छोरी सासू ससुरा कस्ता छन् ?
बेसै छन् ।
ज्वाँईले तेरो कतिको ख्याल राख्छन् ?
असाध्यै ।
कस्तो छ घर ?
तारा मण्डल छानो ।
बाटो कस्तो छ नी ?
कुइनो र पहरो ।
वीरे भण्डारीलाई कसैले ‘घर कस्तो छ ? ‘ भनेर सोधीहाले ‘तारा मण्डल छानो ‘ भन्नु परेको थिएन । ‘बाटो कस्तो छ ? ‘ भनेर सोध्दापनि न त भन्नु परेको थियो ‘कुइनो र पहरो’ । पहरोका ढुङ्गा जति सबै निकालेर ट्रकले शहर ओसारीसकेको थियो । पहरै नभएपछि कुइनो ठोकिने चिन्ता हुने कुरै भएन । बाउआमाको पालामै बनाएको टाउको लुकाउने स्याउले झुप्रो थियो । बस्ने आँगन पनि थियो दुई चार जना वर्तिर पर्तिरका घरगाउँले जम्मा हुँदा । एक पसर रायो मुला छर्ने सानो टुक्रो कोठेबारी पनि थियो । भात हुँदा त्यही कोठेबारीको रायोको पात चुँड्यो । एक पसर मकैको पीठो र एक लोटा पानी हाल्यो । एक ढीको नुन र एउटा ज्यान मारा खुर्सानीको ढिँडी हालेर भुकलुक्क उमाल्थी सानीले । पत्तै हुन्थेन त्यस्तै तिहुन सँग पनि एक थाल भात निलेको । त्यो भन्दा बढ्ता अरु के पो चाहिएको थियो र वीरे भण्डारीलाई !
चार प्रहर बिताउने बासको चिन्ता थिएन । गाँसको लागि पनि दिनभरि घुम्दा कसै न कसैले भाँडा माझ्न बोलाउँथे । कि त बारी खन्न, डल्ला फोर्न वा हलो जोत्न लगाइहाल्थे । बलिष्ट पाखुरी बजारेर जोइ पोइको गुजारापनि चलेकै थियो ।
लगाउन पनि उति बिघ्न चिन्ता थिएन । भाँडा माझेकै घरमा कोही कोहि दयालुले थोत्रा-मोत्रा सट प्यान्ट ‘ला ! लगा ‘ भनेर दिन्थे ! त्यो बेला उसकी स्वास्नीको शरीर मा पत्रैपत्र पारेर सात ठाउँ टालेको लुगा उसका आँखा सामु सिनेमाको रिल झैँ नाँच्थे । स्वास्नीको अवस्थाले मर्माहत बनाएपछि ऊ टाउको कन्याउदै लाज शरम सबै पचाएर भन्थ्यो “मालिक्नी ! तपाईको थोत्रो एउटा फरिया भए मेरी सानीको लागि पनि दिनु’न । ”
“को सानी ? ” भनेर मालिक्नीले प्रश्न गरिहाले “मेरी अर्धाङगिनी” भनेर मसक्क मस्किन्थ्यो ।
अनि बालबच्चा कति छन् ?
“छैनन्” दाँत देखाउँदै पुन टाउको कन्याउँथ्यो ।
घरि घरि “गरिव भएर कुन जूनीको ऋण चुकाउनु परेको होला” भन्दै घोत्लिन्थ्यो पनि । तर मजदुरी नगरी नहुने नाथेले कतिदिन घोत्लि बसेर पुग्थ्यो र ? ‘आ ! पीता पुर्खाले पनि त शहरदेखि भारी बोकेर हिउँद बर्षा खेपेकै हुन् । यो ज्यान केका लागि ? कामै नगरी बसि बसि खानको भकारी मात्रै ? ‘ पलमै कल्पेर ऊ मनभित्र उठेको तुफान शान्त पार्थ्यो । पीर चिन्ता गरेर पो के गरोस् बरा ! काम गरेर खाने ज्यान पीर चिन्ताले सुकाए हात मुख जोर्ने उपाय पनि हराउँथ्यो ।
एक साँझ ‘मेरी सानी मालिक्नीले दिएको फूलबुट्टे सारीमा साह्रै राम्री दिखिन्छे’ भनेर सोच्दै घर तर्फ लम्किँदै थियो ऊ । अस्ताइसकेका थिए घाम । थियो अँधेरी रात । उसको कानमा एउटा चर्को आवाज आएर ठोक्कियो ‘बचाउ ! बचाउ !’ उसले सोच्यो ‘आज फेरि चितुवा कसको घरमा पसेछ ।’ हिजो आज चितुवाको बिगबिगी बढेको छ । एक महिना पहिले उसको साथी रने बुढाथोकीको छोरीमाथि पनि आक्रमण गरेको थियो चितुवाले । छिट्टै घर गाउँले भेला भएर उसको ज्यान जोगाउन सफल भएका थिए । नत्र त यिनताका रने बुढाथोकीको छोरीको सम्झना मात्रै बाँकी रहन्थ्यो ।
गाउँलेहरू राँको बालेर घर घरबाट फुत्त फुत्त निस्किएर आवाज आएतिर दुगुर्दै थिए । उसले ‘के भयो रने ? ‘ भनेर सोध्यो । रने हतारमा थियो । उसको आवाज सुनेन । उसले पनि आफ्ना पाइलाका गति बढायो । ऊ जति घरको नजिक पुग्थ्यो उती सानीको जस्तो आवाज उसका कानमा पर्थ्यो ।
नभन्दै पहरो खसेर सानीलाई पुरी सकेछ । ऊ हातको पोको फुत्त भूइँमा हुर्याएर सानीलाई बचाउन लाग्यो । ‘सानी भगवानको नाम जप केही हुँदैन ।’ उसलाई भगवान प्रति कत्रो विस्वास ? नभन्दै उसले आफ्नो ज्यान दाउमा लगाएर सानीलाई बचायो । पाखामा निकालेर सानीलाई घुम्लुङ्ग आंगालोमा कस्यो । सानी बाँच्न सफल भएको श्रेय जति भगवानलाई सुम्पिएर ऊ रोइरह्यो । उसकै आँखा अघिल्तिर कतिले ज्यान गुमाए । कति घरबारविहीन भए । उसले पनि घर गुमायो । तर जीवन संगीनीलाई बचाउन सकेकोमा ऊ अत्यन्तै खुशी थियो ।
भोलिपल्ट बिहान अन्धकारको बिपत्ति छर्लङग देखियो । वल्लो-पल्लो गाउँदेखि भेला भएका भद्रभलाद्मीहरूको चर्को बहस चल्यो । ऊ बेला “गाउँलाई पनि शहरमा रुपान्तरण गरिदिन्छौं” भन्ने शहरियाका मीठा बातमा नफसेको भए आज यो दिन देख्नु पर्ने थिएन । माटो अड्याने भनेकै ढुङ्गा हो । त्यो निकालेर शहर ओसारेर सिध्याए । खयर र चन्दनका रुखहरू ढालेर चाइनाको बजार पुर्याए । यो बिपत्ती अरु कसैले होइन आफैं गाउँवासीले निम्ताएका हुन् । घरबार गुमाउनेहरू टाउकोमा हात लगाएर एककोहोरिएका थिए। भद्रभलाद्मीहरु आआफ्नो तर्क-वितर्क फलाकीरहेका थिए।
माया, दया हुनेहरूले लुगाफाटा, ओढ्ने ओछ्याउने, पकाउने, पस्किने र अन्न पानी बोकेर आउँथे । शहरबाट केही पत्रकार नेता आइपुगे । साथमा ल्याएको राहतको एक एक पोको पीडितहरूको हात हातमा राखिदिएर पारदर्शि बनिटोपले । पत्रकारले क्यामराको लेन्स चारै दिशा घुमाइ फिराइ फोटो खिचे । दुई चार कुरा सोधे जस्तो पनि गरे । नेताले दुईचार गुलिया बात गरे । हामी छौं भने । सान्त्वनाको मलम लिपघस गरेर शहर पसेका ति नाक मुख देखाएनन् । उतै बेपत्ता भए ।
रात त जसोतसो रुखको फेदमुनि भएपनि बित्थ्यो । खाने कुरा सिधिँदै गएपछि पीडकको मनमा आँधीतुफान चल्न सुरु भयो । बालबच्चा बिमारी पर्न थाले । गाउँलेहरूले कतिदिन दया गर्नसक्थे ? आफू त महादेव कसले देला वर ?
बिस्तारै पीडितहरू बालबच्चा च्याप्दै गाउँ छाडेर हिँड्न थाले । वीरे भण्डारी पनि सानीलाई लिएर शहर पस्यो । जन्मेर उसले पहिलो पल्ट शहर देखेको थियो । दुईचार दिन मोटरसाइकल, टेम्पो, ट्याक्सी, मिनिबस हेरेरै जोइ पोइको भोक प्यास मेटियो । रात सडकका भुस्याहा कुकुरको आड्मा बिताए । त्यसरी कति दिन चल्थ्यो र? भोकले आन्द्रा भुँडी बटारेर खपिनसक्नु भएको थियो ।
जोइ पोइ नै कामको खोजितिर लागे । हत्तपत्त कोही काम दिने मान्दैन थियो भुसतिघ्रेलाई । बाल मजदुरलाई पैसा पनि कम । खान पनि थोरै दिए पुग्थ्यो । जहाँ काम माग्न पुगे सानी र वीरे ! त्यहाँ मसिना ओंठ निचोर्दा दूध आउने केटाकेटीहरू जुठा गिलास र प्लेट मस्काइरहेका भेटिन्थे । काम नपाएपछि ओँठ मुख सुकाएर बाटो हिँड्दै थिए जोइ पोइ । तिनका कानमा मन्दिरको घण्टको आवाज पर्यो । ति त्यहि आवाज पछ्याउँदै पछ्याउदै उतैतिर लागे । मन्दिर बाहिर बृद्धबृद्धाको एउटा झुन्ड दर्शन गर्न आउने जाने भक्तजनहरू सँग हात पसारेको दृष्य वीरे र सानीका आँखामा ठोक्कियो ।
सुकेको जिब्रो थुकले भिजाउँदै वीरेले सानीको कानमा खुस्स भन्यो “सात दिन भयो अन्नको दानो पेटमा नपरेको । आज हामीले पनि मागेरै भएपनि खानुपर्छ होला सानी ।”
“छि छि के भनेका बुढा तिम्ले ? बाउबाजेले नगरेको काम कसरी गर्नु ?” सानीले मानिन । सानीको कुरा दर्शन गरेर फर्किदै गरेका हरिशरण पोख्रेलले सुने । उनले आफ्ना निश्चल आँखा उठाएर वीरे र सानीलाई पालै-पालो नियालेर सोध्यो सोधे “घर कहाँ हो भाई बहीनीको ?”
वीरेले आफ्नो सम्पूर्ण जीवन कहानी हरिशरण पोख्रेललाई सुनायो । पोख्रेललाई पनि हलो जोत्ने र घरधन्दा गर्ने कामदारको खाँचो परिरहेको थियो ।
उनले भने “मेरो घरमा काम छ, गर्छौं ?”
ढुङ्गा खोज्दा देउता मिलेको खुशीले वीरे र सानीका आँखाबाट आँशु छचल्किए । जोइ पोइ पोख्रेललेको पछि लागेर उनको घरमा पुगे ।
त्यो रात मज्जाले दाल,भात, तरकारी दही, घ्यू, सँग मुछीमुछी मुखमा अटाइ नअटाइको बुझो हालेर सात दिनको भोक मेटाए जोइ पोइले । पेट टन्न भयो । ह्याउ गर्दै वीरेले चर्को डकार छोड्यो । हरिशरण पोख्रेलको तीनतल्ले घरमा श्रीमान श्रीमती मात्रै बस्दा रछन् । दुई छोराहरू पढ्न गएका बेला विदेशतिर विवाह गरेर बसे रे । तीन छोरीहरू विवाह गरेर आआफ्नो घर सम्हाल्दै छन् रे । हरिशरण र वीरे गफिँदै गर्दा सानीले थाल बटुका धोइपखालेर ल्याइ । वीरेले दुईचार चोटि ठूलो हाइकाड्यो ।
हरिशरण पोख्रेलले सुत्ने ठाउँ देखाईदिए । पेट अघाएको त्यो रात मस्तको निद्रा आयो वीरेका जोइ पोइलाई ।
भोलि पल्ट भाले बाँसीसक्दा नसक्दै हरिशरणका श्रीमान श्रीमती जागे । उतिनैखेर वीरेका पनि आँखा खुले । आँखा मिच्दै उसले सानीको पाखुरो समातेर घचघच्यायो । सानी पनि उठी । र हरिशरणका छेउमा पुगेर गर्नु पर्ने काम के हो सोधपुछ गरे ।
हरिशरणले वीरेलाई कामको बेलिबिस्तार लगाए – पाँच बिघा खेत छ । दुई हल गोरु छन् । दूध खाने एउटा गाई छ । खेती खेताला लगाएर गर्नुपर्ने । गाई दुहुनु पर्ने ।
श्रीमतीले सानीलाई भान्साको कामबारे अर्थाइन । त्यो दिनदेखि सानी र वीरेले भन्ने ठाउँ नदिकन आफ्नो काम खुरुखुरु गरिरहे ।
एक दिन हरिशरण पोख्रेलले “बाढी पीडितलाई सरकारले क्षतिपुर्ती दिन्छ रे ” भन्ने खवर ल्याए । त्यो खबर सुनेर वीरे सरकारी दफ्तर सयौं पटक धायो । तर उसको पीडामा सरकारी कर्मचारीको मुटु पग्लिएन । ऊ सरकारी दफ्तर धाउँदा धाउँदै सरकारी कर्मचारीको मुख हेरेर वाक्क भयो । त्यसपछि उसले मनमनै त्यो ठाउँमा कहिल्यै नजाने कसम खायो ।
त्यो दिन निक्कै निरा श थियो वीरे । हरिशरण पोख्रेल मनकारी थिए । वीरेको अवस्था देखेर उनको मन पग्लियो । उनले भने “चिन्ता नगर म तँलाइ एउटा घडेरी दिउँला । ”
त्यो दिन वीरेका आँखाबाट हर्षका आँसु बगेर छाती निथुक्रै भिज्यो । लोग्नेसँगै सानी पनि सुँक्क सुँक्क गरी । त्यो रात उसले पहिरोले लगेको आफ्नो गाउँ खुव याद गर्यो । बचाउ ! बचाउ भन्दै कराएको चित्कार स्मरण गर्यो । गरीबहरूको बिल्लिबाठको कथा र व्यथाले गह भरिएको झल्झली आँखा अगाडि घुमे । नेताको सान्त्वना र चिल्ला कुरा सम्झिँदा सम्झिँदै कति खेर निदायो उसले पत्तै पाएन।
