Skip to content

निरीहता (लघु कथा )


मान्छेहरूको बाक्लै आवतजावत भएको त्यो व्यस्त चोकको बसपार्कमा उभिरहेको थिएँ, एउटा गन्तव्यलाई भनौं बस पर्खिरहेको थिएँ । एक हुल केटाहरूले जो २०/२२ का जस्ता देखिन्थे लगभग त्यही उमेरको मान्छेलाई कुट्दै लछार्दै पछार्दै त्यही ठाउँमा ल्याए, यो पाकेटमार हो भन्दै थिए ।

त्यसपछि त झन् त्यहाँको भीड नै उमाथि जाइलाग्यो । एउटा बोल्यो – यसलाई नांगेझार पारेर बजार घुमाउनु पर्छ । त्यति बोली भुईंमा के खसेथ्यो उसको सर्ट च्यातिहाले । अर्कोले पेन्ट च्यातिदियो । ऊ अनुनय विनय गरिरहेको थियो – ‘मलाई यो लाजबाट बचाई दिनुस् मलाई बचाई दिनुस् मैले चोरेको होइन म चोर होइन मलाइ माफ गरिदिनु होला’ भन्दै घुँडा टेकेर हात जोडिरहेको थियो । उसलाई लाजबाट बचाउने जमर्को गरें तर पार लागेन । त्यो निरिहताको पछुतोमा आजसम्म म पिल्सिरहेछु ।

अब उसको शरीरमा उसको अन्तरवस्त्र भनौं कट्टु मात्र थियो, त्यही कट्टु २ हातले समातेर लुगलुग कामिरहेको थियो ऊ । फेरी अर्को उफ्रियो – ‘त्यसको कट्टु पनि च्यात ।’

कमाण्डरले उसको सहायकलाई अराउँदाभन्दा छिटो धेरै हातहरू त्यो कट्टूमा पुगिसकेका थिए तर उनीहरूले भेट्नुभन्दा पहिले नै त्यो पिडितले आफ्नो कट्टू च्यातिसकेको थियो, क्षणभरमै त्यत्रो कुटाइ खाएको निर्वस्त्र नाङ्गो त्यो युवक उफ्री उफ्री हाँसिरहेको थियो ।

आजकल त्यो चोकमा जतिबेला पनि त्यसलाई भेट्न सकिन्छ । अरु कसैले लाज ढाक्न दिएको सानु कपडाले उसको गुप्तांग ढाकेर हाँस्दै रुदै कराउँदै बसेको हुन्छ । मान्छेको भिड देख्यो भने ‘मलाई बचाई दिनुस्, मलाई माफ गर्नुस् म पनि तपाईं जस्तै मान्छे हुँ नाङ्गो नपारिदिनुस् मैले चोरेको छैन ! म चोर होइन’ भन्दै त्यो चोकको पारिपट्टि लाग्छ …………।

Leave a Reply

Your email address will not be published. Required fields are marked *