Skip to content

ढेडु बाँदरसंग जम्काभेट हुँदा


सावन महिना थियो।गर्मीले त्यो पहाडको बिचमा अडिएको एकटुक्रा खेत पनि ज्यादै तातिएको थियो।बाग्लो मकैबारीको भित्रदेखि आउने तातो हावामा सास फेर्न पनि निकै गार्हो पर्दैथ्यो।बाँधिएको भैसी पनि उकुस-मुकुसमा कहिले सुत्ने कहिले उठ्ने गर्दैथ्यो।म भैसी माथि पानी छ्यापेर खेल्दै थिँए।आमा र अरु दाई-दिदीहरु गाँउको घर जानु भएकोले सल्लेनीमा ‘बा’ र म मात्रै थियौ। बा’ले बिहान चरनको लागि छोडेका गाईका गोबर सोहोरेर आउनु भा’कोले उहाँको हातै भरि गोबर लागेको थियो। उहाँले हात धुने पानी मागे पछि मैले एक ठेकी पानी बाबाको गन्हाउने हातमा खन्याई दिएँ।हात पखालेर बा’ले फर्सीको मुन्टो चुडेर ल्याउनु भयो र आलु मिसाएर तरकारी बनाउनु भयो।तरकारीमा अलिकति दुध हाल्नु भयो र चाख्नु भयो।नुनको कमी भएकोले होला उहाँले अगेनो माथि भारमा झुन्डाएको बाँसको ढुङग्रो निकाल्नु भयो र ढुङ्ग्रोको प्वालभित्र रहेको एक डल्लो नुन झिकेर तरकारीमा खसाल्नु भयो।त्यसपछि तरकारी उचालेर मकैको ढिडो ओराल्नु भयो र बाउ-छोराले खायौ।दुध हालेर बनाएको फर्सिको मुन्टोको तरकारी सार्है मिठो मानेर खाँए।

ढिडो खाए पछि ‘बा’ भैसीको लागि घाँस काट्न जान हसिया र डोको बोकेर तयार हुनु भयो।बा’ले हिड्ने बेला सम्झाउदै भन्नु भयो, “हेर केटा अस्ति तल मासखर्क तिर बाँदरले मकै खाएर माथि तिर लागेको छ रे,’राम्रो संग हेर्नु।”मैले पनि हुन्छ बाबा भनि दिए।”आफू भन्दा ठूलो डोको बोकेर’ बा’ हिडे पछि म कटेरोबाट निस्के र कान्ला डिलमा गई आर्को पाटाको डिल सम्म पुग्ने गरि पिसाब तुर्काएँ।मुत्र यति टाढा हुत्याउन सकेकोमा आफ्नै नाक फुलाएँ।त्यसपछि कटेरो तल्तिर भएको ढुङगामा चदेर बसेँ।जहाँबाट खेतको चारैतिर देखिन्थ्यो।अक्सर हामीले त्यहीँ ढुङगामा बसेर मकै रुँग्ने गर्थ्यौ।आधा दिन हुन लागेकोले घामको डल्लो मेरो टाउको माथितिर सर्दै थियो।खुल्ला आकाश र सावन महिनाको घामको तापले म शिथिल हुँदै थिएँ।एकछिन पछिनै गर्मीले चिटचिट पसिना छुट्न लाग्यो।हावा नचलेकोले तातो बाफ निल्न सुरु गरेँ।।गर्मीले यो फुच्चे धेरै बेर टिक्न सकेन र म ढुङगाबाट उठेर छेउमा रहेको खनियाको फेडमा चडेर बसेँ।रुखको छाँयामा बसे पछि अलि शितलता महशुस गरेँ।पारीपट्टी बतासेतिरबाट बाँसुरीको मिठो धुन बज्यो।त्यो बासुरीको धुनले यो बालमष्तिस्कलाई भित्रैदेखि छोएर गयो।सानैदेखि मलाई गीत-संगीत प्रति ज्यादै मोह थियो।अरुले मादल बाँसुरी बजाउदा पनि म मख्ख परेर घन्टौ सुन्ने गर्थे।’अब म पनि गाँउ गएको बेला दाईहरुलाई बाँसुरी बनाई दिनु भन्नेछु र पारी बतासेबाट आएको मीठो धुन जसरी बजाउने छु भन्ने सोच्दा-सोच्दै भुसुक्कै निदाए छु।कोही चिच्चाए जस्तो र कसैले आफनो शत्रुलाई लठ्ठीले हिर्दाउदा आउने पट्याक-पुट्युकको आवाजले म झस्किए।म एकै चोटी रुखबाट भुईमा हाम फाले र डौडदै ढुङगामा आएर चारै तिर नजर लगाएँ।खेतको दक्षिणभाग तिर पर्ने मकैखेत भरि खैरो छालाका कपडा लगाएका जस्ता देखिने प्राणीहरुले मकै भाँच्दै र खाँदै गरेको देखेँ।म चिच्याउदै उनिहरुले मकै खाई रहेको ठाँउतिर डौडिए।मकै खेतमा चाउरो खोजी रहेका एक हुल चराहरु मेरो कानै छुने गरी हतारिएर उडे र बेपत्ता भए।म खेतको बिचमा के पुगेको थिएँ,मेरो अघिल्तिर करिब पाँचहातको दुरीमा अजङ्गको ढेडु दाँत किटेर चिच्याउदै गरेको देखेर म ठक्क रोकिए।मानौ ऊ भन्दै थियो कि,”खबरदार फुच्चे यदी तँ अगाडी बढीस भने तेरो लिला समाप्त गरिदिनेछु।'”मैले पनि खुट्टा देखिको बल लगाई कराएर भगाउने कोशिस गरे तर ऊ भाग्नुको साटो समातेको मकैको घोका चिथोर्दै पाईला म तिर चाल्न लाग्यो।मेरो होशले ठाँउ छोडला जस्तो भयो।म अतालिए।म उतिखेरै फौजीको नक्कलमा फनक्क फर्किए र जताबाट डौडेर गएँको थिएँ उतै तिर हावाको गतिमा कुलेलम ठोकेँ।डौडिदा मैले पछि फर्केर हेर्ने आँट गरिन।ढेडुले लखेटी रहेको होला भन्ने त्रास थियो।मलाई फुच्चे ठानेर नटेर्ने सायद त्यो ढेडु ती बाँदरहरुको पलाटन कमान्डर थियो।

म केहि मिनेटमै हुत्तिएर कटेरो भित्र पसे।त्यसरी डौडेर आएकोले सुतेको भैसी पनि तर्सिएर उठ्यो र ठुला-ठुला आँखाले मतिर हेर्यो।भित्र पसेपछि मेरो नजर बा’ले लाहुरबाट ल्याएको थोत्रो टिनमा पर्यो।भारतिय सेनामा काम गरे बापत त्यो टिन बा’को एउटै मात्र सम्पति या अन्तिम चिनो बाँकी थियो।मैले त्यै टिन उठाएर बाहिर गए र फलामको पन्यूले बेस्सरी पिट्न सुरु गरेँ,जसरी चितुवाको डरले होश गुमाएको कुकुर घरभित्र पसेर मात्रै भुक्ने गर्छ।टिन बजेको आवाज टाढा-टाढा सम्म पनि पुग्ने गरि चर्को संग बज्यो।बाँदरहरु बिस्तारै खेतबाट बाहिर निस्किदै गरेको देखँ।आखिर युद्ध मैलेनै जिते जस्तो भान पर्यो।ढेडुलाई बद्ला लिएको कल्पना गरे।तर त्यस्तो रहेनछ बाँदरहरु हटी सके पछि खेतमा गएर हेर्दा थाहा लाग्यो,उनिहरु त आधा खेत सखाप पारे पछि अघाएकाले बाटो तताएका रहेछन।ढेडु बाँदर आफ्नो पुरै पलाटुन लिएर खेतको माथिल्लो भिर हुँदै उकालो लाग्यो।त्यसरी बाँदरहरु लस्करै लागेर हिड्दा छापामारहरु कुनै युद्ध लड्न हिडेझै देखिन्थे।मानौ उनिहरु फेरि आर्को प्रहरी चौकि या सैनिक ब्यारेक हान्न चाहान्छन वा कब्जा जमाउन चाहान्छन।आधा खेतको मकै सखाप परेको देखेर म खुबै डराएँ।बुढोले नपिटे पनि कम्तिमा हप्काई चाहि ठूलै गर्नेछन भन्ने पीर भयो।मलाई बा’ संग खुबै डर लाग्थ्यो।बा’ले कैयौ चोटी हप्काएका तर्साएका अनि कान निमोठी दिएका सम्झनाहरु थिए।बा’ले बोले पछि घरमा कसैले जबाफ फर्काउने आँट सम्म गर्दैन’थिए।मेरो त झनै के कुरा गर्नु र?म त सात बर्षे भुन्टे थिए। केहि समय पछि डोकोभरि घाँस बोकेर पसिनाले निथ्रुक्क बिझेका बा’ आउदा म रोएको बहाना गर्दै थिएँ।घाँसको भारी बिसाएर चिसो पानी ठाडो घाटीँ लगाउनु भए पछि, मलाई हेरेर, “के भा’को भनेर सोध्नु भयो।”मेले रुएको बहानामानै बाँदरले मकै खाएको र मलाई पनि झन्डै खतम पारेको भनेर एकै सासमा कुरा सिध्याए।”साथै बाँदरहरुले पनि टोपी लगाएका थिए भनेर सुनाएँ।अघि नजिकमा जम्काभेट हुँदा चुच्चे टोपी लगाएझै देखेको थिएँ।यसअघि यति नजिकबाट मैले कहिल्यै बाँदर देखेकै थिईन।बाँदरले टोपी लगाएको कुरा सुनेर बा’खुब हाँस्नु भयो।अरु केही भन्नु भएन।नत गालीनै गर्नु भयो।सायद यसपल्ट मेरो भाग्य बलियो थियो क्या’रे?

नोट:-सल्लेनी म्याग्दी दोबा गाँउको दक्षिण भेगमा पर्छ।बाँदुक गाँउको बतासे या तिप्लयाङ देखि पनि यो ठाँउ देख्न सकिन्छ।भिरको कोप्चामा सानो टुक्रा खेत छ जहाँ मैले आफ्नो बाल्याकालको अधिकांश समय बिताएको थिएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *