Skip to content

के नेपाल ‘भनसुनको देस’ नै हो त ?


उदयपुरे चेली, सप्तरीया बुहारी र काठमाडौँकी शैक्षिक सेविका कवयित्री पार्वती राउतको नयाँ कृतिमान

(१) परिचय

कुनै पनि मुलुकको सभ्यता र संस्कृतिको परिचय त्यस मुलुकको कला र साहित्यले दिने गर्दछ । साहित्य समृद्धशाली छ भने त्यस देशको समुन्नतिमा समेत ठोस टेवा पुग्दछ । साहित्य, कला र संस्कृतिको विकास भनेपछि कुम्भकर्णजस्तो निदाउने सरकारका सामु अरू कसैको केही लाग्दैन तर सर्जकहरूले भने सिर्जनामार्फत् नै परिवर्तन गर्न सक्छन् भन्ने कुरा विश्व इतिहासमा भएका वौद्धिक क्रान्तिहरूले पुष्टि गरिसकेका छन् । यो जगत् सुन्दर हुनु र देखिनुमा साहित्यले आधारभृ्त भृ्मिका खेलेको छ । मानवीय जीवनको प्रगतिको द्योतकका रूपमा साहित्य चिनिन्छ । मानिसलाई मानव भनेर चिनाउने गहना पनि साहित्य नै हो । नेपाली साहित्यको विकासमा राज्यको देन न्युन छ तापनि केही कृतिहरूले विश्व साहित्यसँग पौँठेजोरी खेल्ने क्षमता राखेका छन् । साहित्यलाई अनुत्पादक क्षेत्रका रूपमा हेरिएको छ । केही सर्जकवाहेक प्रायः जसो लेखेर बाँच्न सकेका छैनन् । एक त किताब किनेर पढिदिने पाठक पाउन मुस्किल छ, अर्कातिर पूरै रचना वा कृति पढिदिने पाठक भेट्नु लेखकको लागि गौरवको विषय बनेको छ । केही ख्याति कमाइसकेका र बिकाउ लेखकका निम्ति पाठक छन्, बाँच्ने अवस्था छ तर अधिकांशका लागि अभिव्यक्ति क्षमता हुँदाहुँदै पनि प्रकाशनको समस्या छ, साहित्य जगत्मा उदाउने अवसरको समेत अभाव छ, पाठकको त कुरै पर जाओस् । विहान बेलुकाको छाक टार्न धौधौ परेको बखत साहित्य पढ्नु र साहित्यमा लाग्नु व्यर्थ सावित हुने अवस्था छ । जीविकोपार्जनबाट बचेको समय रहरले साहित्यमा लगानी गर्नु अधिकांशको वाध्यता छ । औसत नेपालीको लागि साहित्य रहरको खेती ठहरिएको छ । यहाँ भने प्राकृतिक दृष्टिले सम्पन्न तर पूर्वाधार विकासले पछाडि परेको उदयपुर जिल्लामा नेपाली साहित्यिक अवस्थाको अभिरेखाङ्कन गर्दा छुटाउनै नहुने एक नाम र एक कृतिको सामान्य समीक्षा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।

उदयपुरे कवि र कवयित्रीहरूको चर्चा गर्दा लोकनाथ पोखरेल (१९३३-१९९४) को ‘लोकमञ्जरी’ (०१६, कविता सङ्ग्रह) बाट सुरू गर्नुपर्ने हुन्छ । त्यसपछि जनकवि गम्भीरबहादुर थापा (१९७१-०६५) को ‘उदय’ साप्ताहिक पत्रिकामा धारावाहिकरूपमा गीत, कविता र सवाई प्रकाशित, गोवद्र्धन तामाङ्ग (१९९४) को ‘चिनारी’ (०२६, कविता सङ्ग्रह), शिवहरि राई (००४) को ‘उदयपुरको प्रतिविम्ब’ (०५९, कविता सङ्ग्रह), कुमारसिंह कार्की (००५) को ‘भजन’ (०६५, भजन सङ्ग्रह) र लेखबहादुर कार्की (००५) को ‘जीवन पुस्तिका’ (०६२, कविता सङ्ग्रह) प्रकाशित छन् । त्यसै गरी तेजनारायण शेर्पा (००६) ले ‘रौतारानी भगवतीको चिनारी’ (०५३, चम्पूकाव्य) र ‘अधुरो’ (०५६, कविता सङ्ग्रह) गरी दुई कृति प्रकाशन गरेका छन् । लक्ष्मीप्रसाद दाहाल (००८) को ‘लुकेको पीडा’ (०५९, कविता सङ्ग्रह), विश्वराज ढुङ्गाना (००९) को ‘आमाको व्यथा’ (०६१, गीति सङ्ग्रह) समेत सार्वजनिक भएका छन् । शान्तिकुमारी राई (०१३) ले ‘दश कविता’ (०३४, कविता सङ्ग्रह), ‘संघर्षशील जीवन’ (०४१, कविता सङ्ग्रह), ‘आमाको सपना’ (०४६, कविता सङ्ग्रह), ‘चेतना’ (०६४, कविता सङ्ग्रह), ‘टैकामा’ (०६५, चाम्लिङ भाषाको कविता सङ्ग्रह), ‘टुङमाखीम’ (०६४, चाम्लिङ भाषाको कविता सङ्ग्रह), ‘सेम्टु’ (०६५, चाम्लिङ भाषाको कविता सङ्ग्रह) गरी सात वटा कविता कृति सार्वजनिक गरिसकेकी छिन् । परशु पहरा (०१४) का ‘सन्देश’ (०६५, काव्य) र ‘मोहनी’ (०६४, कविता सङ्ग्रह) गरी दुई सङ्ग्रह प्रकाशनमा आएका छन् । उद्धव घिमिरे ‘आनन्द’ (०१७) ले ‘एकादेशको व्यथा’ (०६४, लोककाव्य भाग-१) र ‘मेरो पोको’ (०६५, कविता सङ्ग्रह) गरी दुई अनि नन्दकुमारी राई (०२०) ले ‘अविरल याद’ (०५९, हाइकु सङ्ग्रह) प्रकाशन गरेका छन् । मातृका पोखरेल (०२३) का ‘सेतो दरबार छेउबाट’ (०५६, कविता सङ्ग्रह), ‘यात्राको एउटा दृश्य’ (०६०, कविता सङ्ग्रह), र ‘अनुहारहरू’ (०६५, कविता सङ्ग्रह), टीकाप्रसाद पराजुली (०२६) को ‘कन्दराका भावनाहरू’ (०५८, कविता सङ्ग्रह), पार्वती राउत (०२६) को ‘भनसुनको देश’ (०६७, कविता सङ्ग्रह), धनबहादुर श्रेष्ठ (०२७) को ‘सिर्जनाका लहरहरू’ (०४१, कविता सङ्ग्रह), पुन्य कार्की (०२७) का ‘बाघले घाँस खायो’ (०५४, कविता सङ्ग्रह), ‘असल बन्छु’ (०६३, बालकविता सङ्ग्रह) र ‘आस्थाको अग्निपथ’ (०६५, कविता सङ्ग्रह), मोहन गोले (०२८) का ‘भाले वासेन’ (०५६, कविता सङ्ग्रह) र ‘घाइतेको सन्देश’ (०४८, कविता सङ्ग्रह), कपिल ठकुरी (०२९) को ‘कपिलको कल्पना’ (०६१, कविता सङ्ग्रह), मणि कोइमी (०३५) का ‘अनि देश दुख्न थाल्छ’ (०५७, कविता सङ्ग्रह) र ‘जूनको आभा’ (०६१, गजल सङ्ग्रह), प्रदीप हाइट (०३६) को ‘डाइमण्ड डायरी’ (०६३, कविता सङ्ग्रह), विन्दास आरके (०३८) का ‘अपाङ्गका केही पाइलाहरू’ (०६३, कविता सङ्ग्रह) र ‘ज्वारभाटा’ (०६७, गजल सङ्ग्रह), गणेशकुमार दनुवार (०३९) को ‘मेरो सानो घर, मेरो नेपाल’ (०६४, कविता सङ्ग्रह), मीरा शाकोर (०३९) को ‘अनुभूतिका डोबहरू’ (०६१, गजल सङ्ग्रह), प्रकाश ‘पुष्पक’ राई (०३९) को ‘घाँटी रेटिँदै छ’ (०६०, हाइकु सङ्ग्रह), दिवा चाम्लिङ (०४०) को ‘बोखामा’ (०६५, चाम्लिङ भाषाको कविता सङ्ग्रह), हरिकुमारी राई ‘अभागी’ (०४०) को ‘वेदनाका नयनहरू’ (०६४, कविता सङ्ग्रह), सुवास आम्बोटेली (०४६) का ‘अस्विकृत स्विकृत’ (०६०, गजल सङ्ग्रह), र ‘पलहरू’ (गजल सङ्ग्रह), जीवन चाम्लिङ राई (०४६) को ‘हृदयका छालहरू’ (०६३, गजल सङ्ग्रह), सुरेश परियार (०४८) का ‘सुरेशका सुसेलीहरू’ (०६६, गजल सङ्ग्रह), र ‘याद आयो उनको’ (०६८, गजल सङ्ग्रह), जीवन खतिवडाको ‘मातृवियोग’ (०५९, शोककाव्य), देवेन्द्र पोखरेलका ‘स्वर’ (०५९, कविता सङ्ग्रह), र ‘जुठो सुतक निर्णय’ (०६३, कविता सङ्ग्रह), घमानसिंह मगरको ‘जिन्दगीमा सजाएका सपनाहरू’ (०६३, कविता सङ्ग्रह), शाकुराका ‘मनको वह’ (०६४, कविता सङ्ग्रह), राजेश खतिवडाको ‘पोख्न वाध्य व्यथाहरू’ (०६४, गजल सङ्ग्रह) आदि गरी दर्जनौँ उदयपुरे सर्जकहरूले नेपाली साहित्यमा आआफ्ना काव्यात्मक कृतिहरू समर्पण गरिसकेका छन् । इन्द्र थापाको ‘इन्द्रेणी’ (०६२, प्यारोडी गीत सङ्ग्रह) र रामकुमार बस्नेतको गजल सङ्ग्रह समेत प्रकाशित छन् । टीकाप्रसाद पौडेल, जोतारे धाइवा, दीपक चिन्तक, भागवत राउत, गोपाल कृति, लक्ष्मीकान्त चौधरी, रत्नप्रसाद काफ्ले, मदन तामाङ्ग, ठूले दोभान अरुण कोइमी, शकुन आँसु, नन्दलाल आचार्य आदि राम्रा कविता, गीत र गजल लेख्दै आएका सर्जकहरूमा पर्दछन् । यसका अतिरिक्त नर्वदा नवोदित, धर्मराज पौडेल, राम बस्नेत, वसन्त भण्डारी ‘असफल’, लक्ष्मी रिजाल, सुसम आचार्य, सुरेश परियार ‘सुमन’, अर्जुन विक, युवक केसी, दिनेश डीसि, शीकर सुमन, अर्जुन बाराहाली, पारु थापा, रमेश लामा, अम्विका दाहाल, निरु शितलु, सीताराम सिआर यात्री, शिवहरि राई, सन्तोकी सन्तोष भट्टराई, हिराप्रसाद दाहाल ‘शीतलव’, विदुर समीप, बविन राई, लक्ष्मी राई, नगेन्द्र मगर, शोभा केसी, प्रयास राई, कुसुम राई, जीतन राई ‘समीप’, जुनु गिरीजस्ता दर्जनौँ नयाँ पुस्ताका सर्जकहरू विशेषतः गजल लेखनमा सक्रिय छन् । टंक आले मगर, अविरल कोइमी, मुकेश राई, विनोद खतिवडा, दिपेन्द्र थुलुङ, जीवन भुजेल, बोनमप्रताप मल्ल, युवराज आरोही मगर, मिलन राई प्रतीक, विकास मुस्कान मगर, रूपा चाम्लिङ, सविता तिमल्सिना, युवक केसी, रोजिना आचार्य आदि सर्जकका कविता, गीत, गजल र हाइकुहरूले वर्तमानको वेथितिप्रति व्यङ्ग्य गर्दै समाजमा चेतनाको दीप बाल्ने काम गरेका छन् ।

मातापिता कृष्णादेवी र डम्बरबहादुर राउतकी आठौँ सन्तानको रूपमा २०२६ भदौ ८ गते भलायडाँडा-१, सरुने, उदयपुरमा पहिलो पटक आँखा खोली हाल पति अधिबक्ता रमेश थापासँग जीवनसंगिनीका रूपमा जीवन विताइरहेकी कवयित्री पार्वती राउत नेपाली साहित्याकासमा ‘भनसुनको देश’ कविता सङ्ग्रह (०६७) लिएर देखा परेकी छिन् । नेपाली साहित्यको मरुभूमि मानिने सप्तरी जिल्लामा प्रशस्त साहित्य छ तर वातावरण छैन अर्थात् साहित्य लेखिएको छैन । निश्चय नै साहित्यिक खुराकको खानी नै छ यहाँ । नत्र भने धीरकुमार श्रेष्ठ, राजेश विद्रोहीहरू किन राष्ट्रिय रथ हाँक्न सफल हुन्थे ! उसो त देवेन्द्र मिश्र, देवकरण माझी, विक्रमश्रीहरूले समेत सप्तरीको साहित्याकासलाई हरियाली बनाएको पाइन्छ । पत्रकारिता जगत्बाट भने श्यामसुन्दर यादव, श्रवण देव, राजेश झा, वैद्यनाथ यादव, सुधा देव, राजु विश्वकर्मा, देवनारायण यादव, जितेन्द्र झा जितु, अम्बिका दाहाल, माला कर्णजस्ता दर्जनौँ युवा पत्रकारहरूले अथक योगदान दिएको पाइन्छ । त्यसो त शिशुप्रसाद देवकोटा, शिवहरि भट्टराई, व्यासशंकर उपाध्याय, बैद्यनाथ झा, अनिलकुमार अनल, मुरलीप्रसाद यादव, भोलारमण उप्रेतीहरूजस्ता प्रौढ पुस्तालाई भुल्न मिल्दैन । यहाँ कवयित्री पार्वती राउतले भने साहित्य जगत्मा प्रवेश पाउने खुराकका रूपमा सप्तरी जिल्लाकै माटो र सेरोफेरोलाई रोजेकी छिन् । त्यसमा पनि कृति नै लिएर साहित्याकासमा पङ्ख फिँजाउनु चानचुने कुरा होइन । राष्ट्रिय चिन्तनलाई समेत गम्भीरताका साथ आत्मसात् गर्दै ‘भनसुनको देश’ तयार पारेकी छिन् । उनले यो सानो लेख उनकै कविताकृतिको सेरोफेरोमा केन्द्रित छ ।

(२) ‘भनसुनको देश’को विवेचना-

छचल्किन्छ आँसु यहाँ, चर्कँदो छ छाती
बारुद र बन्दुक सबै अब थाँती राखी ।
दाजुभाइ सबैले अब हात मिलाउनुपर्छ
सबै मिली नेपालमा शान्ति ल्याउनुपर्छ । (शान्तिको आशा।, पृ. १)

फुटेर हैन जुटेर शान्ति ल्याउन सकिन्छ भन्ने सुविचार सम्प्रेषण गर्ने माथिका हरफ प्रयुक्त कवितादेखि तलको कवितासम्म गरी जम्मा ६३ वटा कविता सङ्ग्रहीत भएको कविता कृति हो- ‘भनसुनको देश’ (०६७, कविता सङ्ग्रह)

अब भने जनताको काँध चढी भत्ता पचाउनेलाई
बियुँझाउ नै पर्ने भयो जननेताहरूलाई ! जननेताहरूलाई !!

राजविराज स्थित प.वि.मा.वि.मा शिक्षण गर्दागर्दै काठमाडौँ स्थित शिवपुरी उच्च मावि महाराजगन्जमा शिक्षण गर्न पुगेकी कवयित्री राउतको कविता लेखनको पुष्ठभूमि सप्तरी र उदयपुर जिल्ला रहेको छ । त्यसका अतिरिक्त नेपाली विकृत राजनीति रहेको भान हुन्छ ।

उनी समाजमा देखिएका विङ्गत पाटाबाट विरक्त हुन्छिन् र कवितामार्फत क्रान्तिको मसाल सल्काउँछिन् । राष्ट्रियता गुम्दै गएकोमा खेद प्रकट गर्दै नशानशामा रगत उम्लनेजस्तो जोसिलो कथन अघि सार्छिन् ।

अब नेपाललाई विक्री गर्न दिन्नौँ
सत्रु र मित्र राम्ररी चिनौँ
नेपाली भएर नेपालमा बस्ने
जरुरी अब छ कम्मर कस्ने । (पीडा छ, पृ. ३)

जनयुद्धको चित्र उतार्ने काम पनि उनीबाट भएको छ । उनी बन्दुक र बारुद सहितको क्रान्तिको पक्षमा छैनन् । उनलाई वैचारिक क्रान्ति प्यारो छ । शान्तिपूर्ण आन्दोलनकी पक्षपातीका रूपमा देखिएकी छिन् ।

दाजुभाइ, दाजुभाइ गोली नहान
आमा मरेको सुन्नै छैन चाहाना ।
बालकको बालापन नखोसिदेऊ
हठ र अहङ्कार सब त्यागिदेऊ । (शान्तिको दीप, पृ.४)

कवितामा यसो भनिए पनि आवश्यक परेमा रगत समेत बगाउँदै प्रजातन्त्र जोगाउन क्रान्ति मैदानमा उत्रनुपर्छ भन्ने विचार राख्न भने उनी चुकेकी छैनन् । गरिवलाई जोतेर सामन्तहरू बाँचेका छन् भन्ने कथन अघि सार्दै न्याय दिलाउन बुद्धलाई आमन्त्रण गर्छिन् । प्रौढ विचार सम्प्रेषणमा कमी देखिए पनि सामन्त निर्मूलमा युवाशक्ति एकजुट हुनुपर्नेमा विश्वास राख्छिन् । चुनावताका गुलिया कुरा गरेर सदनमा पुगी स्वार्थमा लिप्त हुने कथित नेताहरूको गालामा थपपड बर्साउन समेत उनी चुकेकी छैनन् ।

कार्यकर्ताका ओठमुख सुके जागिर कहाँ पाए
पुरुष सांसदले पनि यहाँ सुत्केरी भत्ता खाए । (स्वार्थीलाई पाखा, पृ.८)

प्रकृतिको विधानले नै विधुवा तुल्याउन सक्छ । विधुवा नारीको पीडालाई समेत उनले काव्यात्मक रूप दिने जमर्को गरेकी छिन् । उनले शान्ति डाक्न भनेर धेरै शब्द खर्च गरेकी छिन् । कसैसँग लाज छोप्ने वस्त्र छैन, कसैसँग भने पर्याप्त छ । यस खाले असमानताका कुरा यत्रतत्र आएका छन् र दीनदुःखीहरूप्रति सहानुभूति प्रकट गरिएको छ । नारी हकअधिकारका लागि एक जुट हुन आह्वान गर्दै कवयित्री राउत भन्दछिन्-

काँधमा काँध मिलाएर अत्याचार फाल्न
सबै नारी तयार होऔँ, चीर दियो बाल्न ! (नारी दिवस, पृ.१२)

संस्कृतिलाई विकृत तुल्याउनुहुन्न भनेर पवित्र साँस्कृतिक पक्षसँग उनी सरोकार राख्न रुचाउँछिन् । शिक्षकले पढाउने तर विद्यार्थीले नपढी दिने जस्ता जीवनका तीता अनुभव समेत कवितामा आएका छन् । घरकालाई बास र मायालु हात चाहिएको र वन पसेकालाई घर फर्काउन मोहनी मन्त्र चाहिएको कुरा गर्न पनि उनी पछि परेकी छैनन् । पारिवारिक प्रसङ्ग, चुलोचौकाको पिरलो, लैङ्गिक थिचोमिचोको वेदनाजस्ता पक्षहरूले समेत काव्यात्मक रूप पाएका छन् उनका कवितामा ।

यस देशमा श्रमजीवि भए पनि शोषणले चरमोत्कर्षता प्राप्त गरेको छ । कानुन भए पनि डलरमा बिकेको छ । पर्याप्त डाक्टर, नर्स भए पनि गाउँ रोगी छ । किसानले हलो जुटाउन सके पनि फाली जुटाउन सकेका छैनन् । सदाचारको मन्त्र पाठ भए पनि भ्रष्टचार मौलाएको छ । नेतानेतृहरूको सङ्ख्याले आकास छोए पनि गुणात्मकताको कसीमा घोटेर हेर्दा प्याज नखाने बाहुन पाउनुझै दुर्लभ भएको छ । मूलतः देश विदेशी इसारा र इरादामा चलेको छ अर्थात् भनसुनमा नै चलेको छ । कवयित्री राउत यही निष्कर्षमा पुग्दै भन्छिन्-

भनसुनको देश हो यो, मनसुन आउँदैन
भ्रष्टचारको देश हो यो, सदाचार आउँदैन । (भनसुनको देश, पृ. २४)

उज्यालोको खोज अँध्यारोको पीडा बोक्नेहरूलाई हुन्छ । हामी उज्यालोका भोका छौँ । उज्यालो पाउन अँध्यारोको स्वाद चाख्नुपर्ने हुन्छ । विना उज्यालो जीवनका मूल्य र मान्यता छिचोल्न पाइन्न । उज्यालोले अँध्यारोलाई धपाउन खोज्छ तर अँध्यारोले उज्यालोलाई दवाउन खोज्छ । संसारमा उज्यालोको राज छैन । अँध्यारोको पनि एकक्षत्र राज भने छैन । तर अँध्यारोले राज खोसिरहेको छ । अतः मानवीय स्वाभिमान लिलाममा चढेको छ । जो अँध्यारोको कर्तुतबाट अनविज्ञ छैन, उसैले बत्तीको जोहो गर्न कम्मर कस्छ । जो अँध्यारोमा सर्वस्व पाएको भान गर्छ ऊ नै अरूको आर्तनाद स्वरलाई संगीतको मधुर धुन सम्झन्छ । देशलाई पत्रु भाँडो बनाइयो । देशको दश गजा मेटियो । देशलाई ऋणमा डुवाइयो । देशलाई ढाकरे दाइहरूको टेकोले अडिने बनाइयो । देश यत्तिखेर टिठलाग्दो छ । देश दुःखलाग्दो बनेको छ । देश भित्रभित्रै पिरोलिएको छ । देशलाई श्वास फेर्न कठिनाइ भएको छ । यस्तै दृश्य परिदृश्यलाई समेटेर कविता कृतिको नाम ‘भनसुनको देश’ जुराइएको छ ।

(३) उपसंहार-

शान्तिलाई बचाएर राख्ने काम सबैको हो । शान्ति कलिलो र कफलो हुन्छ । त्यसलाई हुर्काउन, बचाउन गाह्रो हुन्छ तर नाश गर्न वा भङ्ग गर्न सजिलो हुन्छ । शान्तिको घाँटी निमोठ्ने काम प्रशासनिक संयन्त्रद्वारा नै भएको र नेपाली जनताले कहर काटेर जिउनु परेको दुर्दशालाई मार्मिकतरवले प्रस्तुत गर्ने काम कवितामा भएको छ । तौली तौलीकन शब्दहरू बोल्नुपर्ने, आफ्ना मनका करुण भावहरू पनि गुम्स्याएर दासमनोवृतिले पगालेका शब्दहरू मात्र प्रयोग गर्नुपर्ने, सपनाहरू धुजाधुजा बनाउन वाध्य हुनुपर्ने जस्ता अवस्थाबाट पार पाउने चाहना राख्नु र भोकोले पेट भर्न र नाङ्गोले आङ्ग ढाक्न पाउँनुपर्छ भन्ने आवाज गुञ्जाउनु सचेत वर्गको धर्म हो । तर मुठ्ठीभरका मान्छे मानसिक दरिद्रले ग्रस्त भएर पुरातनवादी कुसंस्कारी सोचलाई नै निरन्तरता दिई राजनीतिलाई मागिखाने भाँडो बनाएकोमा कवितामा रुष्टता व्यक्त गरिएको छ । क्रान्तिकारीको आवरणमा ब्रह्मलुट गर्ने अवसरवादीहरूको कुकृत्यको भण्डाफोर नगरी मुलुक उँभो लाग्दैन । कागजी र मुखौले कानुनी योजना राम्रो भए पनि कार्यान्वयन पक्ष निर्वलियो बनाएर सात पुस्तालाई पुग्ने धन बटुल्न माहिर नेतानेतृहरूलाई चुलाचौका बार्नुपर्छ । मान्छे किनेर स्वार्थको घैला भर्नेहरूबाट बेलैमा सतर्क रहनुपर्छ । माटो महान् हुन्छ । माटो गलत हुन्न । माटो खेलाउने गलत हुन्छ । यहाँ भनसुनबाट चलेको देश नभएर, चलाइएको देश नेपाल हो भन्दा सही मूल्याङ्कन होला । मूलभूतरूपमा सिकारू हातले लेखेका र रहरले प्रकाशन गराएको कविताकृति हो -‘भनसुनको देश’ (०६७, कविता सङ्ग्रह) भनेर पाका र खरा समीक्षकले भन्ने ठाउँ कृतिका पानापानामा भेटिन्छन् । त्यसो भए पनि जीवनका तीता अनुभव र राष्ट्रियता, प्रजातन्त्र र समृद्धिका पक्षमा खरा र दरा भावना यत्रतत्र पाइन्छन् । शान्तिकामी बन्न आह्वान, प्रजातन्त्रको जग बलियो बनाउन वलिदानी दिन पनि पछि नपर्न आग्रह, विसंगति वोध, लैङ्गिक असमानता विरुद्ध बैचारिक आवाज, नेपाली स्वाभिमानको गाथागायन, शैक्षिक जगत्को विकृति, मधेस आन्दोलनले उमार्न खोजेको चेतना, जनता जगाए मात्र नेपाल जाग्ने भावनाजस्ता प्रवृतिहरू लिएर कवयित्री राउत पाठक माझ आएकी छिन् । केही ठाउँमा वैचारिक विचलन देखा परे पनि अधिकांश कविताहरू प्रगतिशिल विचारले ओतप्रोत छन् । कतिपय कविताहरू न छन्दोबद्ध छन् न गद्यमय नै छन् । वर्णविन्यासगत कमजोरी पनि ठाउँठाउँमा पाइन्छ । प्रथम कृति भएका कारणले र काँचो अनुभव स्वरूप यस खाले कमजोरी देखिनुलाई स्वभाविक नै मान्नुपर्छ । जे होस्, उदयपुरे चेली, काठमाडौँकी शैक्षिक सेविका (शिक्षिका) र सप्तरीया बुहारी कवयित्री पार्वती राउतको नयाँ कृतिमान नै ‘भनसुनको देश’ हो । यो नै सप्तरी जिल्लाकी नारीहस्ताक्षरबाट प्रकाशित पहिलो कविता कृति हो । उदयपुर जिल्लामा भने उनको मूल्याङ्कन शान्तिकुमारी राई (०१३) पछि दोस्रो स्थानमा आउँछ । उनीभन्दा धेरै अगाडि नै कवयित्री राईले ‘दश कविता’ (०३४, कविता सङ्ग्रह), ‘संघर्षशील जीवन’ (०४१, कविता सङ्ग्रह), ‘आमाको सपना’ (०४६, कविता सङ्ग्रह), ‘चेतना’ (०६४, कविता सङ्ग्रह), ‘टैकामा’ (०६५, चाम्लिङ भाषाको कविता सङ्ग्रह), ‘टुङमाखीम’ (०६४, चाम्लिङ भाषाको कविता सङ्ग्रह), ‘सेम्टु’ (०६५, चाम्लिङ भाषाको कविता सङ्ग्रह) गरी सात वटा कविता कृति सार्वजनिक गरिसकेकी छिन् । यस प्रकार साहित्य भण्डारमा कवयित्री राउतबाट एउटा भए पनि इँट थपिनु गौरवको विषय मान्नुपर्छ । अझ परिस्कृत बन्दै जाओस्, उनको कलम, विचार र काव्यिक क्षमता, यही शुभेच्छा र शुभकामना ! जदौ !!

1 thought on “के नेपाल ‘भनसुनको देस’ नै हो त ?”

  1. के नेपाल ‘भनसुनको देस’ नै हो त ?
    लेखको लागि धन्यवाद छ । कवयित्रीलाई शुभकामना छ । कृति पढ्न त पाइया’ छैन, कुनै बेला हात पर्यो भने रस लिउँला नै !

    यस लेखको हकमा, कविता संग्रह र कवयित्रीमाथि सन्तुलित र उचित किसिमले विश्लेषण प्रस्तुत गरिएको छ । तर, विषयभन्दा अलि पर गएर लेखिएका हरफहरूले पाठकलाई अलि पट्यार भने लाग्ला नै । मेरो बिचारमा यो लेखमा दोश्रो अनुच्छेद पुरै र तेश्रो अनुच्छेदको बिचको भागको आवश्यकता न्यून छ जस्तो लाग्छ ।

    अरू पढ्ने आशमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *