Skip to content


दिउसै सपना बाड्नेहरूसँग
सपनाको खेती बेच्नेहरूसँग
निद्रा पनि सँगै किन्न खोजें
तिनीहरूले बेच्नै सकेनन
निद्रा बेगर सपना कसरी देख्ने
त्यो उनीहरूले भन्नै सकेनन
के गर्नु ?
मेरो न्युनतम माग छ
सपनाको कुलो सँगै
निद्राको सिंचाई बेचे हुन्थ्यो ।

आकाश ओढ्नेहरूले
महलको छतको रंग भन्नै सकेनन
सायद त्यो त अन्धाहरूले
हाती छामे जस्तै भयो होला
सपनाको खेती बाडे
झण्डाहरूको फेदमा बसेर
भाषणको मलहम पट्टि भयो धेरै
छतहरू थपिए धेरै
भाषणले आकाश छोपिदैन थाहा हुनु पर्ने

के गर्नु ?
भाषण गर्नेले शिशिरमा
आकाश ओढे थाहा हुन्थ्यो होला
के गर्नु
भाषणमा गाँस बेचेर
खाली पेट भरिन्न
भाषणमा औषधी बेचेर
रोग निको हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *