Skip to content


भोका नाङ्गा कृषक वटुवा हिँड्दछन् बास खोजी
हाम्रो यात्रा गजमज भयो मोह कुर्सी छ रोजी
अग्लो टुप्पो सहचर भए मस्त बेहोस वाला
हामी दुःखी सब व्यथित छौं पीरमा बल्छ ज्वाला ।।

हाम्रै लागि नवयुग दिने युद्धमा होमिएथ्यौँ
दायाँ बायाँ वनचर सबै थर्रथराई दिएथ्यौँ
साह्रै राम्रो महक वनमा युद्धको खेल गर्थ्यौ
रङ्गीचङ्गी कुसुम सपना युद्धमा प्राण भर्थ्यौ ।।

भो लज्जा भो सुन न सखी हो युद्ध थन्क्यो थपक्क
कालो कुर्सी कुसुम हुन गो टाँसियो त्यो लपक्क
हेर्दाहेर्दै सहमत भयो सीटमा थच्च बस्ने
दुःखी दाखी गरिब नरका वक्षमा चक्कु धस्ने ।।

यस्तो लाग्यो अब भुवनमा सूर्य नै देखिँदैन
दुःखी हामी निरिह जनको वेदना लेखिदैन
हाम्रो आफ्नो अब जगतमा रत्नभण्डार छैन
भाषा रोपी कवि र कविता लेखिने छाँट छैन ।।

खस्ता खस्तै तलतल झर्‍यो ओसिलो झ्याङ्भित्र
देख्ता देख्तै तल बगर भो देशको मानचित्र
दिवास्वप्नै सरह हुन गो मृत्युको चोट लाग्यो
चिन्तै चिन्ता जनम जिउने मोहमा चोट लाग्यो ।।

आँधीवेरी सरह मनका केन्द्रमै बज्र लाग्यो
साँच्चै साथी कलुष कपटी स्वार्थका चक्र लाग्यो
भोकी आमा वधन उधरी भोकको शूल लाग्यो
बाँच्ने आशा क्रमिक पुरियो मृत्युको हूल लाग्यो ।।

फालूँ फालूँ कसिंगर सबै होउ फेरि तयार
उस्तै यात्रा अब तय गरुँ मित्र हो एकवार
बाच्ने इच्छा अझ दृढ भए युद्धमा फेरि लागौँ
जाँगौँ जाँगौं अब मनुज हो युद्धमा फेरि जाँगौं ।।

साँच्चै हामी रवि शशि दुवै युद्धमा तानि ल्याउँ
यौटै यात्रा महक गतिको घामको विम्ब ल्याउँ
हामी योद्धा जुरुजुरु उठौँ विर्षिई पूर्व शोक
हेर्दाहेर्दै सब मुलुक यो हा ! भयो मृत्युलोक ।।

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *