पल्लव साहित्य प्रतिष्ठानले आयोजना गरेको यस वर्ष अर्थात् २०६७ सालको समारोहमा भने मैले नगइ नहुने भयो । कारण २०६६ सालको पल्लव साहित्य सम्मानको सम्मानपत्र मैले थाप्न कारणवस सकिन । सोही सम्मान ग्रहण गर्ने र नारायणघाट तीर्थ गर्ने श्रीमतीको इच्छा पूरा गर्ने हिसाबले साहित्यिक यात्रा भनौं कि तीर्थयात्रा गर्न हामी निस्कियौं चितवनयात्रामा ।
भदौ दोस्रो हप्तामा तीनदिनको विदा लिएर एउटा साहित्यिक संस्थाको निम्तो मान्न तथा पौराणिकस्थल देवघाटको दर्शन गर्न प्रफुल्लित मन लिएर बाटो लाग्यौं । विराटनगरबाट बिहान सबेरै खाना खाएर ९ बजेतिर पश्चिम लाग्यौं । यात्राको क्रममा जब सिरहाको माहुली खोलामा पुगेपछि दाँतमा ढुंगा लागेजस्तै भयो । खोलामा पानी बढेको थियो । हामी चढेको गाडीले खोला तर्दा अर्को दिशाबाट मोटरसाइकलमा आइरहेका दुईजना यात्रुहरूलाई हाम्रो गाडी चल्दा उछिट्टिएको पानीले अलिकति भिजाइ दिएछ । त्यसको बदला लिन ती दुईजना फर्केर द्रुत गतिमा हाम्रो गाडीलाई करिब दुईतीन किलोमिटर पछ्याए । गाईवस्तुले बाटो छेकेको एउटा चोकजस्तो ठाउँमा जब हाम्रो गाडी अलि सुस्त भयो तब मोटरसाइकलमा चढेका दुईजना युवकहरूले हाम्रो गाडीको बाटो छेके र हामीलाई रोके । “किन भिजाइस ? किन गाडी रोकिनस् ?” भन्दै गाडीको चालकलाई मुक्का बर्साउन थाले । मैले रोक्ने प्रयास गरें । गाडी तोडफोड हुने सम्भावना बढ्दै थियो । “पानीमा इन्जिन बन्द हुने भएकोले गाडी रोक्न मिलेन” भनेर चालकले जति स्पष्टिकरण दिएर सम्झाए पनि उनीहरूको रिस शान्त हुने छाँट देखिएन । अरू मानिसहरू पनि हातहातमा लाठी लिएर गाडीनेर आए र ड्राइभरलाई थप मुक्का हाने गाडीलाई लाठीले ताक्न थाले । उनीहरूले गाडीको चाबी फुत्त झिके अनि मोटरसाइकल स्टार्ट गरेर भाग्न लागे । म गाडीबाट ओर्ले र चालकको तर्फबाट चाबी खोस्ने युवकसित माफी मागें ।
त्यो भीडमा मलाई चिन्ने एकजना युवक अचानक देखा परे । उनले मलाई अभिवादन गरे । मलाई कुनै भगवान् झुल्केजस्तो लाग्यो । मैले उनलाई विस्तारपूर्वक विवरण बताएपछि उनले कुरा बुझे । उनले ती युवाहरूलाई उनले निकैबेर सम्झाएपछि बल्ल चाबी फिर्ता पाइयो । र, बल्ल अघि बढियो । बाटाभरि मन खिन्न भयो । आजसम्म मान्यजनलाई अभिवादन गर्दा मात्र जोडिएका यी हात आज यात्रामा शक्तिको सामु जोड्नु परेकोमा म सारै खिन्न भएँ ।
यही यात्रामा अघि बढ्दै जाँदा देखेको एउटा सकारात्मक दृश्यले भने मलाई खुसी तुल्यायो । एकजना महिलाले रिक्सा चलाएको, रिक्साठेलामा चिया नास्तासामग्री बोकेर दौडाएको दृश्य मलाई नौलो, सकारात्मक लाग्यो । मैले दुर्गम पहाडी जिल्लामा युवाहरू विदेश पलायन भएपछि महिलाहरूले हलो जोतेको तस्बिर अखबारमा मात्र देखेको थिएँ । छोरीले आफ्ना माता वा पिताको काजकिरिया गरेको समाचार पनि पढेको थिएँ । विधवाहरूले सेतो पहिरन फेरेको पनि देखेको थिएँ । तर आज निकै परिश्रम लाग्ने यस्तो मजदुरी अर्थात् व्यापारमा महिलाहरू यसरी कस्सिएको देख्दा मन प्रफुल्लित भयो । समयले ल्याएको यो सकारात्मक परिवर्तनको झलक देखे पछि मेरो मूड पनि सकारात्मक भयो । अन्यौलग्रस्त देशको भविष्यप्रति केही हदसम्म यसले आश्वस्त पा¥यो । नयाँ नेपालमा मैले देखेका सकारात्मक नमूनाहरूमध्ये यसलाई उल्लेख्य मानेको छु ।
नारायणगढ सहरको नामाकरणको हिसाबले हेर्दा यो शब्द नारायणीघाटबाट पछि नारायणघाट बनेको रहेछ र हाल नारायणगढ बनेको रहेछ । त्यो सहरमा हामी पुग्दा साँझ परेको थियो । निम्तालुलाई राख्ने होटल भरिएको थियो । काठमाडौं र मुलुकका विभिन्न जिल्लाबाट सहभागीहरू थिए । भोलिपल्ट बिहानै भेटघाट कार्यक्रम सुरू भयो । उक्त चितवन साहित्यिक कार्यक्रममा सहभागी भएपछि केही उल्लेखनीय कुराहरू देख्न पाइयो । नागरिक समाज र गैरसरकारी संस्थाहरूले गरेका त्यहाँ उदाहरणीय कामहरूका झलक देखिए । त्यहाँ पल्लव साहित्य प्रतिष्ठानले साहित्य क्षेत्रमा गरेको योगदान देखेर म प्रभावित भएँ । एन.आर.एन. संस्थाको सहयोगमा चितवन नारायणघाटमा निर्मित देवघाट वृद्धाश्रम सुन्दर र व्यवस्थित देखियो ।
यी हरफहरू लेख्दा उक्त वृद्धाश्रम सम्झेर म भावुक बनेको छु । केही हुने तर सहाराविहीनका लागि गुजाराको एउटा सुन्दर विकल्प रहेछ एन.आर.एन. वृद्धाश्रम । केही हुँदै नहुनेलाई पनि व्यवस्था गरिएको रहेछ अलि पर अर्को वृद्धाश्रममा । जेहोस् मैले त्यहाँ वृद्धाश्रमभित्र फुलेका फूलहरूमा केवल सुन्दरता हैन मान्छेहरूका ओंठमा पनि मानवता हाँसिरहेको देखें । बधाई छ एनआएन र शुभकामना छ वृद्धाश्रम व्यवस्थापन समितिलाई ।
यही वृद्धाश्रममा आयोजित पल्लव साहित्य प्रतिष्ठानको स्रष्टा सम्मान, कृति विमोचन, रचनावाचन कार्यक्रम एक ऐतिहासिक र अविस्मरणीय कार्यक्रम रह्यो । गोर्खे साइँलो, पल्लव साहित्य प्रतिष्ठान र चितवनवासीको भाषा र साहित्य, कला र संस्कृतिप्रति समर्पित थुप्रै संस्थाहरूका बीचमा आफूलाई पाउँदा गौरवको महसुस पनि गरें । वरिष्ठ गीतकार प्रेमविनोद नन्दनसंग भेट भयो खुशी लाग्यो । एकजना स्रष्टाले शास्त्रीयसङ्गीतमा आधारित लय, सुर र तालमा उत्कृष्ट ढङ्गले जुन गजलगायन गर्नुभयो, म कहिल्यै बिर्सन सक्दिन ।
दिउँसो १२ बजे सुरू भएको औपचारिक साहित्यिक समारोह करिब ४ घण्टा चल्यो । उक्त साहित्यिक कार्यक्रम अवधिभर प्रतिष्ठानका अध्यक्ष गोर्खे साइँलो स्वयम् बढी खटेको देखियो । व्यवस्थापनले यसमा ध्यान दिएमा आगामी वर्षमा कार्यक्रम सहज हुनेछ । यसरी पल्लव साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रम मेरा लागि ऐतिहासिक र अविश्मरणीय घटना बनेको छ ।
२०६७ भाद्र १२, विराटनगर ।

हार्दिक धन्यवाद नवराज शरलाई
हार्दिक धन्यवाद नवराज शरलाई ।
यहाँले साह्रै कठिन यात्रागरेर पनि हाम्रो ‘पल्लव साहित्य राष्ट्रीय सम्मान ग्रहण गर्नु भएर फर्केपछि नियात्रकोरुपमा लेख्ने कार्य गर्नुभएको रहेछ । यसकार्यबाट हामी साह्रै नै गौरवान्तित् भएका छौ । सधैभरी यहाँको माया र ममताको अपेक्षा गर्दछौँ ।
गोर्खेसाइँलो (ऋषिप्रसाद लामिछाने)
अध्यक्ष पल्लव साहित्य प्रतिष्ठान
एवम् ‘प्रमुख सम्पादक’
http://www.pallawa.com.np
९८५५०५५३५१, ९७४५०१३७५७
इमेलः gorkhesailo@yahoo.com
aviwadan
nawaraj daiko yo yatra pader aafai le yatra garer farkiy jasto lagyo , nawaraj dai sammanit hunu vaykoma badhai 6.
aviwadan
nawaraj daiko yo yatra pader aafai le yatra garer farkiy jasto lagyo , nawaraj dai sammanit hunu vaykoma badhai 6.
साहित्यिक यात्रामा फूल र काँडाहरू
अवीश्मरणीय रहेछ । यात्रा वर्णन मात्र नभै भावनाहरूसमेत मिसेकोले नियात्रा रसिलो बनेको छ ।