Skip to content

मायाको जक्सन भेट्नै सकिन

20120910_ShantiRamDhakal_Poem


कति जोड्न खोजे मन जोड्नै सकिन
बरु
शिशा भए जोड्न सकिन्थ्यो होला
नजिक हुन खोजे पार्नै सकिन
बरु
अर्को किनार भए नजिकिन्थे होला
यो मनको वह थेग्नै सकिन !

कति भेल बाढीहरू रोक्नै सकिन
निदाउन खोजे निदाउनै सकिन
रातहरू आएको पत्तै भएन
भोक र निन्द्रा कसरी हराए
आँखाहरूले शुन्यता टोलाए !

यो जिन्दगी अब थेग्नै सकिन
मायाको जक्सन भेट्नै सकिन
मनको यो एअरपोर्ट आकाश शुन्य
लगामहरू अब जोड्नै सकिन
लगामहरू अब जोड्नै सकिन !

आकाश शुन्यतामा अनन्त सम्म
यो मन को बोझ तौलिनै सकिन
धरातल चट्टान भिरालो पाखा
यी खुट्टाहरूले थेग्नै सकिन !

मायाको बेग उडाएर लग्यो
त्यो ठुलो आँधी रोक्नै सकिन
भूकम्प आयो यो छातीभित्र
मायाको पर्खाल ढाली दिएछ
शिशिर आयो बसन्त आयो
आयो त्यो वर्षा अनि भेल आयो
त्यो भेल मैले छेक्नै सकिन !

आँखाहरूमा सुनामी भेल
त्यो भेल मैले थाम्नै सकिन
जति जे भो सो भो चित्तै बुझाएँ
यो जिन्दगी मैले हास्नै सकिन !

यो जिन्दगी मैले भोग्नै सकिन
मायाको जक्सन भेट्नै सकिन
यो जिन्दगी मैले बाच्नै सकिन
यो मनको वह थेग्नै सकिन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *