.सं १७३१ मा भएको मानिन्छ ।

इतिहासकार डी.आर. रेग्मीले जयदेव द्वितीयका बारेमा चर्चा गर्नेक्रममा कलिगत वर्ष ३८२४ लाई ईस्वी सन् ७२४ भनेर चर्चा गरेका छन् र राइटको पुस्तकमा पनि यसरी नै कलिगत ३१०० वर्षलाई ईसाको पहिलो वर्षका रूपमा चर्चा गरेका छन् । यही गणनालाई अरू इतिहासकारहरूले पनि स्वीकारेका छन् । यस गणनाबाट हरिसिद्धि नाचनाटकको समय कलिगत वर्षअनुरूप गणना गर्ने हो भने वि.सं. भन्दा १९७ वर्षअगाडि अर्थात् ईसापूर्व १४० वर्षदेखि यो परम्परा सुरू भएको देखिन्छ । यस तथ्यले हरिसिद्धि नाचनाटकको इतिहास विक्रम संवत्भन्दा अगाडि नरहेको देखिए तापनि यो नाचनाटकको थालनी ईसापूर्व केही समयअघिदेखि रहेको अनुमान लगाउन सकिन्छ । माथि उल्लिखित वंशावली र राइट दुवैले हरिसिद्धि नृत्यनाटकको थालनी राजा विक्रमादित्यबाट भएको कुरा स्विकारेका छन् ।

सूर्यवंशका अन्तिम राजा विश्वदेव वर्माले छोरा नभएकाले आफ्ना छोरीजुवाइँ अंशुवर्मालाई उत्तराधिकारी बनाएपछि अंशुवर्माले आफूलाई महाराजा घोषणा गरेर राज्य गर्न थाले । अंशुवर्माको पालामा धेरै नै धार्मिक एवम् सांस्कृतिक विकास भएको बारे इतिहासकारहरू बताउछन् । अझ अंशुवर्माको पालादेखि नै नेपालमा नयाँ युगको सुरूआत भएको मानिन्छ । यिनले आफ्नो शासनकालमा आप\mनै संवत् चलाएको पनि मानिन्छ । अंशुवर्माको राज्यकालमा (वि.सं. ६५९) चिनिया तीर्थयात्री ह्वेन साङ चीनबाट यात्रा सुरू गरी नेपाल हुँदै भारतको बैशाली भ्रमण गर्ने क्रममा वि.सं. ६९४ मा यात्रा गर्दा नेपालको कला, साहित्य र संस्कृतिको राम्रो विकास भएको बारे चर्चा गर्दै अंशुवर्माले शब्दविद्याशास्त्र पुस्तकको निर्माण गरेको बारे पनि उल्लेख गरेका छन् । वि.सं. ६५९ मा जन्मिएका ह्वेन साङको भ्रमणलाई वि.सं. ६८४ देखि ७०० सम्म रहेको पनि मानिन्छ । यात्रापछि चीन र्फकदा नेपालमा अंशुवर्माको शासनकाल समाप्त भएको थियो भनिएको छ । नेपालको तथ्यगत इतिहास पनि यहीँबाट सुरू भएको मानिन्छ । यसैलाई आधार मानेर इतिहासकार विक्रमजितले आफ्नो पुस्तकमा नेपालको ऐतिहासिक कालखण्डलाई अंशुवर्मापछि तीन चरणमा यसरी बाडेर चर्चा गरेको पाइन्छ ः

(१) पहिलो चरण-अंशुवर्माकालीन नेपाल (वि.सं. ६५९ देखि ११०० सम्म)

(२) दोस्रो चरण-भाष्करदेव वर्माकालीन नेपाल (वि.सं. ११०० देखि ११४० सम्म)

(३) तेस्रो चरण-ब्रह्मदेवकालीन नेपाल (वि.सं. ११४० देखि १२५७ सम्म) ।

त्यसपछि अरिदेव मल्लकालीन नेपाल वि.सं. १२५७ देखि सुरू भएर पृथ्वीनारायण शाहको एकीकरणपछि आधुनिक नेपालको इतिहास सुरू भएको पाइन्छ । राइटले आफ्नो पुस्तकमा पाटन सहरको निर्माण वीरदेवले वि.सं. ३५६ मा गराए भने काठमाडौँंं सहरको निर्माण गुणकामदेवले वि.सं. ७८० मा गराएको मानिन्छ र भँदगँउँ (भक्तपुर) सहरको निर्माण आनन्द मल्ललेे वि.सं. ९१३ मा गराएको बारे चर्चा गरेका छन् । अभि सुवेदीले आफ्नो लेखमा नेपालमा आठौँ शताब्दीको मध्यतिर नै रामायणको चार अङ्क नाटक देखाइएको बारे गोपाल वंशावलीमा चर्चा भएको तथ्यमाथि प्रकाश पारेका छन् ।

अहिलेसम्मको अध्ययन अनुसन्धानबाट लिच्छविकालीन समयमा कलासंस्कृतिले राम्रो विकास गरेको थाहा हुन्छ । लिच्छविकालका कलाकारहरूद्वारा बनाइएका मूर्तिहरूमा देखाइएका भावभङ्िगमा एवम् मुद्राहरूले नृत्यकलाको आभास दिलाउँछन् । कलाकारले देखेका र अनुभव गरेका कुराको अभिव्यक्ति उनीहरूका कलामा पाइन्छ भनिएझैँ लिच्छविकालीन मूर्तिहरू, काठमाडौंमा प्राप्त हाँडीगाउँको गणेशको मूर्ति, त्योडको गणेश मूर्ति, इन्द्रचोकको यक्षको मूर्ति ललितपुरको कुम्भेश्वरमा प्राप्त उमामहेश्वरको मूर्ति आदि मूर्तिहरूको निर्माणशैलीले तत्कालीन समयमा मात्र नभएर त्यसअघिका समयमा पनि कलासंस्कृतिले धेरथोर मात्रामा विकास गरेको देखिन्छ । लिच्छवि शासकहरू कलासंस्कृतिका मर्मज्ञ थिए भन्ने बारे विभिन्न समयमा इतिहासकार र अनुसन्धान गर्ने विद्वान्हरूले पनि चर्चा गरेका छन् । यस कुराको पुष्टि त्यस समयका प्राप्य मूर्तिहरूले पनि प्रमाणित गर्दछन् । लिच्छविकालमा वास्तुकला र ललितकलाले राम्ररी विकास गरेको कुरामा सबैको सहमति देखिन्छ । राजा जयदेव द्वितीय (वि.सं. ३७०-३९०) को समयको शिलापत्रमा पोडि मण्डपिका र प्रेक्षण मण्डपिका (मण्डप अर्थात् कुनै शुभकार्य गर्ने स्थल अर्थात् डबली) का बारेमा चर्चा भएको पाइन्छ, जसबाट यस्ता मण्डपमा नृत्यनाटकहरू हुनेगरेको बुझिन्छ । विश्वरङ्गमञ्चको इतिहासबारे चर्चा गर्ने क्रममा मार्गोट बर्थोल्डले भारतको प्राचीनकालीन नाटकबारे उल्लेख गर्दा त्यसबेला मण्डपमा नृत्य, सङ्गीत र नाटकहरू प्रस्तुत हुने गरेको बताउँदै मण्डप वा मण्डपिका शब्दले मञ्च आदिलाई बुझाउने गरेको बताएका छन् । यसका अतिरिक्त लिच्छविकालीन समयमा बनाइएका डबलीहरूले पनि तत्कालीन समयमा रङ्गमञ्चीय विकास भएको बुझिन्छ । अझ लिच्छविकालीन समयका डबलीहरूमा प्राप्त अभिलेखहरूबाट यस कुरालाई प्रमाणित गराइदिन्छ । काशीनाथ तमोटले आफ्नो लेखमा लिच्छविकालीन प्राप्य डबलीहरूबारे विवरण प्रस्तुत गरेका छन् । यसमा उनले संवत् र ईस्वी सन् राखेका छन् जसको गणना संवत्मा ५७६ जोडेर ईस्वी सन् बनाएका छन् । त्यसैले यो कुन संवत् भन्नेबारे यकिन साथ भन्न सकिँदैन । अंशुवर्माको शासनकाल ईस्वी सन् ६०२ अर्थात् वि.सं. ६५९ बाट सुरू भएको पाइने हुनाले यसमा अङ्कित वर्षलाई ईस्वी सन् नै मान्नु उपयुक्त देखिन्छ ।

यी सबै अभिलेखबारे शङ्करमान राजवंशीले सम्पादन गरेको ‘कान्तिपुर शिलालेख सूची २०२७’ मा पनि उल्लेख गरिएको छ । यी अभिलेखहरूले पनि नेपाली रङ्गमञ्चको इतिहासलाई प्राचीन समयसँग जोड्न सहयोग गरेको छ । यसका अतिरिक्त लिच्छविकालीन शासक अंशुवर्माको समयको लेलेमा प्राप्त भएको वि.सं. ६६१ को शिलालेखमा बादित्र गोष्ठीबारे वर्णन भएअनुसार तत्कालीन समयमा नाचगान चलाउन त्यस्ता गोष्ठी हुने गरेको कुरा प्रचण्ड मल्लले आफ्नो पुस्तक नेपाली रङ्गमञ्चमा चर्चा गरेका छन् । त्यस्तै, लिच्छविकालीन अर्का शासक चम्पादेवको समयमा रामायण नृत्यनाटकको प्रस्तुति भएको बारे पनि चर्चा भएको पाइन्छ भने गुणदेव प्रथमको समयमा काठमाडौंमा १८ हजार घरहरूसँगै पाटीपौवा, मठमन्दिरहरूको निर्माण गरेर बस्ती बसालेर देवीदेवताहरूको जात्रा चलाउने प्रथा चलाएर तत्कालीन राजाहरूले धर्मप्रति प्रजाको आस्था बढाएका प्रमाणहरू पाइन्छ । लिच्छविकालीन नेपालमा काठमाडौँको हाँडीगाउँ यसको राजधानी रहेको बुझिन्छ । नेपालभरि सबैभन्दा बढी जात्रा पनि हाँडीगाउँमा नै लाग्ने गर्छन् । यी जात्रामा देवीदेवताका मूर्तिको जात्रासँगै बाजागाजासहितको भीडले गाउँदै, बजाउँदै, नाच्दै नगरपरिक्रमा गर्ने गरिन्छ । यो परम्परा लिच्छविकालदेखि नै चल्दैआएको मानिन्छ । यसै आधारमा ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान पनि चलेको छ ।

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *